असोज २०७८ | 17/09/2021

तिब्बत अध्ययनका अनुत्तरित प्रश्न

Share:
  
- अनीश मल्ल
सीमा जोडिएको तिब्बत क्षेत्रको बृहत् अध्ययन गर्ने हो भने नेपाल-चीन सम्बन्धका अनेक ऐतिहासिक तथ्य फेला पर्ने पक्का छ।

दुई रानी भृकुटी (बायाँ) र वेन छेनका साथ स्रोङचोङ गम्पो (बीचमा)।

नेपाल-चीन सम्बन्धको गुणगान गाउँदै फा सियान, स्वान चाङ, भृकुटी तथा अरनिकोको उदाहरण दिनु नौलो रहेन। सन् २०१९ अक्टोबरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ नेपाल भ्रमणमा आउँदा दिएको मन्तव्यमा पनि दुई देशबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै बौद्ध भिक्षु बुद्धभद्रसम्मको प्रसङ्गलाई छुटाइएको थिएन।

नेपाल र चीनको इतिहासमा त्यस्ता कैयन् व्यक्तित्व थिए। तिनका कारण दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्न मद्दत पुग्दै गएको यथार्थ हो। तर, आधुनिक युगमा ती व्यक्तित्वहरूमाथि वा बौद्ध धर्मले गाँसेको सम्बन्धबारे न नेपालले गहिरो अध्ययन गर्‍यो, न त चीनले नै। वास्तवमा भन्ने हो भने, ती व्यक्तित्वहरूका नाम मन्तव्य वा लेखनमा सीमित हुँदै गएका छन्।

ईसाको सातौं शताब्दीमा तिब्बती सम्राट् स्रोङचोङ गम्पोसँग विवाह पश्चात् नेपालकी राजकुमारी भृकुटीसँगै तिब्बत पुगेका बौद्धमार्गी, कलाकार आदिले तिब्बतमा बौद्ध धर्म प्रवर्द्धन गर्न ठूलो योगदान दिएका थिए। अहिले पनि तिब्बतीहरू भृकुटीले नेपालबाट तिब्बत लगेका मूर्तिहरूबारे ध्यानाकृष्ट गराउन बिर्सिंदैनन्।

तर, चीनका ऐतिहासिक अभिलेख तथा पुस्तकहरूमा भने भृकुटी किंवदन्तीकी पात्र भएकी छिन्। अझ कतिपय विद्वान्हरू भृकुटी लिच्छवि राजा अंशुवर्माकी छोरी नभई अंशुवर्माको मृत्यु पश्चात् तिब्बतमा शरण लिन पुगेका उदयदेवकी छोरी हुन् भन्ने पनि टिप्पणी गर्छन्।

किंवदन्ती भृकुटी!

आखिर को थिइन् भृकुटी? उनको प्रभाव चीनमा के-कति रहयो, बौद्ध धर्म प्रवर्द्धनमा उनको योगदान साँच्चै कति रह्यो? यसबारे चीनले ध्यान नदिए पनि हामीले राष्ट्रिय विभूति भनेर गौरव गर्दै आएकाले थप खोजीनितीका लागि आफैं अग्रसर हुनुपर्ने हो। इतिहासकार डिल्लीरमण रेग्मीका अनुसार, फ्रान्सेली इतिहासकार सिल्भाँ लेभीले भृकुटीबारे कलम चलाउनुभन्दा पहिले नेपालकी छोरीको विवाह तिब्बती सम्राट्सँग भएको हो भनेर नेपालमा शायद कसैलाई ज्ञान थियो।

आठौं शताब्दीको उत्तरार्द्धतिर तिब्बती
साम्राज्य उत्कर्षमा पुग्दा तत्कालीन सम्राट्
ट्रिसोङ डेत्सनले सन् ७७९ मा बौद्ध
धर्मलाई राज्यको आधिकारिक धर्मको रूप
दिए। सम्राट् ट्रिसोङको निमन्त्रणामा भिक्षु
शान्तरक्षित बौद्ध धर्म प्रवर्द्धनका लागि सन्
७६३ मा पहिलो पटक तिब्बत पुगे।

सातौं शताब्दीतिर तिब्बतमा धर्मग्रन्थहरू मौखिक रूपमा मात्र प्रसारित वा सञ्चारित थिएनन्। आधिकारिक रूपमै धर्मग्रन्थहरूको हस्तलेखन र प्रतिलिपि बनाउने चलन बसिसकेको थियो। भारतको गुप्त तथा पाल राजाहरूले पाँचौं शताब्दीमा स्थापना गरेका बौद्ध विश्वविद्यालयका पुस्तकालय तथा ग्रन्थहरू थिए। सन् ६४४ मा स्वान चाङले नालान्दा विश्वविद्यालयबाट ५२० वटा हस्तलिखित ग्रन्थ तथा ६५७ पुस्तक चीन लिएर गएका थिए। तर, उनले लिएर गएका ती सामग्रीहरू तिब्बत पुगे कि चीनको मूलभूमि? स्पष्ट छैन।

