काठमाडौं उपत्यकाको ऐतिहासिक तथा धार्मिक महत्त्वको सम्पदा हो, स्वयम्भू महाचैत्य। तर, यसले समयक्रममा ऐतिहासिकता र मौलिक अर्थ गुमाउँदै गएको छ। स्वयम्भू महाचैत्य बौद्ध धर्म सम्बन्धी सम्पदा वा आस्थाको थलो हो, तर ऐतिहासिकता गुमाएको चर्चा गर्दा हिन्दू धार्मिक ग्रन्थ पुराणको सन्दर्भ जोडेर हेर्नु प्रासङ्गिक हुन्छ।
पुराण तत्कालीन राजवंशहरूसँग सम्बन्धित बताइन्छ। तर, अध्येताहरू तिनलाई इतिहास मान्न अस्वीकार गर्छन्, सत्य घटनालाई तोडमरोड गरी धार्मिक रङले पोतिएको आख्यान भनेर। अर्कातिर, पुराणलाई इतिहास मान्ने वर्गले यसलाई ऐतिहासिक दृष्टिबाट केलाउँदा आस्थामाथि चोट पर्ने भन्दै ढाकछोप गर्ने प्रवृत्ति छ।
स्वयम्भू महाचैत्यको आफ्नै ऐतिहासिक र दार्शनिक पृष्ठभूमि छ। तर, समयक्रममा विभिन्न काल्पनिक कथा-कहानी हावी भएर तोडमरोड हुँदा यसको ऐतिहासिकता गुम्ने जोखिम देखिएको छ।
उत्पत्ति कथा
पछिल्ला केही बौद्ध धार्मिक ग्रन्थहरूको रचना हिन्दू धर्मको पौराणिक कथाशिल्पबाट प्रभावित छन्। एउटा उदाहरण स्वयम्भूपुराण पनि हो। स्वयम्भूपुराणमा उल्लिखित आख्यानका आधारमा परम्परागत बौद्ध समाजले स्वयम्भू महाचैत्य स्वतः उत्पन्न भएको मान्छ। तर, यो पुराण सोह्रौं शताब्दीको आसपासमा रचना भएको हो। जबकि, यो महाचैत्य पाँचौं शताब्दी (लिच्छविकाल)मै अस्तित्वमा रहेको अभिलेख भेटिएको छ। राजा मानदेवका छोरा वसन्तदेवको अभिलेखमा स्वयम्भू महाचैत्यबारे उल्लेख छ।
कुनै पनि सम्प्रदायलाई आफूमा विचलन आउन नदिनु र अन्य सम्प्रदाय वा संस्कृतिसँग प्रतिस्पर्धा गर्नु सधैं चुनौतीको विषय हुन्छ। कुनै वेला निकै प्रभावी देखिएको वैदिक सभ्यता उत्तरवैदिक कालमा पुग्दासम्म आन्तरिक प्रश्नहरूकै कारण विचलनमा पुग्यो, त्यसमाथि गैरवैदिकको प्रहार बेग्लै थियो।
त्यो स्थितिमा ईसापूर्व छैटौं शताब्दीतिर जैन धर्मका वर्धमान महावीर र बौद्ध धर्मका गौतम बुद्धको अभियानले वैदिक समाज धराशायीप्रायः हुन पुग्यो। तर, वैदिक समाजका केही अभियन्ताको प्रयासबाट यसको पुनरुत्थान भयो र जैन एवं बौद्ध समाजमा ठूलो चुनौती निम्तियो। त्यो स्थितिमा वैदिक समाजले सिर्जना गरे जस्तै वा त्योभन्दा आकर्षक कथा-कहानी बनाउन बौद्ध समाज बाध्य भयो। यही बाध्यताको सिर्जना हो, स्वयम्भू उत्पत्तिको कथा वा स्वयम्भूपुराण।
बौद्ध दर्शनको विकास
