जेठ २०७९ | 15/05/2022

फिल्म साउथएशिया: दक्षिणएशिया हेर्ने ऐना

Share:
  
- रघु पन्त
दक्षिणएशियाली जनताका आकाङ्क्षा र समस्या नजिकबाट बुझने अवसर दिँदै आएको फिल्म साउथएशियाले काठमाडौंलाई अन्तर्राष्ट्रिय वृत्तचित्र निर्माताहरूको विचार–विमर्शको मञ्च बनाउँदै छ ।

फिल्म साउथएशिया-२०२२ मा पुरस्कृत वृत्तचित्रका निर्देशक र निर्णायक
फिल्म साउथएशिया

द ब्रोक्पा ट्रेल हेरिरहँदा मैले हाम्रा शेर्पा र लामाहरू जो याक पाल्छन् र हिमाल मुन्तिर जीवन बिताउँछन्, तिनलाई सम्झ्रिहें । भारतका हिमाल छेउछाउ र उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने जातिहरूको कथा हो यो– जाडो बढेसँगै चौंरी गाई लिएर बेंसी झ्र्नु र गर्मी चढेसँगै उकालो लाग्नु अर्थात् प्रकृतिको गतिसँगै आफ्नो जीवन चलाउनु ।

‘अब हामी नै यसरी चौंरी पाल्ने अन्तिम पिढी होऔंला,’ वृत्तचित्रमा ब्रोक्पाहरू भन्छन्, ‘बालबच्चा पढ्दै छन् । तिनले हामीले जसरी दुःख गरेर चौंरी (याक) पाल्लान् भन्ने लाग्दैन । चौंरीको चीज र छुर्पीको व्यापारले धेरै आम्दानी पनि हुँदैन । शायद हाम्रा सन्तानले पढेपछि अर्कै काम रोज्लान्, जीविकाका लागि ।’

मलाई उनीहरूले नेपालकै हिमाली भेगको पीडा बोलिरहे झैं लाग्यो । हाम्रा चौंरीपालक पनि घट्दै छन् । जलवायु परिवर्तनको बढी असर यही भेगमा छ । घट्दो हिउँ, घट्दो चरन क्षेत्रसँगै स्थानीय जीवन झ्न् कठिन बन्दै छ । चौंरीपालन व्यवसाय आकर्षक र नाफामूलक नरहे यससँग जोडिएको एउटा जीवनशैली र संस्कृति हराउन बेर छैन ।

शहर र शहरी जीवनको आकर्षण चर्काे छ । यसै कारण पहाड र हिमालमा जनसङ्ख्या घट्दो छ ।

फिल्म साउथएशियाः २०२२ मा मैले आठ वटा वृत्तचित्र हेरें । फिल्म र वृत्तचित्र हेर्नुका आनन्द फरक फरक हुन्छन् । दक्षिण भारतीय सिनेमाको डाङडुङ मन पराउनेलाई वृत्तचित्र मन नपर्न सक्छ वा मन पर्न पनि सक्छ । किनभने, यसपल्ट पनि फिल्म साउथएशियामा अत्यधिक दर्शक युवा थिए । बरु कमी थियो त सिनेमा क्षेत्रकै व्यक्तिहरूको । कथानक चलचित्र वा सिनेमाले वृत्तचित्रलाई प्रभाव पार्छ र वृत्तचित्रले पनि सिनेमा निर्माणमा प्रभाव पार्छ भन्ने मलाई लाग्छ । त्यसैले सिनेमा निर्माणमा संलग्न निर्माता, निर्देशक, कलाकार र प्राविधिकले पनि वृत्तचित्रबाट सिक्ने कुरा धेरै हुन सक्छन् ।

फिल्म साउथएशियामा हाम्रो बौद्धिक र सांस्कृतिक क्षेत्रको पनि त्यति चासो र उपस्थिति देखिएन । यो बेवास्ता हो या सांस्कृतिक–बौद्धिक दरिद्रता, म भन्न सक्दिनँ । तर, बौद्धिक र सांस्कृतिक क्षेत्रले यस्तो विषयमा चासो दिनुपर्छ, उपस्थिति देखाउनुपर्छ ।

महोत्सवमा दक्षिणएशियाका नेपाल, भारत, पाकिस्तान, बाङ्लादेश, श्रीलंका र अफगानिस्तानका साथै म्यानमार र क्यानडाको समेत सहभागिता थियो । म्यानमार र क्यानडाका एउटा–एउटा वृत्तचित्र देखाइएका थिए । तीन हजार पाँच सय वृत्तचित्रबाट छानेर ७१ वटा प्रदर्शन गरिएका थिए । विशाल देश रहेको र बढी सङ्ख्यामा वृत्तचित्र बन्ने भएकाले होला, भारतको सङ्ख्यात्मक प्रतिनिधित्व बढी थियो । माल्दिभ्स र भुटानबाट भने एउटै वृत्तचित्र सहभागी गराइएन ।

