कार्तिक २०७८ | 18/10/2021

विरोधको सौन्दर्यशास्त्र

Share:
  
- कल्पना चिलुवाल

जसरी बडो यत्नपूर्वक
काटिन्छ औंलाको नङ
वा
सिलाउनुपूर्व कपडामा बडो जतनले
चलाइन्छ कैंचीको धार
त्यसरी नै
निकै उदारताका साथ
कुनै असमान नियम हुन् वा सामाजिक विभेद
गरिन्छ तिनीहरूमाथि कलात्मक बहस
फुलाइन्छ विरोधको भव्य झाँकीमा
आलोचनाको कृत्रिम फूल।

जसरी बडो प्रेमपूर्वक
छाँटिन्छ बढेको कपाल
वा
हुर्काउनुपूर्व बिरुवालाई
गरिन्छ होशियारीपूर्वक काँटछाँट
त्यसरी नै
बडो कुशलतापूर्वक
राजनीतिक बेइमानी हुन् वा भ्रष्टाचारका किस्सा
तिनीहरूमाथि बडो प्रयत्नले
गरिन्छ केही थान टिप्पणी
जोगाएर प्रेमले विषवृक्षको एउटा हाँगो
अर्को हाँगो मात्र छिमलिन्छ हानिकारक भनी।

जसरी बडो ध्यानपूर्वक
ताछिन्छ खाडलको भित्ता
वा खनिन्छ
पर्खाल उठाउनु अघि जग राख्ने भूभाग
त्यसरी नै
निकै सुरुचिपूर्वक
खोसिन्छ भोकाको गाँस
थुतिन्छ नाङ्गाको कपडा
गरिन्छ उत्पीडितमाथि छेडछाड
त्यसरी नै सामान्यीकरण गरेर मुद्दाहरूको
उठाइन्छ विरोधको नक्कली झ्ण्डा।

अचेल विरोधको विज्ञापनमा
नम्बर एक जनचिन्तक बन्न
लगाइन्छ कस्मेटिक रङरोगन
सजाइन्छ विरोधको सौन्दर्यशास्त्र।

comments powered by Disqus

रमझम