कार्तिक २०७८ | 18/10/2021

दशैं र दश राई

Share:
  
- पूर्ण पी राई
अगुवा राई किरातीहरू तथा नयाँ पुस्ताबाट दशैं बहिष्कारको कुरा आइरहँदा दशैंको टीका लगाउने वा नलगाउने व्यक्तिगत स्वतन्त्रतालाई तर्क-वितर्कबाट प्रभाव पारिनु हुँदैन।

बालापनमा दशैं कुर्दाकुर्दा हत्तुहैरान हुन्थें म। दशैंको सामाजिक, धार्मिक पक्षबारे म जस्ता केटाकेटीलाई कुनै मतलब थिएन। दशैं भन्नासाथ छाकैपिच्छे मासु र भात थपीथपी खान पाइने कुरा प्रमुख बन्थ्यो। अरू वेला मासु आक्कलझुक्कल मात्रै खान पाइन्थ्यो। त्यो पनि झोलैझोल, चोक्टा भेट्नै मुश्किल!

गाउँमा धान नफल्ने। दुई चार मुरी हुन्थ्यो, त्यो पनि माङ (देवता)को नाममा कोठोमा थन्क्याउनुपर्ने। बाह्रै मास च्याँख्ला, ढिंडो र आलु खानुपर्थ्यो। अरू वेला धानको भात खान घरमा कोही पाहुना आउनुपर्थ्यो। त्यस वेला पनि च्याँख्लाको खस्रो भातमा एक-दुई गाँस मात्रै चामलको नरम भात पर्थ्यो। प्रायः साखेवामा नयाँ लुगा पाइने हुनाले दशैंमा लुगामोह भने हुँदैनथ्यो।

नवरात्रि लाग्नु एक-दुई दिन अघि बाको अह्रनपछि ध्वाँसैध्वाँसो लागेको टिनको थोत्रो बाकस खोलिन्थ्यो। बाकसभित्र कालै भइसकेका राता-पहेंला कपडाले मोडिएका पोकाहरू हुन्थे। तीमध्ये बा घुर्मैलो पोको उठाउँथे, टकटक्याएर धूलो र ध्वाँसो झार्थे। अनि, बिस्तारै गाँठो फुकाउँथे। त्यसभित्र संस्कृत, नेपाली र हिन्दीका कुनै गाता च्यातिएका, कुनै किनारा खुम्चिएका, बीचमा च्यातिएर दुई चिरा परेका, पन्नापन्ना निस्किएका शास्त्रीय ठेलीहरू हुन्थे।

घाम लाग्यो भने आँगनमा गुन्द्री ओछ्याएर तिनलाई एक-दुई घण्टा सुकाउन लगाउँथे। औंसीदेखि बिहान-बिहान बा र दाजुहरू ती किताब चर्को स्वरले पढ्थे। घण्टी बजाउँथे, घाँटीको नसा फुलाउँदै शङ्ख फुक्थे। बा लडेर हिंड्न नसक्ने भएकाले ओछ्यानमै पूजा गर्थे, दाजुहरू चाहिं माथिल्लो तलाको बरन्डामा थान बनाएर।

गाउँका अल्लारेहरू घर पोत्ने रातो माटो
लिन ढाकर बोकी लस्कर लागेर पिप्ले
जान्थे। भोलि पल्ट मात्रै आइपुग्थे। कोही
कमेरो लिन सावाखोलातिर लाग्थे।
फूलपातीको दिन झ्याल-ढोकामा नयाँ
रङ हालिन्थ्यो।
गाउँका अल्लारेहरू घर पोत्ने रातो माटो लिन ढाकर बोकी लस्कर लागेर पिप्ले जान्थे। भोलि पल्ट मात्रै आइपुग्थे। कोही कमेरो लिन सावाखोलातिर लाग्थे। फूलपातीको दिन झ्याल-ढोकामा नयाँ रङ हालिन्थ्यो। जङ्गलबाट अघिल्लो दिन मौवा र काफलको बोक्रा ल्याएर मसिनो टुक्रा पारी दिनभर उसिनेर त्यसकै रङ लगाइन्थ्यो। त्यसले काठको सौन्दर्य बढाउने मात्रै हैन, धमिराबाट पनि बचाउँथ्यो।

हाम्रो घरमा हरेक वर्ष दशैंमा बाह्र-पन्ध्र धार्नीको सुँगुर ढलाइन्थ्यो। दशैं-सुँगुरलाई साउनदेखि विशेष चाकर गरिन्थ्यो। दुई-तीन महीना मीठो खान पाएपछि दशैंसम्म सुँगुर पुष्ट हुन्थ्यो। म हरेक दिन खोरको डिलबाट सुँगर हेर्दै थुक निल्थें। उवेला दश धार्नी माथिको सुँगुरलाई ठूलो मानिन्थ्यो। त्यत्रो बनाउन तीन वर्ष पाल्नुपर्थ्यो।

