असोज २०७८ | 17/09/2021

कोरोनाका टुहुरा

Share:
  
- अनिता भेटवाल
कोभिड–१९ बाट नेपालमा हालसम्म १० हजार ८०० भन्दा बढी मानिसको मृत्यु हुँदा टुहुरा बनेका अनुमानित १२०० बालबालिकाको हेरचाह र व्यवस्थापनको विषय चुनौती बनेको छ ।

यादव खरेलको मृत्युपछि एक्लिएका श्रीमती लक्ष्मी र छोरा भुवन ।
तस्वीरहरू : मोनिका देउपाला

काभ्रे पाँचखाल नगरपालिका देउभूमिका भुवन खरेल (८) को दिनको शुरूआत बुबाले ओछ्यानमै ल्याइदिने दूध खाएसँगै हुन्थ्यो । त्यसपछि उनलाई खाजा तयार पार्ने, विद्यालय पुर्‍याउने र साँझ विद्यालयबाट घर ल्याउने बुबा यादव खरेलको दैनिकी नै थियो ।

विवाहको १२ वर्षपछि जन्मिएको सन्तान भएकाले यादवले छोरालाई निकै लाडप्यारले हुर्काएका थिए । कतिसम्म भने, आठ वर्षको छोरालाई बोकेरै स्कूल लैजाने र ल्याउने गर्थे । भुवनलाई बुबा भए कोही पनि चाहिँदैनथ्यो । तर, गएको १९ जेठमा कोभिड–१९ ले उनको त्यो मायालु अभिभावकत्व खोस्यो । सङ्क्रमणबाट बुबाको मृत्यु भएपछि भुवन बुबाबारे एक शब्द पनि सुन्नै सक्दैनन् । “बुबाको कुरा गर्दा ऊ कि भाग्छ, कि त कुना पसेर रुन्छ,” आमा लक्ष्मी भन्छिन् ।

बुबा बितेपछि भुवन घर बाहिर निस्किन छाडेका छन् । साथीहरूसँग घुलमिल हुँदैनन् । खानपिनमा रुचि राख्दैनन् । धेरै बोल्दैनन् । पाँचखालकै देउभूमिस्थित आजात माध्यमिक विद्यालयमा कक्षा ४ का प्रथम विद्यार्थी हुन्, उनी । तर, अहिले पढाइमा छोराको ध्यान नगएको लक्ष्मीको अनुभव छ । उनी भन्छिन्, “साँझ–बिहान घरमा बुबासँगै बसेर पढ्थ्यो । बुबा विना कुनै कुरामा उसको मन लाग्नै छाडेको छ ।”

भुवनको पढाइ राम्रो देखेर यादवले चाहे जति पढाउने अठोट गरेका थिए । तर, श्रीमान्‌काे वियोगपछि एक्लै परेकी लक्ष्मीले कमाइको एक मात्र स्रोत कृषि कर्म गर्न नसक्दा छोराको हुर्काइ र पढाइमा चुनौती देखिएको छ । उनी भन्छिन्, “बिहान–बेलुकाको खाना त मागेर जोहो गर्दै छु, कसरी छोरो पढाउनु ?”

श्रीमान्‌लाई कोभिड–१९ सङ्क्रमण भएपछि अस्पतालमा उपचार गर्दा रु.२ लाख ५० हजार र काजकिरिया गर्दा रु.५० हजार ऋण लागेको सुनाउँदै लक्ष्मी छोराको भविष्य सोचेर रातभर निद्रा नलाग्ने बताउँछिन् । “पढाइ राम्रो हुँदाहुँदै छोरालाई स्कूलबाट निकाल्नुपर्ने हो कि भन्ने चिन्ता छ,” उनी भन्छिन्, “विना आम्दानी एक्ली आमाले छोरालाई राम्रो भविष्य कसरी दिउँली ?”

