कार्तिक २०७८ | 18/10/2021

सिमावर्ती क्षेत्र साझा सौम्य शक्ति

Share:
  
- सुमन मण्डल
सीमावर्ती ग्रामीण क्षेत्रको परिवेश भिन्न छ। दैनिक मजदूरीदेखि बीउबिजन, औषधोपचारदेखि मलामी, सत्यनारायण पूजा होस् वा विवाह एकअर्कामाथि निर्भर छन्।

कोभिड-१९ महामारीको बन्दाबन्दीका कारण नेपाल-भारत सीमाक्षेत्रमा रोकिएका नेपाली रुपन्देहीको बेलहिया नाकाबाट भित्रिंदै।
तस्वीरः मनोरञ्जन शर्मा

सीमाना नजोडिएका भाषिक, सांस्कृतिक र धार्मिक रूपले पृथक् रहेका राष्ट्रहरूमा ‘सफ्ट पावर’ को व्याख्या र अध्ययन अलि सरल हुन्छ। तर, नेपाल-भारत सम्बन्ध ‘विशेष’ मात्र नभई बहुआयामिक पनि छ। तराई-मधेश र भारतीय सीमावर्ती क्षेत्रका नागरिकहरूको भाषा, धर्म, दर्शन, संस्कृति, रहनसहन र दिनचर्या उस्तै भएकाले ‘सफ्ट पावर’ का आयामहरूको व्याख्या र अध्ययन भने जस्तो सरल छैन।

भूगोलले दुई अलग अलग देशमा विभाजित भए पनि सीमावर्ती क्षेत्रको समाज एउटै हो। यसैले यस क्षेत्रका नागरिकहरूबीच समानता त छ नै, एकअर्कालाई प्रत्यक्ष प्रभाव पार्ने धेरै पक्ष हुनु स्वाभाविक पनि हो। शिक्षा र साहित्य यस्ता पक्ष हुन् जसबाट मधेशमा एउटा पुस्ता निकै प्रभावित छ।

प्रारम्भिक र उच्च शिक्षाका लागि पटना, भागलपुर, दरभङ्गा, लखनउ र बनारस (काशी) लगायत भारतीय शहरमा अध्ययन गरेको एउटा पुस्ता मधेशमा विद्यमान छ। कतिपय डाक्टर, इन्जिनियर, शिक्षक र प्राध्यापकका साथै राजनीतिक व्यक्तित्वहरूले मधेशी र नेपाली समाजलाई आफ्नो योगदान दिएका छन्। हिन्दी साहित्य मन पराउने जमात सुमित्रानन्द पन्त, सूर्यकान्त त्रिपाठी ‘निराला’, जयशंकर प्रसाद, रामाधिर सिंह ‘दिनकर’, प्रेम चन्द र हरिवंश राय बच्चनका त कायल छन् नै।

साथै, प्रादेशिक साहित्यमा कलम चलाउने फणिश्वरनाथ रेणु, रामवृक्ष बेनीपुरी, गोपालसिंह नेपाली, अनुपलाल मण्डल, महादेवी वर्मा र मैथली शरन गुप्तका पनि प्रशंसक अनगन्ती छन्। पछिल्लो समय खास गरी प्रारम्भिक शिक्षा आआफ्नै देशमा र औपचारिक भाषामा नै हुने भएकाले साहित्यिक प्रभाव निकै कम भएको छ।

भारतको स्वतन्त्रता आन्दोलनको महात्मा गान्धीको राजनीतिक दर्शन होस् वा इन्दिरा गान्धीको अधिनायकवाद र आपत्कालको विरुद्ध आवाज बुलन्द गर्ने जयप्रकाश (जेपी) नारायणका विचारलाई मान्ने र प्रशंसा गर्ने पनि प्रशस्तै छन्।

भारतको स्वतन्त्रता आन्दोलनको महात्मा
गान्धीको राजनीतिक दर्शन होस् वा इन्दिरा
गान्धीको अधिनायकवाद र आपत्कालको
विरुद्ध आवाज बुलन्द गर्ने जयप्रकाश
(जेपी) नारायणका विचारलाई मान्ने र
प्रशंसा गर्ने पनि प्रशस्तै छन्।
कतिपय राजनीतिज्ञहरूबीच एकआपसमा घनिष्टता पनि नभएको होइन। सीमाको दुवैतिर ग्रामीण लोकतन्त्र बलियो हुँदै गर्दा यता स्थानीय तह र उता ग्राम पञ्चायतको निर्वाचनमा नातेदारहरू नै निर्वाचित भएका कैयौं परिवार छन्। यसले पक्कै पनि सीमावर्ती क्षेत्रमा स्थानीय राजनीतिक प्रभाव पार्ने नै भयो।

गान्धी, नेहरू र जेपीको विचार पछिल्लो समय भारतमा भएको सत्ता परिवर्तन र नेपालमा राजनीतिक अस्थिरताले प्रेरित अवसरवादले छायामा परेको छ। सामाजिक सञ्जाल र ह्वाट्सएपमा आईटी सेलबाट प्रसारित (अ)सूचनाको बाछिटा मधेशमा सजिलै महसूस गर्न सकिन्छ।

