कार्तिक २०७८ | 18/10/2021

पहिलो ईतिहास संशोधकको सम्झनामा

Share:
  
- डा. महेशराज पन्त

संयोग पनि कस्तो परेको ! गएको असोज ५ गते ६९ वर्ष पुगी ७० वर्ष लाग्यो संशोधन–मण्डलको प्रकाशन शुरू भएको । विसं. २००९ असोज ५ गते पहिलो इतिहास–संशोधनद्वारा प्रकाशनको प्रारम्भ गर्ने तीन जनामध्ये सबभन्दा जेठाको देहान्त भयो ठीक ६९ वर्षपछि यही असोज ५ मा । यी हुन् केशवमणि आ.दी. अर्थात् सरदार राममणि आचार्य दीक्षित (विसं १९३९–२०२८)का कान्छा छोरा ।

केशवमणिको जन्म कुन सालमा भयो, यसमा मलाई धरमर छ । मणिग्रामको इतिहासबारे विराट पौड्याललाई सन् २०१५ अक्टोबर ३ तदनुसार विसं २०७२ असोज १६ गते इन्टभ्र्यू दिँदा म अहिले ८१ वर्ष भएँ भनी केशवमणिले बोलेकाले २०७२ मा ८१ घटाई सोझो हिसाबले भन्दा उनको जन्म विसं १९९१ मा भएको हो भन्ने मलाई लाग्यो । यसैले संशोधन–मण्डलको विषयमा लेख्दा केशवमणिको प्रसङ्ग आउँदा म पहिले पहिले विसं १९९१ ? मा जन्म भनी लेख्थें । पछि बलमिच्याइँ गरेर प्रश्नचिह्न हटाई काम चलाउन थालें ।

अहिले एउटा दैनिकमा केशवमणिको मृत्युको खबर दिँदा ‘८८ वर्षको उमेरमा निधन भएको छ’ भनी लेखिएकाले (‘साहित्यकार दीक्षितको निधन’, राजधानी दैनिक, २०७८ । ६ । ७ । ५, २ पृ.) उनको पूरा भएको उमेर दिएको भए उनको जन्म विसं १९९० मा र लागेको उमेर दिएको भए चाहिं माथि लेखे जस्तै, विसं १९९१ मा उनी जन्मेको देखिन्छ ।

प्राचीन संस्कृतपरम्परा अनुसार समग्र ग्रन्थ उपस्थित राख्ने पद्धतिको पुनरुद्धार गर्ने अभिप्रायले नयराज पन्त (विसं १९७०–२०५९)ले विसं १९९७ मा एउटा संस्कृत पाठशालाको थालनी गरेका थिए । त्यस पाठशालामा पढ्न केशवमणि विसं २००३ मा आएका हुन् (नयराज पन्त, लिच्छविसंवत्को निर्णय, काठमाडौः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, २०४३, उपोद्घात १९ पृ.) ।

पढ्न आउँदा उनको उमेर १२÷१३ वर्षभन्दा बढी थिएन । उनका गुरुले लेखे अनुसार केशवमणि आ.दी. र उनका दुई सहपाठी महेन्द्रनाथ अधिकारी (विसं १९९२–२०७२) र सुरेन्द्रनाथ अधिकारी ‘मकहाँ पढ्न आउँदा संस्कृतका साधारण श्लोकको अर्थ गर्न सक्दैनथे । उनीहरूले मेरो नियमानुसार रघुवंश पढे’ (लिच्छविसंवत्को निर्णय, उपोद्घात, १९–२० पृ.) । यसको मतलब केशवमणिले सामान्य संस्कृतदेखि नै नयराजको पाठशालामा पढ्न थालेको रहेछ ।

नयराज पन्तको पाठशालाका दोस्रो तहका विद्यार्थी अर्थात् पेशलराज पोख्रेल, केशवमणि आ.दी., महेन्द्रनाथ अधिकारी र सुरेन्द्रनाथ अधिकारी कच्चै उमेरका भए पनि संस्कृतमा कविता रच्न सक्ने भइसकेपछि यी चारै जना आपूmले रचेका संस्कृत पद्य मृगस्थलीको ब्रह्मचर्याश्रममा भएको सभामा पढेर सुनाउन विसं २००६ को हिउँदमा आमन्त्रित गरिए । ‘सभामा शुद्ध संस्कृतमा तिनीहरूले आफ्नो कविता पाठ गरेकाले सो पढाइको यश पैmलिएछ र ... सो ब्रह्मचर्याश्रममा त्यही पढाइ चलाउने’ विचार ब्रह्मचर्याश्रमका संरक्षक कविराज हरिप्रसाद खकुरेल (विसं १९४९–२०३०) र अध्यक्ष योगी नरहरिनाथ (विसं १९७१–२०५९)को भएछ (लिच्छविसंवत्को निर्णय, उपोद्घात, ११ पृ.) । त्यसपछि नयराज पन्तका माथिल्लो तहका २ जना विद्यार्थी भोलानाथ पौडेल (विसं १९७८–२०६६) र ज्ञानमणि नेपाल (विसं १९८९ मा जन्म) त्यही साल फागुनको मसान्तदेखि त्यहाँ पढाउन गए (महेशराज पन्त, ‘भोला गुरुलाई सम्झँदै’, पूर्णिमा १३० पूर्णाङ्क, २०६६, १७९, १८५ पृ.) ।

