कार्तिक २०७८ | 18/10/2021

सीसीयमसी जस्तो स्थायी संरचना चाहिन्छ

Share:
  
- हिमालखबर
‘महामारीसँग जुध्न सीसीएमसी जस्तो स्थायी संरचना चाहिन्छ’

तस्वीरहरूः अमित मचामसी

१० जेठ २०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मालाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नियुक्त गर्‍यो । माओवादी लडाकू व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेका शर्मालाई सरकारले सीसीएमसीको नेतृत्व दिंदा सङ्क्रमण दर बढेको अवस्था थियो भने काठमाडौं सहित अधिकांश जिल्लामा निषेधाज्ञा थियो ।

६ जेठमा ल्याइएको कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धी अध्यादेश संसद्बाट ६० दिनभित्र अनुमोदन नभएपछि सीसीएमसी निष्क्रिय बनेको छ । शर्मा यति वेला रक्षा मामिला सम्बन्धी अध्यापनका लागि स्थापना गर्न लागिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको काममा सक्रिय छन् । शर्मासँग सीसीएमसी र कोभिड–१९ नियन्त्रणको विषयमा सन्त गाहा मगरले गरेको कुराकानीको सारसङ्क्षेपः


सीसीएमसी प्रमुखमा नियुक्त हुँदा तपाईंलाई के म्यान्डेट थियो ?

प्रधानमन्त्री अध्यक्ष रहेको निर्देशक समितिले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा औषधोपचारका निम्ति रणनीतिक निर्णय गथ्र्यो । त्यो समितिको सदस्य–सचिव कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुख रहने व्यवस्था अनुसार म नियुक्त भएको थिएँ । समितिले गरेका निर्णय कार्यान्वयनका लागि हरेक मन्त्रालयसँग समन्वय गर्ने र आइपरेका उल्झ्न समाधान गर्ने मुख्य दायित्व पाएका थियौं ।

नेपाल आउन आठ प्रवेश बिन्दु खुला गरिएका थिए । ती सबैमा एक–एक हजारलाई राख्न मिल्ने होल्डिङ सेन्टर बनाउने निर्णय गर्‍यौं, त्यहाँ कोभिड–१९ परीक्षण गरेपछि मात्र घर पठाउने नियम बनायौं । नेपाली सेनासँग ठेक्का लिएर ठेकेदारहरूले होल्डिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा पुर्‍याएका छन् ।

कोभिड–१९ विरुद्धको खोप खरीद गर्ने, सम्बन्धित ठाउँमा पुर्‍याउने र लगाइदिने जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिएको छ । स्वास्थ्य मन्त्रालयले नै संयोजन गर्ने गरी सङ्क्रमित उपचार गर्न छुट्टै कोभिड–१९ अस्पताल तोकिएको छ । सरकारीसँगै सार्वजनिक तथा निजी अस्पतालले पनि कोभिड–१९ का बिरामीका लागि बेड छुट्याउने गरेका छन् । यसमा हामीले बिरामीको सङ्ख्या धान्ने गरी बेड छन् कि छैनन् हेर्ने, बेड थप्नुपर्ने छ भने वेलैमा सजग गराउने र नयाँ अस्पताल बनाउनुपर्ने भए हामी मार्फत बनाउने गर्छौं ।

एक्कासि कुनै ठाउँमा सङ्क्रमण ह्वात्तै बढ्यो भने तत्कालै औषधि र चिकित्सक पुर्‍याउने दायित्व हाम्रो थियो । यस्तो द्रुतगमनमा जान डाक्टर र नर्सहरू जगेडामा राख्यौं । सबै ठाउँमा गाडी पुग्न सम्भव नहोला भनेर सेनाको हेलिकप्टर तयारी अवस्थामा राख्यौं । कोभिड–१९ बाट ज्यान गुमाएकाहरूको शव सेना मार्फत व्यवस्थापन गर्‍यौं ।

रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य लगायत मन्त्रालयबीच समन्वय गर्ने म्यान्डेट हामीले पाएका थियौं । महामारीका वेला काम गर्न छुट्टै निकायको आवश्यकता परेपछि हामीले त्यो जिम्मेवारी पूरा गरेका हौं । कानून नभएकाले अध्यादेश ल्याइयो, अहिले अध्यादेश निष्क्रिय भएकाले चौबीसै घण्टा लागिपर्ने गरी सानो संरचना बनाएर काम गरेका छौं ।

तपाईंले सीसीएमसीको नेतृत्व सम्हालेको वेला सङ्क्रमण दर ह्वात्तै बढेको थियो । अस्पताल भरिएका थिए, औषधि, अक्सिजन, बेडको अभाव थियो । त्यस्तो समयमा काम गर्दा के के चुनौती पाउनुभयो ?

