पुस २०७८ | 16/12/2021

सतीप्रथाको 'पोस्टमार्टम'

Share:
  
- राजकुमार बानियाँ
‘पातिव्रत्य अवधारणा नारीको यौन स्वतन्त्रता कुण्ठित गर्न रचिएको सांस्कृतिक षड्यन्त्र हो। यस्तो अवधारणाले नारीलाई देवी भनी फुर्क्याएर घाँटीमा मखमली दाम्लो झुन्ड्याइदिएको छ।’

सुजित मैनालीले पहिलो पुस्तक शिलान्यासः नेपाल निर्माणको नालीबेली (२०७६) मा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरू भएको नेपाल विजय अभियानबारे लेखेका थिए। उनको पछिल्लो अनुसन्धानात्मक पुस्तक सतीः इतिहास र मीमांसा सतीप्रथाको उद्‌भवदेखि अन्त्यसम्मको शल्यक्रिया हो। यो पुस्तक समाज, इतिहास र महिला अध्ययनको ओदानमा उभिएको छ।

जिउँदै चितारोहण हत्या, आत्महत्या वा आत्मोत्सर्ग के हो? लेखक मैनाली स्पष्ट रूपमा सतीहरूका नसुनिएको रोदन, क्रन्दन र चीत्कारलाई न्याय दिने उद्यममा छन्। पतिभक्ति वा पतिप्रेमवश स्वैच्छिक रूपमा सतीगमन हुन्थ्यो भन्नेमा उनको ‘नोट अफ डिसेन्ट’ छ।

यस सन्दर्भमा लेखक कहिले जंगबहादुर राणाको शासनकालमा पशुपति, आर्यघाट पुगेका अङ्ग्रेज रेजिडेन्ट हेनरी लरेन्सले देखेको हृदयविदारक सतीगमनको दृश्यलाई उद्धृत गर्छन् त कहिले कट्टर नारीवादी मेरी डेलीको चितारोहणका लागि लागूऔषध खुवाउने, आगोमा धकेल्ने र बाँसले थिचेर उम्किन नदिने आदि बयानमा विश्वास गर्छन्। अझ मृतक पुरुषका दिदीबहिनी, भाउजू, भाइबुहारी र नजिकका नारीका आफन्त पनि सती गएको मेरीको दृष्टान्तमा लेखकले सहीछाप लगाएका छन्।

सतीप्रथा नारीहन्ता कैंची हो भने वंश र अंशका सवाल त्यसका दुई धार हुन् भन्ने लेखकीय मत छ। पुस्तकमा लेखिएको छ, ‘नारीको यौन स्वतन्त्रता मर्दन गरी उसलाई पतिप्रति निष्ठावती बनाउने सांस्कृतिक प्रपञ्च हो, सतीप्रथा। पत्नी सिर्फ पतिप्रति वफादार भइरहून् र पतिको मृत्युपछि पनि परपुरुषसँग शारीरिक सम्पर्क राख्न नसकून् भनेर सतीप्रथा संस्थागत गरिएको हो।’

पुस्तकका अनुसार, सती नपठाइएका विधवालाई राम्रा लुगाफाटा र शृङ्गारपटार गर्न दिइँदैनथ्यो। कपाल खौरिदिएर कुरूप तुल्याइन्थ्यो र त्यस्ताको चाँडै मृत्यु होस् भनी अल्पभोजन र भूशय्यामा राखिन्थ्यो। पुस्तकमा थपिएको छ, ‘पातिव्रत्य अवधारणा नारीको यौन स्वतन्त्रता कुण्ठित गर्न रचिएको सांस्कृतिक षड्यन्त्र हो। यस्तो अवधारणाले नारीलाई देवी भनी फुर्क्याएर उसको घाँटीमा मखमली दाम्लो झुन्ड्याइदिएको छ।’ तर, जनजाति समुदाय विशेष गरी नेवारी समुदायमा सतीगमनका घटना उल्लेखनीय नभएकामा लेखकले सन्तोष मानेका छन्।

सतीप्रथा धनाढ्य अर्थात् राजपुरुषले शुरू
गरे र पछि राजकाजमा संलग्न अन्य सम्पन्न
क्षत्रिय र ब्राह्मणमा फैलियो।
पुस्तकमा सतीप्रथालाई धार्मिक र आर्थिक पाटोमा जोडिएको छ। सतीप्रथा धनाढ्य अर्थात् राजपुरुषले शुरू गरे र पछि राजकाजमा संलग्न अन्य सम्पन्न क्षत्रिय र ब्राह्मणमा फैलियो। पतिको मृत्युपछि पत्नीका नाममा जाने सम्पत्तिदेखि उसका गहनागुरियासम्म हत्याउन परिवारका सदस्यले उसलाई जबर्जस्ती सती पठाइदिने चलन बंगाल, नेपाल लगायत मुलुकमा चल्यो।

