असोज २०७८ | 17/09/2021

सम्बन्ध सेतु बोद्ध धर्म

Share:
  
- वसन्त महर्जन
भूगोल, कला, संस्कृतिको ऐतिहासिकताको जति चर्चा गरे पनि नेपाल-चीनबीचको सम्बन्धमा बौद्ध धर्म नै सबैभन्दा दरिलो सेतु हो।

तिब्बतमा रहेको साक्या गुम्बाको सन् १९४८ अघि र अहिलेको तस्वीर। यो गुम्बामा अरनिकोले बनाएको सुवर्ण चैत्य रहेको छ।

नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध सन् ६८ बाटै शुरू भइसकेको तथ्य यस विषयमा चासो राख्नेहरूलाई नौलो हुनसक्छ। मध्यएशियामा कुशाणवंशी राजा कणिष्कभन्दा पहिले चिनियाँ सेनापति पान-छाओले प्रभाव जमाएका वेला हान वंशी राजा ‘मिङ्ग-ती’ को निमन्त्रणामा भिक्षु काश्यप मातङ्ग र धर्मरत्न (वा धर्मरक्ष) चीन पुगेसँगै बौद्ध धर्मले त्यहाँ औपचारिक प्रवेश पायो। भिक्षुद्वयलाई ‘श्वेताश्व विहार’ बनाई राखिएपछि राजकीय संरक्षणमा बौद्ध धर्म द्रुततर गतिमा फैलिएको तथ्य चिनियाँ इतिहासमा छ।

बौद्ध धर्मको सोझे सम्बन्ध गौतम बुद्ध (इपू ५६३-४८३)सँग रहेको छ। उनको जन्मभूमि लुम्बिनी तथा गृहनगर तत्कालीन शाक्य गणराज्यको राजधानी कपिलवस्तु वर्तमान नेपालमा भूक्षेत्रभित्र पर्दछ। त्यसैले नेपाल–चीन सांस्कृतिक सम्बन्ध दुई हजार वर्षअघि नै रहिसकेको मान्न सकिने पर्याप्त आधार छन्।

नेपाल-चीन सांस्कृतिक सम्बन्धबारे चर्चा गर्दा प्रायःजसो सातौं शताब्दीमा तिब्बती राजा स्रोङचोङ गम्पो र नेपाली राजकुमारी भृकुटीको विवाहलाई अघि सार्ने गरिएको छ। बौद्ध धर्मको इतिहासमा यो वैवाहिक सम्बन्ध महत्त्वपूर्ण परिघटना भए पनि यसलाई धेरैपछिको एक घटना मान्नुपर्छ।

यसअघि चौथो शताब्दीमा फा सियान र सातौं शताब्दीमा स्वान चाङ तथा इचिङ नामक चिनियाँ बौद्ध भिक्षुहरूले बुद्धसँग सम्बन्धित नेपालका विभिन्न ठाउँ भ्रमण गरेका थिए। फा सियानभन्दा दुई सय वर्षअघि लुम्बिनी भ्रमण गरिसक्ने लि-ताओ-युङ्ग र त्यसपछिका सेङ साई र वाइ यु-चिनलाई पनि बिर्सन मिल्दैन।

भृकुटीसँगै तिब्बतमा बौद्ध धर्म प्रवेश गरेको
चर्चालाई उदार दृष्टिले हेर्दा अरू क्षितिज
पनि देखा पर्दछन्। नेपाल र तिब्बतको भूमि
जोडिएको हुँदा सामाजिक, सांस्कृतिक तथा
व्यापारिक सम्पर्क पनि बलियो
भइसकेको अनुमान हुन्छ।

बौद्ध धर्मको विकास र विस्तारका क्रममा चीन एउटा केन्द्र हुन पुग्यो। धर्म प्रचारका लागि सन् ३७२ बाट चिनियाँ बौद्ध भिक्षुहरू विभिन्न ठाउँ जान थालेका थिए। यही मेसोमा चिनियाँ बौद्ध भिक्षुहरू बौद्ध धर्मबारे थप अध्ययन, मौलिक ग्रन्थ सङ्कलन र गौतम बुद्धसँग सम्बन्धित लुम्बिनी, रामग्राम, कपिलवस्तु लगायत भारतको भ्रमणमा निस्किएको इतिहास छ। ऐतिहासिक तथा पुरातात्त्वक दृष्टिले ती चिनियाँ यात्रीहरूका भ्रमण वृत्तान्त अत्यन्तै महत्त्वपूर्ण मानिन्छन्।

