जेठ २०७९ | 15/05/2022

पिकासोले भन्नुभयो– मलाई त अटोग्राफ दिन नै आउँदैन

Share:
  
- उर्मिला उपाध्याय गर्ग
“महेन्द्र सरकार प्रदर्शनीमा आउनुभएपछि उहाँले ‘तिम्रो पेन्टिङमा मैले गौतम बुद्धको पहेंलो र पशुपतिनाथको रातो देखें’ भन्नुभयो। त्यो शब्द बीपीबाटै प्रेरित भएर भन्नुभएको हो कि जस्तो लाग्छ।”

उर्मिला उपाध्याय गर्ग।
तस्वीरहरू तथा भिडिओ: मोनिका देउपाला/हिमालखबर


ललितपुरको झम्सीखेल-धोबीघाट मूल सडकछेउमा अवस्थित छ नेपाल सिर्जनात्मक कला गुठी, जसलाई चार दशकभन्दा बढी समयदेखि उर्मिला उपाध्याय गर्गले सञ्चालन गर्दै आएकी छन्। आफ्ना कलाद्वारा राजा महेन्द्र, बीपी कोइरालादेखि देश-विदेशका कला मर्मज्ञलाई प्रभावित पार्दै आएकी गर्ग पछिल्लो समय लगभग गुमनाम जीवन बाँचिरहेकी छन्। उनको चित्रकारिताको शैली र आयामबारे निबन्धकार शंकर लामिछानेले सिङ्गै निबन्धमा सविस्तार चर्चा गरेका छन्, जुन गोधूलि संसार (२०२७ साल) सङ्ग्रहमा प्रकाशित छ।

भारतीय मूलका गणितज्ञ प्राध्यापक कृष्णमुरारि गर्गसँग सन्तान नजन्माउने शर्तमा विवाह गरेकी उनी पति गर्गको गत फेब्रुअरी ३ मा निधन भएपछि पारिवारिक रूपमा त एक्लिएकी छिन्, तर असहाय महिलाहरूलाई सीप सिकाएर स्वावलम्बन बनाउने अभियानमा निरन्तर सक्रिय छिन्। अशोका फेलो समेत रहेकी गर्गसँग उनको कलाकर्म र जीवनयात्रामा केन्द्रित रहेर शेखर खरेलले गरेको संवादः


तपाईंको बाल्यकालबाटै कुरा शुरू गरौं, तपाईं महाराष्ट्र (भारत) को वार्धास्थित महात्मा गान्धी आश्रम कसरी पुग्नुभयो?

मेरा जिजुबुबा बनारस निर्वासनमा हुनुहुन्थ्यो। मेरो जन्म जनकपुरमा भएको हो। म एक वर्षकी हुँदा जिजुबुबाले मलाई हेर्ने इच्छा गरेपछि बुबाआमाले बनारस लैजानुभएको रहेछ। केही वर्ष त्यतै रहेर काठमाडौं फर्किएपछि मलाई चार कक्षामा भर्ना गरियो। एक वर्षमा मैले तीन विद्यालय फेरेको थिएँ।

एकदिन तुलसीमेहर श्रेष्ठले भारतमा गान्धी स्कूल रहेको र त्यहाँ भर्ना गर्न सकिने बताएपछि बाबा मख्ख पर्नुभएछ। सन् १९४८ मा तुलसीमेहरजीले हामी साना केटाकेटीलाई वार्धा लैजानुभयो। महात्मा गान्धीको हत्या भएको केही महीनापछि मात्र हामी गान्धी आश्रम पुगेका थियौं।

तपाईंको जीवनकै ‘टर्निङ पोइन्ट’ सावित भएको नेपालको एकल चित्रकला प्रदर्शनीको पृष्ठभूमिबारे बताइदिनुहोस न।