सरकारिया पाठशालाको पढाइको दाँजोमा नयराज पन्तको पाठशालाको पढाइबाट संस्कृतभाषामा कम समयमा राम्रो अधिकार हुने प्रचार भएपछि उनले चलाएको पढाइ उनको पाठशालामा मात्र सीमित नभई अर्को पाठशालामा पनि चल्न थाल्यो । यस कारण ब्रह्मचर्याश्रममा त्यो पढाइ चल्नुमा कच्चा उमेरका केशवमणि र उनका सहपाठीको पद्यबन्धको वाचन निमित्त हुन गयो भनी भन्दा अत्युक्ति नहोला ।

नयराज पन्तले खोलेको त्यस पाठशालामा ८ वर्षको पाठ्यक्रम पढ्ने विद्यार्थीमा ३ वर्ष पुग्दा नपुग्दै संस्कृतभाषामा राम्रो अधिकार भइसक्थ्यो । यसैले ब्रह्मचर्याश्रममा त्यो पढाइ चलाउन नयराज पन्तले खटाएका भोलानाथ पौडेल र ज्ञानमणि नेपाल जाँदा त्यस आश्रमका सञ्चालकमण्डलीको सामु उनीहरूले गरेका प्रतिज्ञामध्ये एउटा ‘विद्यार्थीहरूलाई ३ वर्ष सम्ममा पुराण भन्न सक्ने योग्यता गराउने’ भन्ने थियो (पूर्णिमा १३० पूर्णाङ्क, १८५ पृ.) ।

नयराज पन्तको पाठशालामा पढिने मूल विषय संस्कृतभाषा, काव्यकोष र व्याकरण भए पनि उनीहरूलाई गणितको ज्ञान र नेपालको इतिहासका आकर अर्थात् हिजोआजको भाषामा स्रोत पहिल्याउने ज्ञान पनि सँगसँगै दिइन्थ्यो । यसैले ती विद्यार्थीहरूलाई नेपालको इतिहासका फरक फरक कालमा चलेका लिपि सिकाइन्थ्यो ।

नेपालको इतिहासका सयौं वर्षका आकर खास गरी संस्कृतभाषामा भएकाले संस्कृत जानिसकेका ती विद्यार्थीहरू लिपि चिनिसकेपछि ती आकर पढ्न र तिनको अर्थ गर्न सक्ने हुन्थे । त्यसैले पूरा पढाइ नसिद्धयाउँदै तिनीहरूमध्ये केही विद्यार्थी नेपालको फरक फरक कालका अभिलेख मूलबाटै अर्थात् शिलापत्र, ताम्रपत्र, ताडपत्र, कागतपत्र आदिबाट पढ्ने मात्र होइन; त्यसको उल्था र व्याख्या गर्न सक्ने समेत भइसकेका हुन्थे ।

ती विद्यार्थीमध्ये केही नेवार भएकाले तिनीहरू र तिनीहरूको सङ्गतले तथा आफ्नो अध्यवसायले गैरनेवार विद्यार्थी पनि नेवारीका आकरको क्रमशः अर्थ गर्न थाल्थे । यसले गर्दा पुरानो नेवारीमा लेखिएका अभिलेखमा भएका तथ्य पनि बिस्तारै खोतलिन जान्थ्यो । अघिबाटै केही ज्यौतिष पढिसकेका विद्यार्थीहरू अभिलेखका तिथिमिति जाँच्ने गर्थे ।

उतापट्टि, प्रचलित प्रणाली अनुसार इतिहासमा उच्च उपाधि हासिल गरी कलेजमा पढाउने प्रोफेसरहरूमा पनि मूल अभिलेख पढ्ने, उल्था र व्याख्या गर्न सक्ने सामथ्र्य हुँदैनथ्यो । सृष्टिदेखि शुरू गरी दन्त्यकथा र वास्तव घटनाको घोलमेल गरेर उन्नाइसौं शताब्दीमा नेपाली भाषामा लेखिएको वंशावलीको अङ्ग्रेजीमा उल्था गराई ड्यान्यल राइटले विसं १९३४ मा प्रकाश गरेको *हिस्टरि अप् नेपाल् *(केम्ब्रिज, यूनिभर्सिटि प्रेस, सन् १८७७) च्यापी उनीहरू हिंड्थे र त्यही पुस्तकमै नेपालको समग्र इतिहास भेट्टाउँथे ।

विसं २००७ फागुनमा प्रजातन्त्र आएपछि लेख्ने बोल्ने छूट भएकाले नयराज पन्तले आफ्ना विद्यार्थीहरूको ल्याकत देखाउन र प्रचलित शिक्षाप्रणालीबाट उच्च शिक्षा पाएकाहरूको अकर्मण्यता देखाउन विद्यार्थीहरूद्वारा लेखमाला प्रकाश गराउने विचार गरे । त्यसको तयारीमा १९ महीना बित्यो र बल्ल विसं २००९ असोज ५ गतेको मितिमा पहिलो इतिहास–संशोधन निकालियो ।

