कार्तिक २०७८ | 18/10/2021

अतिरञ्जित

Share:
  
- नयनराज पाण्डे

अमेरिकानो डबल शट

त्यति फरासिलो, त्यति निडर मान्छे पनि यसरी बेपत्ता होला भन्नेमा हामीलाई विश्वासै थिएन । तर, भयो यस्तै । ऊ केही दिनदेखि बेपत्ता भएको थियो । फोन अफ थियो । सामाजिक सञ्जालमा प्रायः सधैं उपलब्ध हुने उसलाई अस्तिदेखि अफलाइन देखेपछि हामी सशङ्कित भएका थियौं । किनभने, केही दिन अघि उसले भनेको थियो, ‘मेरा यारहरू, म बाँचुन्जेल सोसल मिडियामा झैझ्गडा गरेर बसिरहने कुरामा प्रतिबद्ध छु ।’

ऊ हाम्रो देशका बहुसङ्ख्यक मैमत्त नेताहरू जस्तो त पक्कै थिएन, जसले गएरातिसम्म टेलिभिजनको लाइभ अन्तर्वार्तामा व्यक्त गरेको प्रतिबद्धतालाई आज बिहानै बिर्सिदिन्छन् । तर, हाम्रो साथी वचनको पक्का थियो ।

उसले विगतमा भनेको यही कुरा नै हामीलाई तर्साउन पर्याप्त थियो । किनभने, ऊ सार्वजनिक जीवनबाट मात्र विलुप्त भएको थिएन, ऊ सामाजिक सञ्जालहरूबाट पनि विलीन भएको थियो । यस्तोमा उसले आफ्नो जीउज्यान नै त्याग्यो कि भनेर पनि हामी साथीहरू आतङ्कित भयौं । त्यसैले हामीले विगत केही महीना यता हामीहरू हाइकिङ गएका भीरपाखाहरूतिर पनि खोजी गर्‍यौं । ऊ भेटिएन । हाम्रो चिन्ता झ्न् बढ्यो ।

ऊ अमेरिकानोको उधुमै शौखीन थियो । कुनै कफी शपमा उसलाई अमेरिकानो डबल शटको चुस्की लिँदै गरेको मुद्रामा पो भेटिन्छ कि भनेर हामीले शहरका सबै नामी कफी शपहरूमा खोज्यौं । तर, ऊ भेटिएन । अरू सम्भावित अखाडाहरूमा पनि भेटिएन । घरमा निजकी श्रीमती रुँदारुँदा आँसु नै सकिएर आँखामा टियर प्लस हाल्नुपर्ने भइसकेको थियो । छोराछोरीहरूले अनलाइन कक्षा पढ्न छाडेर उदास भावमा दलिनको माउसुलीको गतिविधि अध्ययन गर्र्न थालेका थिए । उसका हामी सबै लँगौटिया यार पनि सहानुभूतिका शब्दहरू सिद्धिएर मौन थियौं ।

ठीक त्यही वेला मेरो मोबाइलमा सयौं थुँगा फूलका हामी बज्यो । मसँगैको राष्ट्रवादी साथी जर्‍याकजुरुक दाहिने हात देब्रे छातीमा राख्दै उठ्यो । हामी आत्तियौं, ‘तँलाई हर्ट अट्याक हुन लागेको हो ?’

‘हैन बे, राष्ट्रिय गान प्रति भक्ति प्रकट गरेको हुँ ।’

मैले मोबाइलमा यसो हेरेको त त्यही हराएको साथीको पो कल आइरहेछ । मैले तत्क्षण कल रिसिभ गरें र उसलाई हकार्दै सोधें, ‘बे कहाँ बेपत्ता भएको ? छिटो मुन्टी यहाँ । यता तेरो किरियाकर्म गर्ने बाजेको खोजी शुरू भैसक्यो ।’