मैले नेपालभन्दा पहिला भारतमा चित्र प्रदर्शनी गरिसकेकी थिएँ। बम्बईमा सर जेजे स्कूल अफ आर्टमा पढ्दै गर्दा डिप्लोमाको अन्तिम वर्ष प्रदर्शनी गरेकी थिएँ। त्यहाँ पाँच वर्ष पढेपछि म नेपाल आएँ। मेरो हृदयमा अनेक भावना थिए। कला पढ्न फ्रान्सको पेरिस जाने सोच पनि थियो। तर, हातमा पैसा थिएन। बाबालाई दुःख दिन पनि चाहन्नथें। के गरूँ भनेर सोच्दै गर्दा बम्बईको प्रदर्शनीलाई यहाँ किन नदोहोर्‍याउने भन्ने विचार आयो। यहाँ ४-६ महीना काम गरेर एकल प्रदर्शनी गरें।

त्यो प्रदर्शनीको उद्घाटन तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाबाट भएको थियो। त्यो तारतम्य कसरी मिल्यो त?

मेरा बाबा रत्नमणि उपाध्याय गुलाफको राजा! बीपीलाई फूल पठाइरहनुहुन्थ्यो। म पनि बीपीकहाँ कहिलेकाहीं जान्थें। उहाँ मेरो पेन्टिङ मन पराउनुहुन्थ्यो। मेरा मामा नन्दप्रसाद भट्टराईले बीपीको हातबाट प्रदर्शनी उद्घाटन गराउने सल्लाह दिनुभएपछि हामीले उहाँलाई अनुरोध गर्‍यौं।

उद्घाटनमा तपाईंका पेन्टिङहरू हेरेपछि बीपीको प्रतिक्रिया कस्तो रह्यो?

बीपीलाई मेरो पेन्टिङ पहिले पनि मन पथ्र्यो। उहाँले मेरो पेन्टिङ हेरिसकेपछि भारतीय राजदूतसँग चिया खाँदा ‘यसको पेन्टिङमा गजबको रातो छ’ भन्नुभएको सुनें। अर्को दिन महेन्द्र सरकार प्रदर्शनीमा आउनुभएपछि उहाँले त्यसै गरी ‘तिम्रो पेन्टिङमा मैले गौतम बुद्धको पहेंलो र पशुपतिनाथको रातो देखें’ भन्नुभयो। त्यो शब्द बीपीबाटै प्रेरित भएर भन्नुभएको हो कि जस्तो लाग्छ।

कला सिक्न पेरिस नै जाने विचार चाहिं कसरी आयो?

मेरा फुपाजु नारायणप्रसाद बाँस्कोटाले प्रगति पत्रिका निकाल्नुहुन्थ्यो। त्यसको एउटा अङ्कमा लैनसिंह बाङ्देलको लेख थियो। त्यो पढेपछि कलाकारको धाम त पेरिसै रहेछ भन्ने लाग्यो। बाङ्देलको लेखबाट प्रेरणा त पाएँ, तर त्यो बाटोमा जान धेरै सङ्घर्ष गर्नुपर्ने थियो।

तपाईं पेरिस छात्रवृत्ति अन्तर्गत जानुभएको होइन र?

होइन, आफ्नै पैसाले गएकी थिएँ। मेरा बाबा शिक्षक हुनुहुन्थ्यो। मेरा बाजे-बराजु त झन् बनारसमा निर्वासनमा बसेका। त्यस्ताका छोरीले सधैं बाबुलाई यहाँ र त्यहाँ पठाइदेऊ भन्दा नरमाइलो लाग्छ नि ! तर, मलाई समयले कस्तो साथ दियो भने, मैले पेन्टिङ प्रदर्शनी गरें। महेन्द्र सरकारले मेरा सबै पेन्टिङ किनिदिनुभयो। अनि पेरिस जाने थाहा पाएर दर्शनभेटमा ‘म तिमीलाई नेपाली पैसा दिन्नँ, फ्रेन्च फ्राङ्क दिन्छु’ भन्नुभयो।

पेरिस कहिले जानुभयो र त्यहाँ पुग्नासाथ के गर्नुभयो?