यस्तो काम गर्दा मन्त्रालय–मन्त्रालयबीच समन्वय अनिवार्य छ । समन्वय गर्ने जिम्मा पाएको सीसीएमसीको प्रमुखको जिम्मेवारी मैले पाएँ । हरेक निर्णय र कार्यान्वयनमा सबै मन्त्रालयका सहसचिवसम्मलाई सहभागी गरायौं । तर, सहसचिवले भनेको सचिव र सचिवले भनेको मन्त्रीले मानिहाल्ने अवस्था रहेनछ । सबैले सीसीएमसीलाई भन्दा आफ्नो मन्त्रालयलाई प्राथमिकतामा राखेर काम गर्दा रहेछन् ।

यो नयाँ महामारी हो । महामारी नहुँदा बनेको कानूनमा रहेर काम गर्नुपर्‍यो । अर्को, आपत्काल घोषणा नगर्ने तर आपत्कालमा काम गर्नुपर्ने भयो । साधारण नियमबाट असाधारण काम गर्न सकिँदैन वा ढिलो हुन्छ ।

मास्क, पीपीई लगायतका सामग्री बाहिरबाट ल्याउनुपर्ने अवस्था थियो । तर, उत्पादक देश सबैले प्रतिबन्ध लगाएका थिए । विभिन्न देशले (बन्दाबन्दी) गरेको देखेर हामीले पनि गर्‍यौं । उनीहरूले बन्दाबन्दी गर्दा नागरिकलाई राहत पनि दिए । हामीले चाहिं घरभित्रै बस्नुस् भन्यौं, तर केही दिएनौं । त्यो पनि नागरिकले माने । लगातारको बन्दाबन्दीका कारण रोगले भन्दा पनि भोकले मर्ने जोखिम बढेपछि यो कुरा हामीले निर्देशक समितिको बैठकमा राख्यौं । समितिका पदाधिकारीहरूले राहत दिन सकिँदैन, दिए पनि सही मान्छेको हातमा पुग्दैन भने ।

त्यसपछि हामीले ‘स्मार्ट लकडाउन’ को अवधारणा ल्यायौं, कोभिड–१९ को सङ्क्रमण भएको ठाउँमा कडाइ गर्ने र नभएको ठाउँमा खुला गर्ने । विभिन्न रङबाट उच्च जोखिमदेखि सुरक्षित क्षेत्रसम्म वर्गीकरण गरेर त्यसैको आधारमा निषेधाज्ञा लगाउने वा नलगाउने गरियो । यसो गर्दा रोकथाम, नियन्त्रण, औषधोपचार र आर्थिक गतिविधि सञ्चालन गर्न पनि सहज भयो ।

नेपालमा कोभिड–१९ बाट ११ हजारभन्दा बढीको ज्यान गइसकेको छ । कतिपयले यसलाई मरण होइन, हत्या हो समेत भन्ने गरेका छन् । हाम्रो जस्तै साधनस्रोत भएका देशहरूसँगको तुलनामा हामी महामारी नियन्त्रणमा कति सफल भयौं ?

सङ्क्रमणबाट बालबालिका र युवाको समेत मृत्यु भए पनि ज्यान गुमाउनेहरू अधिकांश ज्येष्ठ नागरिक छन् । त्यसमा पनि धेरै दीर्घरोगीहरूको मृत्यु भयो । त्यसकारण तथ्याङ्ककै आधारमा टीकाटिप्पणी गरिहाल्न मिल्छ जस्तो लाग्दैन । हामीले चाहेको भए थप दुई–चार जनाको ज्यान जोगाउन सकिन्थ्यो भन्ने कुरा चाहिं सही हो । किनभने, स्वास्थ्य सुविधा सबै ठाउँमा पुगेको छैन । अमेरिका जस्तो देशमा पनि सबै सुविधा सबै ठाउँमा पुगेको हुँदैन ।