आठौं शताब्दीको उत्तरार्द्धतिर तिब्बती साम्राज्य उत्कर्षमा पुग्दा तत्कालीन सम्राट् ट्रिसोङ डेत्सनले सन् ७७९ मा बौद्ध धर्मलाई राज्यको आधिकारिक धर्मको रूप दिए। सम्राट् ट्रिसोङको निमन्त्रणामा भिक्षु शान्तरक्षित बौद्ध धर्म प्रवर्द्धनका लागि सन् ७६३ मा पहिलो पटक तिब्बत पुगे। तर, उनको पहिलो तिब्बत भ्रमण सफल हुन सकेन, उनी तिब्बत छोड्न बाध्य भए। त्यहाँबाट उनी नेपाल आए र पद्मसम्भवसँगै दोस्रो पटक तिब्बत प्रस्थान गरे। सन् ७७५ मा उनैको सहयोगमा तिब्बतमा पहिलो बौद्ध गुम्बा निर्माण गरिएको थियो।

सन् ७७९ मा उनले पहिलो पटक तिब्बतीहरूलाई दीक्षा दिएका थिए। उनी नेपालमा रहँदा कहाँ बसे र नेपालबाट तिब्बत जाँदा के-कस्ता सामग्री लिएर गए होलान्?

तिब्बतको साक्या गुम्बामा रहेको विभूतिचन्द्रद्वारा
लिखित प्रमाणवार्तिकालड्ढार।

संस्कृत भाषाका ग्रन्थहरूलाई तिब्बती भाषामा अनुवाद गर्नु नै त्यस समयको मुख्य कार्य मानिन्थ्यो। अनुवादकहरूको टोलीमा मुख्यतया भारतीय, तिब्बती तथा चिनियाँ हान भिक्षु, मठवासी विद्वान्हरू संलग्न हुने गरेको उल्लेख गरिएको छ। अनुवादका क्रममा नेपालीहरूको योगदान थियो कि थिएन होला ? नेपालीको भूमिका कस्तो रह्यो होला?

त्यस ताका अनूदित ग्रन्थहरूका मूल वा सक्कल प्रति अझै बाँकी छ वा छैन, खोजको विषय हुन सक्ला, किनभने नवौं शताब्दीको मध्यतिर तिब्बती साम्राज्यको पतनसँगै बौद्ध धर्मको प्रवर्द्धनमा ह्रास आएको थियो, सम्भवतः त्यति खेर बौद्ध धर्मका त्यस्ता सक्कल प्रतिहरू पनि नष्ट पारिएका हुन सक्छन्।

हाल तिब्बतमा भेटिने बौद्ध ग्रन्थहरू पश्चिमी तिब्बती राज्यका बौद्धमार्गी राजाहरूको पहलमा तयार गरिएका हुन् भनिन्छ। राजा येसेस सोड (सन् ९५९-१०३६)ले आधिकारिक बौद्ध परम्पराको पुनरुत्थानका लागि प्रयास गरेका थिए। उनले युवा तिब्बतीहरूलाई छिमेकी राज्यहरूमा गई बौद्ध ग्रन्थ लेखिएको भाषा सिक्न, अनुवाद गर्न तथा संस्कृत भाषामा लेखिएका ग्रन्थहरू तिब्बत लिएर आउन आदेश दिएका थिए।

विभूतिचन्द्रले यहाँ बस्दा रञ्जना लिपिमा
लेखिएका धेरैभन्दा धेरै ग्रन्थ तिब्बती
भाषामा अनुवाद गरे। नेपालबाट उनी दुई
पटक तिब्बत गएको अभिलेख छ।
त्यसै क्रममा, भारतको विहारस्थित विक्रमशिला महाविहारका गुरु अतीशा दीपङ्कार श्रीज्ञान (सन् ९९४-१०५५) का चेला रिन्छेन चान्पो (सन् ९५८-१०५५) ले १६८ वटा ग्रन्थ अनुवाद गरेका थिए भने सन् १०४२ मा स्वयं अतीशालाई भाषानुवाद तथा बौद्ध शिक्षाका लागि तिब्बतमा आमन्त्रण गरिएको थियो। तिब्बत जाने क्रममा उनी नेपाल भएर गएका सन्दर्भहरू पनि भेटिन्छन्, तर उनी नेपालमा कहाँ बसे, नेपालबाट के-कति सामग्री लिएर गए, थप अध्ययन भएको छैन।

