सामान्य स्थिति यस्तो भए पनि नेपालमा पनि कहिलेकाहीं धार्मिक सम्प्रदायमा परस्परमा कलह भएको संकेत नपाइने होइन। वैदिक र बौद्धको झगडा देखाउन हाँडीगाउँ सत्यनारायण मन्दिरको अनुपरमले रचेको द्वैपायनस्तोत्र कुँदिएको स्तम्भलेख र शैव र वैष्णवको झगडा देखाउन देउपाटन गचाननीको शिलालेख अघि सार्न सकिन्छ।
स्पष्ट गरेर भन्दा, अघिल्लोमा कुमति अर्थात् खराब बुद्धि भएका, अंहसावृत अर्थात् पापले ढाकिएका, कुतार्किक अर्थात् खराब तर्क गर्ने भनी सौगत अर्थात् बौद्धहरूको निन्दा गरिएको छ त पछिल्लोमा शैव र वैष्णवमा आआफ्नो सम्प्रदायमा भएको पक्षपात हटाउन स्वामिवार्त्त भन्नेले आधा शंकरको र आधा नारायणको गरी संयुक्त मूर्ति बनाए भनी लेखिएको छ। यही कुरा प्रकारान्तरले भत्रे हो भने, बाबु अनुपरमले बौद्ध मत निरस्त गर्ने उद्योग गरेका थिए भने छोरा भौमगुप्तका उपजीवी अर्थात् आश्रित स्वामिवार्त्तले चाहिं शैव र वैष्णवको फाटो हटाउने कोशिश गरेका थिए।
स्वामिवार्त्तले शंकरनारायणको त्यो मूर्ति विसं ६२३ मा स्थापना गरेका हुन् त भारतमा पाइएको शंकरनारायणको सबभन्दा पुरानो मूर्ति (चित्र नं. ४) कलैतिहासिक अनुसार बादामीकै ईसवीको छैटौं शताब्दीको हो। यसैले नेपाल र भारतमा सँगसँगै जस्तो शंकरनारायणको उपासना शुरू भएको थियो भनी निर्धक्क भन्न नसकिने होइन।
देउपाटनमा स्थापना गरिएको शंकरनारायणको त्यो मूर्ति कालान्तरमा कुन्नि के कारणले हो, नष्ट भयो। पछि त्यसको प्रतिरूप त्यहाँ राखियो (चित्र नं. ५)। त्यस प्रतिरूपलाई कलैतिहासिकहरू ईसवीको सत्रौं शताब्दीको भन्छन्। पछि त्यही प्रतिरूप पनि हरायो। अहिले त्यस मूर्तिको पादपीठ र त्यहाँ कुँदिएको अभिलेख मात्र बाँकी छ।
भूकम्प, अग्निकाण्ड र बाढी जस्ता प्राकृतिक प्रकोपले, लडाइँभिडाइले र समयको खेलले गर्दा हाम्रा हजारौं हजार पुस्तक लुप्त हुन गए। त्यस्ता प्राचीन पुस्तकका उद्धरण पछि पछि लेखिएका पुस्तकहरूमा पाइए पनि मूल पुस्तक धेरै अंशमा हराएको हरायै हुन्थे। पठनपाठनमा ज्यादा उपयोग हुने ग्रन्थहरू पछि पछि परिष्कार हुँदै जाने भएकाले त्यस्ता ग्रन्थको मूल रूप पत्ता लगाउन हम्मेहम्मे पर्ने कुरा यस्तो अन्वेषण गर्नेहरूले भोगेकै कुरा हो।
ताडपत्र र भोजपत्रमा प्राचीन कालमा पुस्तक लेखिने र तिनको आयु परिमित हुने हुनाले प्राचीन संस्कृत वाङ्मयको कुनै पनि प्राचीन पुस्तकको ग्रन्थकारले लेखेको मूल प्रति पाइँदैन। यसरी ग्रन्थकारको ‘अटोग्राफ’ अर्थात् ‘उसले आफैंले लेखेको मूल पुस्तक’ नपाइएको अवस्थामा ‘टेक्स्ट्युअल क्रिटिसिज्म’ अर्थात् ‘पाठालोचनात्मक रीति’ अनुसार ग्रन्थको मूल रूप पहिल्याउन लागेका अन्वेषकका लागि पाइएसम्ममा पुरानो पुस्तक अत्यन्त उपयोगी हुन्छ।