शटअप सोना (भारत), हाइवेज लाइफ (भारत), माई चाइल्डहुड माई कन्ट्री– ट्वेन्टी इयर्स इन अफगानिस्तान (अफगानिस्तान), द सिटी द्याट स्पोक टु मी (भारत), घरका पता (भारत), द ब्रोक्पा ट्रेल (भारत), बोर्डरल्यान्ड्स (भारत), द कास्टलेस कलेक्टिभ (भारत) मैले हेरेका वृत्तचित्र हुन् । पाकिस्तानी, बाङ्लादेशी र श्रीलंकन वृत्तचित्र मन भएर पनि हेर्न भ्याइएन । केही नेपाली वृत्तचित्र भने पहिल्यै हेरिसकेको थिएँ ।

यी वृत्तचित्र हेर्दा राज्य र जनताको द्वन्द्व, मान्छेले स्वाभाविक रूपमा व्यक्त गर्ने मानवीयता, दुःख–पीडा, आशा र आकाङ्क्षाले हामीलाई नयाँ नयाँ यथार्थ र समस्याहरूको बोध गराउँछन् । दक्षिणएशियालाई हेर्ने ऐना जस्ता छन् यी वृत्तचित्र ।

मलाई बोर्डरल्यान्ड्स भन्ने वृत्तचित्रले पनि छोयो । बाङ्लादेशबाट विवाह गरेर भारत आएकी महिलाको घर ठ्याक्कै सीमाछेउमा छ । माइती देश र आफ्नो घर भएको जमीनको बीचमा तेर्सिएको छ, सिमाना छुट्याउन लगाइएको अग्लो काँडेतार । वेलावेला दुवैतिरका मान्छे यही काँडेतारको वारिपारि जम्मा हुन्छन् र चिच्याई–चिच्याई आफन्तको हालखबर सोध्छन् । उताकाले लामो लौरोको टुप्पोमा एक–दुई जोर कपडा झुन्ड्याएर यताकी छोरीलाई दिन्छन् भने छोरीले पनि उसै गरी एक–दुई किलो सुन्तला पोको पारेर उताकालाई पठाउँछिन् ।

राज्यले काँडेतारको बार लगाएर सिमाना छुट्याए पनि मन, भावना, स्नेह र सद्भावहरू छुट्टिएका छैनन् । बोर्डरमा रहेका सैनिक र प्रहरीको रेखदेखमा वेलावेलामा हुने यस्तो देखादेखको भेटघाट नै उनीहरूको आफन्त मिलनको अवसर हो ।

दक्षिणएशियाली जनता र तिनका छटपटी, व्यथा, आशा, आकाङ्क्षा र समस्या नजिकबाट यथार्थपरक रूपमा बुझने अपूर्व अवसर हो फिल्म साउथएशियाको जमघट ।

नेपालको ‘सफ्ट पावर’

हेर्दाहेर्दै पच्चीस वर्ष बितेछन् । कोभिडका कारण अघिल्लो संस्करणको महोत्सव हुन सकेको थिएन । यसपल्टको आयोजनासँगै यो महोत्सवले रजत जयन्ती मनायो । पच्चीस वर्षदेखि यसलाई निरन्तरता दिइरहन सक्नु आफैंमा उल्लेख्य सफलता हो । फिल्म साउथएशियाकाठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को आयोजनाले नेपाललाई संसारका वृत्तचित्र निर्माता र निर्देशकको जमघटस्थलका रूपमा परिणत गरिरहेको छ । काठमाडौंले बिस्तारै विभिन्न देशका वृत्तचित्र निर्माताको ध्यान तानिरहेको छ । यो उनीहरूको विचार विमर्शको मञ्चका रूपमा विकास हुने सम्भावना देखिँदै छ । यसका लागि फिल्म साउथएशियाका अध्यक्ष कनक दीक्षित र किम्फका अध्यक्ष वसन्त थापाहरूको प्रयास र खटाइ मात्र पर्याप्त हुँदैन, सरकारले नै आर्थिक, भौतिक र प्रशासनिक रूपमा बलियो गरी काँध थाप्नुपर्छ ।

नेपाल दक्षिणएशियाको राजधानी अर्थात् दक्षिणएशियाली सहयोग सङ्गठन सार्कको सचिवालय रहेको देश हो । भारत यो सङ्गठनलाई निष्क्रिय पारेर सुषुप्त अवस्थामा पुर्‍याउन र बिमस्टेकलाई अघि बढाउन चाहन्छ । नेपाल भने सार्क सचिवालय काठमाडौंमा रहेको कुरा बिर्सेर, हाल आफैं सार्कको अध्यक्ष रहेको तथ्यलाई बेवास्ता गरी उँघिरहेछ । काठमाडौंलाई दक्षिणएशियाको राजधानी बनाउन सकिएला/नसकिएला, तर विचार विमर्शको थलो बनाउने सम्भावना छ ।