कोरोनाले आमा बितेपछि दुई महीने भाइ स्याहार्दै अन्जु तामाङ ।
काभ्रे पाँचखालकी विष्णु तामाङको कोभिड–१९ सङ्क्रमणबाट ३१ असारमा धुलिखेल अस्पतालमा ज्यान गयो, जति वेला उनी १८ दिनकी सुत्केरी थिइन् । मीनबहादुर तामाङले आफू पनि सङ्क्रमित रहेकै अवस्थामा पत्नी गुमाएको खबर सुने ।

छोरो जन्माएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकी उनी त्यहाँबाट फर्किइनन् । आमा हुन्जेल नातिले एक पटक पनि दूध चुस्न नपाएको विष्णुकी सासू छुनुमाया तामाङ (६८) सुनाउँछिन् । जन्मिएको १८ दिनमै टुहुरो बनेका शिशुको स्याहारमा आमा गुमाएको पीडा भुल्दै दुई दिदीहरू अन्जु (१२) र आरती (१०) खट्न थाले । त्यसमा पनि अन्जु हर समय भाइको रेखदेखमा हुन्छिन् ।

“बिहान ५ बजे उठेर भाइलाई खुवाउने, कपडा फेरिदिने, लुगा धुने र राति सुताउने सबै काम जेठी छोरीले गर्छे,” मीनबहादुर भन्छन्, “म कोरोना सङ्क्रमणपछि राम्ररी तङ्ग्रिन सकेको छैन, आमा र बुबा वृद्ध हुनुभएका कारण घरव्यवहारको काम साना छोरीहरूले गर्नुपरेको छ ।”

कक्षा ६ मा पढ्ने अन्जुले भाइको स्याहारमा व्यस्त भएका कारण महीना दिनदेखि किताब पल्टाउन भ्याएकी छैनन् । आमा हुँदा उनी र बहिनीले भातभान्सा र घाँसदाउराको काम गर्नुपरेको थिएन । अहिले भने उनी भाइलाई स्याहार्नुका साथै साँझमा एक डोको घाँस ल्याउँछिन्, भान्साको काम बहिनीले सम्हाल्छिन् ।

तामाङ परिवारमा तीन लालाबाला हुर्काउने र पढाउने दायित्व छ । तर, मीनबहादुर आफ्नो ड्राइभिङ पेशा खोसिएको र ऋण लागेका कारण बच्चाहरूलाई राम्रो भविष्य दिन सक्नेमा ढुक्क छैनन् । उनी थप्छन्, “बूढा–बूढीलाई कोरोनाको उपचार गर्दा लागेको ऋण वर्षभरि काम गर्दा पनि तिर्न सकिँदैन होला, यी छोराछोरी कसरी राम्रो पढाउने ?”

मृतक श्रीमान् दिविन्द्र तामाङ सहित परिवारको तस्वीर देखाउँदै रुपा र छोरी रुविना।

काभ्रे पाँचखालस्थित पचासकिलोका दिविन्द्र तामाङ गाडी चलाउने काम गर्थे । कोभिड–१९ सङ्क्रमणबाट गत ५ जेठमा काठमाडौं मेडिकल कलेजमा उनले अन्तिम सास फेरे । तर, उनकी साढे दुई वर्षकी अबोध छोरी रुविनालाई बुबा बितेको कुरा अझै थाहा छैन । कतै गाडीको हर्न सुन्नासाथ उनी हत्तपत्त घर बाहिर निस्कन्छिन्, दायाँ–बायाँ हेर्छिन् र बुबालाई नदेखेपछि भित्र पस्छिन् । “सधैं कामबाट फर्कंदा हर्न बजाउँदै आउनुहुन्थ्यो, त्यसैले हर्न बज्दा उसलाई बुबा आए जस्तो लाग्छ,” आमा रूपा भन्छिन् ।

तीन वर्षअघि प्रेम विवाह गरेका दिविन्द्र र रूपाले छोरीका बारे धेरै सपना सजाएका थिए । तर, श्रीमान्‌काे निधनले सबै सपना भत्किएको रूपा बताउँछिन् । “दुःख गरेर छोरीलाई नर्स पढाउने सपना देखेका थियौं, त्यसकै लागि उहाँले छोरीको ९ लाखको बीमा गरिदिनुभएको थियो,” उनी भन्छिन् ।

