असोज २०७८ | 17/09/2021

मेलम्चीको मृगतृष्णा

Share:
  
- मुकेश पोखरेल
२२ वर्षमा रु.३५ अर्ब खर्चेर काठमाडौंमा पानी ल्याएको तीन महीना नहुँदै बाढीले बाँध सहित महत्त्वपूर्ण संरचना बगाएपछि मेलम्ची खानेपानी आयोजनाको भविष्य अन्योलमा परेको छ।

मेलम्ची र पेम्दाङ खोलाको सङ्गमस्थल भेमाथाङभन्दा तल मेलम्चीले गरेको कटान र पहिरो।
तस्वीरहरू : शिव बास्कोटा

१ असार २०७८ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको हेडवक्र्स पुरिदियो। हेडवक्र्समा अहिले २० मिटर अग्लो गेग्रान थुप्रिएको छ। बाढीले बिगारेको मुहान मर्मत गरी काठमाडौंमा मेलम्चीको कहिले पानी आउला, यसै भन्न सकिने अवस्था छैन।

“मुहानमा थुप्रिएको गेग्रानलाई डोजरले फालेर अस्थायी रूपमा भए पनि पानी ल्याउने तयारीमा छौं,” आयोजना कार्यालयका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्त भन्छन्, “बाढी र बर्खा रोकिएको छैन, असोजतिर काम शुरू गर्छाैं।” आयोजनाले गत जेठसम्म काठमाडौंमा दैनिक १७ करोड लिटर पानी पठाइरहेको थियो।

हेडवर्क्समा थुप्रिएको गेग्रानलाई डोजरले पन्छाएर हिउँदमै मात्र भए पनि मेलम्चीको पानी पठाउन सकिन्छ कि भन्ने सोच आयोजनाको छ। अस्थायी रूपमा संरचना बनाएर मेलम्चीको पानी ल्याउने काम सुचारु गर्न रु.१ अर्ब लाग्ने अनुमान गरिएको छ।

मेलम्ची र पेम्दाङ खोलाको सङ्गमस्थल भेमाथाङ।

मेलम्ची खानेपानी आयोजना कार्यालयका अनुसार, १ असार र १६ साउनमा आएको बाढीले आयोजनामा रु.२ अर्बभन्दा बढी क्षति गरेको छ। बाढीले आयोजनाको करीब २२ किलोमिटर लामो पहुँच मार्ग मात्र होइन, ६ वटा पुल, निर्माण सामग्री राख्ने गोदाम र कार्यालय संरचना पनि बगाएको छ।

अब मेलम्चीबाट स्थायी रूपमा पानी ल्याउन सम्भव छ कि छैन ? मेलम्ची खानेपानी आयोजना कार्यालय नै अन्योलमा छ। सिनियर डिभिजनल इन्जिनियर पन्त मेलम्चीको मुहान क्षेत्र लगायत त्यस वरपरको विस्तृत अध्ययन नगरी भन्न नसकिने बताउँछन्। “माथितिर गइरहेका पहिरो रोकथाम गर्न सकिन्छ कि सकिँदैन, त्यो अध्ययन नगरी केही भन्न सकिन्न,” उनी भन्छन्, “मेलम्चीमा अनिश्चितता आयो, समय लाग्ने भयो।”

सिन्धुपाल्चोकमा रहेको मेलम्चीको पानी २७ किलोमिटर सुरुङ मार्फत सुन्दरीजल ल्याएर काठमाडौंमा बाँड्ने आयोजनालाई तीन चरणमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। पहिलो चरणमा मेलम्ची नदीको १७ करोड लिटर पानी ल्याउने। र, दोस्रो र तेस्रो चरणमा लार्के र याङ्ग्री नदीको थप १७/१७ करोड लिटर पानी ल्याउने।

दुई किलोमिटर सुरुङ बनाएर लार्के नदीको पानी याङ्ग्रीमा मिसाउने र याङ्ग्रीबाट अर्को ९ किलोमिटर लामो सुरुङ मार्फत थप ३४ करोड लिटर पानी मेलम्चीमा मिसाएर दैनिक ५१ करोड लिटर पानी काठमाडौं पठाउने लक्ष्य बाढीपछि सफल नहुने देखिएको छ।