प्रेस स्वतन्त्रता, शान्ति, सहिष्णुता र छलफलको वातावरण यति वेला जति नेपालमा छ, त्यति दक्षिणएशियाका कुनै देशमा छैन । भारतको राजधानी दिल्लीले कुनै वेला दक्षिणएशियाको मात्रै नभएर संसारकै लोकतान्त्रिक केन्द्र र छलफल–बहस गर्ने ठाउँको हैसियत राख्थ्यो । तर, त्यहाँ अचेल जातीय असहिष्णुता, बहुमतवाद, प्रेस र नागरिक स्वतन्त्रतामाथि सरकारी, दलीय र जातीय हस्तक्षेप तथा धम्की बढ्दो छ । त्यसैले काठमाडौंलाई मौका छ, दक्षिणएशियाको बौद्धिक, सांस्कृतिक र खुला विचार विमर्शको मञ्चका रूपमा आफूलाई विकास गर्ने ।

दक्षिणएशियाका अन्य राजधानीको तुलनामा काठमाडौंको मौसम पनि अनुकूल छ । न धेरै गर्मी न धेरै जाडो । बाह्रै महीना जुनसुकै कार्यक्रम गर्न सजिलो र सुहाउँदिलो । मित्रवत् नेपाली । दुःखमा पनि मुस्कुराएर स्वागत गर्ने परम्परा बोकेका, सहिष्णु र संस्कृति–सम्पन्न काठमाडौंका जनता मात्र हैन, यहाँका पर्यटकीय होटेल, तिनमा रहेका दक्ष मानवशक्ति र थरी थरीका रेस्टुराँले अन्तर्राष्ट्रिय स्तरका भेला, सेमिनार र महोत्सव सजिलै सम्पन्न गर्ने ल्याकत राख्छन् । सबैभन्दा महत्त्वपूर्ण त नेपालमा रहेको स्वतन्त्र, सहिष्णु र खुला राजनीतिक–सामाजिक अवस्था हो जसले विभिन्नता र विविधतालाई स्वाभाविक रूपमा ग्रहण गर्छ । असहमति र छलफलका लागि सहज वातावरण दिन्छ ।

यो नेपालको ‘सफ्ट पावर’ हो जसलाई जगाउन बाँकी छ । त्यसैले सरकारले फिल्म साउथएशियाकिम्फ जस्ता वृत्तचित्रको महोत्सवलाई प्रशस्त सहयोग गर्न जरुरी छ । अरू अनेकौं महोत्सव, छलफल, बहसका अन्तर्राष्ट्रिय कार्यक्रम पनि नेपालमा गर्न सरकारले प्रोत्साहन दिनुपर्छ । यसले हाम्रो पर्यटन उद्योग फस्टाउन मद्दत गर्छ । नेपालको ‘सफ्ट पावर’ बढाउन काठमाडौंलाई सार्कको राजधानीका रूपमा सबल पार्न समेत सघाउँछ । “फेस्टिभलमा आएका मेरा दक्षिणएशियाली मित्रहरू महोत्सव सकिएपछि पनि फर्कन हतार गर्दैनन् । उनीहरू काठमाडौंको वातावरणमा रमाउँछन् र भन्छन्– हामी यहाँ आनन्दित अनुभव गर्छौं,” कनक दीक्षितको भनाइ हो यो ।

नेपाल दक्षिणएशियाको पुरानो र निरन्तर स्वतन्त्र रहेको देश हो । यसको भौगोलिक विविधता, प्राकृतिक सुन्दरता र जनताको स्वाभाविक मित्रवत् स्वभाव आफैंमा एउटा विशेषता हो । यो नेपालको ‘सफ्ट पावर’ पनि हो ।

नेपाली बहादुर होऔंला, तर आज हामी सैन्य शक्ति होइनौं । त्यसैले हाम्रा सम्पदा र विशिष्टतालाई आफ्नो ‘सफ्ट पावर’ का रूपमा अगाडि बढाउन सक्नुपर्छ । फिल्म साउथएशिया र किम्फ जस्ता महोत्सवले अन्तर्राष्ट्रिय पटलमा नेपालको परिचय विस्तारित बनाउँछन् । नेपालप्रतिको सद्भाव, सम्मान र मित्रभाव बढाउँछन् ।

नेपालले त्यही कुराको बजारीकरण गर्ने हो, जे ऊसँग छ । आज श्रीलंका, बाङ्लादेश वा पाकिस्तानको कुनै बुद्धिजीवीले आफूलाई लागेका कुरा जति काठमाडौंमा ढुक्क भएर बोल्न सक्छ, दिल्लीमा सक्दैन । इस्लामावाद, ढाका वा कोलम्बोमा पनि सक्दैन । त्यसैले काठमाडौंले आफ्नो लचिलो र सजिलो शहरका रूपमा जुन छवि बनाएको छ, त्यसलाई अझै विस्तार गर्नुपर्छ ।

फिल्म साउथएशियाको निरन्तरको आयोजनाले काठमाडौंको छवि निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

comments powered by Disqus

रमझम