अष्टमीको दिन सुँगुर ढालिन्थ्यो, कसैकसैको नवमीमा। गाउँभरिको सुँगुर मार्ने एकै दिन पर्ने अनि मान्छे धेरै चाहिने हुनाले पुरुषहरू बिहानैदेखि हुल बाँधी भाला बोकेर घरघर हिंड्थे। आउने जति सबैलाई छोक्मासा (भुँडी, मुटु, कलेजो, मिर्गौला, रक्ती मिसाएर भुटेको मासु) र जाँडरक्सी बाँडिन्थ्यो। मासु दुनामा र जाँड डबकामा। घरघरै तामसिक खुराक खाएपछि दिउँसोसम्ममा सुँगुर मार्न हिंडेका टोलीका आधाजसो कोही कसको घरमा कोही कसकोमा लडिसकेका हुन्थे।

घरभित्र अँगेनामाथि मासुका सिलैसिल झुन्डिएका हुन्थे। जतिखेर पनि आफूले चाहे जस्तो चोक्टा लुछेर खान पाउने स्वतन्त्रता थियो परिवारका सबैलाई। चिउरा र केराको चलन नै थिएन। हुनेले पनि वास्ता गर्दैनथे। जति खाए मासु नै खाने हो। हप्ता दिनसम्म लगातार मासु वालछ्याल हुँदा कुकुर-बिरालो पनि मासु देखेर भाग्ने भइसक्थे।

गाउँभरि भैंसी दुई-चार वटा ढल्थे, सुँगुर चाहिं चार-पाँच घर बिराएर। टीकाको दिन सबैजसो घरमा कुखुराको भाले काटिन्थ्यो। घर नजिकै लाम्चो ढुङ्गा गाडिएको भीमसेनथान हुन्थ्यो। बिहान सबेरै घरका सबै जना उठेर नुहाइधुवाइ गर्थे, र थानमा सरसफाइ गर्न र ध्वजा-पताका टाङ्नमा जुट्थे।

]टीकाको साइत भएपछि फेरि उसैगरी
बन्दूक पड्किन्थ्यो। बन्दूक र बन्दूक
पड्काउने मान्छे नभएको घरमा अरूले
पड्काएको आवाज सुनेर टीका लगाउने
चाँजो गर्थे।
घरमूलीले भीमसेन देवताको महिमा फलाक्थे, भालेको मुन्टो छिनाएर देवताको प्रतीकका रूपमा गाडिएको ढुङ्गालाई रगत चढाइन्थ्यो। त्यस अवसरमा बन्दूक पड्काइन्थ्यो। वारिपारि एकैसाथ बन्दूक पड्किँदा बारुदको धुवाँले गाउँ ढाकिन्थ्यो। गाउँका हरेकजसो घरमा कमसेकम एक नाल लाइसेन्सवाला भरुवा बन्दूक हुन्थ्यो।

टीकाको साइत भएपछि फेरि उसैगरी बन्दूक पड्किन्थ्यो। बन्दूक र बन्दूक पड्काउने मान्छे नभएको घरमा अरूले पड्काएको आवाज सुनेर टीका लगाउने चाँजो गर्थे।

राईहरू रातो रङ मन पराउँदैनथे। उनीहरू रातो रङलाई अपवित्र र बनावटी, सेतोलाई शुभ र प्राकृतिक मान्थे। दशैंको टीका सेतो हुन्थ्यो, चामल र दही मात्रै मिसिएको। हाम्रो घरमा नाङ्लो जत्रै एउटा थाल थियो। बा त्यो थालमा दुई टपरा चामल, एउटा दुनामा दही र एक मुठा तीतेपातीको फूल र दूबोको त्यान्द्रा राख्थे। थालको छेउमा चोखो पानी भरिएको तामाको लोटामा दूबो, तीतेपाती र अरू फूल हालेर कलश बनाउँथे। जमरा राख्ने चलनै थिएन। राईका कुनै पनि बच्चाले जमरा देखेका थिएनन्, त्यस वेला।