जुन दिनको मिति राखेर पहिलो इतिहास–संशोधन निकालियो, त्यो दिन बडादशैंको घटस्थापना परेको थियो । त्यसको भोलिपल्ट द्वितीयादेखि षष्ठीसम्म अर्थात् विसं २००९ असोज ६ गते आइतवारदेखि १० गते बिहीवारसम्मका ५ दिनभित्र दिनको एउटा एउटा गरेर नयराज पन्तले दसैंकोठामा देवीको अगाडि बसी संस्कृतमा रचेका ५ पद्यमा आफ्ना शिष्यहरूको विद्या बढोस्, उनीहरू ठूला विद्वान् होऊन्, नेपालमा विद्याको क्षेत्रमा रहेको विदेशीको प्रभुत्व उनीहरूले हटाउन सकून् भन्ने कामना गरिएको छ (महेशराज पन्त, ‘नयराज पन्तले आफ्ना विद्यार्थीको लागि विसं २००९ को दसैंमा गरेको प्रार्थना’, पूर्णिमा १३७ पूर्णाङ्क, २०६९, ९०–९२ पृ.) । यसरी पहिलो इतिहास–संशोधन दसैंमा निकालिनु र आफ्ना विद्यार्थीहरूबाट विदेशीको प्रभाव तोड्ने काम होओस् भन्ने प्रार्थना पनि नयराज पन्तले त्यही सालको दसैंमा गर्नुलाई संयोग मान्न सकिन्न ।

विसं २००९ असोज ५ गतेको मिति हाली निकालिएको त्यस इतिहास–संशोधनका लेखक मात्र होइन, प्रकाशक पनि केशवमणि आ.दी. र उनका दुइ सहपाठी महेन्द्रनाथ अधिकारी र सुरेन्द्रनाथ अधिकारी थिए । त्यस इतिहास–संशोधनको मुनि ‘संख्या १’ लेखिएकोले यस्ता संशोधन अरू पनि आउने सङ्केत त्यसले दियो । यसपछि मूल शीर्षक इतिहास–संशोधन राखिएका यस्ता पुस्तिका वा पर्चाको लर्कै चल्यो । ८ तहमा बाँडिएका २१ जना विद्यार्थीको टोलीबाट इतिहास–संशोधन निस्कन थाले । कुनै कुनै दिन त २ वटासम्म पनि इतिहास–संशोधन निस्के । विसं २००९ असोज ५ गते पहिलो इतिहास–संशोधन निस्किएकाले संशोधन–मण्डलको प्रकाशनको शुरूआत त्यही सालको असोज ५ गते भयो भनी मान्ने गरिएको छ ।

यो पुस्तिका छापिएको तेह्रौं दिनमा त्यही आकारप्रकारको, तर त्यसको भन्दा पृष्ठसङ्ख्या अलि बढी भएको, लेखाइ र विषयवस्तु दुवै बढी खँदिलो भएको कौटलीय अर्थशास्त्रको ऐतिहासिक व्याख्या भन्ने शीर्षक भएको, उपशीर्षक चाहिं राणाराज्यमा कौटल्यको विचार भन्ने भएको अर्को एउटा पुस्तिका बजारमा आयो । त्यो छापिएको नवौं दिनमा कौटलीय अर्थशास्त्रको ऐतिहासिक व्याख्याको २ संख्या छापियो । त्यसको उपशीर्षक चाहिं यस्तो थियो— १८४३ सालदेखि नेपाल राज्य सजिलैसँग बढ्नामा र १८७१–७२ सालको अंग्रेजसँगको लडाइँमा आश्रित राजाहरूले नेपालको पक्ष नलिनामा तथा १९१४ सालको भारतको विद्रोह हुनामा कौटल्यको विचार

विभित्र सिद्धान्तको आधारमा इतिहासको व्याख्या गर्ने परम्पराअनुरूप माक्र्सवादको दृष्टिले इतिहासको व्याख्या गरिए जस्तै, कौटलीय अर्थशास्त्रको दृष्टिले नेपालको इतिहासको व्याख्या गर्ने उपक्रम यस व्याख्याबाट भयो । इतिहासको यस्तो व्याख्या पश्चिमबाट अनाक्रान्त विद्वत्ताको परिणाम थियो ।