केही बेरमै ऊ कताकताबाट हस्याङफस्याङ गर्दै हामी बसेको स्थानमा आइपुग्यो । उसकी श्रीमती जिल्ल परेर हेर्‍याहेर्‍यै भइस्योे । छोराछोरी पनि ट्वाँ परे । ठूलै दुःख बिसाएर आए झै ऊ भने ढुक्कले सोफामा बस्यो र भन्यो, ‘पदकको मौसम छ । सरकारले मलाई पनि समातेर एक थान पदक भिडाइदेला र समाजमा मुख देखाउन पनि लायक नरहुँला भनेर होटलमा लुकेर बसेको थिएँ । धन्न पदकेको लिस्टमा मेरो नाम आएन । जोगिएँ । ल अब ढुक्कले जाभामा जाऔं । कफी खाऔं– अमेरिकानो डबल शट ।’

शोकसभामा

दोहोरी गीतको कार्यक्रममा जान ठिक्क परेको वेला उहाँलाई एउटा शोकसभामा नगई नहुने भयो । दोहोरी गीतमा जुन मजा छ, त्यो मजा शोकसभामा कहाँ ? तर, मजा लिने वेला थिएन यो । त्यसैले उहाँ मन नलागी नलागी शोकसभामा जाने हुनुभयो ।

उहाँ ऐनाअगाडि उभिनुभयो र आफ्नो व्यक्तित्व नियाल्नुभयो । हिजो भर्खर सिलाएको नयाँ दौरा सुरुवाल लगाएर त के जानु शोकसभामा ! मुलुकमा सधैं शोककै वातावरण त हुन्छ नि ! त्यसैले कुन वेला, कहाँ र के कुरामा शोक व्यक्त गर्न पुग्नुपर्ला भनेर पोहोरै उहाँले एक जोर सेतो कुर्ता–पाइजामा सिलाउनुभएको थियो । त्यही भिर्नुभयो र आफूलाई फेरि ऐनामा हेर्नुभयो । अहँ, त्यो लुगा लगाउँदा पनि शोकसभामा जान के–के नमिले जस्तो लाग्यो । उहाँले चिल्लो जुत्ताको सट्टा चप्पल लगाउनुभयो । मुहारमा दम्भको सट्टा करुणाको भाव ल्याउनुभयो । तैपनि के पुगेन जस्तो लाग्यो । अलमलको वेला उहाँ जहिले पनि जहानसित राय माग्नुहुन्छ । आज पनि सोध्नुभयो, ‘प्रिया, शोकसभामा जानु छ । के लगाउँदा उपयुक्त होला ?’

मुलुकमा को खुशी छ अहिलेका राजनीतिज्ञसित ? सबै क्रोधमा छन् । फेरि बुटवलका मेयर महोदयले मुक्का खाएको प्रसङ्ग पनि तात्तातै थियो । जनताले आफूलाई मन नपरेको नेतालाई हरेक दिन एक–दुई मुक्का हान्न पाउने कानूनी व्यवस्था भैदिएको भए हिजोआज सबै नेताहरूको खप्परमा टुटुल्को हुने थियो । यो यथार्थ बुझेकी निजकी प्रियाले जवाफ दिनुभयो, ‘गाडीमै गए पनि हेलमेट चाहिं लगाएरै जानुस् । शोकसभामा सबै शोकमा हहुन्नन्, रिसमा पनि हुन्छन् । तिनका मुक्काबाट हजुरले आफ्नो शिरको रक्षा गरिबक्सनुपरेन ?’

थुन्चेभरि प्रश्न

‘प्रश्न उठाउनुपर्छ । प्रश्न उठाएरै बाटोबाट बरालिएको आजको चिन्तन र चेतनालाई सही बाटोमा ल्याउन सकिन्छ ।’ केही अघि एक बुद्धिजीवीले यसै भनेका थिए ।

नजिकै नेपाल एकेडेमीले बहादुरीसाथ भत्काएको महाकवि देवकोटाको घरका अवशेषहरू थुन्चेमा बोकिरहेका एक जना ज्यामी दाइले मसित सोधे, ‘सर, प्रश्न पनि मैले उठाउने भारी जस्तै गह्रुङ्गो हुन्छ ?’

ज्यामीले एकसाथ प्रश्न र भारी उठाइरह्यो । देवकोटाको घर भत्किरह्यो ।

comments powered by Disqus

रमझम