गत तीन वर्षको बीचमा बुबा दम र आमा कोभिड–१९ का कारण बितेपछि दोलखाका रूपा सुनार (१५), सुस्मिता सुनार (११), उषा सुनार (८) र रूपक सुनार (३) बेसहारा बने । रेखदेख गर्ने आफन्त कोही नभएपछि उनीहरूलाई काभ्रेस्थित एसओएस चिल्ड्रेन भिलेजको बालग्रामले संरक्षण दिएको छ । रूपा कक्षा ८ मा, सुस्मिता ६ र उषा ३ मा पढ्दै छन् । यी चार जना आफ्नो खुट्टामा उभिने गरी सक्षम नभएसम्म उनीहरूको संरक्षण गरिने एसओएसकी दीपा ओली बताउँछिन् ।

यी माथिका उदाहरण जस्तै कोभिड–१९ को सङ्क्रमणका कारण धेरै बालबालिका टुहुरा भएका छन् । कसैले आमा, कसैले बुबा मात्र गुमाएका छन् भने कतिपयको आमाबुबा दुवैको ज्यान गएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार, हालसम्म २२४ जना बालबालिकाले कोभिड–१९ सङ्क्रमणबाट अभिभावक गुमाएको तथ्याङ्क छ । तीमध्ये सात बालबालिका आमा र दुवै गुमाएर बेसहारा भएका छन् ।

तर, महामारीबाट अभिभावक विहीन हुने बालबालिकाको यो विवरण पूर्ण होइन । ७४ वटा पालिकाले पठाएको विवरण अनुसार, यो सङ्ख्या ३२ स्थानीय तहको मात्र हो । अझै ६८९ स्थानीय तहले विवरण पठाउन बाँकी रहेको परिषद्ले जनाएको छ । परिषद्का अनुसार, सबै स्थानीय तहमा बाल संरक्षण प्रणाली स्थापना नहुँदा कोभिड–१९ बाट कति बालबालिकाले अभिभावक गुमाए भन्ने तथ्याङ्क नभएको हो । तथ्याङ्क प्राप्त नहुँदा अभिभावक विहीन बालबालिकालाई समयमै उद्धार, सहयोग र संरक्षण गर्न नसकिएको परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेल बताउँछन् । उनी भन्छन्, “हाम्रो अनुमानमा अझै एक हजारभन्दा बढी अभिभावक विहीन बालबालिका तथ्याङ्कमा छुटेका छन् ।”

उनका अनुसार, बालबालिकाको तथ्याङ्क आएपछि स्थानीय तहको सिफारिशमा ती बालबालिकाको व्यवस्थापनमा लाग्ने खर्च परिषद्ले दिने गरेको छ । परिषद्ले कोभिड–१९ का कारण अनाथ भएका बालबालिकाको अभिलेख सङ्घीय मन्त्रालयलाई उपलब्ध गराउन स्थानीय तहलाई पत्र काटे पनि सबैबाट प्रतिक्रिया नआएको उनको भनाइ छ ।

मानसिक स्वास्थ्यमा असर

कोभिड–१९ का कारण कलिलैमा अभिभावक विहीन बनेकाहरू मानसिक समस्याको चपेटामा पनि उत्तिकै परिरहेका छन् । मायालु काख र न्यानो अँगालो गुमेपछि बालबालिकाहरूलाई गहिरो शोक र एक्लोपनले मात्र सताएको छैन, दुर्घटनाको जोखिम पनि निम्त्याएको छ ।

काभे्र देउभूमिका भुवन खरेलले कोभिड–१९ का कारण बुबा बितेको खबर सुन्नासाथ पीडा सहनै सकेनन् । कोठामा पसे, चुकुल लगाए, र ब्लेडले हात काटे । “बाउ–छोरा एकछिन पनि छुट्टिंदैनथे । बुबा बितेपछि यसले चार ठाउँमा हात काटेछ,” छोराको स्वभाव देखेर लक्ष्मी डराउँछिन् । श्रीमान् बितेपछि घर चलाउन काममा व्यस्त हुँदा छोरालाई त्यति ध्यान दिन नपाएको उनको भनाइ छ ।