सतीघाट, सतीद्वार, सतीढुङ्गा, सतीवन, सतीपीपल आदि ठाउँका नाम, सतीले सरापेको देश आदि लोक आहान र राजा-महाराजाको इतिहासले के देखाउँछन् भने नेपालमा कुनै न कुनै रूपमा यो प्रथा अस्तित्वमा थियो। पुस्तकका अनुसार, मल्लकालमा एक राजाको मृत्यु हुँदा ३३ जना र पृथ्वीनारायण शाहको मृत्यु हुँदा १४ जना स्त्री सती गएका थिए।

सतीप्रथाको विचलनले कुलीन घरानाका दासदासीले समेत बाँच्ने छूट पाएनन्। ऐतिहासिक एवं पुराविद् महेशराज पन्तले इतिहासप्रधान पत्रिका पूर्णिमाको वर्ष १६, अङ्क ३ मा ‘मालिक मर्दा केटी होइन, केटो सती गएको विषयमा’ लेखमा लेखेका छन्, ‘सतीप्रथामा मृतकका विधवा मात्रै नभएर पुरुष सेवकहरू पनि सती जान्थे। पृथ्वीनारायण शाहका पिता नरभूपाल मर्दा रानी सुभद्रावती र एक जना केटा सेवक पनि सती गएका थिए।’ मैनालीले पनि पुस्तकका आठ पाठमध्ये दासदासीप्रति सहानुभूतिशील भई ‘विस्मृतिमा कमारी’ नामको सिङ्गो अध्याय लेखेका छन्।

नेपालमा अभ्यास भएको सतीप्रथाको फेहरिस्त नै छ पुस्तकमा। लिच्छविराजा मानदेवदेखि राणा प्रधानमन्त्री चन्द्रशमशेरको कालसम्म सतीगमनका अनेक घटना समेटिएका छन्। राजा-महाराजाले सतीप्रथालाई कसरी सत्ताप्राप्तिको हतियार बनाए भन्ने विश्लेषण पनि छ। सतीको अर्थ, उद्‌भव, हिन्दू र हिन्दू इतर समाजको गहन विवेचना छ। यसले नारी सती गएका होइनन्, जबर्जस्ती पठाइएका हुन् भन्ने भाष्य निर्माण गर्छ।

पुस्तकका अनुसार, जिउँदै जलाउनुअघि विधवालाई सतीदेवीका रूपमा पुजिन्थ्यो। मलामीहरू उनीसँग आशीर्वाद माग्थे। सतीले श्राप देलिन् भनेर सतर्क हुन्थे। उनको जयजयकार गर्दै अन्त्यमा जलाइदिन्थे। सती रुने र कराउने गर्लिन् भनेर चर्को आवाजमा बाजा बजाइन्थ्यो। लेखक दाइजो, बलात्कार, देउकी, छाउपडी, बोक्सी, बालविवाह, बेचबिखन, भ्रूणहत्या आदिमा पनि सतीको भाव मिसिएको देख्छन्।

पितृसत्ताले नारीमाथि थोपरेका नकारात्मक
असरबारे थप बहसको माग गरेको छ। यो
नारी विषयक अध्ययन भए पनि समग्रमा यो
मानव अधिकारकै एउटा पाटो हो।
पुस्तकले नारी सशक्तीकरण र समानताको वकालत मात्र गरेको छैन, लैङ्गिक सवालमा समाजलाई संवेदनशील हुन झकझकाएको पनि छ। पितृसत्ताले नारीमाथि थोपरेका नकारात्मक असरबारे थप बहसको माग गरेको छ। यो नारी विषयक अध्ययन भए पनि समग्रमा यो मानव अधिकारकै एउटा पाटो हो।

सती-साहित्यको समालोचना गर्ने क्रममा लेखक मैनालीले कृष्ण धरावासीकृत कथा झोला (२०५४) हचुवामा लेखेको र त्यसपछि बनेको सिनेमाले दर्शकलाई दिग्भ्रमित पारेको उल्लेख गरेका छन्। त्यस्तै, उनले हरिराम जोशीको पुस्तक सती-प्रथामा पनि सतीप्रथालाई हार्दिकतापूर्वक लिएको भनी आलोचना गरेका छन्। तर, लेखक स्वयं पनि आलोचनाको घेराभन्दा माथि भने छैनन्।

एक इतिहास अध्येताले इतिहासको एक कुइनेटोको एउटा विषयलाई केन्द्रभागमा ल्याउँदा वैदिक र उत्तरवैदिक साहित्यको त्यान्द्रो समातेर हिन्दू धर्म-संस्कृतिमाथि बौद्धिक धावा बोलिएको भन्ने अर्थ दिन सक्ने जोखिम पनि त्यत्तिकै छ। किनभने, सतीप्रथा नेपाल या भारतको हिन्दू समाजमा मात्र प्रचलित थिएन।

ठ्याक्कै सतीप्रथा नभए पनि त्यससँग मिल्दोजुल्दो चलन संसारका अन्य धर्म र सभ्यतामा पनि थिए। चीन सहित एशिया, यूरोप, ल्याटिन अमेरिका र अफ्रिकामा मृतक पतिका नाममा पत्नी, भोगिनी, दासी आदिलाई मारेर सँगै गाड्ने गरिएका इतिहास भेटिने लेखकले नै उल्लेख गरेका छन्।

