असोज २०७८ | 17/09/2021

जहाँ हामी चुक्यौं

Share:
  
- राम कार्की
एमाले कर्मचारीतन्त्रमा फेरिएपछि कसैले नचाहे पनि जनताले माओवादीलाई विश्वास गरे। तर, यिनीहरूले पनि नाम माओ जपेर टालटुले राजनीतिमै लागे भन्ने बुझेपछि पहिलोबाट तेस्रो दलमा हुत्याइदिए।

दायाँबाट क्रमशः माओ, स्टालिन, लेनिन, एङ्गेल्स र मार्क्सको कलाकृति रहेको
ब्यानरको अग्रभागमा अभिवादन गर्दै एक माओवादी लडाकू।
फाइल तस्वीर : एशिया न्युज

लगातार दुई वटा अफिम युद्धमा पराजय भोगेपछि तत्कालीन ‘शाही अर्थव्यवस्था’ रहेको संसारमा सर्वाधिक धनी देश भनेर परिचित चीन विभिन्न विदेशी शक्तिहरू खेल्ने ठाउँ बन्यो। त्यसका केही भाग फ्रान्स, केही भाग बेलायत र ठूलो भाग जापान अधीनस्थ हुनपुग्यो।

सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भयो। १९४९ मा माओत्सेतुङको नेतृत्वमा चिनियाँ क्रान्ति सफल भयो। माओलाई धेरैले मौलिक चिन्तकका रूपमा हेर्छन्।

कम्युनिष्ट इन्टरनेशनलका नेताहरूले दिने निर्देशनको उनले सीधै विरोध गरेनन्, तर व्यवहारमा अवज्ञा गरे। उनले मौलिक किसिमको कार्यशैली अपनाए। भलै केही शास्त्रीय मार्क्सवादीले माओलाई मार्क्सवादीभन्दा पनि राष्ट्रभक्तका रूपमा लिन्छन्। त्यस ताका आलोचकहरूको दृष्टिमा माओले विश्वको क्रान्तिलाई भरथेग र क्रान्तिको प्रसार गरेनन्।

क्रान्ति निर्यात गर्न नचाहेको आरोप लागे पनि माओ भारतमा नक्सलवादी आन्दोलन हुँदा धेरै उत्साहित थिए। भारतका कम्युनिष्ट नेता चारु मजुमदारको चिठी माओलाई दिन कृष्णभक्त पौडेल (कालिम्पोङका नेपालीभाषी) हिमाल नाघेर एक्लै तिब्बत गएका थिए। उनलाई ल्हासाबाट बेइजिङ लगियो। उनले मजुमदारको चिठी चिनियाँ कम्युनिष्ट पार्टीलाई सुम्पिए। सन् १९६७ मा काठमाडौंस्थित चिनियाँ दूतावासले सोरेन वोस, खोकन मजुमदार, कानु सन्याल लगायतका भारतीय नेताहरूलाई सिन्धुपाल्चोक तातोपानीको बाटो हुँदै चीन पुर्‍याएको थियो।

नक्सलवादी आन्दोलनलाई चीनको पिपुल्स डेलीले ‘वसन्तको गर्जन’ भनेर सम्पादकीय लेखेको थियो। माओकालीन चिनियाँ कम्युनिष्ट पार्टीले भारतको नक्सलवादी आन्दोलनलाई सहयोग गर्न खोजेको देखिन्छ। तर, त्यहाँ ‘सेट ब्याक’ भएपछि अन्य देशमा क्रान्ति निर्यात गर्नबाट पछि हटेको देखिन्छ।

समुद्रको बाटो माओ

नेपालमा माओको सैद्धान्तिक र वैचारिक प्रभाव हिमाल नाघेर होइन, समुद्रमा पौडिंदै आयो। भन्नुको अर्थ माओ विचार चीन होइन, भारतको कोलकाता हुँदै आयो। त्यस वेलै बङ्गालको वाम आन्दोलन बलियो थियो। जसले गर्दा मार्क्सवादी रचनाहरू पहिला बङ्गालीमा अनुवाद हुन्थे, र त्यसको हिन्दीमा अनुवाद हुन्थ्यो।

रूसीहरूले शान्तिपूर्ण ढङ्गले पनि
समाजवादमा जान सकिन्छ भन्ने अवधारणा
ल्याए। चिनियाँहरूले चाहिं समाजवाद
स्थापनाका लागि हिंसात्मक क्रान्ति
आवश्यक छ भन्ने विश्वास राखे। नेपाली
कम्युनिष्टहरूको एउटा प्रभावशाली
हिस्सा माओतिर लाग्यो।