सन् १९६२ मा पेरिस गएँ। गान्धी आश्रममा पढेकी हुनाले रेशम खेती के हो भन्ने कुराको अलि अलि ज्ञान थियो। पेरिसमा पढाइ शुरू गर्नुअघि अरू शहर पनि घुमे राम्रो हुन्छ भनेर लियो पुगें। त्यहाँ देकार्त भन्ने फ्रेन्च बुनकरको म्यूजियम रहेछ। हामी नेपालमा ढाकाको बुनाइ गर्छौं। उहाँले क्षणमै बुन्न सक्ने ज्याक्स सिस्टम आविष्कार गर्नुभएको रहेछ।

पेरिसमा ६ महीना पढेपछि बल्ल फाइन आर्ट कलेजमा जान योग्य भएँ भन्ने लाग्यो। ‘इकोल दे’ बोजार्ट’ (ललितकला स्कूल) मा भर्ना भएँ। मैले बम्बईमा फाइन आर्टमा डिप्लोमा गरिसकेकी थिएँ। त्यसैले टेबलमा बसेर ड्रइङ गर्न मात्र मन भएन। मेरो पृष्ठभूमि पनि अर्कै किसिमको, गान्धीवादी। ठाउँ ठाउँमा गएर समाज सेवा गरेको। अर्थोक पनि केही सिकेर गए भने राम्रो हुन्छ भन्ने लागेर ‘इचिङ’ सिक्ने निधो गरें। किनकि, एउटै प्लेट बनाउँदा पनि त्यसबाट तीस कपी निकाल्न सकिन्थ्यो। त्यो सिकाउने एउटा ‘एतेंलिय’ (वर्कशप) थियो, जसलाई विलियम हेटर भन्ने व्यक्तिले चलाएका थिए।

उनले मलाई दोस्रो वाक्यमै भने, ‘म परिपक्व मान्छेलाई मात्र लिन्छु, अपरिपक्वलाई लिन्नँ।’ त्यो सुनेर मलाई जलन भयो र उनलाई जवाफ दिएँ, ‘जो मान्छे सात समुद्र पार गरेर आउँछ, त्यो अपरिपक्व त हुँदैन होला। अपरिपक्व कलामा होला, तर जीवनमा त हुँदैन होला।’ त्यो सुनेपछि उनले ‘तिमी त भयानक बच्ची रहिछौ, परिपक्वता त तिमीले पो मलाई सिकाइरहेकी छौ। अरूसँग त म पैसा लिन्छु, तर तिमी जति समय सिक्छौ सित्तैमा सिकाउँछु’ भने। त्यहाँ मैले चार वर्ष कला सिकें। मैले बनाएका इचिङहरू पेरिसको म्यूजियम अफ मोडर्न आर्ट, लन्डनको भिक्टोरिया म्यूजियम, सिकागोको म्यूजियममा बेच्न सकें।

तपाईं पेरिसमा रहनुभएको सन् ६० को दशक पाब्लो पिकासो, साल्भादोर डाली, जर्ज ब्राक लगायत आधुनिक कलाका महानतम् कलाकारहरू सक्रिय रहेको समय थियो। त्यस वेला कस्ता कलाकारसँग भेट तथा सहकार्य भयो?

मैले जेजे स्कूल अफ आर्टमा पढ्दाखेरि नै फ्रेन्च सिकेकीले फ्रान्सबाट नेपालमा हुने उच्चस्तरीय भ्रमणलाई सघाउनुपर्ने हुन्थ्यो। यस्तैमा नेपाललाई असाध्यै माया गर्ने जर्ज लब्रेक भन्ने फ्रान्सेलीलाई मैले गाइड गरेर घुमाएकी थिएँ। एकपल्ट मदाम मोनो भन्ने महिला आउनुभयो। उहाँसँग पेरिसमा भेट भयो।

एक दिन उहाँलाई पिकासोको प्रदर्शनीको निम्तो आएको देखें। ६-७ सय फ्राङ्क जम्मा पारेर पिकासोको किताब किनें, साइन गराउन। प्रदर्शनीमा पुगेर अटोग्राफ माग्दा पिकासोले ‘मलाई त अटोग्राफ दिन नै आउँदैन’ भन्नुभयो। त्यो सुन्दा कम्ती नरमाइलो लागेन। त्यस वेलादेखि आजसम्म मैले कसैको दस्तखत लिएकी छैन।

प्राध्यापक कृष्णमुरारि गर्गसँग चाहिं कसरी भेट भयो?