भृकुटीसँगै तिब्बतमा बौद्ध धर्म प्रवेश गरेको चर्चालाई उदार दृष्टिले हेर्दा अरू क्षितिज पनि देखा पर्दछन्। नेपाल र तिब्बतको भूमि जोडिएको हुँदा सामाजिक, सांस्कृतिक तथा व्यापारिक सम्पर्क पनि बलियो भइसकेको अनुमान हुन्छ। पाँचौं शताब्दीमै ओन्दूमा बौद्ध धर्मको राम्रो पकड बनिसकेको थियो। यो भूमि ल्हासाभन्दा माथि अलि पूर्वमा पर्दछ।

गुप्तहरूको दबदबा थेग्न नसकेर राजा उदयदेव तिब्बतमा सपरिवार पलायन हुनु, भृकुटीकै कारण उदयदेवका छोरा नरेन्द्रदेवले तिब्बती सेनाको सहायता मार्फत पुस्तैनी राजगद्दी पुनप्र्राप्तिले पनि दुई देशको सम्बन्ध प्रगाढ देखाउँछ।

मङ्गोलियामा अरनिको

मङ्गोलियामा विवाह समारोह वा कुनै महत्त्वपूर्ण अवसरमा चाँदीको कलात्मक कचौरा उपहार दिने परम्परा छ। नेपाली परामर्शदाता विनोद श्रेष्ठका अनुसार, उपहार दिने वेला ‘आनिकले बनाएको जस्तो राम्रो त होइन, तर आफ्नो गच्छे अनुसार दिएको हुँ’ भन्ने चलन छ।

तिब्बतमा रहेको साक्या गुम्बाको सन् १९४८ अघिको तस्वीर।
तिब्बतमा कला तथा वास्तुकला निर्माण तथा मर्मतका लागि तत्कालीन राजधानी पेकिङका सम्राट् कुब्लाई खाँले नेपालबाट झ्किाएका एक कलाकार थिए, अरनिको। अरनिकोको कामबाट साक्यामठका प्रमुख धर्मगुरु फाग्पा निकै प्रभावित भए र कुब्लार्ई खाँको दरबारमा दर्शन भेटका लागि लगिए।

बेइजिङस्थित श्वेत प्यागोडाका निर्माता
पनि अरनिको नै हुन्। यो चीनको
पर्यटकीय स्थल मात्रै नभएर नेपाल-चीन
सांस्कृतिक सम्बन्धको एउटा
स्मारक भएको छ।

अरनिकोको कामबाट सम्राट्, दरबार र जनतामा परेको प्रभावको ऐतिहासिक अवशेष हो, मङ्गोलियामा राम्रोको विम्ब नै अरनिकोको कलाकारिता ठान्नु। सम्राट् कुब्लाइँ र साम्राज्ञीको आधिकारिक मुहारचित्र अरनिकोबाट बनाइएको हो। उनी मन्त्री स्तरीय उच्च सम्मान प्राप्त व्यक्ति थिए। बेइजिङस्थित श्वेत प्यागोडाका निर्माता पनि अरनिको नै हुन्। यो चीनको पर्यटकीय स्थल मात्रै नभएर नेपाल-चीन सांस्कृतिक सम्बन्धको एउटा स्मारक भएको छ।

अरनिको प्रतिको उच्च सम्मान स्वरूप त्यहाँ नेपालीले प्रवेश शुल्क तिर्नु पर्दैन। नेपाल उद्योग वाणिज्य महासंघका ‘चीन डेस्क अधिकृत’ अरुण श्रेष्ठ आफू श्वेत प्यागोडा पुग्दा चिनियाँ अधिकारीहरू खुशी भएर सँगै गएका भियतनामी साथीको पनि प्रवेश शुल्क नलिएको र चिया खुवाएर बिदाइ गरेको सुनाउँछन्।