मनोचिकित्सक प्रा सरोजप्रसाद ओझा भने यस्तो अवस्थामा बालबालिकालाई अभिभावकले विशेष ध्यान दिनुपर्ने र सुरक्षित महसूस गराउनुपर्ने बताउँछन् । “द्वन्द्व, महामारी, दुर्घटना आदिका कारण बालबालिका नै सबैभन्दा बढी प्रभावित हुन्छन् । अप्रिय घटना हुँदा उनीहरूमा आफ्नो स्वभाव अनुसार मानसिक असर पर्दै जान्छ,” उनी भन्छन्, “परिवारका निकट सदस्य गुमाउँदा बालबालिकाले देखाउने असहज स्वभावलाई न्यूरोटिक डिसअर्डर भनिन्छ ।” मानसिक प्रभावले बालबालिकाको व्यक्तित्व विकासमा असर पार्ने उनको भनाइ छ ।

मनोचिकित्सकहरूका अनुसार, अभिभावक गुमाएपछि बालबालिकाले आफूलाई एक्लो र असुरक्षित महसूस गर्ने, धेरै घोरिने, मनमा अनेक प्रश्न खेलाउने गर्छन् । यसैले यस्तो वेला उनीहरूलाई माया, साथ, आडभरोसा र प्रेरणा आवश्यक हुने सेभ द चिल्ड्रेन नेपालका बाल संरक्षण तथा बाल अधिकार सुशासन सल्लाहकार रवीन्द्र गौतम बताउँछन् ।

कान्ति बाल अस्पतालका मनोचिकित्सक डा. अरुण कुँवरका अनुसार, अभिभावक गुमाएका बालबच्चा डराउने, तर्सिने, सुत्न नसक्ने, टोलाउने वा धेरै रिस देखाउने पनि गर्छन् । “फरक स्वभाव अनुसार, कतिपय बालबालिका ढोका थुनेर बस्छन् भने कोही धेरै चञ्चल हुन्छन्,” डा. कुँवर भन्छन्, “परिवारले बालबालिकालाई व्यस्त राख्ने, सँगै खेल्ने, रुटिन बनाइदिएर त्यसको पालना गर्न लगाउने गर्नुपर्छ ।” यो अवस्थामा बालबालिकालाई घरको आर्थिक, पारिवारिक समस्या देखाउँदा झन् असर पर्ने डा. कुँवर बताउँछन् ।

कतिपय आफन्तले बालबालिकालाई बुबा–आमा बितेको कुरा लुकाउने गर्छन् । त्यसले उनीहरूलाई झनै द्विविधामा पार्ने हुँदा सत्य कुरा बताउनुपर्ने मनोचिकित्सकको सल्लाह छ । “झूट बोलियो भने बच्चा बुबाआमाको आशामा बस्ने र अन्योल हुने गर्छ,” डा. ओझा भन्छन्, “अन्योल र तनावका कारण उनीहरूलाई डिप्रेसन हुने, स्कूलबाटै भाग्ने, आत्महत्याको प्रयास गर्ने, कुलतमा फस्ने जोखिम हुनसक्छ ।”

कोभिड–१९ कै कारण आमा गुमाएकी १२ वर्षीया अन्जु तामाङ राति सुत्न सक्दिनन् । उनलाई सँगै सुतेको दुई महीनाको भाइलाई केही भयो कि भन्ने डर हुन्छ । डा. ओझाका अनुसार, बालबालिकाले नजिकको कोही गुमाए पछि फेरि अर्कोलाई पनि गुमाउँछु भन्ने चिन्ता लाग्छ । पटक पटक यसरी तर्सिने र निद्रा नपर्ने समस्याले शारीरिक र मानसिक दुवै असर पर्ने उनी बताउँछन् ।

बालबालिकाको मानसिक स्वास्थ्यलाई प्राथमितामा राखेर सरकारले कोष बनाउनुपर्ने डा. ओझाको सुझाव छ । “बालबालिकालाई देशको भविष्य भन्ने गरिए पनि उनीहरूको कठिन अवस्थामा सहारा बन्नबाट सरकार पन्छिएको देखिन्छ,” उनी भन्छन्, “भोलि यिनै बालबालिकाबाट राज्यले प्रतिफल खोज्ने हो भने आज यिनलाई राम्रो वातावरणमा हुर्काउन सरकारले लगानी गर्नैपर्छ ।”