मेरो अति नै मिल्ने भारतीय गणितज्ञ साथी थियो, जयदेव। मेरा मामा पनि गणितज्ञ भएकाले गणितज्ञहरूको समूहमा म निकै घुम्ने गर्थें। त्यस वेला जयदेवले मलाई गर्गसँग परिचय गरायो। मैले एकपल्ट गर्गले सिफनको साडी किनेको देखें। मान्छेको कल्पना न हो, उसले यस्तो महँगो साडी अवश्य पनि आफ्नी श्रीमतीलाई किनिदिएको हुनुपर्छ भन्ठानें। जयदेव सधैं मलाई गर्गसँग भेट गराइरहन्थ्यो। म चाहिं यो मान्छे किन मलाई बार-बार एउटा विवाहित मान्छेलाई भेटाइरहन्छ भन्ने सोच्थें। त्यसैले मैले कहिल्यै पनि गर्गलाई ‘लिफ्ट’ दिइनँ।

एक दिन जयदेवले ‘तिमीलाई एउटा प्रस्ताव लिएर आएको छु, गर्गले तिमीलाई मन पराउनुहुन्छ’ भन्यो। यसको उत्तर त फ्याट्ट दिन भएन, तर मनमनै चाहिं ‘कस्तो मान्छे होला जयदेव, एउटा विवाहित मान्छेले मन पराएको छ पो भन्छ’ भन्थें। तीन-चार महीनापछि जयदेवले फेरि भनेपछि मैले ‘म नेपालमा सिकर्मीसँग विवाह गर्ने मान्छे हुँ, बाहिरको मान्छेले मन परायो भनेर त्यतातिर जान्नँ’ भनिदिएँ। उसले ‘तिमीलाई गर्गले विवाहकै लागि प्रस्ताव गरेको छ, म चाहिं माग्न आएको’ भनेर जिस्क्यायो।

मैले ‘जयदेव, तिमी कति तल गिरेको मान्छे रहेछौ, एउटा विवाहित मान्छेले मन पराउँछ भनेर भन्न आउने’ भनेर रिसाएँ। उसले डा. गर्गको विवाह नभएको स्पष्ट पार्‍यो। यसरी चार-पाँच महीना बिते। एक दिन गर्ग स्वयंले मसँग विवाह गर्न चाहेको, र आफू विवाहित नभएको बताउनुभयो। मैले आफू सामाजिक रूपले बाँधिएकी र धेरै जनासँग सोधसाध गर्नुपर्ने बताएँ। मेरा सबै साथीभाइ उहाँलाई मन पराउँथे। मैले पनि सोधसाध गरें र विवाहको प्रस्ताव स्विकारें।

तपाईंले विवाहपूर्व उहाँसँग दुई वटा शर्त राखेको कुरा मलाई धेरै अघिको भेटमा बताउनुभएको थियो, होइन?

हो नि ! म मेरै देश, त्यसमा पनि गान्धी सेन्टरमा काम गर्न चाहन्थें। र, बच्चा जन्माउन चाहँदिनथें। त्यो सुनेर उहाँले हाँस्दै ‘विवाहमा पनि शर्त राखिन्छ र’ भन्नुभयो। तर, मान्नुभयो।

विवाह भएपछि नेपाल फर्किहाल्नुभयो?

