माघ २०७८ | 15/01/2022

अतिरञ्जित

Share:
  
- नयनराज पन्डे
हरेक दशैंमा बाआमा नातिनातिनालाई आशीर्वाद दिंदै भन्छन्, “तिमीहरू पनि बा जस्तै क्रान्तिकारी बन्नू। क्रान्ति त नगदेबाली हो। भजाउन सजिलो, बेच्न पनि सजिलो।”

चरम अभाव र असुविधाले भरिएको आफ्नो झुपडीलाई ऊ ‘रामझुपडी’ भन्छ। ऊ ठान्छ, चौध वर्षको वनवासको वेला रामहरू यस्तै झुपडीमा बस्थे। नयाँ नेपालमा झुपडी अर्थात् गरीबीको विम्ब फेरिएला र सुखका दिन आउलान् भन्ने उसलाई खूबै आश थियो। त्यही आशमा उसका छोराछोरी ‘प्रचण्डपथ’ मा लागेका थिए।

त्यो पथ राजमार्ग बनेन, बरु अरू अरूले मिच्दै जाँदा झाडीयुक्त गोरेटोमा परिणत भयो। तर, उसलाई ‘पथ’ हराएका प्रचण्डमाथि अझै विश्वास थियो। किनभने, प्रचण्ड वेलावेला तुरुक्क रुन्थे, उसलाई त्यो आँसुको विश्वास लागिहाल्थ्यो। तिनले गरीबीबाट मुक्ति दिलाउँछन् भन्नेमा ऊ ढुक्क थियो।

अस्ति एकाएक उसको विश्वास भत्कियो, जब उसकी जहानले मलिन आवाजमा सुनाइन्, “अब गरीबीको मयलले हामीलाई जिन्दगीभर छाड्नेवाला छैन।”

‘किन र बुढिया?’ उसले प्रश्न गर्‍यो। जहानले अनुहार अँध्यारो पार्दै भनिन्, “समाचार सुनेनौ बुढउ? तिम्रो परचण्डले त आत्मालोचना गर्दै म झुपडीमा जान तयार छु भनिरहेका छन्। उनी आफैं झुपडीमा बस्न चाहन्छन् भने हाम्रो झुपडी कहिले घर बन्छ?’

बुढियाको प्रश्न धेरै बेरसम्म बुढउको आँखामा रहिरह्यो र अझै कति कालसम्म रहिरहने भयो। ठीक त्यसरी नै, जसरी झुपडी हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहनेछ। किनभने, प्रचण्ड ‘झुपडी’ मा बस्न तयार छन्। जनतालाई झुपडीबाट मुक्ति दिलाउने सपना त उनको ‘पथ’ मै उहिल्यै कतै छुटिसक्यो।

जोकर

(मञ्चको मध्य भागमा प्रकाशको वृत्ताकार घेरो बनेको छ। घेरोको बीचमा छन् तीन पात्र अर्थात् तीन खेलाडी।)

पात्र १ : (तास फिट्दै) आउनुस्, अब म्यारिज खेलौं। बाउन्न पत्ती तयार छ।

पात्र २ : खेलौं खेलौं। तर, चुकुल लगाएर खेलौं। अरूले नदेखून्।

पात्र ३ : कति रुपैयाँ पोइन्ट? मालको कति? अल्टरको कति? अगाडि नै फिक्स गरौं।

पात्र १ : पैसाले के खेल्नु? कुर्सीले खेलौं। एक माल बराबर दुई कुर्सी। अल्टर र टनेलाको पाँच कुर्सी।

पात्र २ र ३ : (उत्साहसाथ एकै स्वरमा) म तयार।

पात्र ३ : तर, बाउन्न पत्तीमा तीन पत्ती जोकर पनि एक्स्ट्रा थपौं। जोकर भयो भने खेलमा मजा आउँछ। प्रत्येक जोकरको पाँच कुर्सी।

पात्र २ : आखिर जोकरै न हुन्। थप्नै छ भने तीन किन, ६ वटा जोकर थपौं। खेलमा मजा आउँछ।

पात्र १ : कुरो मनासिब आयो। लु भनौं साथीहरू, कसकसलाई जोकर बनाउने? नाम प्रस्तावित गरौं। म त कांग्रेसी, बीपी र गणेशमानलाई जोकर बनाउने भएँ।

पात्र २ : म त खाँटी एमाले। पुष्पलाल र मदन भण्डारी बाहेक अरूलाई जोकर बनाउन मेरो नैतिकताले दिँदैन।

पात्र ३ : म त जन्मजात माओवादी। त्यसैले जोकर बनाउन मेरो तर्फबाट जनयुद्धका कुनै दुई शहीदका फोटा राखिदिनुस्।

(फटाफट ६ वटा अनुहारका ६ पत्ती जोकर बनाइयो। जोकरहरू तासमा मिसिए। खेल शुरू भयो। बाजी कहिले पात्र १ ले मार्‍यो, कहिले पात्र २ र कहिले ३ ले।)

खेल अहिले पनि जारी छ।

सजिलो

उमेर पुगेपछि उसलाई केही गर्न घरपरिवारबाट दबाब आयो। छरछिमेकसामु पनि केही बनेर देखाउनुपर्ने चुनौती थपियो। उसलाई जहान र बालबच्चाको जीवन शानदार बनाउन राम्रो रोजगारी पनि त चाहिएकै हो। त्यस बाहेक उसलाई प्रसिद्धि पनि चाहिएको थियो।

डाक्टर बन्न विज्ञान पढ्नुपर्ने भएकाले उसले त्यो विचार तत्कालै छाड्यो। पढाइमा खासै रुचि नभएकाले इन्जिनियर, वैज्ञानिक या विश्वविद्यालयको प्राध्यापक बन्न पनि जाँगर चलेन। अलिकति लप्पनछप्पन पनि गर्न सकिने भएकाले वकालतमा उसलाई रुचि थियो। तर, उसको विशाल महत्त्वाकाङ्‌क्षाका सामु त्यो ‘रुचि’ पनि खासै रुचिकर भएन।

व्यापारी बन्ने रहर पनि क्षणभर पलायो। तर, पूँजीको अभाव थियो। विकल्पमा भूमाफिया, जलमाफिया जस्ता कर्म पनि नभएका होइनन्। तर, उसलाई माफियागिरी पनि खासै आकर्षक लागेन। फेरि यी सहज बाटाहरू पनि थिएनन्। उसलाई त सजिलो, आकर्षक र आरामदायक पेशा चाहिएको थियो।

ऊ सोचमग्न भयो। घण्टौं समाज, सरकार र सत्ताको भरपूर विश्लेषण गर्‍यो। अन्ततः सर्टकटमा सफलता हात पर्ने काइदाको पेशा रोज्यो- क्रान्ति।

क्रान्ति उसलाई फाप्यो। अचेल राजधानीमा उसका महलहरू छन्। ऊ र परिवारका सदस्य महँगा गाडीहरूमा शयर गर्छन्। जलविद्युत्मा लगानी गर्छ। भूमाफियाहरूसित साझेदारी गर्छ। सरकार र संसद्को कुर्सीको ठेक्का लिन्छ।

हरेक दशैंमा उसका बाआमा नातिनातिनालाई आशीर्वाद दिंदै भन्छन्, “तिमीहरू पनि बा जस्तै क्रान्तिकारी बन्नू। क्रान्ति त नगदेबाली हो। भजाउन सजिलो, बेच्न पनि सजिलो।”

comments powered by Disqus

रमझम