भारतमा बौद्ध धर्म लुप्त भएपछि बौद्ध धर्मका ग्रन्थ त्यहाँ पाइन छोडे। नेपालमा केही अंशमा यहाँका वज्राचार्य र शाक्यले त्यस्ता ग्रन्थ जोगाएर राखे। ती ग्रन्थ उनीहरू पूजाआजामा पाठ गर्थे, बस् त्यत्ति हो। भोटमा महायान जीवित भए पनि त्यहाँको महायानको आधार संस्कृत भाषाका ग्रन्थ नभई संस्कृतबाट भोटको भाषामा उल्था गरिएका ग्रन्थ भएकाले विद्वान्हरू मूल संस्कृतमा लेखिएका महायानी ग्रन्थको खोजीमा लागिपरेका थिए। त्यसरी खोजी गर्दा त्यस्ता ग्रन्थ छिटफुट पाइए पनि संस्कृत भाषामा लेखिएका महायानी ग्रन्थ र संस्कृतमा लेखिएका त्यस्ता ग्रन्थ अनुसार महायान मान्ने जाति ब्रायन हटन हज्सन (विसं १८५८-१९५१) काठमाडौंको ब्रिटिश रेजिडेन्सी अर्थात् दूतावासमा आएर उनले खोजमेल गर्न थालेपछि मात्र बाहिरफेर चर्चामा आए। त्यसपछि नेपालका पुस्तकमा पश्चिमाहरूको आँखा जान लाग्यो।
हज्सनले नेपालमा काम गर्न थाल्नुभन्दा अगाडि संस्कृतमा लेखिएका महायान वा वज्रयानको ग्रन्थसम्पत्तिको विषयमा बाहिरफेर कुनै चर्चा थिएन। संस्कृतमा लेखिएका महायानी वा वज्रयानी पुस्तक हज्सनले यहाँ देखेपछि उनी तिनको संग्रह गर्न लागे। आफूले संग्रह गरेका त्यस्ता पुस्तक उनले पछि कलकत्ताका एशियाटिक सोसाइटी र फोर्ट विलियम कलेजमा, लन्डनका रोयल एशियाटिक सोसाइटी र इन्डिया अफिस लाइब्रेरीमा, अक्स्फोर्डको बोड्लीअन लाइब्रेरीमा र प्यारिसको आँस्तित्यु द सिभिलिजास्यों आँदियन्नमा बाँडिदिए। त्यसपछि संस्कृतज्ञहरूमा संस्कृतमा लेखिएका बौद्ध ग्रन्थको परिशीलन गर्ने परिपाटी बस्यो, अर्कोतिर नेपालका पुरावस्तु बाहिर लग्ने कामको शुरूवात भयो।
श्री ३ जंगबहादुर (विसं १८७४-१९३३, शासनकाल विसं १९०३-१९३३)का छोरा पद्मजंग (विसं १९१४-१९६३)ले लेखेको, आफ्नो बाबुको चरित अर्थात् हिजोआजको भाषामा जीवनीमा हामीलाई यस प्रसंगमा खायस पर्ने एउटा घटनाको चर्चा छ। नेपालको सरकारी पुस्तकखानाबाट यूरोपियन विद्वान्हरूले लगेका दुर्लभ लेखोट पुस्तक उनीहरूले नफर्काउँदा त्यस पुस्तकखानाका हाकिमले श्री ३ जंगलाई बिन्ती चढाए।
श्री ३ जंगले ती विदेशी विद्वान्हरूसँग पुस्तक फिर्ता लिने विषयमा कुनै उद्योग गरेको चर्चा त्यस पुस्तकमा नआए पनि फिर्ता नगरिएका, त्यस्ता ३६ वटा पुस्तकका अर्को प्रति खोजेर ती प्रति त्यस पुस्तकखानामा ईसं १८६० अक्टोबर ८ तारीख तदनुसार विसं १९१७ असोज २४ गते उनले बुझाएको कुरा त्यहाँ लेखिएको छ।
श्री ३ वीर (विसं १९०९-१९५७, शासनकाल विसं १९४२-१९५७)को पालामा विसं १९५३ र १९५५ मा र श्री ३ चन्द्र (विसं १९२०-१९८६, शासनकाल विसं १९५८-१९८६)को पालामा विसं १९६४ र १९७९ मा गरी ४ पटक वीर पुस्तकालयमा खोजी गरेका हरप्रसाद शास्त्री (विसं १९१०-१९८८)ले शक्तिसङ्गमतन्त्रका तीनै खण्ड मागेकाले त्यहाँबाट त्यो पुस्तक विसं १९८६ मा उनीकहाँ पठाइयो। विसं १९८८ मंसीर २ गते हरप्रसाद शास्त्री परलोक हुँदासम्म पनि पुस्तकखानामा ती पुस्तक फिर्ता आएका थिएनन्।
उनी परलोक भएको थाहा भएर होला, ती पुस्तक फिर्ता आएका भए यहाँ पठाइदिनू, नआएका भए ताकिता गरी झिकाई पठाइदिने काम गर्नू भनी वीर पुस्तकालयबाट मुन्शीखानालाई विसं १९८९ जेठ १८ गते सोमबार पत्र गयो। ती पुस्तक हालै फिर्ता आएकाले त्यहाँ पठाइएको छ, बुझी भरपाई पठाइदिनू भनी मुन्शीखानाबाट वीर पुस्तकालयलाई विसं १९८९ पुस २१ गते बुधबार लेखिएको पत्र (डीएन्ए ६/१७ र ६/३०) मैले देखेको छु। सरकारी पुस्तकखानालाई अक्षुण्ण राख्न राणाशासन कति दत्तचित्त थियो भत्रे यी कुराबाट देखिएको छ।