कौटलीय अर्थशास्त्रको ऐतिहासिक व्याख्याका रचयिता भोलानाथ पौडेल, धनवज्र वज्राचार्य (विसं १९८८–२०५१) र ज्ञानमणि नेपाल हुन् । पहिलोपटक इतिहास–संशोधन निकाल्ने केशवमणि आ.दी. र उनका दुई सहपाठीको भन्दा भोलानाथ पौडेलहरूको पढाइ माथिल्लो तहको हुनाले भोलानाथहरूद्वारा कौटलीय अर्थशास्त्र सम्बन्धी र केशवमणिहरूद्वारा इतिहास–संशोधन सम्बन्धी काम गराउने विचार नयराज पन्तको देखिन्छ । ‘परन्तु २००९ मा कौटलीय अर्थशास्त्रको ऐतिहासिक व्याख्या २ संख्यासम्म निस्की रोकियो । पहिले इतिहास–संशोधन निकाल्नेहरूको पनि १ संख्या इतिहास–संशोधन निस्केपछि नै उत्साह सेलायो’ (धनवज्र वज्राचार्य, प्रधान सम्पादक, इतिहास–संशोधनको प्रमाण–प्रमेय, ललितपुर : जगदम्बा प्रकाशन, २०१९, ‘हाम्रो वक्तव्य’, ५५ पृ.) ।

त्यो पाठशाला नयराज पन्तले खोलेकाले त्यहाँका जम्मै विद्यार्थी उनका शिष्यमा गनिए पनि तल्लो कक्षामा पढ्ने म जस्ता विद्यार्थी उनका सोभैm शिष्य थिएनन् । खुलाएर भन्दा, उनका सोभैm शिष्य रामजी तेवारी (विसं १९७३–२०४०), देवीप्रसाद भण्डारी (विसं १९७६–२०५६), भोलानाथ पौडेल, देवराज पौडेल, शङ्करमान राजवंशी (विसं १९८१–२०५६), धनवज्र वज्राचार्य, ज्ञानमणि नेपाल, डुम्बरप्रसाद खकुरेल, पेशलराज पोखरेल, केशवमणि आ.दी., महेन्द्रनाथ अधिकारी र सुरेन्द्रनाथ अधिकारी मात्र हुन् । मूल विषय संस्कृत पढ्ने अरू इतिहास–संशोधकहरू अर्थात् लक्ष्मण सत्याल (विसं १९९१–२०७८), अत्रूर कुइँकेल (विसं १९९५–२०३८) र नयनाथ पौडेल (विसं २००२ मा जन्म)लाई भोलानाथ पौडेलले; ऐश्वर्यधर शर्मा (विसं १९९३–२०७४), घनश्याम सुवेदी (विसं १९९४–२०७४), गौतमवज्र वज्राचार्य (विसं १९९७ मा जन्म) र कुमारधर शर्मा (विसं १९९८ मा जन्म)लाई धनवज्र वज्राचार्यले; श्यामराज पोख्रेल, मोहननाथ पाण्डे (विसं १९९६–२०७६) र बाबुराम नेपाललाई ज्ञानमणि नेपालले; महेश्वरराज सुवेदी (विसं १९९६ मा जन्म) र महेशराज पन्त (विसं २००१ मा जन्म)लाई केशवमणि आ.दी.ले पढाएकाले यी इतिहास–संशोधकहरू अघिल्लो अवस्थामा नयराज पन्तका प्रशिष्य अर्थात् चेलाका चेला मात्र थिए भन्दा फरक पर्दैन ।

म त्यस पाठशालामा विसं. २००७ को हिउँददेखि पढ्न गएको हुँ । त्यस वेला मेरो उमेर ६ वर्ष नाघिसकेको थियो । पाठशालामा पढ्न जानुभन्दा अगाडि नै मैले विद्यासागर के.एल.भी. शास्त्रीले लेखेको, मद्रासबाट प्रकाशित संस्कृतबालादर्शका केही पाता थोत्र्याइसकेको थिएँ । पाठशालामा जाँदा जाँदै मलाई कसले पढायो भन्ने कुरा अहिले मेरो सम्झनामा छैन । मलाई घरमा देवराज पौडेल र धनवज्र वज्राचार्यले पढाएकाले मलाई पाठशालामा पनि कता कता धनवज्रबाटै मेरो पढाइको शुरूआत भएको जस्तो लाग्छ ।

केही समयपछि म केशवमणिको पोल्टामा परें । त्यस वेला मेरा सहपाठी अहिले महेश्वर जुजु भनी प्रसिद्ध महेश्वरराज सुवेदी थिए । उनी मभन्दा झण्डै ५ वर्षले पाका भए पनि उनको र मेरो पढाइको तह मिल्ने भएकोले हामीलाई एउटै पाठमा राखिएको थियो । नेपाली भाषा मेरो जन्मभाषा अर्थात् आजभोलिको भाषामा मातृभाषा भएको र घरमा भएका काव्यका पुस्तक जति छोडेर नेपालीका धेरैजसो पुस्तक मैले हेरिसकेकोले मेरो नेपाली राम्रो भइसकेको थियो । तर हाम्रो पाठशालामा नेपालीभाषाको पढाइ नहुने तथा खालि संस्कृतबाट उल्था गर्दा र सम्बद्ध विषयका किताब नेपालीमा भए त्यो हेर्दा मात्र नेपालीको उपयोग हुन्थ्यो । गुरुहरूले आफ्ना विद्यार्थीको लिने गरेको संस्कृतज्ञानको परीक्षामा एकचोटि महेश्वरले मैले भन्दा राम्रो गरेपछि गोपाल पाँडे (विसं १९७०–२०३५)को नेपाली शिक्षापरिषद्मा जाँच भएको भए महेश्वरको भन्दा तिम्रो राम्रो हुन्थ्यो, यहाँ त संस्कृतज्ञानको सवाल छ भनी मलाई केशवमणिले भनेको कुरा म अभैm झलझली सम्झन्छु ।