हिन्दीबाट बल्ल नेपालीमा अनुवाद हुन्थे वा हिन्दीमै पढिन्थ्यो। किनभने हामीकहाँ भएका मार्क्सवादीहरूमध्ये थोरैले मात्र अंग्रेजी लेखपढ गर्न सक्थे। जब चीन र रूसमा सैद्धान्तिक विवाद शुरू भयो, स्वाभाविक रूपमा नेपालका मार्क्सवादीहरू पनि दुई ध्रुवमा बाँडिए।

रूसीहरूले शान्तिपूर्ण ढङ्गले पनि समाजवादमा जान सकिन्छ भन्ने अवधारणा ल्याए। चिनियाँहरूले चाहिं समाजवाद स्थापनाका लागि हिंसात्मक क्रान्ति आवश्यक छ भन्ने विश्वास राखे। कार्ल मार्क्सले भने जस्तो समाज बिस्तारै सर्वहारा वर्ग र पूँजीपति गरी दुई दुश्मन ध्रुवमा ध्रुवीकृत हुन्छन् भन्ने कुरा संसारमा भएन। पूँजीपति र सर्वहाराबीच पनि अर्को वर्ग छ र त्यही मध्यम वर्ग बलियो हुँदै आएको छ भन्ने एडवर्ड बर्नस्टिनको अवधारणा आयो।

नेपालको परिप्रेक्ष्यमा माओको लाइन र रूस (ख्रुश्चेबहरू)को लाइनबीच सङ्घर्ष जरुरी थियो। त्यति वेला नेपाली कम्युनिष्टहरूको एउटा प्रभावशाली हिस्सा माओतिर लाग्यो। पेकिङपन्थी भनिए पनि वास्तवमा त्यो विचारधाराको कुरा थियो।

मार्क्सवादमा नवीनतम योगदान माओ र उनको टीमले गर्‍यो। शक्तिको स्रोत जनता हुन् भन्ने माओ नै हुन्। लाखौं, करोडौं जनताको प्रयोगशालाबाट आएका कुरालाई नै माओले संश्लेषित गरे। माओको योगदानलाई स्वीकार नगरी मार्क्सवादलाई थप विकसित गर्न सकिँदैन।

एमाले खुइलिएको देखेका जनताले माओवादीलाई भरोसा गरे। त्यसको परीक्षा
२०६४ सालको संविधानसभा चुनावमा भयो। जब कि त्यति वेला यो देशका
जान्नेसुन्ने, बुद्धिजीवी, नागरिक समाज, सञ्चार माध्यम सबैका
लागि माओवादी परचक्री थिए।

नेकपा (एमाले) खुइलिएको देखेका जनताले नेकपा (माओवादी)लाई भरोसा गरे। त्यसको परीक्षा २०६४ सालको संविधानसभा चुनावमा भयो। जब कि त्यति वेला यो देशका जान्नेसुन्ने, बुद्धिजीवी, नागरिक समाज, सञ्चार माध्यम सबैका लागि माओवादी परचक्री थिए। त्यस्तो अवस्थामा सम्पन्न संसदीय निर्वाचनमा कांग्रेस र एमालेको जोड्दा भन्दा बढी सीट माओवादीले पाए। तर, चुनाव जितेपछि माओवादीले माओका सिद्धान्त व्यवहारमा छोड्दै गयो।

नाम माओवादी भए पनि यिनीहरूले माओको बाटो र समाज फेर्ने अभियान छाडेर टालटुले राजनीति अँगाले भन्ने बुझेपछि जनताले २०७० सालको चुनावमा तेस्रो दलमा सीमित गरिदिए।

अग्रदस्ताकै प्रतिक्रान्ति

माओवादीले माओलाई आदर्श मान्नु वस्तुसङ्गत नै थियो। तर, त्यसलाई विकसित तुल्याउनुपर्थ्यो। मार्क्सवादभित्र विचारको सङ्कट आइरहेका वेला हामीले माओवाद रोजेका थियौं। प्रतिगामी विकल्प खोज्ने हो भने धेरै ज्ञान चाहिंदैन। तर, प्रगतिशील विकल्प दिन धेरै चिज चाहिन्छ।

जसरी माले विचारधारा छोडेपछि एमाले
कर्मचारीतन्त्रमा फेरिन पुग्यो, माओवादीले
पनि त्यही बाटो पछ्यायो। राजनीतिक
विचारधारा वा चिन्तन पद्धति छाडेपछि
राजनीतिक पार्टी व्यापारी समुदाय वा
कर्मचारीतन्त्रमा फेरिन्छ।

नीति निर्माण गर्दा हामीले माओ वा लेनिनको उदाहरण पछ्याउँदै देशभरिका कार्यकर्ता, समर्थक, जनतालाई सहभागी गराएर छलफल गर्नुपर्थ्यो। माओवादीले यस्तो गरेपछि कांग्रेस-एमाले पनि त्यसमा चियाउन आउँथे र हामीले मुलुकलाई नेतृत्व गरेर जान सक्थ्यौं, त्यसमा चुक्यौं।