बा दिदीहरूलाई दियो सल्काउन लगाउँथे। त्यसपछि काठको पिरामा बसेर दियो नभएको टपराको अलिकति चामल थालमा राखेर दहीसँग मुछ्थे। हामी राडीमा पलेटी कसेर निधार छड्के उँभो पारेर लहरै बस्थ्यौं। ठूलाले टीका लगाएपछि सानोको पालो आउँथ्यो। सबैलाई बाले टीका लगाइदिएपछि टीका कार्यक्रम सकिन्थ्यो। बापछि आमाले, ठूलो दाजुले, सानो दाजुले जस्तो घरभित्र तहतहको टीका लगाइ हुँदैनथ्यो।

बा सेतो टीका लगाइदिँदै तीतेपाती र दूबोको त्यान्द्रा कानमा सिउरिदिन्थे। सबैलाई दक्षिणा दिन्थे। छोरा-बुहारीलाई नाम मात्रको, छोरीहरूलाई चाहिं सकेसम्म गतिलो दक्षिणा दिन्थे। एक साल बाले दिदीलाई रु.२० को रातो नोट दिए, तर मलाई चाराने सिक्का दिए। मलाई खपिनसक्नु भयो।

मैले सानोतिनो आन्दोलन नै गर्नुपर्‍यो- चाराना नलिने, केही नखाने, दिदीलाई जति नै दक्षिणा हुनुपर्ने। अन्ततः मेरो माग आंशिक पूरा भयो, मैले दुई रुपैयाँको हरियो नोट पाएँ, फिस्स हाँसे, आन्दोलन स्थगित गरें। त्यो दुई रुप्पे कोदाराथे (कोजाग्रत) बजारमा रातभरि डायस (लङ्गुर बुर्जा) खेल्दा पनि गाईछापे पाँच पैसा उब्रेको थियो।

बा सेतो टीका लगाइदिँदै तीतेपाती र दूबोको
त्यान्द्रा कानमा सिउरिदिन्थे। सबैलाई
दक्षिणा दिन्थे, छोरा-बुहारीलाई नाम
मात्रको, छोरीहरूलाई चाहिं सकेसम्म
गतिलो। एक साल बाले दिदीलाई रु.२० को
रातो नोट दिए, तर मलाई चाराने सिक्का।
मलाई खपिनसक्नु भयो।
हाम्रा बा उमेर र साइनो दुवैले गाउँभरिकै जेठो भएकाले टीकाको दिन गाउँभरिका मान्छे टीका थाप्न आउँथे। घरमा एक किसिमको बजारै लाग्थ्यो। दोस्रो दिनबाट अन्त गाउँका नरनाताहरू आउँथे। पूर्णिमाको बेलुकासम्म हरेक दिन कोही न कोही पाहुना आएकै हुन्थे।

दशैंमा चङ्गा उडाउने चलन खुबै थियो। हामी चङ्गा र लट्टाई आफैं बनाउँथ्यौं, चङ्गा पहाडे कागजको र लट्टाईँ काठको। पहाडे कागज हत्तपत्त पाइँदैनथ्यो। कतिपयले बा-आमाले लुकाएर राखेका पुराना तमसुक चोरेर चङ्गा बनाएर बर्बाद पार्थे। कोही घरको धुरीमा चढेर त कति सुँगुरखोरको डिलमा चढेर चङ्गा उडाउँथे। कोही डाँडातिर उक्लिन्थे।

कोजाग्रत पूर्णिमाको रात कुपाखाममा डायस, तिरीपासा, कौडा र तासको कोदाराथे बजार लाग्थ्यो। जाँडरक्सी, खैनीबिंडी र चक्लेट बिस्कुटको व्यापार भरमार चल्थ्यो। थुक्पा भर्खरै आएको थियो। रातभरि मानिसहरू आफूले जितेका धाक लगाउँथे, छाती पिटीपिटी।

डायस हल्लाउनेहरू जोडले भट्याउँथे, ‘आउनुहोस्! आउनुहोस्! रोपे फल्छ, घोचे झर्छ। धन हुने, बुद्धि नहुने आउनुहोस् !’ जाँडरक्सीले मातेर हल्लिनेहरू उति नै हुन्थे। रौसेहरूको जुहारी पनि रन्किन्थ्यो। मातेका र जुवा हारेकाहरू निहुँ खोज्थे, जुध्थे। ठूलै मारपिट चाहिं हुँदैनथ्यो।

भोलि पल्ट वडाध्यक्षकोमा नालिस हाल्न पुग्नेहरू कुनै वर्ष टुट्दैनथे। पर्सि पल्ट अध्यक्षको आँगनमा कचहरी बस्थ्यो। साक्षी, पञ्च, भलाद्‌मीले दोषी ठहर्‍याएकाहरूले ‘आगोले पोलेको घाउ आगोमै सेक्नु’ भने झैं जाँडरक्सीले भरिएको बोतलसँगै रु.१०-२० दाम राखेर माफी मागेपछि मुद्दा मिल्थ्यो। त्यसपछि साइनो अनुसारको ढोगभेट चल्थ्यो। भाँडा रित्तिएपछि कचहरी सिद्धिन्थ्यो। कचहरीसँगै दशैं सिद्धिन्थ्यो।