नेपालमा चिनियाँ बौद्ध धर्म

नेपालको हिमाली क्षेत्रमा विकसित बौद्ध धर्म र संस्कृति मूलतः चिनियाँ बौद्ध सभ्यता हो। चीनमा नेपाल र भारतबाट बौद्ध धर्मको प्रवेश भए पनि त्यसको मौलिक पहिचान छ। निङ्मा, काग्र्यू, साक्या र गेलुग् चार उपसम्प्रदाय वज्रयानी बौद्ध दर्शनका तिब्बती विकास हुन् भने यिनै सम्प्रदाय नेपालको हिमाली क्षेत्रमा पाइन्छन्।

डोल्पास्थित शे पर्वत क्षेत्रमा बौद्ध धर्मको प्रचार गर्न धु्रथोब साङ्गे येशे नामक सिद्धयोगी तिब्बतबाट हिउँ चितुवा चढी आएको वर्णन छ। उनको आगमन त्यस क्षेत्रका स्थानीय देवता मानिने नुर्फु खोन्दे पुङजुङलाई मन परेन र दुईबीच शक्ति सङ्घर्ष हुँदा नुर्फुले हारे। तर, पराजयीले सो क्षेत्र छाडेर अन्यत्र जानु परेन। सिद्धयोगीले यो ठाउँ तिम्रै हो र तिमीले नै बौद्ध धर्म सम्हाल्नु भनी जिम्मा लगाए। त्यसैले त्यहाँ टाँगिने लुङ्दरमा आज पनि नुर्फुको चित्र अङ्कित छ।

तिब्बतमा रहेको साक्या गुम्बा।

तिब्बतमा बौद्ध धर्मको विकास र विस्तारमा काठमाडौं उपत्यकाका नेवार बौद्धहरूको योगदान स्थापित तथ्य हो। तिब्बतमा विकसित बौद्ध धर्म नेपालको हिमाली क्षेत्रमा फैलिएको मात्र होइन, डोल्पा, मुगु, मुस्ताङ आदि क्षेत्रका नेपाली बौद्ध शिक्षामा उच्च अध्ययन गरी तिब्बतमा प्रभाव जमाउन सफल भए।

मुस्ताङवासी बौद्ध भिक्षु ङारिस पाञ्चेन त्यसकै एक उदाहरण हुन्। उनको सन् १५४२ मा निर्मित १५.५ सेन्टिमिटर उचाइको एउटा मूर्ति सन् १९७२ मा भेटिएको थियो। त्यस मूर्तिको कलाशिल्पका कारण त्यसका मूर्तिकार अल्फाज्योति नेवार नै रहेको र त्यति वेला तिब्बतमा बस्दै आएको भन्ने अनुमान छ। तिब्बती बौद्ध धर्मको विकास र विस्तारमा तत्कालीन मुस्ताङ दरबारले दिएको राजकीय संरक्षण पनि कम महत्त्वको थिएन।

ईस्वीको बाह्रौं शताब्दीमा कर्णालीको सिंजा क्षेत्रलाई राजधानी बनाई स्थापित खस साम्राज्यको उद्गमथलो तिब्बतको ङारी प्रदेश हो। खस जातिले ङारीमा दखल गरेर तिब्बतीकरण भएको र पछि सिंजामा आएको एक थरीको मत छ भने तिब्बती मूलको राजवंश खसान क्षेत्रमा आएर राज्य गर्दै अन्ततः स्थानीयकरण भएको अर्को मत पनि छ।

सत्ता सङ्घर्षका क्रममा रिपु मल्ल राजगद्दीमा आउँदा त्यसका वास्तविक हकदार अक्षय मल्लका भाइ आदित्य मल्ल तिब्बतको साक्यामठमा भिक्षु बन्न गएका थिए। रिपु मल्लपछि राजगद्दी प्राप्त गरेका दाजुलाई सघाउन आदित्य मल्लले भिक्षुत्व छाडेका थिए। उनी आफ्नो सुरक्षाका लागि तिब्बत गएको अनुमान छ।

पावनभूमि नेपाल

चीनमा बौद्ध धर्म मान्नेको बाहुल्य छ। कोही बौद्ध हुनुको अर्थ गौतम बुद्धलाई शास्ता (मार्गदर्शक)का रूपमा स्वीकार गर्नु हो। बुद्ध जन्मस्थल लुम्बिनी चिनियाँहरूका लागि महत्त्वपूर्ण तीर्थस्थल भएको छ। लुम्बिनीमा चिनियाँ उपस्थिति, भ्रमण प्रवृत्ति र चासो यसको पुष्ट्याइँ हो।

