कार्तिक २०७८ | 18/10/2021

टिस्टाका बादलिएका कथा

Share:
  
- छुदेन काविमो
जुन ठाउँको मान्छेले बिमार हुँदासम्म टिस्टाको भाकल गर्थे। परेवा उडाउँथे। पूजाअर्चना गर्थे। माछा ल्याएर छोड्थे। त्यही ठाउँका मानिसहरूले टिस्टाको रोग कहिले अनुभव गर्ने होला?

टिस्टा नदी।
तस्वीर : टीका भाइ

त्यो वेला म निकै रोगी थिएँ।

पिलपिलाउँदो अनुहार लिएर दगुरिहिंड्थे। अलिकति दगुरे फेरि खुट्टा कटकटी दुख्न थाल्थ्यो। औषधि किन्न पैसा हुन्थेन। बोजूले मट्टीतेल लगाएर खुट्टा मालिश गरिदिनुहुन्थ्यो। त्यही वेला मलाई नयाँ समस्या थपियो। नाकबाट लगातार रगत बग्न थाल्यो।

घरका सबै आत्तिए। बुङथिङ बाजे बोलाएर पूजा गरे। अन्त्यमा नयाँ भाकल गरे, ‘जाती भइहालोस्। पूजा गर्न टिस्टा लानेछु।’

मेरो नाकमा तीतेपातीको मुन्टा हालियो। मजुरको प्वाँख जलाएर धुवाँ लगाइयो। गलाको सुङ्दी जलाएर सुँघाइयो। तब बल्ल रगत बग्न बन्द भयो। म निको भएँ।

निको भएपछि भाकल पूरा गर्नुपरेन त ?

मलाई टिस्टा लगियो। त्यही दिन पहिलो चोटि टिस्टा नदी देखें।

पहाड र डुवर्सलाई जोड्ने टिस्टामाथिको पुल सेभोक नजिक छ। बेलायतले बनाएको त्यो बाघपुल जीर्ण बनिसकेको छ। यसको वैकल्पिक पुल बनाउने कुरा घरीघरी उठिरहन्छ। थाहा छैन, कहिले बन्नेछ! तर, त्यही बाघपुलबाट बहिरहेको टिस्टा नजिक हो, मैले भाकल पूरा गरेको, पूजा गरेको।

त्यो रमाइलो घटना अहिले पनि अलि अलि याद छ। पूजापछि आपाले एकजोडी परेवा आकाशमा उडाएका थिए। तर, थाहा छैन, त्यो जोडी उडेर कहाँ पुग्यो होला ? टिस्टा तर्‍यो होला कि वारिकै हरियो जङ्गलमा अलमलियो होला?

त्यो दिन बाजेले नयाँ कथा सुनाइरहेका
थिए। जो त्यही टिस्टाको कथा थियो, जहाँ
हामीले केही अघि मात्रै भाकल बुझाएका
थियौं।
परेवा उडाएको कति दिनपछि हो, एक दिन बाजेले बाख्रा चराउँदै गर्दा अचम्मको कथा सुनाए। त्यो वेला म स्कूल जाने भइसकेको थिएँ। छुट्टी हुँदा बाजेसँग जङ्गलमा बाख्रा चराउन जान्थें। लगेन, तारनम, लदेन हामीसँगै हुन्थ्यो। बाख्रा जङ्गलमा छोडेपछि म कथाको किताब पढ्न थाल्थें। तर, झोलामा किताब धेर हुँदैनथ्यो। किताब नभएको वेला बाजेले आफ्नै कथा सुनाउन भ्याउँथे।

त्यो दिन बाजेले नयाँ कथा सुनाइरहेका थिए। जो त्यही टिस्टाको कथा थियो, जहाँ हामीले केही अघि मात्रै भाकल बुझाएका थियौं।

हाम्रो घरको केही परतिर सानो जङ्गल थियो। त्यो जङ्गलको घारीमा केही पनि थिएन, तैपनि यसलाई हामी गोदाम भन्थ्यौं। जहाँ मरेको मान्छेलाई जलाउने काम हुन्थ्यो। त्यही गोदाममा हामी बाख्रा चराउन जान्थ्यौं। कथा भइसकेका मान्छेहरूलाई जलाउने ठाउँ नजिक हामी बाख्रा छोड्थ्यौं र नयाँ कथा सुन्न थाल्थ्यौं।

