कार्तिक २०७८ | 18/10/2021

संसद्

Share:
  
- नवीन अभिलाषी

जहाँ तरबारहरू बज्छन् घाँटीहरू छिन्छन्।

भाँचिएका कुर्सीमुनि छरपस्ट दापहरू छन् म्यानहरू छन् गोलीका खोकाहरू छन्
रगतमा डुबेका काला जुत्ताहरूको छापहरू छन्।

घोडाका टापहरू बज्छन्, गिडगिडाउँछन्, गोलीले छेडेको रोस्ट्रमबाट
खुनले लेखेका चिठ्ठीहरू पढिन्छन्।

संसद् एक कुरुक्षेत्र हो तनक्क तन्केको वाणका आवाजहरू सुनिन्छन्।

भेटिन्छन् संसद्‌मै टोलटोलमा कटारी देखाउनेहरू सिमानामा अफिम र आफ्नै चेली बेच्नेहरू मध्यरातमा खोला उधिन्नेहरू संसद्‍मै भेटिन्छन्
सडकमा नारा लगाउँदा लगाउँदै हराएकाहरू मन्दिरबाट मूर्ति उठाउँदा उठाउँदै समातिएकाहरू नाङ्गै भागेकाहरू र कैदीहरू।

आधुनिक महफिल हो संसद्
जहाँ सुगाहरू गीत गाउँछन्, लय हाल्छन् कविता भन्छन्।

ठट्टा, टुक्का र सायरीहरू सुनाउँछन् गरुडको छायामुनि सर्पहरू मुजुरा नाच्छन्।

हजार वर्ष लामो
निरोले फुकिरहेको बाँसुरीको धुनमा निदाउँछन्।

संसद् एक बजार हो, टाउकाहरूको बजार।

किन्ने र बेचिन तयारहरूको बजार सके थोकमा नसके फुटकरमा फूटपाथमै मूल्य घटाउने र बढाउनेहरूको बजार। यो अङ्कगणितको हिसाब कहिल्यै मिलाउन नसक्नेहरूको बजार।

यो बजार तस्करहरूको ट्रान्जिट पोइन्ट हो।

गढीमाईको मेलामा हजार सपनाहरूको गर्धन छिनाएर थकाइ मारिरहेकाहरूको विश्रामस्थल हो संसद्।

comments powered by Disqus

रमझम