‘दश थुम, दश राई, दश कुरा, दश रीति, एक चुला।’ राईको बारेमा निकै उल्लेख गरिने उक्ति हो यो। दशैंमा घरको, वंशको वा गाउँको मान्यजनको हातबाट टीका थाप्नु त साझा भइहाल्यो, राईहरूको दशैं मान्ने तरीका भने मौलिक थियो।

टीका थाप्न जानेले कोसेलीका रूपमा मासु नै लैजानुपथ्र्यो, मासुमा पनि सुँगुरकै। कोसेली बोक्न लाइटोङ्वा (मालिङ्गो, मलिबाँस र बेत मिसाएर बुनिएको बुट्टेदार कलात्मक थुन्से) हुन्थ्यो। कोसेलीमा रक्सी भरिएको टुवा (माटोको भाँडो) वा वाबुक (चिन्डो)का साथै गाउँमै भए एक टपरा सुँगुरको भुटुवा, अर्कै गाउँ भए काँचो मासु लगिन्थ्यो। टुवा र वाबुक कमजोर हुन्थे, फुटिहाल्ने, जोगाएर बोक्नै गाह्रो। दुवैलाई बोतलले विस्थापित गर्‍यो।

]राज्य सत्तामा पहुँच भएका, ठूलाबडा
राईहरूको दशैं त राजाको जस्तै
तामझामयुक्त हुन्थ्यो। जिम्मावाल
राईहरूको आँगनमा मौलो ठड्याइन्थ्यो।
बाहुन पढाएर, पञ्चैबाजा बजाएर, मत्ता
राँगालाई मार हानिन्थ्यो। गाउँभरिका मान्छे
मार हानेको हेर्न आउँथे। सबैलाई
प्रसाद बाँडिन्थ्यो।
मावल र ससुरालीमा सुँगुरको सिङ्गो फिला नै लैजानुपर्थ्यो। अन्यत्र भने करङ वा फिलाको चोक्टाले काम चलाइन्थ्यो। पेरुङ्गो वा टपरामा राखिएका मासुको भाग वा चोक्टाले ती दुई परिवारबीचको नाता, सम्बन्धको स्तर र दिनुपर्ने दक्षिणाको आयतन निर्धारण गर्थ्यो।

अघिल्लो दशैंभन्दा पछि बिहे गरेका छोरीचेली माइतीका तीनपुस्ते दाजुभाइको घरमा टीका थाप्न जानैपर्थ्यो। गाजीघर (मूल घर) मा ठूलो फिला कोसेली हुन्थ्यो। बेहुला-बेहुलीको साथमा एकजना भरिया अनिवार्य हुनुैपर्थ्यो। भरिया भन्दैमा जोकोही ज्यालादारी भरिया स्विकारिँदैनथ्यो, सकभर बेहुलाको घरको भाइ-भतिजा वा नभए तीनपुस्ते भाइ-भतिजा वा वंशको भाइ हुुनुपर्थ्यो। त्यो पनि नभए मात्र अर्को व्यक्तिलाई माइती पक्षले स्विकार्थ्यो। मावलतिर पनि उसैगरी सबै घर पुग्नैपर्थ्यो। बेहुलीको आमाले नयाँ छोरी-ज्वाइँलाई सबै घर चिनाउँदै डुलाउनुपर्थ्यो। आमा नभए यता घरको माइती, उता मामाले।

राज्य सत्तामा पहुँच भएका, ठूलाबडा राईहरूको दशैं त राजाको जस्तै तामझामयुक्त हुन्थ्यो। जिम्मावाल राईहरूको आँगनमा मौलो ठड्याइन्थ्यो। बाहुन पढाएर, पञ्चैबाजा बजाएर, मत्ता राँगालाई मार हानिन्थ्यो। गाउँभरिका मान्छे मार हानेको हेर्न आउँथे। सबैलाई प्रसाद बाँडिन्थ्यो।

उसको हुकुम क्षेत्रका घरलौरी टीका थाप्न कोसेली बोकेर जानुपर्थ्यो। क्षेत्रीहरू घ्यू र कुराउनी लैजान्थे, राईहरू सुँगुरको फिला। जमरा नराख्ने, मौलोमा पशु बाँधेर मार नहान्ने, नयाँ लुगामा खासै मरिहत्ते नगर्ने, सेतो टीका लगाउने र मासुकै कोसेली बोक्ने राईहरूको दशैं मान्ने मौलिक परम्परा थियो।