चिहानडाँडा छेउमा अमलाको बोट थियो। जङ्गलमा बाख्रा छोडेपछि हामी जहिल्यै त्यही अमलाको रूखमुनि बस्थ्यौं। बाजे पुराना कुरा सम्झिँदै कथा सुनाउँथे। उनको कथामा मान्छे कुटेको किस्सा धेर हुन्थ्यो। किनकि, उनको स्वभाव नै कडा थियो। उनको कथा हामीलाई निकै रमाइलो लाग्थ्यो। किनकि, सुनाएका हरेक कथा किताबमा पढ्ने कथाभन्दा अलग हुन्थे। त्यो कि हिमालको कथा हुन्थ्यो, कि ठाउँको नामको कथा हुन्थ्यो, कि त जवानीमा आफैं घुम्दै हिंडेको डुवर्सको कथा हुन्थ्यो।

उनको कथा हिमालबाट बग्दै बग्दै टिस्टासँगै हिंड्थ्यो। कथाको अन्तिमतिर आइपुग्दा उदेकलाग्दो कुरा जोड्न भुल्दैनथे। तर, आज त बाजेले कथाको शुरूमै त्यो लाइन जोडेका थिए, ‘स्वर्ग र नर्क केही हुँदैन। हाम्रो उत्पत्ति हिमालबाट भएको हो र मरेपछि हाम्रो आत्मा फेरि त्यही हिमाल भएर पुर्खाहरूको आत्मा बसेको ठाउँसम्म पुग्नेछ। यो लेप्चाहरूको विश्वास हो। त्यही भएर हामी कहिल्यै हिमाल चढ्दैनौं। हिमाललाई हामी पैतालाले टेक्न सक्दैनौं। बुझिस्?’

म अलि अलि कथा बुझ्थें र टाउको हल्लाइरहन्थें। तर, यस चोटिको कथा मलाई बेहद अलग लागेको थियो। किनकि, यो कथा टिस्टाको कथा थियो। जहाँ मैले केही समय अघि मात्रै भाकल बुझएर फर्किएको थिएँ।

त्यो कथा रोङइत र रोङन्यूको कथा थियो। बाजेले कथाको शुरूआत हिमालबाटै गरे-

‘रोङइत केटा हो, रोङन्यू केटी हुन्।

हिमालबाट जब दुवै बाहिर निस्किए। केही दिनमा नै प्रेममा परे। त्यो प्रेम चौंरीगाईको पुच्छरले बाटेको डोरीभन्दा बलियो थियो। हिउँ जस्तै पवित्र थियो।

प्रेम बढ्दै गएपछि दुवैलाई अब त एकअर्का विना बाँच्नै सक्दैनौं भन्ने लाग्न थाल्यो। अनि त दुवैले कसम खाए, ‘हामी यहाँबाट सुटुक्क भाग्नेछौं। र, सधैंका निम्ति एक भएर जीवनको नयाँ बाटो हिंड्नेछौं।’

रोङन्यूलाई साँपले डोर्‍याएर हिंडिरहेको
थियो। त्यसैले आज पनि सिक्किमबाट
बगेर आउने टिस्टाको आकार साँपको
हिंडाइ जस्तो छ, ठाउँठाउँमा घुमेको।
त्यो निकै मीठो सपना थियो। जसको निम्ति दुवैले ईश्वरसँग प्रार्थना गरे। लामो प्रार्थनापछि ईश्वर खुशी भए। र, आशिष् दिए, ‘तिमे दुवै यहाँबाट अलग-अलग बाटो जानू। तल पोजोकमा गएर भेट्नू। त्यहीं तिमेरको बिहे हुनेछ।’

कुरा पक्का भयो। दुवै हिंड्न थाले। दुवैसँग पथ प्रदर्शकका रूपमा ईश्वरको वरदान थियो। त्यसैले रोङइतलाई तुत फो अर्थात् डाँफे चरीले डोर्‍याएर लग्यो। रोङन्यूलाई परिल बू अर्थात् साँपले बाटो चिनाउँदै ल्यायो। तल जङ्गलमा भेट्ने सपना लिएर दुवै हिंडिरहे।