फर्किनँ। एउटा विचार लिएर हिंडेको मान्छे त्यसै कहाँ फर्किनु? एकल प्रदर्शनी नगरी पेरिस छाड्दिनँ भन्ने मेरो प्रण थियो। नभन्दै मलाई पेरिसको एउटा ग्यालरीले वाल पेन्टिङको प्रस्ताव गर्‍यो। त्यस वेला म पतिसँग उहाँको मस्कोको एउटा कार्यक्रममा जान तयार भएकी थिएँ। यस्तो प्रस्ताव आउँदा उहाँले तिमी मस्को गए त राम्रो हुन्थ्यो, तर ठीक छ भन्नुभयो। त्यसैले मैले उहाँलाई ऋषिको स्वभाव भएको मान्छे भन्ने गरेकी हुँ। नौ महीना पेरिस बसेर प्रदर्शनी गरें।

त्यसपछि मलाई क्यानाडा जानुपर्छ भन्ने लाग्यो, किनकि पेरिस आउनुअघि गर्ग क्यानाडामा पढाउनुहुन्थ्यो। मैले उहाँलाई पढाउन फेरि क्यानाडा फर्किनुस् भनेपछि मस्कोबाट फर्किएको हप्तादिनपछि नै क्यानाडा जानुभयो। त्यहाँ डेढ वर्ष उहाँसँगै रहें।

नेपाल १९६९ मा फर्किएँ। सीधै नेपालभन्दा पनि तीन-चार देश हुँदै फर्किने टिकट बनाएँ। मलाई लाग्यो, मेरा गुरुहरूले जुन प्रेम दिनुभयो, जसले गर्दा म यहाँसम्म आउन पाएँ, त्यसैले उहाँहरूलाई एक चोटि प्रणाम नगरी म फर्किन्नँ। पहिले हङकङ गएँ, त्यहाँ मोतीको काम सिकें। कलकत्तामा शान्ति निकेतन पुगेर पेन्टिङको गुरुलाई भेटें। त्यसपछि बम्बईमा जेजे स्कूल अफ आर्टका गुरूहरूलाई भेटें र काठमाडौं आएँ।

काठमाडौंमा कला गुठी कसरी शुरू गर्नुभयो?

काठमाडौं फर्किएपछि पहिले त म गान्धी आश्रममै संलग्न थिएँ, कला गुठी खुलिसकेको थिएन। त्यस वेला तुलसीमेहर श्रेष्ठ जीवितै हुनुहुन्थ्यो। उहाँका सोह्रै जना बहिनीमध्ये तुलसीमेहर दाइलाई धेरै साथ दिने चाहिं म हुन्छु होला भन्ने सोचेकी थिएँ। त्यसैले जहाँ जहाँ पुगें, आश्रमलाई चाहिने कुरा सिक्दै गएकी थिएँ। त्यस वेला आश्रममा देशका विभिन्न भागबाट आएका सय जना महिला थिए। कसैका श्रीमान् शराबी, कुनैका मरेका, थरी थरी समस्या भएका।

मैले आश्रममा बसेर वर्षौं सिकाएँ। आफ्नै स्रोतले सिकाएँ, घरबाट पकाएर लगेको रोटी र तिलको छोप दिदीबहिनीलाई खुवाएँ। मलाई के कुरा आवश्यक पर्छ, आश्रमले कहिल्यै सोधेन। मातृका बाबु (मातृकाप्रसाद कोइराला) ले एक दिन मलाई ‘तपाईंलाई म गुठियार बनाउँछु’ भन्नुभयो। मैले उहाँलाई भनें, ‘मलाई गुठियार बन्न कुनै शौख छैन। म सात समुद्रपारदेखि आफ्नो श्रीमान्लाई छाडेर मद्दत गर्न यहाँ आएँ, यहाँ काम मात्र गर्छु।’ मेरो कुरा सुनेपछि उहाँ मसँग धुमधाम रिसाउनुभयो र दुई वर्षसम्म बोल्नुभएन।

मातृका बाबुले उर्मिलालाई मानभवनमा १३ रोपनी जग्गा दिने र उसले त्यहाँ काम गर्ने भनेर बोर्डबाट पास गरिदिनुभयो। म आश्रममै काम गर्न चाहन्थें। त्यहाँबाट धकेलिएपछि मैले बाबालाई ‘मलाई कोठा दिनुहोस्, यहीं काम गर्छु’ भनें। उहाँले ‘तिमीलाई त संसारै दिएको छु, कोठा मात्र के’ भन्नुभयो। त्यसपछि हामीलाई यो (सिर्जनात्मक कला गुठी) दर्ता गर्नुपर्छ भन्ने लाग्यो। सन् १९७७ तिरको कुरा होला यो।

बहुदलीय व्यवस्था पुनःस्थापनापछिको पहिलो राष्ट्रिय सभामा तपाईं मनोनीत हुनुभएको थियो। त्यो प्रस्ताव कसरी आएको थियो?

