नेपालमा स्थायी जागीर तथा सुखी परिवार भए पनि आफ्नै घर नहुँदासम्म सामाजिक रूपमा सफल मानिँदैन। सानै भए पनि आफ्नै स्वामित्वको घर भएपछि मात्र बल्ल समाजले उसलाई पूर्ण मान्छ। घरसँग हाम्रो गहिरो लगाव गाँसिएको छ। हाम्रो समाजमा घरले विशेष ठाउँ ओगटेको छ, जुन अन्य चिजले शायदै लिन सक्छ। त्यसैले, जहिले पनि मानिसहरूले घरकै कुरा गरिरहेको सुनिन्छ।
धेरै आर्थिक सूचकहरूमा नेपाल पछाडि परे पनि घरको स्वामित्व दरमा भने उच्च स्थानमै पर्छ। राष्ट्रिय जनगणना २०६८ अनुसार, ८५ प्रतिशत घरपरिवार आफ्नै स्वामित्वको घरमा बस्छन्। अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा हेर्दा अमेरिका, बेलायत र जर्मनी जस्ता देशको तुलनामा नेपालमा धेरै मानिसको आफ्नै स्वामित्वको घर छ।
नेपालभन्दा उच्च घर स्वामित्व दर भएका अधिकांश देशहरू जस्तै सिंगापुर, रसिया लगायतले बलियो ‘सामाजिक आवास कार्यक्रम’ का कारण यो अवस्था बनाउन सक्षम भएका हुन्। धेरै नेपाली परिवारले सरकारको सहयोग विना नै घरको स्वामित्व लिन सक्ने कुरा उल्लेखनीय छ।
विश्वका अन्य ठाउँहरूभन्दा फरक, नेपाली घरपरिवारहरूले सबैभन्दा महत्त्वपूर्ण लगानी क्षेत्रको रूपमा घरको स्वामित्वलाई प्राथमिकता दिएको देखिन्छ। घर स्वामित्व दर उच्च हुँदाहुँदै शहरी क्षेत्रमा जग्गाको माग बढेकाले शहर बाहिरी भागतिर बढ्न थालेको छ। अपार्टमेन्ट तथा हाउजिङका परियोजना बढिरहेका छन्। यति हुँदा पनि हाम्रो घरको चाहना पूरा भएको छैन। धेरैभन्दा धेरै कृषि भूमि र हरिया ठाउँहरू आवासीय प्लटहरूमा परिणत हुने क्रम जारी छ।
यस प्रश्नको सबैभन्दा सरल जवाफ हो- आर्थिक रूपमा नेपालीहरूलाई शहरको छेउमा भए पनि आफ्नै घरको स्वामित्व पाउनु बढी अर्थपूर्ण लाग्छ। धनी देशहरूमा अधिकांश घरहरूले स्वास्थ्य र सुरक्षाको स्तरीय मापदण्ड पालना गर्छन्। तर, नेपाली घरहरूलाई पृथक् र आत्मनिर्भर एकाइका रूपमा लिइन्छ। अर्थात्, जर्मनी जस्ता देशमा पानी र ढल जस्ता आधारभूत विषयमा नियमित पहुँच पुर्याउने कानून छ, नेपालमा भने त्यस्तो कुनै निश्चित निर्देशिका छैन।
बर्लिनको कुनै घरमा पानी र फोहोर विसर्जनमा जति सुविधा छ, छिमेकको अर्को घरमा पनि समान स्तरको पहुँच हुन्छ। तर, नेपालमा अधिकांश घरमा हुने बन्दोबस्तीको कुरा मालिकको छनोटमा भर पर्छ।
अमेरिकामा घरधनीले कमसल सामग्री प्रयोग गरी घर बनाएर भाडावालको जीवनलाई जोखिममा पारेमा घरधनीमाथि मुद्दा चलाउन सकिन्छ। तर, नेपालमा त्यो अवस्थामा कुनै कारबाही हुँदैन। तपाईं घर मालिक हुनुहुन्छ भने आफ्नो महलको राजा बन्नुहुन्छ, भाडामा बस्ने व्यक्ति हुनुहुन्छ भने घरधनीको इच्छा र दयामा निर्भर हुनुहुनेछ।
नेपाल जस्तो कम लगानी अवसरहरू भएको देशमा घरले दीर्घकालीन आम्दानीको स्रोतका रूपमा पनि काम गर्छ। शहरी क्षेत्रमा तपाईं आफ्नो स्वामित्वको घरमा हुनुहुन्छ भने कोठा भाडामा दिएर आम्दानी गर्न सक्नुहुन्छ। यी फाइदा बाहेक पनि नेपाली संस्कृतिले घरको स्वामित्वमा जोड दिने प्रवृत्तिलाई प्रोत्साहन गर्छ। उदाहरणका लागि चाडपर्व र अन्य अवसरमा पनि परिवार सदस्य, आफन्तजन भेला भएर एकसाथ खाने र रमाउने चलन छ।
इतिहासको कुनै पनि बिन्दुमा घर आश्रयको ठाउँ मात्र थिएन। विश्वभरका पुरातात्त्विक अवशेषहरूमा हामी देख्न सक्छौं, कसरी प्राचीन मानव बस्तीहरू पनि सावधानीपूर्वक र विशेष हेरचाह गरेर निर्माण गरिएका थिए। लास्को गुफा (फ्रान्स)का प्राचीन गुफा-चित्रहरूदेखि नै मानिसहरूले आफ्नो इच्छा अनुसार आफ्नो भौतिक वातावरणलाई सजाउँदै र स्याहार्दै आएको पाइन्छ। त्यसयता विज्ञानको जतिसुकै विकास भए पनि र गुफाहरूको तुलनामा घर बलियो भए पनि आश्रयलाई आरामको ठाउँबाट अर्थपूर्ण ठाउँ बनाउने मानव इच्छा परिवर्तन भएको छैन।
घर हामीले सबैभन्दा धेरै समय बिताउने ठाउँ हो। जसका कारण त्यहाँ हाम्रा केही प्रगाढ सम्झनाहरू बन्छन्। घर हाम्रो आफ्नै स्वरूपको विस्तारित रूप हो, अर्थात् यसलाई कसरी प्रस्तुत गरिन्छ, यो कस्तो देखिन्छ तथा हामी कस्तो सोच्छौं, व्यवहार गर्छौं भन्ने सबै कुरा घरमै झल्किन्छ। यस अवस्थामा यो विस्तारित रूपलाई हामी स्थायी रूपमा प्राप्त गर्न चाहन्छौं र आफूलाई अझ बढी स्वतन्त्रता दिन्छौं। खासमा घर त्यो हो जहाँ हाम्रो मन बस्छ। आफ्नो मनको स्वामित्व कसले नचाहला र?