नेपाल लगायत देशमा सतीप्रथा त्यस्तो सघन र बाध्यकारी पनि थिएन भन्ने दृष्टान्त हो, लिच्छवि राजा मानदेवले विसं ५२२ मा राखेको चाँगुनारायणको अभिलेख। दक्षिणएशियाली महाद्वीपकै प्राचीन मानिने त्यस अभिलेखमा लिच्छवि राजा धर्मदेवको मृत्युपछि उनकी रानी राज्यवतीलाई छोरा मानदेवले सती जान रोकेको उल्लेख छ। यस अर्थमा सतीगमन रोक्ने शुरूआती पहल मानदेवकै थियो भनी मान्न सकिन्छ।

पुस्तकमा सतीप्रथा कति भग यन्त्रणा हो वा
होइन भन्ने तथ्य चाहिं खासै परेका छैनन्।
यहाँ समाजशास्त्री हुनुको नाताले कतै कतै
सतीप्रथामा भएका नारी दमनमाथि
लेखकीय आवेग पोखिएको छ।
राणा प्रधानमन्त्री जंगबहादुरले १९१० सालमा जारी गरेको मुलुकी ऐनमा ‘सती जान्याको महल’ नै राखेको, वीरशमशेरले ‘सतीप्रथा नियन्त्रण गर्ने १९४४ सालको इस्तिहार’ जारी गरेको र १९७७ सालमा चन्द्रशमशेरले सतीप्रथा उन्मूलन गरेको तथ्य जगजाहेर छ। हुन त राणा शासकहरूलाई त्यसो नगरी धर पनि थिएन। एकातिर सतीप्रथा जस्तो क्रूर र अमानवीय प्रथा जनताले बिस्तारै अस्वीकार गरेको अवस्था थियो भने छिमेकी भारतमा सन् १८६१ मै कानूनद्वारा बन्देज गरिएको थियो।

कतिपय लेखक खोजीबाट आउने नतीजालाई भन्दा पनि पूर्व धारणा बनाएर त्यस अनुरूप सन्दर्भ सामग्री बटुलेर त्यसलाई सिद्ध गर्न खोज्छन्। दमित र शोषित वर्गप्रति सहानुभूति राख्ने क्रममा हिन्दू धर्म-संस्कृतिको कटु आलोचना गर्छन्। लेखक मैनालीले कुन झोकमा हो, ‘भग यन्त्रणा’ जस्तो शीर्षक राख्न पछि परेका छैनन्। पुस्तकमा सतीप्रथा कति भग यन्त्रणा हो वा होइन भन्ने तथ्य चाहिं खासै परेका छैनन्। यहाँ समाजशास्त्री हुनुको नाताले कतै कतै सतीप्रथामा भएका नारी दमनमाथि लेखकीय आवेग पोखिएको छ।

स्वाभाविक रूपमा सतीप्रथाबारे पुस्तकमा रैथानेभन्दा पश्चिमा लेखककै उद्धरण बढी छन्। यसो हुनुको मुख्य कारण, एक त यहाँ इतिहास लेख्ने चलन थिएन, अर्को यहाँ लेख्नैपर्ने गरी सतीप्रथा पनि सम्भवतः थिएन। मैनालीले यस्तो ठेलीको विषय बनाएको विषयमा त्यस वेलाका ऐतिहासिक त परै जाओस्, कवि-लेखकले समेत उल्लेखनीय साहित्य लेखेका छैनन्।

राजा, महाराजा, कुलीन घराना र सैनिक खलकका त्यस्ता घटनामा तत्कालीन लेखकहरू किन संवेदनशील हुन सकेनन्? पाठक मनमा प्रश्न उठ्छ। त्यसैले लेखकले सतीका इतर विचार दिनका लागि ४२ थान किंवदन्ती, अनुश्रुति र अभिलेखको सहारा लिनुपरेको छ।

यति हुँदाहुँदै लेखक मैनालीको सती-साधना अनुकरणीय छ। एउटै विषयमा यति गहन अध्ययन र अनुसन्धान गरी पुस्तक लेख्न निकै धैर्य चाहिन्छ। भाषाशैली अत्यन्त सुकिलो छ। विभिन्न पुस्तक, पत्रपत्रिका, जर्नल, शिलालेख, पत्र, लिखत, सिनेमाका आधारमा इतिहासका तथ्य र समाजका संस्कृतिहरूलाई केलाएर यत्तिको खँदिलो कृति दिने सत्प्रयासका तुलनामा अन्य पक्ष तपसिल हुन्।

सती: इतिहास र मीमांसा
लेखक: सुजित मैनाली
प्रकाशक: किताब पब्लिसर्स
पृष्ठ: ३६८
मूल्य: रु.७००

comments powered by Disqus

रमझम