विपद्को सामना गर्न योजना, जनशक्ति, साधनस्रोत, समन्वय सबै चाहिन्छ । पहिलो पटक चीनको वुहानमा देखापरेको कोरोनाभाइरस अन्य देशमा पनि पुगेपछि नेपालले गर्नुपर्ने जति तयारी नगरेको सत्य हो । हाम्रो तयारी नै थिएन । त्यस किसिमको जनशक्ति थिएन । भाइरस आफैंमा नयाँ थियो । मानव स्वभाव कस्तो हुँदो रहेछ भने राम्रो काम बिर्सने र नराम्रो कामको चर्चा गर्ने । ज्यान जोगाउन सक्ने अवस्था थियो, तर गरेनन् भन्ने कुरा प्रत्येक घटना अनुसार हेर्नुपर्ने हुन्छ । हचुवामा धारणा बनाउन मिल्दैन ।

तपाईंले सीसीएमसीको नेतृत्व सम्हाल्ने वेलामा २०र्‍/२२ हजार नमूना परीक्षण गर्दा ६/७ हजार नयाँ सङ्क्रमित भेटिन्थे । यति वेला १० /१२ हजार नमूनामध्ये एक हजार हाराहारीमा सङ्क्रमण देखिने गरेको छ । यसलाई कोरोना नियन्त्रणतर्फ गएको भन्न सकिन्छ ?

सङ्क्रमण दर घटे पनि अझै पनि १० प्रतिशतको हाराहारीमा नयाँ सङ्क्रमित थपिएका छन् । यसको मतलब, हामी स्वस्थ अवस्थामा छैनौं । अरू देशमा हुन्थ्यो भने यो हाम्रो अवस्थालाई भयावह नै मानिन्थ्यो । अस्ट्रेलियामा सङ्क्रमण दर पाँच प्रतिशत हुँदा देश नै बन्द गरे । तर, हामी त्यसको दोब्बर सङ्क्रमण दरलाई पनि सामान्य मानिरहेका छौं ।

अहिले सङ्क्रमण दर घट्नुका तीन कारण छन् । पहिलो, नागरिक आफैंले कोभिड–१९ सँगसँगै कसरी बाँच्ने भनेर सिके । सरकारले सिकाएको होइन, बाध्यताले नागरिक आँफैले सिकेका हुन् । दोस्रो, ठूलो सङ्ख्याले खोप लगाइसकेका छन् । खोप लगाइसकेपछि सङ्क्रमण भइहाले पनि गम्भीर बिरामी बनाउँदैन । तेस्रो, स्वास्थ्य सुविधा नपुगेको गाउँका मान्छेहरू आफैं भाइरससँग लडेर त्यसलाई पराजित गरे । कोरोनालाई जित्नु भनेको एन्टिबडी विकास हुनु हो, एन्टिबडी बनिसकेपछि कोरोना लागे पनि फेरि पराजित गर्न सकिन्छ ।

त्यसो भए दशैं, तिहार, छठ लगायत चाडपर्व ढुक्कले मनाउँदा हुन्छ ?

पहिलो कुरा, अहिले अलग–अलग ठाउँमा बसेका मान्छेहरू चाडपर्वमा एकै ठाउँमा जम्मा हुँदै छन् । त्यसकारण सामान्यतया सङ्क्रमण बढ्छ । दोस्रो, हामी कहाँ देखिएकोभन्दा फरक भेरियन्ट देखा पर्‍यो भने पनि सङ्क्रमण बढाउन सक्छ । तेस्रो, लामो समय सङ्क्रमण रह्यो भने नेपालमै पनि अर्को प्रजाति उत्पन्न हुनसक्छ ।

यी तीन कारणले सङ्क्रमण बढ्नसक्ने देखिन्छ । तर, विगतमा भन्दा औषधि, अस्पतालका बेडको तयारी राम्रो भएकाले आत्तिहाल्नुपर्ने देखिंदैन । आत्मबलले पनि धेरै मद्दत गर्छ भन्ने लाग्छ । व्यक्तिगत रूपमा भन्दा विध्वंसै गर्छ भन्ने चाहिं लाग्दैन ।

हामी कहाँ पहिलोभन्दा दोस्रो लहरले धेरै क्षति गर्‍यो । सम्भावित तेस्रो लहरको सामना गर्न कस्तो तयारी गर्नुपर्ला ?