केशवमणिको रूप र वेशभूषा दुवै सुन्दर थियो । आनीबानी पनि सौम्य थियो र विवाद गर्न त्यति मन नपराउने उनको बानी थियो । हामी विद्यार्थीलाई पनि कहिल्यै कडा गरेको सम्झना मलाई आउँदैन ।

हाम्रो पाठशालामा अघिल्लो चार वर्षको पढाइको मुख्य पुस्तक रघुवंश भए पनि विद्यार्थीमा संस्कृतको शब्दभण्डार बढ्दै गइसकेपछि अरू काव्य–नाटक र कथा आदिको पनि त्यहाँ पढाइ हुन्थ्यो । ती पुस्तकको पढाइ कस्तो हुन्थ्यो भने, गुरुले कुनै पनि किताब पल्टाई विद्यार्थीलाई अर्थ गराउन लगाएर उसको योग्यताको निर्धारण गरिन्थ्यो । त्यस्तै किताबमा दिङ्नागको कुन्दमाला नाटक पनि पथ्र्यो । कुन्दमाला भाषाको दृष्टिले कालिदासको अभिज्ञानशाकुन्तलभन्दा पनि चित्तग्राही थियो । त्यस नाटकको मैले आफ्नै तर्पmबाट पनि अलिपछि रफत गरेको थिएँ ।

कुन्दमाला नाटकको अर्थ हाम्रो पाठशालामा हरेकजसो पाठका विद्यार्थीहरूलाई आकलझुकल गराइन्थ्यो । तर त्यसको एउटा प्रतिको मात्र उपयोग त्यहाँ हुन्थ्यो । त्यो प्रति पनि नयराज पन्तको निजी सङ्ग्रहको थियो । त्यसको सम्पादन आपूmले लेखेको संस्कृत टीका सहित जगदीश शास्त्रीले तथा त्यसको अङ्ग्रेजी उपोद्घात र उल्था आदि चाहिं शरणदास भनोत र वेदव्यास मिली गरेका रहेछन् । लाहुरबाट मोतीलाल बनारसीदासद्वारा सन् १९३७ तदनुसार विसं १९९४ मा प्रकाशित त्यही पुस्तकको दोस्रो संस्करण त्यो थियो । एउटै पुस्तक धेरै कक्षामा चलाइने भएकोले र विद्यार्थीले प्रयोग गर्दा ठाउँठाउँमा मसी लतपतिएको देखिन्थ्यो ।

एक दिन केशवमणिले महेश्वर र मलाई त्यसबाट एक पृष्ठको अर्थ गर्न लगाए, हामीले पनि अर्थ गरेर गुरुको चित्त बुझायौं । कुन्दमालाको यो किताब गुरु (नयराज पन्त)सँग केही दिनको लागि मागेर लगी अङ्ग्रेजी उल्था समेत नछोडी जम्मै सारेर आजै फर्काएको हो भनी केशवमणिले भनेको सुनेर मलाई उनको पुस्तकप्रेममा श्रद्धा बढ्यो । उनको घरमै शान्तिनिकेतनको नाउँले उनका बुबा राममणिको ठूलो पुस्तकसङ्ग्रह भएकोले होला, पुस्तकसङ्ग्रहमा उनको रुचि भएको भनी मैले ठानें ।

त्यस पाठशालामा पढ्ने लेख्ने काम चल्दै गए पनि पछि गएर विद्यार्थीहरूको जीविका कसरी चल्छ भन्ने टुङ्गो नलागेकाले विद्यार्थीहरू बिस्तारै बिस्तारै घट्दै गए । त्यसमाथि, त्यहाँ जो पढ्न आए, कुनै ठूलो उद्देश्य लिएर तिनीहरू आएका थिएनन् । तिनीहरू कि राणाका ताबेदार भएर कि जजमानी, खेतीपाती वा बेपार गरेर किंवा जागीर खाएर बसेकाको घरपरिवारबाट आएका थिए । विद्याको जागरणसँग कत्ति पनि सम्बन्ध नभएको परिवारबाट तिनीहरू आएकाले र संस्कृतभाषा तथा अध्यात्मवादमा भेद नदेख्ने समाजका उपज ती भएकाले ‘संस्कृतभाषाको आधारमा विद्या पढ्ने पढाउने प्रयोगात्मक उद्योग गर्दै आएका’ नयराज पन्तको दर्शन (नयराज पन्त, हाम्रो उद्देश्य र कार्यप्रणाली, काठमाडौंः खिलशर्म–राजीवलोचनजोशीस्मारक–प्रतिष्ठान, २०५९) बुझ्न पनि उनीहरूलाई सजिलो थिएन ।