११औं शताब्दी पश्चात् भारतमा मुसलमान दबदबा बढ्दै गएयता भारतीय बौद्धमार्गीहरू शरण खोज्दै नेपालदेखि तिब्बतसम्म पुगेका थिए। तर, त्यस वेलासम्म पाल साम्राज्यका (सन् ७५०-११७४) ग्रन्थहरू तथा त्यहाँका सङ्ग्रहहरू, पुस्तकालय, आदि पूर्ण रूपले ध्वस्त भइसकेका थिए।

त्यसैले सन् १२३५-१२३६ मा तिब्बती भिक्षु धर्मस्वामीले त्यहाँका अन्तिम गुरु राहुल श्रीभद्रसँग शिक्षादीक्षा लिँदा उनले भारतबाट कुनै पनि ग्रन्थका सक्कल प्रति वा तिनका प्रतिलिपि तिब्बत लिएर जान सम्भव थिएन। उनले नेपालबाट धर्मग्रन्थहरू लिएर गएका थिए। तर, ती ग्रन्थहरू नेपालको कुन ठाउँबाट लगिए ? ती ग्रन्थहरू कुन लिपिमा थिए?

सन् १२४७ मा मङ्गोल (युआन) वंशसामु तिब्बतले समर्पण गरे पश्चात् फेरि तिब्बतीहरूको नेपाल तथा भारत आउने-जाने क्रम चलेको थियो। त्यसै गरी, नेपाल तथा भारतका भिक्षु, गुरुहरूलाई तिब्बतमा आमन्त्रण गरियो। र, बौद्ध ग्रन्थहरू तिब्बती भाषामा अनुवाद हुन थाले।

विभूतिचन्द्रबारे बाँकी खोज

त्यस्तै, मुसलमानी हमलाबाट बच्न शाक्य श्रीभद्र तथा उनका चेला विभूतिचन्द्र पनि सन् ११९० को दशकमा नेपाल आएका थिए र सन् १२०४ मा तिब्बत पुगेका थिए। विभूतिचन्द्रले ल्हासा नदी तथा यार्लुङ साङ्ग्पो नदीबीचको स्थानमा केही वर्ष बिताएका थिए।

तिब्बतको शाक्य गुम्बाको ग्रन्थ सङ्ग्रहालयको‍‍ र्‍याक। यो ५७ मिटर लामो र ११ मिटर अग्लो छ।
स्रोतः सीजीटीएन

उनले त्यहाँ एउटा गुम्बा निर्माण गरे र सन् १२०९ मा शाक्य श्रीभद्रसँगै साक्या गुम्बामा गएर त्यहाँ केही अनुवाद गरे, पुराना अनुवादलाई सच्याए। त्यसपछि शाक्य श्रीभद्र काश्मीर फिर्ता भए भने विभूतिचन्द्र नेपाल आएर ठमेलको विक्रमशील महाविहार (भगवान् बहाल)मा भिक्षु भए।

विभूतिचन्द्रले यहाँ बस्दा रञ्जना लिपिमा लेखिएका धेरैभन्दा धेरै ग्रन्थ तिब्बती भाषामा अनुवाद गरे। नेपालबाट उनी दुई पटक तिब्बत गएको अभिलेख छ। उनले धेरैजसो समय तिब्बतको तिङ्रीमा बिताएका थिए। कालचक्रतन्त्र, प्रमाणवार्तिक रीति, प्रमाणवार्तिकालङ्गकार ग्रन्थहरू उनैको हातले लेखेका प्रमाण पाइन्छन्। ती हस्तलिखित ग्रन्थहरू अहिले पनि तिब्बतका गुम्बाहरूमा छन्। तर, त्यहाँका स्थानीयहरू तिनलाई विभूतिचन्द्रको हस्तलेखन नभई तिब्बती शाक्य पण्डितको हस्तलेखन मान्छन्।

ती ग्रन्थहरू नेपाली कागजमा लेखिएकाले के भन्न सकिन्छ भने, ती ग्रन्थहरू विभूतिचन्द्रले नेपालमै रहँदा लिएर गएका हुन्। त्यस वेला भारतमा प्रायः ग्रन्थ ताडपत्रमा लेखिन्थ्यो। उनले नेपालबाट लगेका ग्रन्थहरू नै चीनको प्रायःजसो बौद्ध गुम्बा तथा मन्दिरहरूमा देख्न पाइने रञ्जना लिपिका स्रोत पो हुन् कि? यसमा थप अध्ययन चाहिन्छ।

नेपाल र चीनबीचको सम्बन्ध, विशेष गरी सिमाना जोडिएको तिब्बत क्षेत्रसँगको सम्बन्धको इतिहास केलाउँदा यस्ता अनेक सन्दर्भ फेला पर्छन्। तर, अहिलेसम्म दुवै राष्ट्रका विद्वत्जनबाट यी विषयमा गहन अध्ययन हुन बाँकी छ।


comments powered by Disqus

रमझम