कोभिड–१९ महामारी आएपछि थाहा भयो, ठूला ठूला अस्पतालहरू पनि आत्मनिर्भर रहेनछन् । विदेशका सबै ठूला अस्पतालका आफ्नै अक्सिजन प्लान्ट हुन्छन् । यहाँ त्यस्तो पूर्वाधार थिएन । महामारीपछि धेरै अस्पतालले अक्सिजन प्लान्ट राखे । यसको अर्थ, तेस्रो लहर आइहाल्यो भने पनि पहिला जस्तो दौडादौड गर्नु नपर्ला । बिरामी नभएका मान्छेले अक्सिजन लुकाउने अवस्था पनि नहोला । भेन्टिलेटरको सङ्ख्या बढेको छ ।

डाक्टर, नर्सहरू पहिलाभन्दा अनुभवी पनि भए । मान्छेहरू आफैं पनि सचेत भए । हारगुहार गरेरै भए पनि खोप लगाउनेको प्रतिशत राम्रो छ । बालबालिकाले खोप नपाएका कारण उनीहरूका लागि तेस्रो लहर जोखिमपूर्ण हुने भएकाले हरेक अस्पताललाई कम्तीमा २० प्रतिशत बेड व्यवस्था गर्न भनेका छौं ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धी अध्यादेश दुई महीनाभित्र संसद्बाट अनुमोदन नभएर निष्क्रिय भएको छ । जसले गर्दा सीसीएमसी खारेज प्रायःको अवस्थामा छ । सीसीएमसी पुनर्जीवित भएन भने के हुन्छ ?

कोही व्यक्ति पदमा रहनु वा नरहनु ठूलो कुरा होइन, तर अन्तरमन्त्रालय समन्वय गर्न सीसीएमसी जस्तो संरचना चाहिँदो रहेछ । स्वास्थ्य मन्त्रालयले भनेर सेनाले सिपाही त खटाउँदैन । गृह मन्त्रालयले निर्देशन दिए पनि परराष्ट्र मन्त्रालय मान्दैन । त्यसकारण सीसीएमसी वा अन्य नामको एउटा निकाय त चाहिन्छ चाहिन्छ । सीसीएमसी विघटनको लाभ छैन, हानि मात्रै छ । एकातिरको रिस अर्कोतिर पोख्ने प्रवृत्तिको मारमा यस्तो अपरिहार्य संस्था पनि परेका छन् ।

यो महामारीले हामीलाई सिकाएको पाठ चाहिं के हो ?

हाम्रो अवस्था कस्तो छ भनेर कोरोनाको वेला देखियो । दैनिक दुई सय जनाको मृत्यु हुँदा शव व्यवस्थापन गर्न हम्मे पर्‍यो । त्यसैले यस्तो महामारी वा विपद्मा काम गर्ने स्थायी डिजास्टर काउन्सिल चाहिन्छ । कोरोना नै नआए पनि बर्डफ्लु आउन सक्छ । हरेक वर्ष आउने मनसुनमा बाढी–पहिरो त पक्का आउँछ । त्यसका लागि प्रधानमन्त्रीकै अध्यक्षतामा अहिलेको सीसीएमसी जस्तै तर स्थायी संरचना आवश्यक पर्छ । मुख्य मुख्य मन्त्रालय सम्मिलित संरचना जसमा विज्ञ सदस्य–सचिव बनाउन सकिन्छ ।

तपाईंले चर्चा गर्नुभएको जस्तो विपद्को सामना गर्न गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र छ नि !

२०७२ सालको भूकम्प, कोरोना महामारी आदि मुलुककै क्षमताभन्दा बाहिरका विपद् हुन् । देशको क्षमताले नभ्याउने काम गृह मन्त्रालय मातहतको एउटा केन्द्रले गर्नसक्छ ? फेरि मन्त्रालयमा बस्नेहरू विज्ञ होइनन् । हुलाकको मान्छे पनि त्यो मन्त्रालयमा जानसक्छ । त्यसै कारण व्यावसायिक निकाय नै चाहिन्छ । त्यो निकायलाई अधिकार र स्रोत दुवै दिनुपर्‍यो । भारत, बेलायत, अमेरिका, चीन, श्रीलङ्का सबै देशमा यस्तो निकाय छ । त्यस्तो निकाय भयो भने थप एक जनालाई भए पनि बचाउन सकिन्छ । दुई–चार वटा भए पनि बढी घर जोगाउन सकिन्छ ।

comments powered by Disqus

रमझम