जलवायुजन्य प्रकोपको चुनौती

विज्ञहरूले मेलम्चीमा आएको बाढीलाई पनि जलवायुजन्य प्रकोपकै रूपमा लिएका छन्। मेलम्चीको मुहान क्षेत्र, पेम्दाङ खोला र भेमाथाङको अध्ययन गरेर फर्किएका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् शिव बास्कोटा उच्च स्थानमा अत्यधिक वर्षा नै मेलम्ची नदीमा बाढी आउनुको प्रमुख कारण मान्छन्। “अहिलेसम्मको अध्ययनले उच्च स्थानमा भएको वर्षा र त्यसले निम्त्याएको पहिरोका कारण मेलम्चीमा बाढी आएको देखिन्छ,” बास्कोटा भन्छन्, “मेलम्ची र पेम्दाङ खोलामा अत्यधिक पहिरो गएको छ।”

पेम्दाङ खोलाको माथिल्लो जलाधार क्षेत्र।
उनका अनुसार, इन्द्रावती नदीका सहायक नदीहरू मेलम्ची, याङ्ग्री, लार्के सबैको मुहान क्षेत्रमा अत्यधिक वर्षा भएको छ। यी नदीको स्रोत जुगल हिमाल हो। पेम्दाङ र मेलम्ची नदीको सङ्गमस्थल भेमाथाङमा करीब १५ करोड घनमिटर गेग्रान थुप्रिएको छ भने नदीको दायाँबायाँ अझै पनि पहिरो जाने सम्भावना छ।

वर्षा हुँदा थुप्रिएर रहेको गेग्रान बगेर आउने भएकाले तत्कालै मेलम्चीको समस्या समाधान हुने देखिँदैन। पहिरो गएका स्थान करीब ३ हजार ५०० मिटरभन्दा माथिको उचाइमा छन्। त्यस क्षेत्रमा वर्षा मापन केन्द्र नभएकाले कति वर्षा भयो र त्यसले पहिरो निम्त्यायो, यकिन छैन।

बदलिँदो जलवायुले भविष्यमा थप सङ्कट निम्त्याउने भएकाले याङ्ग्री र लार्केबाट थप पानी ल्याउने योजनामा पुनर्विचार गर्नुपर्ने बास्कोटाको भनाइ छ। “उच्च क्षेत्रमा वर्षा हुँदा त्यसले निम्त्याउने क्षतिबारे अध्ययन तथा अनुसन्धान नै भएको रहेनछ,” उनी भन्छन्, “याङ्ग्री र लार्के पनि हिमनदी हुन्। त्यहाँको भौगोलिक अवस्था मेलम्ची र पेम्दाङको भन्दा फरक छैन।”

पहाडी तथा हिमाली क्षेत्रमा गइरहेका पहिरोका बारेमा अध्ययन गरिरहेका पुल्चोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक वसन्त अधिकारी भने मेलम्चीमा बगेर आउने गेग्रानलाई विभिन्न ठाउँमा चेक ड्याम बनाएर रोक्न सकिनेमा आशावादी छन्। “ठूलो परिमाणमा बगेर आउने गेग्रानलाई रोक्न सकिन्छ,” अधिकारी भन्छन्, “सरकार त्यसका लागि लगानी गर्न तयार हुनुपर्‍यो।”

त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक रञ्जनकुमार दाहालका अनुसार, मेलम्चीको मुहान क्षेत्रमा जमीन सर्ने र स–साना पहिरो जाने क्रम २०७२ को भूकम्पदेखि नै चलिरहेको थियो। यस पटक वर्षाले भूकम्पले चिरा परेको जमीन गलेकाले पहिरो गई नदी थुनियो। एक पटक भूकम्पले हल्लाएको जमीन पूर्ववत् अवस्थामा फर्कन ५ देखि १० वर्ष लाग्छ।

जलवायुविज्ञ राजु पण्डित क्षेत्री जलवायुजन्य घटना र त्यसबाट हुने क्षति हरेक वर्ष बढिरहेकाले भौतिक पूर्वाधार बनाउँदा जलवायुमैत्री बनाउनुपर्ने बताउँछन्। “पुल, सडक, खानेपानी आयोजना सम्भावित प्रकोपलाई आकलन गरेर बनाउनुपर्‍यो,” उनी भन्छन्, “त्यसो गर्दा तत्काल लागत केही महँगो पर्ने भए पनि भविष्यमा हुने क्षति न्यून हुन्छ। मेलम्चीमा सम्भावित बाढीको आकलन गरिएको भए यति ठूलो भौतिक क्षति व्यहोर्नुपर्ने थिएन।”