अझ, ‘इतिहास–संशोधनको यस आन्दोलनले नेपालका प्रतिष्ठित केही बुद्धिजीवीलाई आफ्नो प्रतिष्ठा र पेशामा हान्ने सम्भावनाको अनुभव हुन थाल्यो र उनीहरूले भएनभएका खोट लाई यसको विरोधमा प्रचार गर्न थाले तथा कसैले लिखित रूपमा पनि यसको विरोध गर्न थाले । उनीहरूले त्यसो गर्नु उनीहरूको स्थिति अनुसार स्वाभाविक पनि थियो । यता हाम्रो उद्देश्यको प्रचार चाहिं पर्याप्त मात्रामा नभएको र ख्यातनामा विरोधीहरूको तर्पmबाट भने यसको विरोधमा प्रचार भएको हुनाले खुद इतिहास–संशोधन गर्ने विद्यार्थीका संरक्षकहरू नै यसका विरोधी हुन थाले । आफ्नो घरमा आफ्ना संरक्षकहरूले समेत इतिहास–संशोधनको विरोधमा बोल्ने गरेपछि अधकल्चा विद्यार्थीहरूको उत्साह सेलाउनु स्वाभाविक थियो र इतिहास–संशोधनमा शिथिलता आउन थाल्यो ।

बाहिरतिर इतिहास–संशोधनको महत्त्व बुझ्ने व्यक्तिहरू प्रायः यसका विरोधी हुँदा र स्वयं परीक्षा गरी हेर्न नसक्ने धेरैजसो जनता हुँदा इतिहास–संशोधन भन्यो कि गालिगोप्ता गरी स्वार्थविशेषले लेखेलेखाएका पुस्तिका भन्ने सम्झने हुन थाल्यो । यसैले र अरू केही कारणले गर्दा बिस्तारै बिस्तारै हाम्रो पाठशालाका विद्यार्थीहरू हाम्रो पढाइ छोडी जान थाले । तिनमा केही इतिहास–संशोधकहरू पनि थिए’ (इतिहास–संशोधनको प्रमाण–प्रमेय, ‘हाम्रो वक्तव्य’, ५५–५६ पृ.) ।

‘पढाइको उठानैदेखि लेख लेख्न अभ्यास गराउने नियम हुनाले हाम्रो पाठशालामा प्रत्येक विद्यार्थीले प्रतिदिन केही न केही लेख्नु अनिवार्य जस्तै थियो तथा हाम्रो पढाइ परीक्षाको भरमा उभिने नभई काम देखाई खाने उद्देश्यको हुनाले अब समर्थ सबै विद्यार्थीले आफ्नो भविष्य सपार्नाका लागि केही न केही निबन्ध प्रकाशित गर्न उत्तम छ भन्ने मौखिक नियम जस्तै त्यस वेला बनेको’ (उही ५५ पृ.) भए पनि पहिले इतिहास–संशोधन प्रकाश गरिसकेका विद्यार्थी पनि अब नयाँ नयाँ अङ्क प्रकाशित गर्न हच्किन थाले ।

त्यसको एउटा दृष्टान्त ‘हामीलाई इतिहास संशोधन तिर अभिमुख गराएर यतैतिर धेरै व्यस्त बनाउने उहांको पछिल्लो विचार भने हामीलाई स्पृहणीय हुन सकेन’ (केशवमणि आचार्य दीक्षित, सम्झनाको बाटोमा, काठमाडौं : शान्ति–निकेतन पुस्तकालय, २०४३, १० पृ.) भनी केशवमणिले लेखेको वाक्यमा पनि पाइन्छ ।

यसै क्रममा केशवमणि आ.दी.का सहपाठी महेन्द्रनाथ अधिकारी र सुरेन्द्रनाथ अधिकारीले विसं २०१० को बर्खामा पाठशाला छोडे । यसैले त्यस टोलीमा बाँकी रहेका केशवमणि आ.दी.लाई तिमी अब के गर्छौ ? पढ्छौ कि पढ्दैनौ ? भनी बालाई सोधी आऊ भनी नयराज पन्तले अह्राए । त्यसपछि विसं २०१० भदौ १० गते राममणि आ.दी.ले नयराज पन्तलाई छोरा केशवमणिको पढाइको विषयमा चिठी लेखे । त्यस चिठीमा ‘छोरा केशवमणिका दुइ जाना साथीले त्यो पाठशालाको पढाई छाडेकाले तिमी के गरछौ भनि गुरु शोधनूहुनछ भनदथे, गुरो ! आफनू स्वाध्याय पूरा नपारी म उफ्रेर अनार्य शिक्षातिर दौडने व्यक्ति नहुनाले, त्यो नहुनजेल म ताहाबाट झीकन चाहत्र, यदि केशवमणि विशुद्ध आर्य विद्वान् बनन ताहा नशकने भयो भनी तपाईले नभनूनजेल मेरो छोराले तहाँ पढन छाडदैन’ इत्यादि लेखिएको थियो । यसैले सहपाठीहरूले पढाइ छोडे पनि केशवमणि त्यस पाठशालामा पढिरहेकै थिए ।