रोङन्यूलाई साँपले डोर्‍याएर हिंडिरहेको थियो। त्यसैले आज पनि सिक्किमबाट बगेर आउने टिस्टाको आकार साँपको हिंडाइ जस्तो छ, ठाउँठाउँमा घुमेको।

डाँफेले डोर्‍याइरहेको रोङइतको आफ्नै हिंडाइ थियो, आफ्नै गति थियो। तर, भेट हुने ठाउँमा पुग्नु अघि नै नयाँ समस्या जन्मियो। रोङइतलाई डोर्‍याउने डाँफेलाई भोक लाग्यो। ऊ चारो खोज्दै यताउति उफ्रिन थाल्यो। त्यही भएर अहिले पनि रंगीतको आकार चरा उफ्रिए जस्तो छ। यसरी उफ्रिँदा उफ्रिँदै रोङइत सोचेभन्दा निकै ढिलो भए। भेट हुने ठाउँमा रोङन्यू भने छिटै पुगिन्।

किन रोङइत ढिलो भए? कतै कुनै दुर्घटना त भएन? रोङन्यू सोचमा परिन्। घण्टौंसम्म आफ्नो प्रेमीलाई पर्खिरहिन्। फेरि रोङन्यूलाई शङ्का लाग्न थाल्यो, कतै रोङइतले धोका त दिएन? कतै ऊ यहाँ नआइपुग्ने त होइन? सोचेरै हैरान बन्न लाग्दा बल्ल रोङइत आइपुगे।

साँपले डोर्‍याउँदा त ढिलो आइपुग्नुपर्ने हो, कसरी रोङन्यू यति छिटै आइपुगी? अचम्मित हुँदै रोङइतले पुग्नासाथ सोधे, ‘थी सथा?’ अर्थात् कति वेला आइपुग्यौ?

त्यही ‘थी सथा’ आज टिस्टा बन्यो। रोङइत चाहिं रंगीत बन्यो। पोजोक पेशोक बन्यो। दुवैको भेट भएको ठाउँ नै आजको त्रिवेणी हो, जहाँ सय मिटरभन्दा लामो दूरीसम्म टिस्टा र रंगीतको रङ अलग्गै छुट्टिएको छ। जुन सहजै देख्न सकिन्छ।’ बाजेले कथा सक्नुभयो। मैले भुइँमा झरेको अमला टिपेर मुखमा हालें।

कस्तो होला त्यो त्रिवेणी, जहाँ दुई प्रेमीको भेट भएको थियो? अमला टोक्दै धेरै बेर सोचिरहें।

यसरी सोचेको कति सालपछि हो, बल्ल त्रिवेणी पुग्ने अवसर पाएँ। तर, यति वेला त टिस्टा अर्कै भइसकेको थियो। नदीमा जलविद्युत् आयोजनाको काम शुरू भइसकेको थियो। नेशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेशनले टिस्टामाथि नयाँ ड्याम बनाउन शुरू गरिसकेको थियो। मलाई थाहा थिएन, ड्यामले अब बिस्तारै बाजेको कथा नै बदल्दै लैजानेछ।

एउटा जमाना यस्तो पनि थियो, टिस्टा त्रिवेणीमा महीना दिनसम्म माघे मेला लाग्थ्यो। नेपालदेखिका मान्छे मेलामा आइपुग्थे। सिक्किम, भुटानकाहरू समेत जुहारी खेल्न त्रिवेणी पुग्थे। कतिले जुहारी जितेरै बिहे गरेको कथा पनि हामीसँग जिउँदै थियो। त्रिवेणीको कोदोको जाँडको कथा त अझ यति बलियो थियो, जुन पिएपछि मान्छे हप्ता दिनसम्म सुलसुले खेलिरहेका हुन्थे।