जटिल व्यवस्थापन

कोभिड–१९ बाट नेपालमा हालसम्म १० हजार ८०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ । २० देखि ५० वर्ष उमेरका मानिसको ठूलो सङ्ख्यामा मृत्यु भएको र यो उमेर समूहमा १८ वर्षमुनिका बालबालिका भएका घरपरिवारका व्यक्ति पर्ने हिसाबले हालसम्म एक हजारदेखि १२ सय बालबालिकाले एक वा दुवै अभिभावक गुमाएको राष्ट्रिय बाल अधिकार परिषद्को अनुमान छ । अभिभावक विहीन बालबालिकाको संरक्षण र व्यवस्थापन कसरी होला भन्ने चुनौती देखिएको छ ।

बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको अधिकार एवं हकहितको संरक्षणका लागि प्रत्येक प्रदेशमा प्रदेश बाल अधिकार समिति र स्थानीय तहमा स्थानीय बाल अधिकार समिति रहने व्यवस्था गरेको छ । यस्तै, बालबालिकाको अधिकारको सम्मान, संरक्षण र संवद्र्धन गर्न तथा बाल संरक्षणका काम समेत गर्न स्थानीय तहमा एक जना बाल कल्याण अधिकारी रहने, बालबालिकालाई तत्काल उद्धार, राहत र पुनःस्थापना गर्न तथा क्षतिपूर्ति प्रदान गर्न बाल कोषको स्थापना गर्ने पनि ऐनमा उल्लेख छ । तर, हालसम्म १० प्रतिशत स्थानीय तहले पनि यस्तो प्रणालीको विकास गरेका छैनन् । जसका कारण अनाथ, बेवारिसे तथा समस्यामा परेर उद्धार र विशेष संरक्षणको आवश्यकता रहेका बालबालिका कति सङ्ख्यामा र कुन अवस्थामा छन् भनेर सरकारलाई पूर्ण जानकारी छैन ।

सबै स्थानीय तहमा स्थानीय बाल अधिकार समिति स्थापना नहुँदा समस्यामा परेका बालबालिकाको विवरण खोजबिन, उद्धार, सहयोग र व्यवस्थापनमा राष्ट्रिय बाल अधिकार परिषद् आफैं जुट्नुपरेको परिषद्की बाल सङ्गठन शाखा प्रमुख नमुना भुसाल बताउँछिन् ।

कोभिड–१९ बाट अभिभावक गुमाएका बालबालिकालाई राज्यले संरक्षण र व्यवस्थापन गर्ने विषयमा राष्ट्रिय बाल अधिकार परिषद्ले गत वर्ष कार्ययोजना बनाइसकेको छ । जसमा दुई तरिकाले बालबालिकालाई व्यवस्थापन गर्ने उल्लेख रहेको परिषद्का कार्यकारी निर्देशक धरेल बताउँछन् ।

एक, परिवार वा आफन्त भएको बालबालिकालाई घरपरिवारभित्रै राखेर सहायता पाउने वातावरण बनाउने । परिषद्को अनुमानमा परिवारमै राखेर सहायता दिन सकिने बालबालिकाको सङ्ख्या करीब ८÷९ सय छ । कार्ययोजनामा उनीहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने र पठनपाठनको निरन्तरता सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।

दोस्रो, जुन बालबालिकाको कोही पनि छैन र कठिन अवस्थामा छन्, उनीहरूलाई वैकल्पिक स्याहार केन्द्रमा ल्याएर राख्ने । यसका लागि परिषद्ले ३२ पालिकाबाट हालसम्म तथ्याङ्क प्राप्त अभिभावक विहीन २२४ बालबालिकाको पुनर्परीक्षण र रुजु गरिरहेको छ । अनाथ बालबालिकालाई राख्न परिषद्‌मा १० वटा स्याहार केन्द्रले आवेदन दिएका छन् । उपयुक्त संस्था छनोट गरी परिषद्ले सम्झाैता गरेपछि त्यहाँ अभिभावक विहीन बालबालिकालाई राखिनेछ ।

कार्यकारी निर्देशक धरेलका अनुसार, आफन्तको संरक्षणमा रहने बालबालिकालाई अनुमानित प्रति व्यक्ति वार्षिक ३० हजार उपलब्ध गराउने गरी परिषद्ले बजेटको तयारी गरिरहेको छ । कक्षा १० सम्म सरकारी विद्यालयमा निःशुल्क पठनपाठन हुने भएकाले यसमा अध्ययन खर्च नछुट्याएको उनी बताउँछन् ।