विसं २०१० को प्रारम्भदेखि योगी नरहरिनाथले संस्कृत–सन्देश नामले महीना महीनामा निस्कने संस्कृत पत्रिकाको शुरूआत गरे । नेपालको इतिहासका आकरको प्रकाशन, तिनको उल्था र नेपालमा भएका पुराना संस्कृत ग्रन्थको परिचय संस्कृत–सन्देशमा खास गरी छापिन्थे । यसका उठानको अङ्कदेखि नयराज पन्तको लेख त अवश्य छापिन्थ्यो नै, पछिल्ला पछिल्ला अङ्क त बाबुराम आचार्य (विसं १९४४–२०२९) र नयराज पन्तले मिलेर लेखेका लेख तथा नयराजले मात्रै लेखेका लेख र उनका शिष्यप्रशिष्यका लेखले पत्रिकाको धेरैजसो भाग ओगट्ने गथ्र्यो ।

विसं २००९ असोजमा नयराजको निर्देशनमा पहिलो इतिहास–संशोधन निकाल्ने केशवमणिको दोस्रो लेख नयराजकै निर्देशनमा संस्कृत–सन्देशमा विसं २०१० पूसमा निस्क्यो । त्यो लेख उनी एकलैको नाउँमा छापिएको थियो । राजधानीबाट राजा गीर्वाणयुद्ध (विसं १८५४–१८७३, राज्यकाल १८५५–१८७३)को नाउँमा विसं १८७१ मार्गकृष्ण–अमावास्यामा गएको चिठीको जवाफमा नेपालतर्फका दूत चन्द्रशेखर उपाध्यायले त्यही साल पौषकृष्ण–एकादशी शुक्रवारको दिन बेतियाबाट लेखेको चिठीको विषयमा त्यो लेख थियो ।

संस्कृतभन्दा भिन्न भाषाका अभिलेख संस्कृत–सन्देशमा छापिँदा धेरैजसोको संस्कृतमा उल्था समेत गरी मूल अभिलेख छापिने चलन अनुसार केशवमणिको त्यो लेख संस्कृत उल्था सहित छापिएको थियो (‘चन्द्रशेखरपत्रानुवादः’, संस्कृत–सन्देश १ वर्ष ९ अङ्क, २०१०, ३८–४३ पृ.) । केशवमणिको त्यस्तै खालको अर्को लेख त्यही साल त्यही पत्रिकामा चैत महीनामा छापियो ।

वकील अर्थात् राजदूत लोकरमण उपाध्यायले राजा राजेन्द्रविक्रम (विसं १८७०–१९३८, राज्यकाल विसं १८७३–१९०४)लाई विसं १८९७ चैत्रशुक्लत्रयोदशी आइतवारको दिन लेखेको अर्जीको जवाफमा विसं १८९८ ज्येष्ठशुक्लचतुर्थी सोमवारको दिन राजाको नाउँबाट गएको चिठी त्यो थियो । त्यो चिठी पनि अघिल्लो जस्तै संस्कृत उल्था सहित छापिएको थियो (‘राजेन्द्रपत्रम्’ संस्कृत–सन्देश १ वर्ष १०–१२ अङ्क, २०१०, ३७–४१ पृ.) ।

विसं २०११ जेठ २४ गतेको दिन राममणिले लेखेको चिठी नयराजकहाँ आयो । त्यस चिठीमा ‘आज म आफनू नम्र निवेदन समर्पण गरदछू । छोरा केशवमणि तपाईका कृपाबाट आज आर्य–संस्कारमा पक्का भई जमी शकेका भए । तपाईका कृपाले मेरो छोराको कायापलट भयो । म साह्रै अनुगृहीत भएको छू । केशवको विचार पूर्व–मध्यमा दीनेतरफ भूmकीरहेको छ । म सँग २।४ बाजी अनुरोध पनि गरीशके । पूर्वापर सबै विचार गरदा उनको आग्रह अनुचित हो भनेर पनि म भनन शकतीन । ... तसर्थ अब ६ महिनालाई पूर्व–मध्यमा दीन केशवलाई बीदा दीने आग्रह गरदछू । मेरो कुलायनी ज्यौतिष पढनू अभैm उनको बाकी नै छ । ६ महिनाबाद फेरी केशवलाई चरणकै शरणमा राखनेछू’ इत्यादि लेखिएको थियो । त्यसपछि नयराजले केशवमणिलाई पाठशालाबाट तत्कालैजसो बिदा गरिदिए । त्यो बिदा ६ महीनाको लागि मात्र नभई सँधैको लागि भयो, ६ महीना त उम्कनको लागि शिष्ट आग्रह थियो भत्रे खुद केशवमणिको लेखाइबाट स्पष्ट हुन्छ (सम्झनाको बाटोमा, ९–११ पृ.) ।