ड्यामले नदी रोकेपछि अब कथा कसरी अघि बढ्न सक्थ्यो र? मैले बल्ल बुझें, ‘अर्को पुस्तासम्म अब यो कथा पुग्नेवाला छैन। किनकि, ड्याम बनेको एक दशकमा नै हामीले टिस्टाको नयाँ कथा सुन्न थालिसकेका छौं। जुन कथा निकै कुरूप छ। जहाँ पहिलेको जस्तो टिस्टा छङ्छङ् बग्दैन। जसरी नदीको वरिपरि बहने चिसो हावा एकाएक तातो बन्दै गएको छ, त्यसरी नै टिस्टाको कथा पनि अब अर्कै अर्कै भइरहेको छ।’

हो, अब त्यो छरितो नदी अघाएको अजिङ्गर जस्तो देखिने भइसकेको छ। नदी किनारमा उभिएको सिक्किम र कालेबुङ जोड्ने सडकलाई घरीघरी पहिरोले तान्न थालिसकेको छ। सबभन्दा ठूलो कुरा त नदीको बगर नै देखिन छोडिसकेको छ। बगरमा गिटी कुटेर जीवन धान्नेहरूको कथा बदलिइसकेको छ। ढुङ्गा निकालेर पेट पाल्नेहरूको जीवन अझ कठोर भइसकेको छ।

टिस्टा वरिपरिको जलवायु एक दशकमै धेरै
बदलिसकेको छ। यहाँ चिसो हावा बदली
तातो हावा बहन थालिसकेको छ। पानी पर्ने
तरीका बदलिइसकेको छ। वर्षाको समयमा
खडेरी लाग्छ। नपर्ने वेला ठूलो झरी पर्छ।
ड्याम बनेपछि हेर्दाहेर्दै कोइरीहरू बन्द हुँदै गए। २९ माइल, गेल खोला, पेशोक खोला, रवि झोडा र सुन्तले झोडातिर ढुङ्गा फुटाउनेहरू बिस्तारै हराउँदै गए। गिटी कुट्नेहरू देखिनै छोडे। मान्छेहरू दिनदिनै बेरोजगार बन्न लागे। उज्यालो बिजुली निकाल्ने आयोजनाले कति धेरै परिवारको जीवन अँध्यारो बनाइदियो। यसको लेखाजोखा कसले गर्ने?

ढुङ्गा फुटाएर जीवन चलाउनेहरू अहिले कहाँ होलान्? के गरेर खाँदै होलान्? उनीहरूमध्ये धेरै त पलायन भइसके होलान्। कामको खोजीमा नयाँ ठाउँ पुगिसके होलान्। नदीसँग गीत गाउँदै जीवन चलाउनेहरू नयाँ शहरमा अहिले त्यसरी नै अलमलिरहेका होलान्, जसरी बाघपुलको जङ्गलमा धेरै अघि हामीले छोडेको एकजोडी परेवा अलमलिएको थियो।

टिस्टाको दाहिनेतिर राष्ट्रिय राजमार्ग १० उभिएको छ। यही राजमार्ग भएर म हरेक चोटि सिलिगुडी-कालेबुङ ओहोरदोहोर गरिरहन्छु। राजमार्गको तल्लो भागमा बस्नेहरूलाई निकै अघि डोजर लगाएरै हटाइएको थियो। तैपनि, केही परिवार जोखिम मोल्दै अझै पनि बसिरहेकै छन्। यो राजमार्ग मात्र होइन, सिक्किम र कालेबुङको जीवनरेखा पनि हो। तर, अब त यो राजमार्गको कथा पनि अर्कै भइसकेको छ। कति वेला कहाँ भत्किन्छ, कसैलाई थाहा हुन छोडिसकेको छ।

किनकि, टिस्टा वरिपरिको जलवायु एक दशकमै धेरै बदलिसकेको छ। यहाँ चिसो हावा बदली तातो हावा बहन थालिसकेको छ। पानी पर्ने तरीका बदलिइसकेको छ। वर्षाको समयमा खडेरी लाग्छ। नपर्ने वेला ठूलो झरी पर्छ। वर्ष दिनमा पर्ने पानी कहिले तीन महीनामै परिदिन्छ। त्यसले सडक भत्किरहन्छन्। मान्छे दुर्घटनामा परिरहन्छन्। मरिरहन्छन्।