नायब बडागुरुज्यू हेमराज पण्डित (विसं १९३५-२०१०)को पुस्तकसंग्रह भारती भवनको नाउँले प्रख्यात थियो र त्यो संग्रह धेरै नै राम्रो थियो। विसं २०१० मा उनी परलोक भएपछि उनको परिवारले त्यो पुस्तकसंग्रह बेच्न खोज्यो। त्यो संग्रह अमेरिकनले कित्रे भत्रे हल्ला चलेपछि यहाँका बुद्धिजीवीहरूले- मैले सम्झेसम्म महानन्द सापकोटा (विसं १९५३-२०३५)को अगुवाइमा- त्यो बिक्री रोक्ने विषयमा सभा भएको थियो। हेमराजको परिवारले उनको पुस्तकसंग्रह बेच्न खोजेको खबरले नयराज पन्त (विसं १९७०-२०५९) अत्यन्त खिन्न थिए तापनि मूलधारका बुद्धिजीवीसँग अलग्गिएर काम गरिरहेकाले उनी त्यस सभामा गएनन्।
हेमराजको परिवारले अमेरिकनलाई पुस्तकसंग्रह बेच्न खोजेको विरोधमा समाज दैनिक (२०१२/१/३)मा ‘संस्कृतिको विक्रयको प्रयत्न- गु. हेमराजज्यूको लाइब्रेरी अमेरिकनहरूले किन्ने’ भन्ने शीर्षकमा खबर र ‘संस्कृतिको बिक्री’ भन्ने शीर्षक हाली सम्पादकीय लेखियो।
तदनुसार मन्त्रीज्यूहरूले पुस्तकालय हेर्न आउने कुरा पनि गर्नुभएको थियो। यसको समूचा सूचीपत्र समेत उसै बखत शिक्षामन्त्रीज्यूकहाँ गएको उहीं रहेकै छ। भएको यतिसम्मको कुरा समाजलाई पनि अवगतै रहेछ भन्ने देखिन्छ। त्यसमाथि, नयाँ कल्पनाको कुरा कुन आधारमा गरिएको हो?’ इत्यादि लेखी नेपाल सरकारलाई नै बेच्न कोशिश गरिएको स्पष्ट पारिएको छ।
तदनुरूप सरकारले त्यो पुस्तकसंग्रह खरीद गरी विसं २०१३ पुसमा राष्ट्रिय पुस्तकालयको नामले खडा गर्यो। यति भन्नुको मतलब के हो भने, त्यस वेलासम्म पनि पुरावस्तुको निकासी त्यति सजिलो थिएन।
ढुंगा बोक्न नसक्नु देशको सौभाग्य!
यसपछि त लेखोट पुस्तक, अभिलेख र मूर्ति आदि पुरावस्तुको निकासी अत्यन्त तीव्र गतिले अगाडि बढ्यो। त्यसैले, विसं २०१२ माघपूर्णिमामा निस्किएको, लक्ष्मण सत्याल (विसं १९९१ मा जन्म), ऐश्वर्यधर शर्मा (विसं १९९३-२०७४), अक्रूर कुइँकेल (विसं १९९५-२०३८) र गौतमवज्र वज्राचार्य (विसं १९९७ मा जन्म)को इतिहास-संशोधन २१ संख्याको मुखपृष्ठमा ‘पुरातत्त्वका झलमलाउँदा रत्नहरू हराउँदै छन्- अन्धकार बढ्दै छ- बालचन्द्र अन्धकारमा’ लेखी एउटा ताम्रपत्रको पाठ दिइसकेपछि यस्तो लेखिएको थियो- ‘यो तामापत्र पाटन मूलचोकको पश्चिम भागमा टाँसिराखेको थियो। पोहर हामीले यो तामापत्र त्यहाँ देखेथ्यौं। अहिले हेर्न जाँदा यो तामापत्र त्यहाँ रहेनछ। पोहर हामीले त्यहाँ देखेकामध्ये तीन-चार वटा अरू पनि हराएछन्’ (उही, ३ पृ.)।
‘आजकाल विदेशीका पैसा खान पल्केका केही स्वार्थीहरूले हाम्रो देशको इतिहासका साधनहरू बिदेस्याउँदै छन्। त्यस्ता स्वार्थीहरूको कुकर्मले गर्दा धेरै ताम्रपत्रहरू हराउँदै छन्। यसको अलिकता उदाहरण लक्ष्मण-ऐश्वर्यधर-अक्रूर-गौतमवज्रहरूको इतिहास-संशोधन २१ संख्यामा परेको छ। यी गह्रुंगा ढुंगा विदेशीका दलालहरूले बोक्न नसक्नु पनि हाम्रो देशको सौभाग्य हो’ भनी धनवज्र वज्राचार्य (विसं १९८८-२०५१)ले मानदेवकी रानी क्षेमसुन्दरीले स्थापना गरेको शिवलिंगको शिलालेख विसं २०१४ असार १० गते छपाउँदा इतिहास-संशोधन ९ संख्यामा लेखेका थिए। त्यो लेख्दा पुरातत्त्व विभाग उतर्सिई उसले धनवज्र वज्राचार्यलाई तर्साई पुलिस केस खडा गर्ने उद्योग गरेको थियो।