भुल्नै नहुने यथार्थ के हो भने, नेपाल-भारत सीमावर्ती क्षेत्र मूलतः ग्रामीण हो। यहाँका अधिकांश जनता निम्न वर्गका छन् र अझै पनि दैनिक मजदूरी र कृषिमा आश्रित छन्। भलै मोबाइल डाटा चलाएर नयाँ पुस्ताले फेसबूकमा फोटो पोस्ट गर्लान् र टिकटकमा भिडियो राख्लान्। तर, नदिया के पार फिल्म अझै पनि टेलिभिजनमा आयो भने यो त मेरै घरआँगनको कथा हो भन्दै बडो रुचिका साथ हेर्छन्। र, सिनेमाको कलाकारलाई दुःख पर्दा आफैंलाई परे जस्तो मानेर आँसु नै झर्छन्।

सीमावर्ती ग्रामीण क्षेत्रको परिवेश भिन्न छ। दैनिक मजदूरीदेखि बीउबिजन, औषधोपचारदेखि मलामी, सत्यनारायण पूजा होस् वा विवाह एकअर्कामाथि निर्भर छन्। विश्व बजारीकरणको असर त छ। तर, यहाँका नागरिकहरू दुवैतिरका साना शहरमा आश्रित छन्।

आ-आफ्नो देशको औपचारिक शिक्षाले निर्देशित पुस्ता प्रखर रूपले अगाडि बढ्दै छ। साथै आम सञ्चार र सामाजिक सञ्जालमा प्रेषित विभिन्न सूचनाले समान भाषा, धर्म, संस्कृति, वेशभूषा, खानपिन र रहनसहनका बावजूद राष्ट्रवाद कुनै न कुनै रूपमा देखिन्छ। हामी भौगोलिक रूपले अलग अलग राष्ट्र हौं र यसैले हामी सामाजिक, सांस्कृतिक र राजनीतिक रूपले पनि भिन्न छौं भन्ने भाष्य दुवैतिरको जनतामा बढ्दो छ।

खास गरी सन् २०१५ को मधेश आन्दोलन
र भारतीय नाकाबन्दीले सीमावर्ती क्षेत्रमा
सद्भाव कायम रहे पनि जानी नजानी हामी
कमसेकम राजनीतिक रूपले भिन्न चाहिं छौं
भन्ने स्थापित गर्‍यो।
खास गरी सन् २०१५ को मधेश आन्दोलन र भारतीय नाकाबन्दीले सीमावर्ती क्षेत्रमा सद्भाव कायम रहे पनि जानी नजानी हामी कमसेकम राजनीतिक रूपले भिन्न चाहिं छौं भन्ने स्थापित गर्‍यो। दुवैतिरका सञ्चार माध्यममा प्रेषित सूचना र समाचारले यसमा थप मलजल गरेकै छन्।

यसो भन्दै गर्दा, भौगोलिक, राजनीतिक र कानूनी रूपले नेपाल र भारत दुई भिन्नाभिन्नै सार्वभौम राष्ट्रहरू (नेशन स्टेट) हुन्। जब जब यी दुई देशबीचको सम्बन्ध ‘रोटी-बेटी’ को हो भन्छन्, प्रायः यहाँका सर्वसाधारणदेखि जानिफकारहरूको मानसपटलमा मधेश नै आउने गरेको यथार्थ हो। यस्तो हुनुमा सबैको आआफ्नो पूर्वाग्रह हुनसक्छ। तर, तथ्य के हो भने, मधेश र सीमावर्ती भारतीय समाज एउटै हो।

बिहेबारीले रगतको नाता यता पनि छ र उता पनि छ। यिनीहरूको सामाजिक परिवेशमा समानता मात्र होइन कि एकरूपता नै छ। यस मानेमा नेपाल-भारत सीमावर्ती क्षेत्रका बासिन्दाको राष्ट्र (नेशन) एउटै हो।

जोसेफ नाई जुनियरको सफ्ट पावरको आयामले पक्कै पनि यस विशेष सम्बन्धलाई व्याख्या गर्न सक्दैन। नेपाल र भारत दुवै बहुल राष्ट्रिय देश हुन्। भारतले सङ्घीयताको अभ्यास मुलुक स्वतन्त्र भएदेखि नै गर्दै आएको छ भने नेपालमा सन् २०१५ को संविधान लागू भएदेखि सङ्घीयता शुरू भएको हो। दुवै देशका सङ्घहरू उपराष्ट्र (सब-नेशन) हुन्। तर, नेपाल-भारत सीमा क्षेत्र दुई भिन्न राष्ट्रहरू (नेशन स्टेट)का उपराष्ट्र भईकन पनि एउटै राष्ट्रियता (नेशनालिटी) भएको समुदाय हो।

काठमाडौं र दिल्लीले वेलाबखत दुई देशबीच ‘रोटी-बेटी’ सम्बन्ध रहेको भने पनि त्यो प्रायः राजनीतिक खुराकका लागि भनिएको हुन्छ। सीमावर्ती समुदायको सम्बन्ध दुई सार्वभौम राष्ट्रहरूको राजनीतिक आकाङ्क्षाको चेपुवामा पार्नु हुँदैन। काठमाडौं र दिल्लीले सुरक्षाको नजरले मात्र यस उपराष्ट्रियलाई हेर्नु भएन। नेपाल-भारतको कूटनीतिक सम्बन्धमा यो विशेष उप-राष्ट्रिय आयामलाई एउटै राष्ट्रियता भएको समुदायको आयामबाट हेर्नु जरुरी छ।

comments powered by Disqus

रमझम