केशवमणि हिँडे पनि नयराजको पाठशालामा उनका भतिजा किशोरमणि र भानिज सुशीलकुमार पोखरेल भने पढ्दै नै थिए । अब तिमीहरू पढ्छौ कि पढ्दैनौ, पढ्ने भए बाजेबाट चिठी नल्याई यहाँ नआउनू भनी नयराजले भनेछन् । अनि विसं २०११ जेठ २८ गतेको दिन राममणिको चिठी लिई उनका २ जना नाति आए । त्यस चिठीमा ‘मेरा ई दुई लडकालाई तपाईले नपढाई हुदैन पठाईरहेको छू पढाई मलाई कृतार्थ गरनूहोस । प्रार्थना गरदछू’ (शेषराज सिवाकोटीद्वारा संपादित ‘नयराज पन्तः नेपालका सुकरात’, ज्ञानगुनसाहित्यप्रतिष्ठान, काठमाडौं, २०५५, ७० पृ.) इत्यादि लेखिएको थियो । त्यसपछि उनीहरू यथावत् पढी नै रहे ।

त्यस पाठशालाका विद्यार्थीले लेख प्रकाशित गर्नै पर्ने नियम भएकोले पहिल्यै इतिहास–संशोधन प्रकाशित गरिसकेका घनश्याम सुवेदीले आइन्दा इतिहास–संशोधन प्रकाशित गर्नेमा अनिच्छा प्रकट गर्दा उनलाई के प्रकाश गर्न लगाउने भन्ने छलफल भयो । त्यसै गरी राममणिका नाति किशोरमणि र सुशीलकुमारले पनि इतिहास–संशोधनबाहेक अरू नै केही प्रकाश गर्ने इच्छा गरेकाले धनवज्रका एक जना विद्यार्थी घनश्याम र ज्ञानमणिका पाँचै जना विद्यार्थी श्यामराज, मोहननाथ, बाबुराम, किशोरमणि र सुशीलकुमारले रघुवंशबाट अच्सन्धिका उदाहरण सङ्कलन गरी रघुवंश–पाठ्य–पुस्तक (व्याकरण) विसं २०१२ मा प्रकाशित गरे ।

आखिरमा विसं २०१३ मा राममणिका नातिहरूले पनि त्यो पढाइ छोडे । यसरी राममणि आ.दी.का छोरानातिलाई पढाई उनीसँग जोडिएको नयराज पन्तको सम्बन्ध १० वर्षपछि पूरै टुट्यो ।

नयराज पन्तसँग छुट्टिसकेपछि पनि केशवमणि आ.दी.को लेखपढ पछिसम्म पनि कायम रहेको थियो भन्ने कुरा त उनका १८ वटा पुस्तक प्रकाशित भएकोबाट देखिन्छ (राजधानी दैनिक, २०७८ ।६ ।७ ।५, २ पृ.) । उनका जम्मै पुस्तक त मैले भेट्टाएको छैन, आफ्ना बाबुका डायरी र आत्मकथाका अंशको उनले गरेका सम्पादनको त ठाउँठाउँमा मैले आफ्ना लेखमा उपयोग गर्ने गरेको छु, त्यस्तै आचार्यवंशावलीको दोस्रो संस्करणको उनको सम्पादन, उनका यात्रावर्णन र निबन्धसङ्ग्रह पनि हेरेको छु । उनले लेखेको आफ्ना बराजु शिरोमणि (विसं १८८१–१९५८)को चरित (शिरोमणि आचार्य दीक्षित (जीवनी), शान्ति–निकेतन पुस्तकालय, काठमाडौं, २०७२) भने धेरै समयदेखि हेर्ने इच्छा हुँदा हुँदै पनि अहिलेसम्म भेट्टाएको छैन ।

राममणि आ.दी.को निजी पुस्तकसङ्ग्रह शान्तिनिकेतनपुस्तकालय भन्ने नाउँले प्रसिद्ध छ । त्यस सङ्ग्रहमा पुराना पुराना पुस्तक मात्र नभई इतिहासका लागि उपयोगी निकै कागजात, खुद राममणिका वर्षौं वर्षका डायरी र उनको अप्रकाशित मणिकोश पनि छन् । त्यस्ता कागजातमध्ये राजा पृथ्वीनारायण शाह (विसं १७७९–१८३१, राज्यकाल विसं १७९९–१८३१)का दुइवटा अप्रकाशित लालमोहरका फोटा पछि केशवमणि आ.दी.बाट पाई दिनेशराज पन्त (विसं २००६ मा जन्म)ले तिनका मूलपाठ, फ्याक्सिमिलि र व्याख्या प्रकाशित गरेका छन् (‘श्री ५ पृथ्वीनारायण शाहका २ अप्रकाशित लालमोहर’, पूर्णिमा १४२ पूर्णाङ्क, २०७४, २१६–२२२ पृ.) ।

राममणिको देहान्त भएको ५० वर्षसम्म केशवमणिले सह्मालेर राखेको शान्तिनिकेतनपुस्तकालयको जिम्मेवारी अब कसले लेला भन्ने खुलदुली मलाई लागिरहेछ । त्यस पुस्तकालयको सुरक्षा सहित विद्वद्वर्गले त्यसको उपयोग गर्न पाउने परिस्थिति बनेको खण्डमा स्वर्गवासी केशवमणि आ.दी.मा सच्चा श्रद्धाञ्जलि हुन्छ होला भन्ने मैले ठानेको छु ।

comments powered by Disqus

रमझम