यसैले चोरको खुट्टा काट् भनी भन्दा खट्टा उचाले झैं गरी शिक्षा सेक्रेटरीको पदमा विराजमान केशरबहादुर खत्री क्षत्रीले आफ्नो मातहतको पुरातत्त्व विभाग मार्फत धनवज्र वज्राचार्यसँग स्पष्टीकरण मागी पत्र लेखाए। यस विषयमा विसं २०१४ साउनदेखि भाद्रभित्र पुरातत्त्व विभागका कामु डाइरेक्टर जनकलाल शर्मा (विसं १९७८-२०५६) र धनवज्र वज्राचार्यको बीचमा २ पटकसम्म चिठीपत्र भयो। आखिर केही नलागेपछि पुरातत्त्व विभागलाई चूप लाग्न कर लाग्यो।
अमेरिकामा नेपालका प्राचीन कलाकृतिको प्रदर्शनी गर्ने निधो श्री ५ महेन्द्र (विसं १९७७-२०२८, राज्यकाल विसं २०११-२०२८)को अगुवाइमा भएपछि पुरातत्त्व विभागबाट न्यूयोर्कको एशिया हाउस ग्यालरीमा नेपाली कलाकृति पठाइए। त्यस कलाकृतिको प्रदर्शनीको आयोजना प्रसिद्ध कलैतिहासिक स्टेला क्राम्रिश (विसं १९५३-२०५०)को मातहतमा विसं २०२१ को बर्खामा भयो र त्यहाँ प्रदर्शित कलाकृतिको सूचीपत्र त्यही अवसरमा उनले निकालिन्। यसपछि नेपाली कलाकृतिको संग्रह गर्न अमेरिकनहरू जुरमुराउन थाले। यसैले, केही दशाब्दीभित्र उठाउन सकिनेमध्ये धेरैजसो पश्चिमी संग्रहमा पुगे भनी थोमस बेलले लेखेका हुन् (काठ्मान्डू, र्यान्डम हाउस इन्डिअ, हरियाणा, ईसं २०१४, २८८–२८९ पृ.)।
‘कलाकृतिको चोरी अझै भइरहेको छ, ईसवी संवत्को १९७० र १९८० को दशाब्दीमा जस्तो ठूलो अनुपातमा भने छैन। चोर्न लायकका सामग्री अहिले धेरै बाँकी नरहनु नै यसको खास कारण हो’ (फिलिप एच. पीअर्सद्वारा अनूदित द गड्ज् आर् लिभ्इङ् द कन्ट्रीः आर्ट् थेफ्ट् फ्रम् नेपाल्, अर्किड प्रेस, ब्याङ्कक, ईसं १९९८, १२ पृ.बाट मेरो उल्था) भनी यूर्गेन शिक (विसं १९९९ मा जन्म)ले विसं २०५४ मा लेखेको कुरा चाखलाग्दो छ।
थोमस बेलले भने, यूर्गेन शिकले भन्दा २० वर्ष अगाडि नै मूर्ति चोरी हुन थालेको भनी लेखेका छन्- ‘ईसवी संवत्को १९५० को र १९८० को दशाब्दीभित्र काठमाडौंबाट यति बिदि कलाकृति हराए कि केही पनि छोडिएको जस्तो देखिएन’ (काठ्मान्डूः २८२ बाट मेरो उल्था)।
कलैतिहासिकहरू नै कलाकृतिका व्यापारी!
एक जना अमेरिकन अधिकृतकी गृहिणीको हैसियतले विसं २०२२ मा यहाँ आउँदा वासिङ्टनको स्मिथ्सोनियन इन्स्टिट्यूशनको अवैतनिक कर्मचारीका रूपमा त्यस संस्थाका लागि नृतत्त्व सम्बन्धी सामग्री किन्ने आदेशपत्र पनि सँगै लिएर आएकी मेअरी शेपर्ड स्लसर (विसं १९७५-२०७४)ले क्रमशः हात लामो पार्दै गई कलावस्तुको निकै संग्रह गरिन्। यस सम्बन्धी केही कुरा उनले ईसं २००३ मे १९ तारीख तदनुसार विसं २०६० जेठ ५ गतेको दिन अनलाइन पत्रिका एशियन् आर्ट्मा पोस्ट गरिएको, आफ्नो ‘कन्सर्भेशन् नोट्स् अन् सम् नेपालीज् पेन्टिङ्ज्’ भन्ने लेखमा लेखेकी छन्। त्यही लेखको एक अंशको उद्धरण थोमस बेलले पनि गरेका छन् (काठ्मान्डू, २८४–२८६ पृ.)।