गौतम बुद्धको महापरिनिर्वाणको सय वर्षपछि भएको दोस्रो सङ्घायनमा नै भिक्षु सङ्घ स्थविरवाद र महासाङ्घिक दुई निकायमा बाँडिइसकेको थियो। तत्पश्चात् अर्को सय वर्ष पुग्दा नपुग्दै तेस्रो सङ्घायन हुने वेलासम्म स्थविरवादबाट १२ र महासाङ्घिकबाट ६ वटा गरी १८ वटा निकायको उदय भयो। स्थविरवादबाट पनि छुट्टिएका अनेकौं उपसम्प्रदाय उदय र विलय हुने क्रममा बचेको एउटा सम्प्रदाय हो- थेरवाद।
गौतम बुद्ध (ईपू ५६३-४६३)को जीवनकालमा नै काठमाडौं उपत्यकामा बौद्ध धर्मको प्रवेश भइसकेको थियो। अन्यत्र विकास भएको बौद्ध धर्मबाट काठमाडौं प्रभावित हुनु जति स्वाभाविक हो त्यति नै स्वाभाविक हो, यस भेगमा पनि स्वतन्त्र चिन्तनबाट बेग्लै सम्प्रदायहरूको विकास हुनु।
स्वयम्भू महाचैत्य आदिबुद्धसँग सम्बन्धित छ। अन्यत्र कतै नपाइने ‘आदिबुद्ध’ को अवधारणा नेपालमा पाइन्छ, जुन काठमाडौंको नेवार बौद्ध समाजमा प्रचलित छ। र, आदिबुद्धको नाममा बनाइएको स्तूप (स्वयम्भू महाचैत्य) अन्यत्र पाइँदैन। यो कम महत्त्वपूर्ण तथ्य होइन।
स्वयम्भू क्षेत्रमा बुद्धाचार्य थरका बौद्धहरू बस्छन्। केही बुद्धाचार्य पाटन, भक्तपुर, पनौती लगायत प्राचीन बस्तीहरूमा भेटिन्छन्। यिनीहरू सकभर एउटै थरभित्र बिहेबारी चलाउँछन्। हिजोआज बज्रयानी परम्परा अनुसार संस्कारित हुने भए पनि यिनीहरू बज्राचार्य समाजभन्दा पृथक् छन्।
स्वयम्भू महाचैत्यको वरिपरि रहेका करीब डेढ दर्जन घर बुद्धाचार्यहरूको मात्रै हो। उनीहरूलाई स्थानान्तरण गर्ने योजना सफल हुन नसक्नुको कारण स्वयम्भूबाट उनीहरूलाई पृथक् गर्न नहुने भएर हो। स्वयम्भू महाचैत्यको पूजा तथा अन्य कतिपय कुरामा बुद्धाचार्यहरूकै एकाधिकार छ। सम्भवतः काठमाडौं उपत्यकामा बज्रयानको विकास हुनुअघि पुरोहितको काम यिनै बुद्धाचार्यबाट हुन्थ्यो। जसोतसो आफ्नो पहिचान जोगाएर राखेको यो समुदायबारे अध्ययन हुन आवश्यक छ।
स्वयम्भू महाचैत्यमा हर्मिका भागमा चारैतिर दुई आँखाको चित्रण छ, जुन नेपालको मौलिक पक्ष हो। हर्मिकामा रहने दुई आँखाको तात्पर्य के हो, अज्ञात नै छ। यी आँखाबारे कतिपय गीत, कविताहरूमा ‘दया र माया’, ‘मैत्री र करुणा’ लगायत भाष्य बनाइएको पाइन्छ, जुन आधिकारिक होइनन्। दुई आँखाको बीचमा अलि माथि टीका जस्तो थोप्लोले उर्णा (बुद्धको निधारमा हुने विशेष रौं) भनेर बुझाएको पाइन्छ र निधारमा उर्णाको चित्रणले सोझै बुद्धको सङ्केत गर्छ।