भेमाथाङमा जम्मा भएको पहिरो।

पहिरो, बाढी, हिमताल विस्फोट, भूकम्प आदि स्वाभाविक प्राकृतिक परिघटना हुन्। यस्ता घटना पृथ्वीको उत्पत्ति भएदेखि हुँदै आएका थिए। वन तथा वातावरण मन्त्रालयले हालै सार्वजनिक गरेको सङ्कटासन्नता, जोखिम विश्लेषण र अनुकूलनका उपाय सम्बन्धी प्रतिवेदनका अनुसार, सन् १९७१-२०१९ सम्म जलवायुजन्य प्रकोप बढेको देखिएको छ। हिमपहिरो, चट्याङ, असिना, भारी वर्षा, आँधीबेहरी, शीतलहर, तातो हावा, बाढी, हिमआँधी, महामारी, पहिरो लगायत ११ घटनालाई जलवायुजन्य प्रकोप मानिएको छ।

सन् १९७१-२०१९ सम्म जलवायुजन्य प्रकोपका कारण नेपालले हरेक वर्ष सरदर रु.२६ करोड आर्थिक क्षति व्यहोरिरहेको छ। यो देशको कुल गार्हस्थ्य उत्पादनको ०.०८ प्रतिशत हो। विसं २०७४ मा तराईमा गएको बाढीका कारण रु.७ अर्ब ३९ करोड बराबरको आर्थिक नोक्सान भएको थियो।

यो कुल गार्हस्थ्य उत्पादनमा पुगेको क्षतिको २.०८ प्रतिशत हो। प्रतिवेदनका अनुसार, नेपालमा हरेक वर्ष सरदर ६४७ जनाको मृत्यु हुन्छ। त्यसमध्ये जलवायुजन्य प्रकोप जस्तै बाढी, पहिरो, चट्याङ, महामारी, आगलागी र आँधीबेहरी लगायतका घटनाबाट ६५ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ।

एडीबीको लगानीमा सन्देह

मेलम्चीको बाढीले गरेको क्षति।
बाढीले मेलम्ची खानेपानी आयोजनामा पुर्‍याएको क्षतिपछि सम्भावित जोखिमको लेखाजोखा विनै हचुवामा ठूलो लगानी गरिएको भन्दै सरकार तथा दातृ निकायको समेत आलोचना भएको छ। “मेलम्चीको प्रसङ्ग शुरू भएपछि म लगायत दुई–चार जनाले मेलम्ची उपयुक्त हुँदैन भनेका थियौं,” जलस्रोतविज्ञ अजय दीक्षित सम्झ्न्छन्, “अहिलेको जस्तो भयावह अवस्था आउला भनेर भनेको होइन, सिन्धुपाल्चोक प्राकृतिक रूपमा जोखिमयुक्त ठाउँ भएकाले ठूलो लगानी गर्न उपयुक्त हुन्न भन्ने हाम्रो सुझाव थियो।”

ठूलो धनराशि खर्चेर तयार भएको आयोजनाबाट कसरी पानी ल्याउन सकिन्छ, त्यसबारे ध्यान दिनुपर्ने दीक्षित बताउँछन्। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रकै विकास निर्माणमा चुनौती थपिएको उनको टिप्पणी छ।

सरकारी अधिकारीहरू भने यस्तो आलोचनालाई अर्थहीन मान्छन्। मेलम्ची आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्त मेलम्ची आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)मा भूकम्पीय, वातावरणीय र जलवायुजन्य घटनाको सम्भावित जोखिमको आकलन गरिएको भए पनि अहिलेको जस्तो ठूलो र अप्रत्याशित घटनाको कल्पना नगरिएको बताउँछन्।

मेलम्ची आयोजनाको डीपीआर नर्वेजियन कम्पनी नोरप्लानले तयार गरेको थियो। “भूकम्प, हिमताल विस्फोटबाट आउन सक्ने बाढी र पहिरोको लेखाजोखा गरिएको छ। तर, छोटो समयमा यति ठूलो क्षति हुने गरी बाढी आउला भन्ने अनुमान नै थिएन,” उनी भन्छन्, “यो १०० वर्षका लागि डिजाइन गरिएको संरचना हो। विश्वव्यापी रूपमा बढेको तापक्रम वृद्धिले अनुमान गरेभन्दा छिटो र ठूलो क्षति भयो। हाम्रा लागि यस्ता घटना ठूला पाठ हुन्।”