चिनियाँहरूको अर्को आस्थाको केन्द्र हो, काठमाडौं उपत्यका। यहाँका सयौं बहाःबही (बौद्ध विहार) चिनियाँ (विशेषतः तिब्बती)ले पावनभूमि मान्छन्। यी बहाःबहीसँग सम्बन्धित बौद्ध गुरुहरू धर्म प्रचारार्थ तिब्बतमा पुग्दा उहीं देहान्त भएको हुनसक्छ। त्यसैले उनीहरूका लागि आफ्नो गुरुको जन्मथलो पुण्यभूमितुल्य भएकाले बहाःबही खोज्दै आउँछन्।

भारतबाट आएका आचार्य पद्मसम्भव तिब्बती बौद्धमाझ् गुरु रिम्पोचे, पेमेज्युने आदि नामबाट प्रसिद्ध छन्। तिब्बत जानुअघि आचार्यले नेपालमा जहाँ जहाँ पुगेर साधना गरे, ती ठाउँ तिब्बती बौद्धका लागि तीर्थस्थल बनेका छन्।

पूर्व खोटाङ जिल्लाको मारातिका (हलेसी गुफा), शैलुङ, फर्पिङ आदि त्यसका लागि प्रसिद्ध छन्। तिब्बत पुगेका वागेश्वरकीर्ति लगायतका चार भाइ बौद्ध विद्वान्को क्षेत्र फर्पिङ पनि तिब्बती बौद्धका लागि त्यत्तिकै महत्त्वपूर्ण छ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई
नेपालले आफ्नो पहिचानको एउटा विम्बका
रूपमा अघि सारेको छ। ठीक यही वेला
चीनको युनान प्रान्तस्थित खुन्मिङमा
लुम्बिनीको नापनक्शा अनुसार प्रतिकृति
बन्न लागेको छ।

तिब्बतको कार्ग्यू सम्प्रदायका संस्थापक लोचवा मार्पा पनि बौद्ध अध्ययनका लागि काठमाडौं उपत्यका आएका थिए। स्थानीय बौद्धाचार्यहरूसँग अध्ययन गरी उनी भारतमा सिद्ध नारोपाकहाँ गएका थिए।

नारोपाका गुरु तिलोपा थिए। यी दुवै गुरु-शिष्यले पशुपति आर्यघाट नजिक बागमती किनारको गुफामा साधना गरेका थिए। यी गुरुहरू बसेको गुफामा आई यस सम्प्रदायमा आबद्ध तिब्बती बौद्धहरू श्रद्धा व्यक्त गर्दछन्। यही सम्प्रदायका अर्का गुरु मिलारेपाले हिमाली क्षेत्रका अनेक गुफाका साथै भक्तपुरको सुडालस्थित मञ्जुश्री गुफामा ध्यान साधना गरेका थिए।

चीनमा ‘लुम्बिनीको प्रतिकृति’

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई नेपालले आफ्नो पहिचानको एउटा विम्बका रूपमा अघि सारेको छ। ठीक यही वेला चीनको युनान प्रान्तस्थित खुन्मिङमा निर्माणाधीन सेन चु फान चङ (बोधिवृक्ष उम्रने शहर) नाउँको निर्माण संरचनाको बीच भागमा लुम्बिनीको नापनक्शा अनुसार प्रतिकृति बन्न लागेको छ।

चीन सरकारको पहलमा बन्दै गरेको यो परियोजनाको पहलकर्ता वर्ल्ड कल्चर नेटका प्रमुख दीपक सरकारका अनुसार, सन् २०१५ मा शिलान्यास भएको शहरमा लुम्बिनीस्थित मायादेवी मन्दिर, त्यहाँभित्र रहेको मार्कर स्टोन सहित पुरातात्त्विक संरचना र बाहिर रहेका अशोक स्तूप सहित पुरातात्त्विक अवशेषहरूको प्रतिकृति बनाइनेछ। २६ एकड जग्गामा फैलिएको उक्त शहरको परियोजना अन्तर्गत नेपालमा पनि चिनियाँ सभ्यताको अध्ययन केन्द्र स्थापना हुने भएकाले सांस्कृतिक ज्ञानको आदानप्रदान पनि सहज हुनेछ।

comments powered by Disqus

रमझम