‘कलाकृतिको रक्षा गर्ने मेरा कोशिशका विषयमा तपाईंले सोध्नुभएको प्रश्नको विषयमा म के भनूँ? मेरो दृष्टिमा स्याहारसुसार नभएर देशभित्र नष्ट भइरहेका नेपाली चित्रहरू देश बाहिर लगी धेरै खर्च लगाएर जान्ने मान्छेद्वारा तिनको जीर्णोद्धार गराई कला सम्बन्धी अमेरिकन म्यूजियममा सुरक्षित अवस्थामा राखेर मैले ठीक गरें भन्ने मेरो विचार छ। देश बाहिर गइसकेको एउटा बिलम्पौ सुरक्षित पार्न मैले मद्दत गरें, नत्र भने यसका चित्रलाई अलग अलग काटी कलाको बजारमा लग्नै आँटिएको थियो। यसको जीर्णोद्धार जात्रे मान्छेद्वारा गराइयो र यो अहिले ललितकला सम्बन्धी भर्जिनियाको म्यूजियममा नेपालको शानदार कलाको प्रमाणका रूपमा हेर्न सकिन्छ। धेरै देशको साझा राष्ट्रवादी दृष्टि अनुसार, नेपाली भूमि छोड्नुभन्दा ती चित्रहरू यहीं कुहिनु नै राम्रो हो भनी नेपालीहरू बहस गर्छन्।
अब प्रश्न उठ्छ, हामीमध्ये को ठीक छ? तपाईंलाई राम्रै थाहा छ, यस्ता वस्तुलाई विदेशमा सुरक्षापूर्वक राख्नु राम्रो कि जुन देशको हो त्यहीं असुरक्षित अवस्थामा छोड्नु राम्रो हो भत्रे प्रश्न सार्वदेशिक हो र यसको समाधान हुन सक्दैन जस्तो देखिन्छ। यसमा मलाई निकै चासो लागेकाले एशियन् आर्टमा पोस्ट गरिएको, तपाईंले चर्चा गर्नुभएको लेखमा, ओरिएन्टेशन्ज् ३६ ठेली ४ अंक (ईसं २००५ मे, ७१-७४ पृ.)मा प्रकाशित ‘टर्निङ् अ ब्लाइन्ड् आई’ भत्रे लेखमा र अन्यत्र मैले लेखेकी छु।’ (सन् २०१० फेब्रुअरी १९ तदनुसार विसं २०६६ फागुन ७ गतेको दिन मेअरी शेपर्ड स्लसरले नील्स गुत्शोलाई लेखेको चिठीबाट मेरो उल्था)
नचोरीकन र भन्सार नछलीकन पुराना कलाकृति बाहिर कसरी पुग्छन्? प्रतापादित्य पालले जे भने, त्यो त भनाइ मात्र हो। हाम्रा जति कलाकृति बाहिर पुगेका छन्, ती चोरबाटोबाट नै पुगेका हुन्।
हाम्रो पुरातत्त्व विभागबाट रिटायर भएका एक जना अधिकृतले कुरैकुरामा थोमस बेललाई भनेको कुराको चर्चा ती अधिकृतको नामै नलिई आफ्नो पुस्तकमा उनले यसरी गरेका छन्- ‘पहिलो केटी बेच्ने, दोस्रो हतियार बेच्ने, तेस्रो लागू पदार्थ बेच्ने र चौथो मूर्ति बेच्ने यी ४ थरी पेशामा वास्तविक अपराधीलाई तपाईं कहिल्यै पक्रन सक्नुहुन्न। कलैतिहासिकहरू नै पछि कलाकृतिका व्यापारी हुन पुग्छन्’ (काठ्मान्डू, २८३-२८४ पृ.बाट मेरो उल्था)।
विसं १९६९ चैत ६ गते न्यूयोर्कको रक्फेलर प्लाजामा क्रिस्टी’जले ताडपत्रमा लेखिएका, नेपाली पुस्तकहरूको, काठका सचित्र गाता लिलाममा राखेको थियो, यस लिलामबाट पचास हजार डलरसम्म आउने अनुमान उसको थियो, हर्वर्डका र बर्कलेका २ जना प्रोफेसरले नेपाल-जर्मन हस्तलिखित ग्रन्थसंरक्षण परियोजनाको सूचीसँग दाँजेर हेर्दा ती गाता राष्ट्रिय अभिलेखालयका ठहरिए, राष्ट्रिय अभिलेखालयको सम्पत्ति भएका ती गाता यसरी लिलामीमा राखिएको कुराको विरोध ती प्रोफेसरहरूले गरेपछि क्रिस्टी’जले ती गाता लिलामीबाट हटायो, विसं २०४६ मै प्यारिस पुगेका ती गाता प्यारिसको निजी संग्रहबाट लिलामीमा राखिएका थिए।
पुरावस्तुको बसाइँसराइ नेपालमा मात्र भएको होइन, धनीले गरीबको सबै कुरा लुट्छन्, गरीबले आफूसँग भएको जो कुछ सुम्पँदै जानुपर्छ भनी चित्त बुझाउनुपर्छ, सरकारको नीति नै यस विषयमा दृढ नभएसम्म र रक्षक नै भक्षक भएसम्म यस्ता कलाकृतिको निकासी झन् झन् बढ्दै जान्छ। नवधनाढ्य अमेरिकनहरूले यूरोपका अमूल्य चित्र कसरी हात पारे, यूरोपमा कोरिएका नामी चित्र कसरी अमेरिका पुगे भत्रे विषयको विशद वर्णन गरिएको पुस्तक हामी जस्ताका लागि चाखलाग्दो हुनसक्छ (सिन्थिआ साल्ज्मान, ओल्ड् मास्टर्ज्, न्यू वर्ल्ड्ः अमेरिका’ज् रेड् अन् यूरोप्’स् ग्रेट् पिक्चर्ज्, पेङ्ग्विन बुक्स, न्यूयोर्क, सन् २००८)।