पर्यावरणविद्हरू भन्दा रहेछन्, ‘ड्यामले रोकेको नदीले बिस्तारै ठूलै पहाड पनि तान्नसक्छ।’ थाहा छैन, यो कथा अझ कति भयानक हुनेवाला छ ? किनकि, टिस्टाको त्रिवेणीमाथि अझैं दुई वटा नयाँ परियोजना शुरू गर्ने सरकारको योजना छ। राजमार्गको ठीक माथि रेलवेको अर्को योजना पनि शुरू भइसकेको छ। सेभोक-रम्फू रेल परियोजनाको निम्ति पहाड खनिंदै छ। नयाँ सुरुङहरू बनाइँदै छन्। यसले हाम्रो कथालाई अब कतातिर मोडिदिने होला?

अहिले दार्जीलिङ-कालेबुङ क्षेत्रमा रहेको टिस्टामा मात्र दुई वटा ड्याम बनिसकेका छन्। यतिमै टिस्टाले आफ्नो गति हराइसकेको छ। स्वरूप हराइसकेको छ। उसले धेरै थोक गुमाइसकेको छ।

टिस्टामा पाइने लोपोन्मुख प्रजातिका माछाहरू अब पूरै हराउन लागेका छन्। गोल्डेन मास्येर, जल कपूर, गोच, चाले, गर्दी देखिनै छाडेका छन्। असला बुदुनासम्म पहिलेको तुलनामा धेरै कम भएका छन्। गर्दी, लिम्बुनी र चेप्टी माछाहरू हराइसकेका छन्। फिसिङ गर्नेहरू भन्दा रहेछन्, ‘अमेरिकादेखि टिस्टासम्म फिसिङ गर्नकै निम्ति मानिसहरू आइपुग्थे। अन्य ठाउँ जाँदैनथे। हप्ता दिनसम्म नदीमा टेन्ट लगाएर बस्थे। अब ती दिन गए!’

हरेक ड्याम बनाउँदा नदीमा फिस ल्याडर बनाइँदो रहेछ। तर, हाम्रोतिर त्यो वेला माछाबारे सोच्ने को थिए होलान् र? यसबारे शुरूमा कुरा धरि भएन। हुन त, परियोजना नै शुरूदेखि विवादित रह्यो। स्थानीयहरूको आवाजलाई कुल्चेर योजना शुरू गरियो। जियोलोजिकल सर्भे अफ इन्डियाले उतिवेला नै भनेको रहेछ, ‘यो पहिरोग्रस्त क्षेत्र हो। ड्याम बनाइए पहिरोको मात्रा अझैं धेर बढ्नेछ।’ त्यसमा अझैं इन्भाइरोमेन्ट इम्प्याक्ट एसोसिएशनले थपेको रहेछ, ‘परियोजना शुरू गर्नेहरूले स्थानीयहरूबारे केही सोचेकै छैनन्। स्थानीयहरूमाथि त व्यापक असर पर्नेवाला छ।’

ड्यामले खोला नै रोकिदिएपछि अचेल
मान्छेले उँधौली-उँभौली नै बिर्सिन लागे।
उँभौली चढ्न नपाएपछि फूल पार्न पहाड
चढ्ने माछाहरू अहिले कहाँ जाँदै होलान्?
यसको कथा अझ् कति दयनीय होला?
त्यति हुँदाहुँदै ड्याम बन्यो। ड्यामको माथिल्लो भाग त यसै प्रभावित भइहाल्यो। तल्लो भागमा लालटुङ, चमकडाङ्गी जस्ता गाउँहरू छन्। जहाँका मानिसहरूले नदीको बहाव हेरेर खेती गर्छन्। बर्खामा पानी कहाँसम्म आइपुग्छ, त्यो हेरेर काम गर्छन्। तर, अब त बर्खाको कुरा छाडौं, हिउँदमा नै ड्यामको पानी छोडिदिए सब बगाएर लग्छ।