चैत्यहरूको चार दिशामा पञ्चबुद्धका चार बुद्धहरूको मूर्ति क्रमशः पूर्वमा अक्षोभ्य, दक्षिणमा रत्नसम्भव, पश्चिममा अमिताभ र उत्तरमा अमोघसिद्ध बुद्धको राखिन्छ। चैत्यमा वैरोचन बुद्धको मूर्ति राख्ने परम्परा प्रायः छैन, राख्नैपरे अक्षोभ्य र रत्नसम्भवको बीचमा राखिन्छ। वैरोचन बुद्धको प्रतीकका रूपमा दुई आँखा हो कि भन्ने अनुमानको खण्डन स्वयम्भू महाचैत्यले गर्छ, किनभने स्वयम्भूमा वैरोचनको मूर्तिका साथै हर्मिकामा दुई आँखा पनि चित्रित छन्। माथि उल्लिखित स्थानीय बौद्ध सम्प्रदायहरूको दार्शनिक पक्ष उजागर हुन सके दुई आँखाको अर्थ थाहा हुन सक्छ।
आदिबुद्ध र स्वयम्भू महाचैत्य
बोधि (ज्ञान) लाभ गर्ने सत्व (प्राणी) हुन्, बुद्ध। बोधि तीन प्रकारका हुन्छन्– श्रावक बोधि, प्रत्येकबुद्ध बोधि र सम्यक्सम्बोधि (त्रिबोधि)। सम्यक्सम्बुद्धको उपदेश सुनेर क्लेशावरणबाट मुक्त भई श्रावकबोधि प्राप्त गर्नेलाई श्रावकबुद्ध, पूर्वजन्मको पुण्यले बुद्धत्व प्राप्त गर्ने प्रत्येकबुद्ध र सम्पूर्ण पारमिता पूर्ण गर्ने सम्यक्सम्बुद्ध हुन्। ईपू ५६३ मा लुम्बिनीमा जन्मेका बोधिसत्व ३५ वर्षको उमेरमा सम्बोधि लाभ गरी सम्यक्सम्बुद्ध बने।
पञ्चबुद्ध ऐतिहासिक वा मानव बुद्ध होइनन्। बुद्धत्वकै बारेमा अभिव्यक्ति गर्ने क्रममा पाँच बुद्धको कल्पना गरिएका हुन्। यी पाँचै बुद्धले विभिन्न कुराको प्रतिनिधित्व गर्छन्, तर सबैको एउटै गुण हुन्छ। अझ, पञ्चबुद्ध र सम्यक्सम्बुद्धहरूको गुण पनि एउटै हुन्छ। अनेक नाम वा प्रकारका बुद्धहरूको स्रोतका रूपमा ‘आदिबुद्ध’ को अवधारणा विकास भएको अनुमान गर्न सकिन्छ।
अस्थि राखेर स्तूप निर्माण गर्ने परम्परा गौतम बुद्धभन्दा अघिकै हो। बुद्धले पनि यसलाई निरन्तता दिए। कालान्तरमा बौद्ध समाजमा स्तूप निर्माण परम्पराले व्यापकता पाउँदा यो बौद्ध वास्तुकलाकै पर्यायका रूपमा चिनियो। बौद्ध विषयवस्तुका हरेक कुरामा स्तूप निर्माण गर्ने समाजमा ‘आदिबुद्ध’ को नाममा पनि स्तूप बनेको बुझ्न सकिन्छ र यो स्वयम्भू महाचैत्यका नामबाट प्रसिद्ध छ।
दार्शनिक अर्थमा यसलाई बुद्धहरूको पनि स्रोत भन्न सकिन्छ। यस अवस्थामा स्वयम्भू महाचैत्यको दर्शन गर्न विपश्वी, सिखी, विश्वभू, कनकमुनि, क्रकुच्छन्द, कश्यप र शाक्यमुनि नामका सप्तबुद्धहरूको आगमन काठमाडौं उपत्यकामा भएको आख्यान स्वाभाविक हो। तर, स्वयम्भू महाचैत्यको दर्शनका लागि गौतम बुद्ध काठमाडौं उपत्यका आएको आख्यान इतिहास सिद्ध होइन।
‘नेपाली बुद्धिज्म’