विसं २००७ मा राणाशासन ढलेपछि नेपाल विदेशीहरूका लागि खुला भयो। त्यसका राम्रा नराम्रा परिणाम थरीथरीका भए पनि नेपालका पुरावस्तुहरूको एक प्रकारले लूट नै शुरू भयो। तर, त्यसभन्दा झण्डै ३ सय वर्ष अगाडि वर्तमान नेपालभित्रकै एक राज्यले अर्को राज्यको पुरावस्तु उठाएर लगेको उदाहरण काठमाडौंका राजा प्रताप मल्ल (विसं १६८०-१७३१, राज्यकाल विसं १६९८-१७३१)ले विसं १७२० मा भक्तपुरमा हमला गर्दा त्यहाँका राजा जगज्ज्योतिर् मल्ल (आसन्न राज्यकाल विसं १६७१-१६९३)ले विसं १६८७ मा बनाएको नवपोखरीमा प्रतिष्ठा गरिएका शिवलिंग र नागफणा उठाएर ल्याई हनुमान्ढोका दरबारको भण्डारखालमा पाउन सकिन्छ (भोलानाथ पौडेल र धनवज्र वज्राचार्य, इतिहास-संशोधन, ५१ क्रमागत संख्या, २०१७/३/१०)।
हराएका सयौं मूर्तिमध्ये आफ्नो अन्वेषणसँग गाँसिन पुगेका केही मूर्तिको विषयमा अलिकति यहाँ लेख्न मन लागेको छ। यीमध्ये सबभन्दा पुरानो चाबहिलको महामुनि अर्थात् बुद्धको मूर्तिबाटै शुरू गरौं (चित्र नं. ६)। ६० वर्ष पनि नाघिसक्यो, चाबहिलमा पाइएको लिच्छविकालको एउटा विशिष्ट शिलालेख पहिलो पटक छापिएको। हरेक शनिबार अभिलेखको खोजीका लागि संशोधन-मण्डलका हामीहरूले गर्ने गरेको यात्राको क्रममा यो शिलालेख भेट्टिएको थियो। तीन तीन महीनामा संशोधन-मण्डलले छाप्ने गरेको अभिलेख-संग्रहको नवौं भागमा विसं २०२० वैशाखसंक्रान्तिमा त्यस शिलालेखको पाठ छापियो।
अभिलेख-संग्रहको यस भागका सम्पादकमा रामजी तेवारी (विसं १९७३-२०४०), देवीप्रसाद भण्डारी (विसं १९७६-२०५६), भोलानाथ पौडेल (विसं १९७८-२०६६), शंकरमान राजवंशी (विसं १९८१-२०५६), धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य, महेशराज पन्त (विसं २००१ मा जन्म) र नयनाथ पौडेल (विसं २००२ मा जन्म) गरी आठ जना थिए। ३ वर्षसम्म लगातार चलेको अभिलेख-संग्रहको नीति अनुसार यो शिलालेख छाप्दा यसको उल्था र व्याख्या नगरी सामान्य परिचय दिएर मूलपाठ मात्र छपाइएको थियो। यस शिलालेखमा साल नदेखिई ‘माघवर्षे काले’ लेखेर त्यसपछि महीना, पक्ष र तिथि दिइएकोले ‘यहाँ संवत्को अंक देखिंदैन, तर ‘माघवर्षकाल’ भन्ने उल्लेख भएको हुनाले गणनाद्वारा यसको आसन्न समय पत्ता लाउन सकिन्छ। यहाँको लिपि मानदेवको ताकाको छ’ भनी त्यहाँ लेखिएको थियो।
चोरी र बिक्रीको शृंखला
यसपछि १२ वर्ष बित्यो। विसं २०३० मा धनवज्र वज्राचार्यको महत्तम कृति लिच्छविकालका अभिलेखमा १९० वटा अभिलेख छापिंदा चाबहिलको यस शिलालेखलाई सबभन्दा अगाडि राखियो। त्यहाँ राजाको नाउँ फुटेको, खालि महीना, पक्ष र तिथि मात्र बाँकी रहेको र ‘माघवर्ष काल’ भन्ने अनौठो वर्षांकनपद्धति भएकाले धनवज्र वज्राचार्यले तीन थरी तर्क गरी यसलाई पाइएसम्मका अभिलेखमध्ये सबभन्दा पुरानो भनी ठहर्याए-
१) ‘अहिलेसम्म पाइएका लिच्छविकालका अभिलेखमा संवत् सहितको पहिलो अभिलेख मानदेवको चाँगुको स्तम्भलेख हो। त्यसको लिपि र यसको लिपिको तुलना गरी हेर्दा यो अभिलेख चाँगुको स्तम्भलेखभन्दा अलि पुरानो देखिएको छ।’ (३ पृ.)