मान्छे होस् वा वनस्पति, माछा होस् वा चराचुरुङ्गी, टिस्टा जलविद्युत् आयोजनाले अहिले सबैलाई प्रभाव पार्न थालिसकेको छ। अझ् माछा र चरा त एक ठाउँदेखि अर्को ठाउँ हिंडिरहने प्राणी हुन्। उहिले उहिले यसैको हिंडाइलाई हेरेर हाम्रा पुर्खाहरूले उँधौली-उँभौलीको समय बुझ्थे। त्यसको पूजा नै गर्थे।

किनकि, यसैको आधारमा खेतीपाती लगाउँथे। तर, ती सबै अब हराउँदै गए। ड्यामले खोला नै रोकिदिएपछि अचेल मान्छेले उँधौली-उँभौली नै बिर्सिन लागे। उँभौली चढ्न नपाएपछि फूल पार्न पहाड चढ्ने माछाहरू अहिले कहाँ जाँदै होलान्? यसको कथा अझ् कति दयनीय होला?

टिस्टाको ड्यामको कारण वरिपरिको जङ्गल गुम्यो। धेरै वनस्पति मासिए। नदी वरिपरि पाइने रेड अर्किड अब पूरै हरायो। जेडी हुकरले त्रिवेणी वरिपरि यति वेला सर्वेक्षण गरेको भए के हुन्थ्यो होला? वनस्पतिको कथा कस्तो पाउँथ्यो होला ? जहाँ जङ्गल नै मगमग पार्ने मालागडीका बोटहरूधरि अब हराउँदै गएका छन्।

जुन ठाउँको मान्छेले बिमार हुँदासम्म
टिस्टाको भाकल गर्थे। परेवा उडाउँथे।
पूजाअर्चना गर्थे। माछा ल्याएर छोड्थे।
त्यही ठाउँका मानिसहरूले टिस्टाको रोग
कहिले अनुभव गर्ने होला?
टिस्टा त हाम्रो इतिहाससँग जोडिएको नदी हो। जस्तो, इजिप्टका निम्ति नाइल नदी छ, चीनका निम्ति ह्वाङ्हो छ, बनारसका निम्ति गङ्गा छ, दार्जीलिङ, सिक्किम र कालेबुङका निम्ति टिस्टा त्यस्तै हो। यही नदीसँग हाम्रो सभ्यता अगाडि बढ्छ। हाम्रो विचार अघि बहिरहन्छ। साहित्य बहिरहन्छ। सङ्गीत बहिरहन्छ।

लैनसिंह बाङ्देलका कथाका पात्रहरू टिस्टाको जङ्गलतिर घुमिहिंड्थे। इन्द्रबहादुर राईका कथाका पात्रहरू टिस्टाको किनारतिर बिसाइजान्थे। टिस्टा नदीमाथि दर्जनौं कविता लेखिए, जो सललल बगिरहन्थे। हजारौं गीत लेखिए, जो बगेको टिस्टाबाट निस्किने आवाज जस्तै मीठा हुन्थे। तर, जब टिस्टा रोकियो, हाम्रो बगाइ रोकियो। टिस्टामाथि लेखिने कवितामा गुनासाहरू मात्रै सुनिन थाले। कथाका पात्रहरूमा सुस्केराहरू मात्रै आउन लागे।

त्यही भएर होला, जुन टिस्टालाई जीवनसँग जोडेर बिपुल छेत्रीहरूले गीत गाए। जुन टिस्टामाथि खेमराज गुरुङहरूले मैना चरी उडेको देखे। त्यही टिस्टाको गीतलाई कति छिट्टै देवाशिष मोथेहरूले ठीक उल्टो दिशाबाट गाउनु परिरहेको छ,

टिस्टा त हुँदै छ है, प्लास्टिकको ढेरा

नपत्याए गाउँको खोलालाई हेर।

मलाई थाहा छैन, जुन ठाउँको मान्छेले बिमार हुँदासम्म टिस्टाको भाकल गर्थे। परेवा उडाउँथे। पूजाअर्चना गर्थे। माछा ल्याएर छोड्थे। त्यही ठाउँका मानिसहरूले टिस्टाको रोग कहिले अनुभव गर्ने होला? टिस्टाको बदलिंदो कथा अबको पुस्तालाई कसरी सुनाउने होला?

comments powered by Disqus

रमझम