तिमीलाई हामीले कहिल्यै भेदभाव गर्यौं र रूपा? हाम्रा भान्सामा तिमी छिरेकै थियौ त?’
रूपा सुनारले आफूलाई दुखेको जातीय विभेदको चोट सार्वजनिक गर्दा एक चर्चित टेलिभिजन कार्यक्रमका प्रस्तोताले सामाजिक सञ्जालमा लेखे। मानौं, कसैलाई आफ्नो भान्सामा स्थान दिँदैमा उनले ‘महान्’ उपकार गरे।
आखिर रूपाको दोष यत्ति थियो- कसैको घरमा डेरा माग्न जानु अनि आफ्नो थर नढाँट्दा घरबेटीबाट अपमानित भएर फर्कनु! घटना नौलो पटक्कै थिएन। तर, अरू चूप बस्थे, उनी बसिनन्।
मानौं, उनीहरू प्रस्तोता होइनन्, अभिनेता हुन् जो पात्र र चरित्र अनुसार बदलिइदिन्छन्। यसो गर्दा सत्यलाई मोड्ने काम भइरहेको हुन्छ। त्यस्तो सत्य जसले फरक जातिमा जन्मिएकै कारण विभेद र दमन भोग्नुपर्ने बाध्यतालाई सही ठहर्याएर युगौंदेखि सभ्यतालाई कलङ्कित पारिरहेको छ।
एक समय यस्तो थियो, पूरै देश जातीय कानूनले चले जस्तो लाग्थ्यो। जातको आधारमा कामको विभाजन, जातकै आधारमा सजाय, सामाजिक प्रतिष्ठा अनि अधिकार प्रत्यायोजन। मानवशास्त्री डोरबहादुर विष्टले ‘फेटालिज्म एन्ड डिभलपमेन्ट’ पुस्तकमा हाम्रो ‘आफ्नो मान्छे’ र ‘चाकरी’ संस्कृतिबारे लेखेका छन्। त्यसमा ठूलो भनिएका जातिमा जन्मिएकाहरूले आफ्नै समुदायकालाई कसरी पक्षपोषण गर्छन्, कसरी फाइदा लिइरहेका छन् भन्ने प्रस्ट्याइएको छ।
हाम्रो समाजमा मान्छेको व्यवहार र मानसिकतामा जातको ठूलो असर देख्न सकिन्छ। हिन्दू धर्म-संस्कारको दबदबा रहेको हाम्रो संस्कृतिले एउटा ब्राह्मण पुरुष जुनसुकै चरित्रको भए पनि ‘पवित्र’ हुने ठप्पा लगाइदिएको छ। कानून बनाउने र शासन गर्ने अधिकार पनि निश्चित वर्गलाई तोकिदिए जस्तो छ। शासक वर्गको सन्तान जानी-नजानी अधिनायकवादी सोचमै हुर्किएको हुन्छ।
हुन त समाज बुझन हामी कुन समुदायमा जन्मिएका छौं भन्ने कुराले पनि अर्थ राख्छ। म पनि थारू र ब्राह्मण जोडीबाट नजन्मिएको भए बुझइ केही फरक हुन्थ्यो होला। जसले भोग्छ, उसैले मात्र बुझन सक्छ विभेद र दलनको पीडा।
जातको प्रश्न टेलिभिजन कार्यक्रमका सिलसिलामा मधेश पुग्दा मैले जस्ता घटना देखें, ती विस्मित बनाउने खालका छन्। धनुषाकी सन्झ माझीको घर पुग्दा बुझेँ- एउटा कथित उच्च जातीय पुरुषको खेलौना हुन अस्वीकार गर्दा एउटी दलित महिलाको हालत कस्तो बनाइँदो रहेछ।
‘यता यस्तै हुन्छ म्याम। अलि राम्री दलित बैनीहरू १४-१५ का हुने बित्तिकै उच्च जातिका पुरुषहरू पछि परिहाल्छन्,’ त्यहाँका एक अधिकारकर्मीले भने। सन्झ बलात्कारमा परेकी थिइन्। त्यही पुरुषले फेरि अर्की मधेशी दलित बहिनीको बलात्कार गरेको खबर पायौं। पीडकमा कहाँबाट आउँछ यस्तो हिम्मत? उत्तर सरल छ- जहाँ दलितको आवाज कसैले सुन्दैन, उनीहरूलाई हेप्न सजिलो हुन्छ। जहाँ जिम्मेवार निकायका अधिकारीहरू बलात्कारीलाई नै बचाउन लागिपर्छन्, त्यहाँ महिलाको आत्मसम्मानको के मूल्य?
काठमाडौंमा स्मार्टफोन बोकेर एलन मस्कका सङ्घर्ष र सफलताका कथा पढ्नेलाई हाम्रा समाजका यी घटना उडन्ते कथा जस्ता लाग्दा हुन्। तर, उनीहरूले नपत्याउँदैमा भोग्नेहरूको जीवन फेरिंदैन।
आखिर आफ्नै समाजभित्रको यस्तो विषमताप्रति किन उदासीन छ युवा पुस्ता? जब नवराज विक, भीमबहादुर विक वा अजित मिजारको प्रसङ्ग आउँछ तब मात्र विभेदको विषयले प्राथमिकता पाउनुपर्ने किन? के जातीय भेदभाव, वर्णव्यवस्थाबारे बहस गर्न कुनै दलितको मृत्यु नै हुनुपर्ने हो?
हामीले खोजेको देश यस्तो त पक्कै होइन जहाँ दलित साथीलाई घर लैजान पाइँदैन। बिहे गर्न ज्यान तरबारको धारमा राख्नुपर्छ। जहाँ दलित मन्दिर पसेकै निहुँमा मारिन्छन्। अनि किन नसोध्ने त ‘जातको प्रश्न?’ जवाफ दिने पालो अब हामी सबैको हो।