२) ‘प्रचलित वंशावलीमा राजा वृषदेवको पालामा चाबहिलको चैत्य बनेको हो भन्ने वर्णन परेको छ। यस अभिलेखमा ‘सङ्खिद्य सुचिरङ्कालम्भवनम्भवविच्छिदः = धेरै कालसम्म कष्ट गरीकन चैत्य बनाइएको छ’ भन्ने उल्लेख परेको छ। यताबाट निकै ठूलो चैत्य बनाइएको थियो भन्ने संकेत पाइन्छ। यस अभिलेखमा उल्लिखित चैत्य चाबहिलको प्रसिद्ध चैत्य नै हो भन्ने कुरा प्रसंग विचार गर्दा थाहा पाइन्छ।’ (उही)
३) ‘यसमा उल्लिखित माघवर्षे काले आषाढशुदिव १०’ यस वचनको आधारमा गणना गरी हेर्न सके यसको समय-निर्णय हुने सम्भावना छ। ‘माघवर्ष काल’ आदि लेख्ने चलन मानदेव यता देखिएको छैन। यसबाट पनि यो अभिलेख मानदेवभन्दा केही अघिको हो भन्ने संकेत पाइन्छ।’ (उही)
आफूले लेखेको लिच्छविकालका अभिलेख आफ्ना गुरु नयराज पन्तलाई धनवज्र वज्राचार्यले दिएपछि त्यस पुस्तकका ठाउँ ठाउँमा पानाका किनारा उनका टिप्पणीले रंगिए। चाबहिलको यस शिलालेखको ‘माघवर्ष काल’ को विषयमा बृहत्संहिताको बृहस्पतिचाराध्यायमा २०, २१, १ श्लोक पठनीय छन्’ भनी उनले लेखेको टिप्पणीबाट यो संवत् बार्हस्पत्य मान अनुसारको हो भन्ने उनको विचार देखिन्छ।
लिच्छविकालको नेपालमा बौद्ध धर्मको अवस्थामा प्रकाश पार्ने यस शिलालेखमा चलनचल्तीमा भएका संवत्मा भन्दा फरक संवत्को प्रयोग भएको हुनाले र राजाको नाउँ पनि फुटिसकेकाले हरिराम जोशी (विसं १९९२ मा जन्म), शंकरमान राजवंशी, डिल्लीरमण रेग्मी (विसं १९७०-२०५८), काशीनाथ तमोट (विसं २००१ मा जन्म), दिवाकर आचार्य (विसं २०२६ मा जन्म) आदिले लिपिको आधारमा गरेको यस शिलालेखको कालनिर्णय विद्वानैपिछे भिन्न भए जस्तै, गणनाको परिणाम पनि भिन्नाभिन्नै आएकाले यस शिलालेखको समय निर्धारणका लागि गरिएकोे प्रयास विद्याविलास मात्र हुन गएको थियो।
चाबहिलको त्यस शिलालेखको एउटा खण्ड प्रकाशमा आएको ५५ वर्षपछि विसं २०७५ मा त्यसको अर्को खण्ड फेला पर्दा यसका दुवै खण्ड जोडिन गए। अनि झण्डै दुई महीनाको परिश्रमबाट यस शिलालेखको पाठ, त्यसको उल्था र व्याख्या मैले तयार गरें। त्यसपछि नयाँ पत्रिकाका २ अंक (२०७५/११/१८।७, १४ पृ. र २०७५/१२/२/७, १३ पृ.) र नेपाल साप्ताहिकको १ अंक (२०७६/१/१५/१, ४३-४४ पृ.) मा गरी आफ्नो लेख छपाएँ। यसबाट यो शिलालेख (शक) संवत् ४२१ तदनुसार विसं ५५७ को ठहर्यो।
मनोधरा नाउँ भएकी कुनै स्त्रीले पुनर्जन्ममा पुरुष भई जन्मने इच्छाले राजा मानदेवको पालामा महर्षि, भवविच्छित्, महामुनि र विग्रहच्छित् भन्ने नाउँले पुकारी बुद्धको शिलाको मूर्ति र मन्दिर बनाई स्थापना गरेको कुरा त्यस शिलालेखमा छ। कलैतिहासिकहरूले ईसवीको पाँचौं शताब्दीको भनी ठहर्याएको त्यो मूर्ति (चित्र नं. ६) नै मैले विसं ५५७ मा मनोधराले स्थापना गरेको बुद्धमूर्ति हो भनी ठानेको छु। त्यो मूर्ति सन् १९८५ जुलाई तदनुसार विसं २०४२ असार-साउनमा हरायो भनी आफ्नो स्टोलन् इमेजेज् अफ् नेपाल् (राजकीय प्रज्ञा-प्रतिष्ठान, काठमाडौं, सन् १९८९)मा लैनसिंह बाङ्देल (विसं १९८१-२०५९) ले लेखेका छन्।
दोस्रो, पाटन सौगलटोल थपाहिटीको सूर्यमूर्ति हो (चित्र नं. ७)। नेसं १८५ तदनुसार विसं ११२२ मा रत्नाकर स्वामीले यस मूर्तिको स्थापना गर्दा राजा प्रद्युम्नकामदेव (निश्चित राज्यकाल ११२०-११२२)को राज्य चलिरहेको थियो भन्ने कुरा त्यही मूर्तिको पादपीठमा कुँदिएको अभिलेखबाट बुझिन्छ। त्यस मूर्तिको पादपीठमा कुँदिएको अभिलेख विसं २०१८ श्रावणसंक्रान्तिमा निस्केको अभिलेख-संग्रह दोस्रो भागमा हामीले पहिलो पटक छपाएका हौं। यो मूर्ति यूर्गेन शिक र लैनसिंह बाङ्देल दुवैले लेखे अनुसार सन् १९८५ मे १६ तदनुसार विसं २०४२ जेठ ३ गते चोरी भएको हो।