काठमाडौंका बज्राचार्यहरू स्वयम्भू महाचैत्य बज्रयान बौद्ध धर्मको स्रोत भन्न रुचाउँछन्। तर, यो बज्रयानसँग सम्बन्धित नभएर बज्रयानभन्दा अघिकै बौद्ध दर्शन वा सम्प्रदायसँग सम्बन्धित र रैथाने भएकोबारे माथि नै चर्चा गरियो। बज्रयान बौद्ध धर्म नेपाल प्रवेश गरेर यहाँको रैथाने बौद्ध धर्मलाई आत्मसात् गरेर अझ परिष्कृत भएको र विशिष्ट पहिचान कायम गरेको मान्न सकिन्छ। यस अवस्थामा काठमाडौंको बज्रयानलाई भारत र तिब्बतको बज्रयानभन्दा पृथक् तरिकाले हेरिएन र विशिष्टतालाई पर्गेल्ने काम भएन भने धेरै कुरा गुम्न सक्छ। किनभने, तिब्बती परम्पराको बौद्ध धर्म–दर्शन भारतीय परम्पराका हुन्।
दीपङ्कर बुद्धलाई प्रमुख मानेर पूजा तथा उत्सव मनाउने परम्परा नेपालमा मात्रै पाइन्छ। बंगालमा देखिएको चर्यागीत तथा चर्यानृत्य तिब्बतमा गएको पाइँदैन, तर नेपालमा अहिलेसम्म उक्त साधना पद्धति कायमै छ। हाल तिब्बतमा प्रचलित चार वटै सम्प्रदाय निङ्मा, काग्र्यू, सक्य र गेलूगका संस्थापकहरू स्वयं भारतीय वा भारतीय गुरुबाट दीक्षित धर्मगुरु हुन्।
यो स्थितिमा काठमाडौंको बज्रयानी परम्पराको पुनरुत्थान गर्ने मनसायले तिब्बती परम्पराका गुरुहरूमा पूर्ण रूपले आश्रित हुँदा नेपालको मौलिकता गुम्ने खतरा रहन्छ नै। यसको असर, स्वयम्भू महाचैत्य लगायत कतिपय कुराले मूल तत्त्व गुमाएर बेग्लै अर्थ ग्रहण गर्ने जोखिम हुन्छ।
सारमा, बेग्लै ऐतिहासिक पृष्ठभूमि र विशिष्ट पहिचान सहितको मौलिक नेपाली परम्पराको बौद्ध धर्मप्रति वर्तमानमा उदासीनता देखिन्छ। बज्रयान नै भए पनि अन्यत्रको भन्दा फरक देखिएकाले केही मनीषीले बेग्लै रूपमा चिनाउने क्रममा यसलाई ‘नेवार बुद्धिज्म’ भनेका हुन्। तर, बौद्ध अध्ययनमा विशेषतः नेपाली प्राज्ञिक क्षेत्रमा प्रमुख स्थान पाउनुपर्ने यो विषय सबैभन्दा बढी उपेक्षित छ। नेवार समुदायमा मात्रै रहेको यो बौद्ध धर्म-दर्शन विश्वविद्यालयमा किन पढाउनुपर्यो भन्ने प्रश्न प्राज्ञिक दृष्टिकोण होइन। यसलाई ‘नेवार बुद्धिज्म’ नभई ‘नेपाली बुद्धिज्म’ नामकरण गरेर अध्यापन गर्न सकिन्छ।
आदिबुद्धको सम्मानमा बनाइएको चैत्यलाई स्वयम्भू भन्नुको तात्पर्य दार्शनिक भावधारा हो। आजभोलि यसलाई ‘स्वयम्भूनाथ’ नामकरण गरेको बौद्धजनलाई चित्त बुझेको छैन। यस्तो नामकरण बौद्धसम्मत पनि होइन। ‘स्वयम्भूनाथ’ भन्ने क्रममा यसलाई विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा नै ‘शम्भूनाथ’ भन्न थालिनु झनै आपत्तिजनक र गम्भीर छ। स्वयम्भू महाचैत्य यसरी इतिहासबाट टाढिन अभिशप्त छ। इतिहासले उत्खनन र उद्धारको माग राख्छ। तर, धर्म वा आस्थामा ठेस लाग्ने नाममा यसलाई अध्ययनबाट टाढा राखिनु तथ्यमाथि खेलबाड मात्रै हो।