परिषद्का अनुसार, तथ्याङ्क सङ्कलन, कार्यक्रम, योजना र बजेटको तयारी भइरहे पनि हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नेतृत्व विहीन भएकाले नीतिगत रूपमा अगाडि बढ्न सकिएको छैन । कार्यक्रम अनुसारको बजेट प्राप्त भए पनि लिखित नीति नहुँदा भोलि आवश्यक निर्णय र सहयोग कसले गर्ने भन्नेबारे अन्योल नै रहेको धरेल बताउँछन् । मन्त्रालयका प्रवक्ता उमेश ढुङ्गाना भने मन्त्री नभएकै कारण कार्यक्रम नरोकिने बताउँछन् । “संरक्षण र व्यवस्थापन गर्नुपर्ने बालबालिकाहरूका लागि आवश्यक कार्यक्रमबारे मन्त्रिपरिषद्‌मै निर्णय हुनेछ,” उनी भन्छन् ।

महामारीमा बुबाआमा दुवै गुमाएका जिना (बायाँ), राजकुमार (बीचमा) र श्यामकुमार विक ।

काभ्रे अनेकोटका राजकुमार विक २० वर्षका भए, तर उनी तीन भाइबहिनीका एक्ला अभिभावक हुन् । २६ साउन २०७७ मा कोभिड–१९ का कारण उनीहरूले आमा गुमाए । त्यसको वर्ष दिनमै गत २७ जेठमा बुबाको पनि मृत्यु भयो । “आमा बितेपछि बुबालाई डिप्रेसन भयोे । घरमा कोही नभएको वेला बुबाले आगो लगाएर आत्महत्या गर्नुभयो,” राजकुमार भन्छन् ।

लगालग आमा र बुबा बितेपछि सन्तानहरू छिन्नभिन्न भएका छन् । पाँच सन्तानमध्ये जेठी छोरीको विवाह भइसकेकोमा राजकुमारले सबै भाइबहिनीको रेखदेख एक्लैले गर्न नसक्ने भएपछि माइली बहिनी र कान्छो भाइ आफन्तकहाँ राखेका छन्, कान्छी बहिनीलाई भने आफूसँग राखेर पढाइरहेका छन् । “भाइबहिनीलाई अरूकहाँ राख्न मन छैन, तर एक्लैले हेरचाह गर्न नसकेपछि उपाय नै भएन,” उनी भन्छन् । आमाबुबा नभएपछि घर सम्हाल्न राजकुमारले २० वर्षमै विवाह गरे । यो उमेरमा उनी आफ्नो रहर भुलेर परिवार पाल्न मजदूरीमा घोटिइरहेका छन् । ललितपुर ग्वार्कोमा रहेको एक हस्तकला पसलमा काम गर्छन् । “महीनाको १२ हजार कमाउँछु, त्यसैबाट घर चलाउने र कान्छी बहिनीलाई पढाउँदै छु,” राजकुमार सुनाउँछन् ।

राजकुमारको कमाइले घर चल्न मुश्किल भएपछि कक्षा ९ मा पढ्दै गरेका कान्छा भाइ श्यामकुमार (१६) अहिले मोबाइल फोन बनाउने तालिम लिँदै छन् । “काम सिकेर दाइलाई सहयोग गर्छु,” उनी भन्छन् ।

आमालाई उपचार गरेको र बुबासँगै आगोले जलेको घर बनाउँदा राजकुमारलाई कलिलै उमेरमा ऋणले थिचेको छ । आमा गुमाएपछि मजदूरी गर्न थालेका उनले आफ्नो पढ्ने सपना भाइबहिनी मार्फत पूरा हुने आकाङ्क्षा राखे । “तर, बुबा पनि गुमाएपछि अब सक्दिनँ होला जस्तो लाग्छ । भाइबहिनीलाई कतैबाट पढाइदिने व्यवस्था भए हुन्थ्यो,” उनी भन्छन् ।

comments powered by Disqus

रमझम