जसरी माले विचारधारा छोडेपछि एमाले कर्मचारीतन्त्रमा फेरिन पुग्यो, माओवादीले पनि त्यही बाटो पछ्यायो। नयाँ र सिर्जनशील काम नगरी परम्परा पछ्याउन लाग्यौं। राजनीतिक विचारधारा वा चिन्तन पद्धति छाडेपछि राजनीतिक पार्टी व्यापारी समुदाय वा कर्मचारीतन्त्रमा फेरिन्छ। राजनीतिमा जनता र तिनको आधारभूत पक्ष होइन, चुनाव चिह्न, पार्टीको नाममा प्रयुक्त सङ्केत, अर्धविराम आदिको चर्चा प्रभावी बन्छ।

विचार भनेको ‘फाउन्टेन पेन’ हो र त्यसको निब भनेको राजनीति हो। फाउन्टेन पेन सुन्दर छ, मसी पनि छ, तर निब छैन भने त्यसले लेख्दैन। नेपालमा पनि धेरैजसोले विचारका कुरा गर्दा राम्रै गर्छन्, राजनीतिक दृष्टिकोण अख्तियार गर्ने वेला भने गलत गर्छन्। समकालीन घटनाको वस्तुगत विश्लेषण गरेर सही निर्णय लिनु मार्क्सवाद हो।

अहिले हावी संस्कृति पूँजीवादको चास्नी लगाएको सामन्तवादी संस्कृति हो। यो संस्कृतिमा विद्यालय, अस्पतालभन्दा मन्दिर, गुम्बा, मस्जिद, चर्चको सङ्ख्या बढ्दै छ। नेताहरू पुजारी, लामा, पादरी, मौलानाहरूमा फेरिएका छन्। देशका ठूला पूँजीपति, व्यापारीहरू पनि त्यही पार्टीमा छन् भने यसको अर्थ के हुन्छ? त्यो पार्टीको सदस्यता दिन न परीक्षण गरिन्छ, न विगत हेरिन्छ। त्यो पार्टी सत्तामा त पुग्छ, तर न्याय, समानता र बन्धुत्वयुक्त समाज निर्माण पक्कै हुँदैन।

अहिले हावी संस्कृति पूँजीवादको चास्नी
लगाएको सामन्तवादी संस्कृति हो। यो
संस्कृतिमा विद्यालय, अस्पतालभन्दा
मन्दिर, गुम्बा, मस्जिद, चर्चको सङ्ख्या
बढ्दै छ। नेताहरू पुजारी, लामा, पादरी,
मौलानाहरूमा फेरिएका छन्।

माओको पालामा चीन असाध्यै गरीब थियो, १९७६ मा तङ स्याओफिङ आएर माओको बाटो छोडेर अद्‌भुत प्रगति गर्‍यो भन्ने कुरा प्रचारित गरिंदै छ। तर, कुनै पनि गम्भीर अर्थशास्त्रीले यो कुरा मान्दैन। नवउदारवादी अर्थतन्त्र धराशायी हुन लागेको थियो, तर चीन आएपछि बाँच्यो भन्ने तर्क मार्क्सवादी वृत्तमा गरिन्छ। तङ स्याओफिङ आएपछि आर्थिक प्रगति हुनुमा माओ कालमा निर्माण गरिएको पूर्वाधार, खाद्यान्नमा आत्मनिर्भरता, बाढी नियन्त्रण जस्ता पाटोको ठूलो भूमिका छ।

क्रान्ति सकिएपछि क्रान्तिबाट विस्थापित वर्ग आक्रामक भएर आउँछ, त्यसैले सचेत हुनुपर्छ भन्ने कुरा लेनिनले सिकाए। तर, क्रान्तिको अग्रदस्ता नै प्रतिक्रान्तिमा लाग्यो भने के गर्ने भन्ने सिकाएनन्। यसको जवाफ पनि माओले दिन खोजेका छन्। तर, त्यसका लागि उनले पनि संस्थाहरू निर्माण गर्न सकेनन्। निष्कर्षमा पुर्‍याउन सकेनन्। यो चुनौती हामीसँग छ।

माओले अशिक्षा, अज्ञानता, कुरीति, रूढिवादलाई ठूला दुश्मन मानेर अभियान चलाए। तर, नेपालका कम्युनिष्टहरू तिनै चिजमा रुमलिएका छन्। जनताको पछौटेपनलाई उपयोग (दुरुपयोग) गरेर चुनाव जित्ने र शासन चलाउनेहरूले वेलैमा पश्चिम बङ्गालबाट शिक्षा लिनु बेस हुन्छ।

comments powered by Disqus

रमझम