कार्तिक २०७८ | 18/10/2021

खतरनाक हुन्छ

Share:
  
- मनोज विश्वकर्मा

सानो आवाज
ठूलो आवाजभन्दा सुनिने हुनसक्छ,

हजारौं होहल्लाभन्दा पनि सुनिने हुनसक्छ,
त्यसैले आवाज हुनु सबथोक हो
केही नहुनेको
आवाज पनि नहुनु खतरनाक हुन्छ!
मेरो पुर्खालाई थाहा थियो
मैले माझ्नुपर्छ चिया पिएपछि गिलास
र पनि चिया पिउन खोज्नु
कति खतरनाक थियो?
सबभन्दा खतरनाक हुन्छ पीडाले जाग्नु!

आफ्नो भागको युद्ध आफैं लड्नु हुन्न
आफ्नो भागको कथा आफैं भन्नु हुन्न
सबैभन्दा खतरनाक हुन्छ वर्तमान प्रतिको बेइमानी!

गलत भनिएकोलाई गलत मानिरहनु,
आफूलाई दास सिबाय नठान्नु,
अपमानित इतिहास प्रति बेखबर भएर
अलापिरहनु सहिष्णुता,
पीडाले नपोल्नु,
भुल्नु आफैंभित्रको मुटुलाई
सबभन्दा खतरनाक हुन्छ मृत चेतनामा बाँच्नु!

comments powered by Disqus

रमझम