वीरेन्द्र सरकारले मलाई दर्शनभेट दिनुभएको थियो। उहाँले राष्ट्रिय सभा सदस्य बन्न प्रस्ताव गर्नुभयो। मैले भनें, ‘सरकार, मैले कपडा बुन्न, माटोको भाँडो बनाउन जानेकी छु, राजनीति भनेको त पटक्कै थाहा छैन। त्यसैले म उपयुक्त व्यक्ति हुन सक्दिनँ होला।’ मेरो कुरा सुनेर हुकुम भयो, ‘होइन, यसमा त म यस्ता व्यक्तिहरू राख्न चाहन्छु, जसका भिन्न विचार छन्।’

वीरेन्द्र सरकारलाई मैले पेरिसमा पनि भेटेकी थिएँ। सरकारको कलामा रुचि थियो, चित्र कोर्नुहुन्थ्यो। सरकार बेलायतमा पढ्दै गर्दा जर्ज लब्रेकको फार्म हाउसमा आउनुभएको थियो। त्यस वेला मलाई पनि लब्रेकले बोलाउनुभएको थियो।

कांग्रेसका नेताहरूसँग चाहिं तपाईंको कस्तो सम्बन्ध रह्यो?

उनीहरूसँग त जन्मदेखिको सम्बन्ध भने पनि हुन्छ। मेरा बाबा कांग्रेसको भक्त नै हो। बीपी यहाँ (कला गुठी) धेरै पटक आउनुभयो। हाम्रो घरभन्दा उता एकजना राणाको घर थियो, उहाँ सीआईडी हुनुहुँदो रहेछ। बीपी भन्नुहुन्थ्यो, ‘ल म आएँ, अब त्यहाँ रेकर्ड हुन्छ उर्मिला।’ बीपीले जेलबाट पनि मलाई सन्देश पठाउनुहुन्थ्यो। मसँग बीपीका ३६ वटा चिठी थिए। दुःखको कुरा, जुन कुरा मलाई जरुरत छैन, म फुत्त अरूलाई दिइहाल्ने। अहिले मसँग एउटा पनि चिठी छैन।

राजा महेन्द्रदेखि बीपी, गणेशमान आदिसम्मको सान्निध्यमा रहनुभयो। अहिलेको राजनीति देख्दा कस्तो लाग्छ?

२५/३० वर्ष पहिले मन्त्रालयमा कसरी काम हुन्थ्यो, अहिले कति घूस दिनुपर्छ, के के गर्नुपर्छ भनेर देख्दा अरब-खरबकै फरक लाग्छ।

अबको योजना के छ?

तुलसीमेहरजीले घाटमा बसेर गरीबहरूका लागि जस्तो गर्नुभयो, त्यसलाई एकदमै बढाउने इच्छा छ। राम्रो ठाउँ त उहाँले स्थापना गरेको महिला आश्रम नै हो। तर, काँडाघारी (काठमाडौं) का सबै धनाढ्यले आज त्यसैमा आँखा लगाइरहेका छन्।

कुन दिन यी महिलाहरू जालान् र त्यहाँ हामी बिलियार्ड र अपार्टमेन्ट बनाऔंला भन्ने सपना देखिरहेका छन्। गान्धी आश्रममा जुन कुरा मैले सिकेर आएँ, त्यो मैले कला गुठीमा गरें। तर, यहाँ मैले अझै धेरै गर्नु छ। किनकि, सफल हुन नसकेको मान्छेले बाँचुन्जेल निरन्तर गरिरहनुपर्छ।

comments powered by Disqus

रमझम