२०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था आएपछिको पहिलो शरद शुरूआतसँगै गाउँमा दशैंबारे फरक अभियान चल्यो। नेतृत्वमा थिए, गाउँबाट शहर पसेर दशैंमा फिरेका युवाहरू। उनीहरूको मुख्य तर्क थियो, ‘दशैं किरातीहरूको चाड हैन। यसलाई पृथ्वीनारायण शाहले किराती राज्यहरू मासेपछि खुशीयालीमा किरातीको रगतको टीका लगाएर शुरूआत गरेका थिए। राज्यले दमनपूर्वक किरातीलाई दशैं मान्न बाध्य पारेको हो।’

कसैकसैको तर्क यस्तो पनि थियो, ‘रामले रावणलाई मारेको खुशीयालीमा दशैं मनाउन थालिएको हो। रावण किराती थियो, राम तागाधारी। हाम्रो किराती पुर्खालाई मारेको दिन हामीले नै भोजभतेर गरेर उत्सव मनाउन मिल्दैन।” दुवैथरीको आह्वान थियो, दशैं अब बहिष्कार गर्नुपर्छ। घरघरै भेटघाट, बैठक, भाषण, ताली, गाली खूब चल्यो।

दशैं बहिष्कारवालाहरू हाम्रो घरमा पनि
आए। उनीहरूको कुरा सुन्न जाने गरेका
दाजुहरूले कुनै पक्ष लिएनन्, बा जे भन्छन्
त्यसैमा सही थाप्ने भए। बाले धेरैका धेरै
कुरा सुने र आउने जति हरेक टोलीलाई
एउटै निर्णय दोहोर्‍याइरहे, ‘म कसैलाई कर
गर्दिनँ, कोही आए खाली निधार
फर्काउँदिनँ।’
यसपछि गाउँ मात्रै हैन परिवारहरू पनि विभाजित भए। बूढाबूढीहरू दशैं मनाउनुपर्नेमा अडिग रहे, युवाहरू विपक्षमा। केटाकेटी दशैं भनेको दशैं नै हो भन्ने पक्षमा थिए, सुनिदिने कोही थिएन। जिन्दगीमा दशैं जस्तो खुशीको कुनै दिन छैन भन्ने लाग्थ्यो। दशैं नमनाउने हो भने जिन्दगी अँध्यारो हुने भयो भन्ने लाग्थ्यो।

दशैं बहिष्कारवालाहरू हाम्रो घरमा पनि आए। उनीहरूको कुरा सुन्न जाने गरेका दाजुहरूले कुनै पक्ष लिएनन्, बा जे भन्छन् त्यसैमा सही थाप्ने भए। बाले धेरैका धेरै कुरा सुने र आउने जति हरेक टोलीलाई एउटै निर्णय दोहोर्‍याइरहे, ‘म कसैलाई कर गर्दिनँ, कोही आए खाली निधार फर्काउँदिनँ।’

बाको विचार विरुद्ध कसैले जबर्जस्ती पनि गरेन। हाम्रो घरमा कहिल्यै नियोजित रूपमा दशैं रोकिएन। तर, टीका थाप्न आउनेको सङ्ख्या ह्वात्तै घट्यो। नरनाताहरू अधिकांश टीका नलगाउने भए। त्यो जमानामा सञ्चार सुविधा थिएन। टीका लगाउने आफन्तहरू पनि अलमलमा परे, आएनन्।

त्यसपछि दशैं बहिष्कारको हावा हरेक साल चल्न थाल्यो। तर, दशैंमा काटिने भैंसी र सुँगुरको सङ्ख्या कहिल्यै घटेन। बहिष्कारवालाको घरमा पनि सुँगुरहरू ढले, घ्याम्पाका घ्याम्पा जाँड छिप्पिए। रक्सी उतारिए। कोदाराथे बजार कहिल्यै सुकेन।

अलि साल पछिबाट गाउँका अधिकांश परिवारले फेरि टीका लगाउन थाले। केहीले अहिले पनि लगाउँदैनन्। यसलाई व्यक्तिगत स्वतन्त्रताका रूपमा लिनुपर्छ। तर्क-वितर्कबाट एक-अर्कालाई प्रभाव पार्ने कोशिश गरिनु हुँदैन। यही हो सांस्कृतिक इन्द्रेणी।

comments powered by Disqus

रमझम