सन् १९८८ मा बेलायतको विन्नी एण्ड पार्टनर्सले उपत्यकाभित्र र बाहिरका २० वटा सतहगत सम्भाव्य पानीका स्रोत अध्ययन भएकोमा मेलम्ची नदीलाई सबैभन्दा उत्तम सम्भाव्य स्रोतका रूपमा पहिचान गरेको थियो। त्यसैगरी सन् १९९२ मा अस्ट्रेलियाको स्मेक कन्सल्टेन्टले काठमाडौंका लागि मेलम्ची डाइभर्सन स्कीम तथा उपत्यकाभित्रका स्रोतहरू समेत गरी विकल्पहरू मेलम्ची, लामटाङ नदी, इन्द्रवती, त्रिशूली र कुलेखानी, रोशी खोलाको अध्ययन गरेको थियो।

उपत्यकाभित्रका बागमती, कोडकु, बल्खु र नख्खु नदीहरूको समेत अध्ययन गरिएकोमा आर्थिक, सामाजिक र प्राविधिक दृष्टिकोणबाट समेत काठमाडौं उपत्यकामा दीर्घकालीन रूपमा पर्याप्त पानी आपूृर्ति हुन सक्ने स्रोतका रूपमा मेलम्चीलाई ठहर गरिएको थियो। र, सोही अनुरूप एशियाली विकास ब्याङ्क लगायत विभिन्न दातृ निकायको ऋण र नेपाल सरकारको लगानी गरी झण्डै ३५ अर्ब खर्चेर मेलम्चीको पानी २२ वर्षमा काठमाडौं झारिएको थियो।

मेलम्चीको बाढीले गरेको क्षति।

भृकुटीमण्डपमा धारा खोलेर २२ चैत २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गरेकी थिइन्। मेलम्चीको पानी काठमाडौंमा वितरण हुन थालेपछि चर्को खानेपानीको समस्या झेल्दै आएका काठमाडौंबासीलाई राहत भएको थियो। तर, तीन महीना नपुग्दै बाढीले आयोजनाको मुहान नै क्षतिग्रस्त बनाइदिएपछि राजधानीबासीले पुरानै नियति झेल्नुपरेको छ।

मेलम्चीको मुहान क्षेत्रमा देखिएका प्राकृतिक प्रकोपले मेलम्चीको भविष्यमै प्रश्न उठेपछि काठमाडौंको खानेपानीको स्रोतका विषयमा पुनः चर्चा शुरू भएको छ। खानेपानी मन्त्रालयका अधिकारीहरूले मेलम्ची काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिमा दिगो स्रोत बन्न नसक्ने बताउन थालेका छन्। मन्त्रालयका एक अधिकारी भन्छन्, “मेलम्ची आयोजना काठमाडौंका लागि दिगो हुन सक्दैन। अब सम्भावित स्रोत खोज्नुपर्दछ।”

तिनका भनाइमा, काठमाडौंको खानेपानी समस्या समाधानका लागि जलाशययुक्त आयोजना सबैभन्दा उपयुक्त हो। त्यसका लागि इन्द्रसरोवर अथवा अन्य सम्भावित स्थानमा जलाशय निर्माण गरेर उपत्यकाको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ। मेलम्ची आयोजनाको निर्माण थाल्नुअघि अन्य आयोजनाभन्दा मेलम्ची उपयुक्त ठहर गरिएकाले तत्काल विकल्पका रूपमा यो नै उपयुक्त भन्न सक्ने अवस्था नरहेको मन्त्रालयका ती अधिकारी बताउँछन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार, अहिले उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग छ। केयूकेएलले उपत्यकाभित्रका भूमिगत र अन्य पानीका स्रोतबाट बर्खामा दैनिक १७ र हिउँदमा ९ करोड लिटर मात्र उपलब्ध गराउन सक्छ। मेलम्चीको निर्माणले दैनिक १७ करोड लिटर थप भएपछि राहत मिल्नुका साथै भूमिगत पानीमाथिको निर्भरता केही कम हुने अपेक्षा गरिएको थियो।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व सह-प्राध्यापक एवं पानी व्यवस्थापन इन्जिनियर आशुतोष शुक्लाका अनुसार, काठमाडौं उपत्यकामा भूमिगत पानी कति छ भनेर २५ वर्षयता विस्तृत अध्ययन भएको छैन। सन् १९९४ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अध्ययनले उपत्यकामा दैनिक डेढ करोड लिटर मात्र भूमिगत पानी प्रयोग गर्न सकिने उल्लेख गरेको थियो।

comments powered by Disqus

रमझम