त्यसपछिको हो, फर्पिङको सरस्वतीको मूर्ति (चित्र नं. ८)। नेसं ३१२ तदनुसार विसं १२४९ को यो मूर्ति सरस्वतीका सुन्दर मूर्तिमध्ये पर्छ। गधेपच्चीसी भरखरैजसो पार गरेको अवस्थामा अभिलेख सहितको यस मूर्तितर्फ म तानिएँ। अनि यस विषयमा लेख्न पनि थालें। त्यो लेख पूर्णिमामा छपाउने मनसायले त्यस मूर्तिको जिंक ब्लक पनि बनाइसकेको थियो। त्यो ब्लक अझै संशोधन-मण्डलको संग्रहमा छ। मेरो बानी अक्सर लम्ब्याएर लेख्ने भएकाले त्यो लेख मैले पूरा गर्न सकिरहेको थिइनँ।
पछि विसं २०३७ मा रुक्मिणी प्रधान (वन्त) (विसं २०१० मा जन्म)बाट सरस्वतीको विषयमा लेख्दा यस मूर्तिको फोटो र अभिलेखको पाठ पनि प्रकाश भएकाले आफूले लेखिरहेको त्यस लेखको लत्तो मैले यसै छोडिदिएँ। सन् १९८४ को नोभेम्बर तदनुसार विसं २०४१ को कार्तिक-मंसीरमा यो मूर्ति समुच्चा नलगी शिर मात्रै काटेर लगेको कुरा यूर्गेन शिकको किताबबाट पछि थाहा भयो (चित्र नं. ९)।
गौरीका थरीथरीका मूर्तिको विषयमा परिशीलन गर्दा यस मूर्तिको विषयमा पनि मैले केही काम गरेको थिएँ। यस मूर्तिको पादपीठमा कुँदिएको अभिलेखमा यस मूर्तिको स्थापना कहिले भयो भनी लेखिएको भए पनि यहाँ संवत् लेखिएको रीति विवादास्पद भएकाले मैले परिश्रम गरी यो मूर्ति नेसं ३१६ तदनुसार विसं १२५३ को हो भनी निर्णय गरें। यो मूर्ति सन् १९७० को दशाब्दीको मध्यमा चोरी भयो भनी लैनसिंह बाङ्देलले लेखेका छन्। प्रजातन्त्रोत्तर कालका किसिम किसिमका निष्पत्तिमध्ये एउटा पुरावस्तुको चोरी र बिक्री पनि हो। एउटा मुलुकको कलाकृति उठाई यूरोप-अमेरिका र जापान आदि देशका म्यूजियम र रइसहरूका बैठक सजाउने प्रथा चलेकाले नेपालमा एक कुनामा थन्किएर रहेका मूर्ति मात्र होइन, पूजा गरिइरहेका मूर्तिसुद्धा बाँकी रहेनन् र धार्मिक मूर्तिहरू एकाएक नगदमा बदलिई कलाकृति हुन पुगे।
त्यस्ता पुरावस्तुको प्रदर्शन समय समयमा बाहिरफेरका ठूलठूला शहरमा हुन्छन्। तिनको सूची नाउँ चलेका, कलैतिहासिकहरूले तयार पार्छन्, चिल्ला कागतमा ती फेहरिस्त छापिन्छन् र महँगो मोलमा बेचिन्छन्। पुरावस्तु लिलामीमा राख्न क्रिस्टी’ज र सोथ्बी’ज जस्ता संस्था खडा छन्। चोरिएर, बेचिएर गएका त्यस्ता पुरावस्तुको विषयमा कलैतिहासिकहरू लेख छाप्छन् र यताबाट पुरावस्तुको मोल तोक्न सजिलो पर्छ। यसरी पुरावस्तुको चोरी र चोरिएका पुरावस्तु सम्बन्धी लेखको अन्योन्याश्रित सम्बन्ध छ।
ठाडो भाषामा भन्ने हो भने कलाको इतिहास लेखी धनमान कमाएका मानिसहरू धेरै अंशमा चोरका मतियार हुन्। राष्ट्रिय अभिलेखालयमा सात ताल्चा मारेर राखेको कलाकृति त यूरोपको सयल गर्न पुग्छन् भने बाटोमा अलपत्र परेर रहेका मूर्तिको रक्षा कसले गर्न जिम्मेवारी लिन सक्छ? विदेशका म्यूजियममा यस्ता कलाकृतिको संख्या झन् झन् बढ्दै गएको छ। म्यूजियमहरू यस्ता कलाकृतिको सर्भे गर्न भनी निकै मोटो रकम खर्च गरेर विशेषज्ञ यहाँ पठाउँछन् र तिनीहरूले नै दिएको सूचनाको भरमा कालान्तरमा त्यस्ता कलाकृतिले म्यूजियमको शोभा बढाउँदै जान्छन्।
हाम्रो देशको वर्तमान स्थिति हेर्दा पुरावस्तुको चोरी र बिक्री रोकिइहाल्ला जस्तो मलाई लाग्दैन। पुरावस्तुको संरक्षणमा खास गरी विदेशी पैसा खर्च हुने हुनाले यसमा हालिमुहाली हाम्रो छैन, विदेशीहरूकै छ। अपवादको हिसाब नराख्ने हो भने, पुरावस्तुका परख गर्न सक्ने विद्वान् पनि नेपालमा दुर्लभ नै छन्। मह काढ्नेले हात चाट्छ भन्ने उक्तिको अनुसरण गरी नेपाली अधिकारीहरू विदेशीका मतियार भएको उदाहरण पनि नपाइने होइन। ‘ट्रान्जिस्टर रेडियो र डाट्सन कार पुर्ख्यौली चित्र र मूर्तिभन्दा किम्मती ठानिने भए। चित्र र मूर्ति पर्यटकहरूलाई झन् झन् बेचिए’ भनी आफ्नो नेपाल् मण्डलमा मेअरी शेपर्ड स्लसरले विसं २०३९ मा लेखेको कुराले सारांशमा वस्तुस्थिति देखाइरहेको छ।