कार्तिक २०७८ | 18/10/2021

शहर र मजदूर

Share:
  
- राममणि सिटौला

जुन भव्य शहरमा बस्छौ तिमी
के त्यो जादू-टुनाले चलेको छ?

जुन स्वर्ग भोगिरहेछौ तिमी
के त्यसलाई निर्माण गरे
अर्को लोकबाट आएका देवदूत वा एलियनले?
चाहने बित्तिकै जुन सुविधा पाउँछौ तिमी
झरिरहेका छन् त्यसलाई कल्पवृक्षले?

त्यहाँ छन् अदृश्य हातहरू
जसका कला सीपले
बनाएका छन् तिम्रो शहरलाई- अद्भुत अद्वितीय
जहाँ तिमी रातमा
आरामले निदाउन सक्छौ
चल्न सक्छौ दिनमा पृथ्वीको लयसँगै

जीवित छ एक शहर
इँटाभट्टामा इँटा बनाइरहेका
चर्को घाममा रिक्सा ठेलिरहेका
फलामखानी, कोइलाखानीमा दम फुलाइरहेका
तमाम मानिसहरूको सासमा

जुन स्वर्ग तिमी भोगिरहेछौ
नर्कमा छन् त्यसलाई बनाउनेहरू
पुराणका पाना पल्टाएर तिमी भन्छौ नि-
नर्कमा जलाइन्छ मानिसलाई तातो कराहीमा
उनीहरू जलिरहेछन्-
शोषण, दलन र उत्पीडनको कराहीमा
तिमीसँग छ दौलत, शक्ति
उनीहरू छन् साधनहीन/वञ्चित

तिमी हवाई यात्रा गर्छौ
उनीहरू बसमा कोचिएर
तिम्रो शरीर छ फूल झैं कोमल
उनीहरूको छ चट्टान झैं कठोर

तिमी नरकट
जो ढल्न सक्छौ हावाको झेंक्काले
उनीहरू सतीसाल
जो अटल उभिन सक्छन् आँधी-हुरीमा

तिमीसँग छ लाठी-बूट
उनीहरूसँग छ मार सहने पिठ्यूँ

बेखबर छन्-
शहर बनाउने तमाम मानिसहरू
कसले गरिरहेछ कसमाथि शासन
लुटिरहेछ कसले कसलाई
साँच्चै बेखबर छन्-
शहरको रक्तसञ्चार चलिरहेछ
अदृश्य नली मार्फत उनीहरूको शरीरको रगतबाट
उनीहरूकै फोक्सोको बलमा फेरिरहेछ शहरले सास।

comments powered by Disqus

रमझम