असार २०७९ | 15/06/2022

पुस्तक: विज्ञान-आख्यानको दुनियाँ

Share:
  
- गणेश खनिया
मान्छे र रोबोटमध्ये कसको प्रेम सही छ? साहित्यतर्फको नोबेल पुरस्कार विजेता काजुओ इशिगुरोले क्लारा एन्ड द सन मार्फत पाठकलाई द्विविधामा पुर्‍याएका छन्।

‘हाम्री कान्छी छोरीको नाम निकी राखियो। श्रीमानको इच्छा थियो- उसको नाम जापानी जस्तो होस्। म भने बेलायती नाम दिन चाहन्थें, जापानी पूर्वजप्रति मेरो कुनै लगाव थिएन। थोरै पूर्वेली झल्को आउने भएर होला, निकीमा उनले सहमति जनाए।’

सन् २०१७ मा साहित्यतर्फको नोबेल पुरस्कार विजेता काजुओ इशिगुरोको पहिलो उपन्यास अ पेल भ्यू अफ् हिल्स (सन् १९८२) को शुरूआती सन्दर्भ हुन् यी। मूलथलो छाडेर अर्को देशमा पुगेका प्रायः लेखकहरू लेखनका विषयवस्तुमा आफ्नै जरा र विगतको वरिपरि घुमिरहेका हुन्छन्।

जापानी मूलका बेलायती लेखक इशिगुरोको सोच चाहिं उपर्युक्त उपन्यासकी महिला पात्रको जस्तो छ, जापानी साइनोप्रति अतिरिक्त मोह छैन। यसैले त उनका सिर्जना हरेक भूगोलका साझा कथा हुन्।

इशिगुरोका अधिकतर रचना विज्ञानसँग जोडिएका छन्। क्लारा एन्ड द सन (सन् २०२१) पनि इशिगुरोको विज्ञानपरक आख्यान हो। यसको कथावस्तु रोबोटको दुनियाँसँँग सम्बन्धित छ। उपन्यासकी मूल पात्र क्लारा सौर्य शक्तिबाट सञ्चालित कृत्रिम मानव हो, जसलाई बिक्रीका लागि शपिङ मलमा राखिएको छ। धनाढ्य परिवारकी किशोरी जोसीको कृत्रिम साथीका रूपमा उनको घरमा पुग्छे क्लारा।

सूर्यको प्रकाश नै आफ्नो खाना वा ऊर्जाको स्रोत भएकाले क्लारा बारम्बार सौर्य शक्तिको महिमागान गर्छे। जति क्षेत्रमा सूर्यको प्रकाश फैलिन्छ, त्यो क्षेत्रका मानिसका क्रियाकलाप र अन्य गतिविधि सविस्तार वर्णन गर्न सक्ने विलक्षण क्षमता छ उसमा। कृत्रिम साथसम्बन्ध मार्फत मानव परिवेशमा पुग्दाको असहजतालाई आफ्नो विशेष क्षमताले चिरेर अभ्यस्त बन्दै जान्छे। “मभित्र कैयौं भावना छन्। जति बढी म अवलोकन गर्छु, त्यति थप भावना आउनेछन्,” क्लाराको यो कथन यन्त्रमानवको अनुकूलनको प्रमाण हो।

विज्ञानपरक आख्यान हुन् या अन्य विधा, इशिगुरोका अधिकांश उपन्यासको केन्द्रीय विषय प्रेम नै छ। क्लारा एन्ड सनमा पनि पात्रहरूको असहज प्रेम र अनिश्चित गन्तव्य छ। उपन्यासको केन्द्रमा छ जोसी र रिकबीचको किशोर प्रेम। अस्वस्थताका कारण हुन सक्छ, जोसी वेलावेला सनकी पारा देखाउँछिन्। तर, जोसीप्रति रिकको चासो र चिन्ता निरन्तर छ। उनीहरूबीच वर्गीय असमानता छ।

जोसी ‘लिफ्टिड’ वर्गकी केटी, उनलाई कृत्रिम माध्यमबाट ‘स्क्रीन प्रोफेसर’ हरू मार्फत पढाउने व्यवस्था गरिएको छ। जबकि, रिकको अध्ययन सामान्य रूपमा हुन्छ। ‘लिफ्टिड’ वर्गका विद्यार्थीले सजिलै, प्रतिस्पर्धा विनै राम्रो विश्वविद्यालयमा पढ्न पाउँछन्। ड्रोन विकास प्रविधिमा रुचि राख्ने रिक क्षमतावान् विद्यार्थी भए पनि आर्थिक कठिनाइ र पहुँचको अभावमा विश्वविद्यालय स्तरको शिक्षाका लागि जुधिरहेका हुन्छन्।

आर्थिक विभेद र अवसरमा असमान पहुँचका कारण उनीहरूको सम्बन्ध बिछोडमा टुङ्गिन्छ। यसले प्रविधिको उद्विकास र उपयोगले पनि मानव मानवबीचको वर्गीय विभेद कम नहुने, अझ झाँगिने सङ्केत गर्छ।

जोसीकी आमा क्रिसी श्रीमानसँग छुट्टिएर बसेकी छन्। केवल छोरीको खातिर उनीहरू भेट्छन्। अर्कातिर, रिककी आमा हेलेन छोरालाई राम्रो विश्वविद्यालयमा भर्ना गराउन मात्र पूर्व प्रेमीसँग नजिकिन्छिन्, उसलाई खुशी पार्न जेसुकै गर्न तयार देखिन्छिन्। सम्बन्ध आफ्नै सजिलो र नाफाघाटामा जोडिने, टुट्ने कुरो अब नौलो भएन। यी परिघटनाबीच वैवाहिक संस्थाको सम्भावित विघटन गोचर हुन्छ।

छोरीका लागि जे पनि गर्न तत्पर जोसीकी आमा बिरामी छोरीको बिग्रिंदो अवस्था देखेर आजित हुन्छिन्। पछि एक समय यस्तो मनोदशामा पुग्छिन्, जोसीको पूरै ठाउँ क्लाराले लियोस् भन्ने चाहना राख्छिन्। त्यही दिशामा क्लारालाई अघि बढ्न प्रेरित गर्छिन्।

प्रेम र उत्सर्गको पनि शायद स्थिर स्वरूप रहँदैन। छोरीको खुशीका लागि घरमा भित्र्याइएकी क्लारालाई नै सन्तानका रूपमा स्विकार्न राजी हुनु सामान्य घटना होइन। प्रविधिसिर्जित विकल्पसँगै पारिवारिक सम्बन्धमाथिको आसन्न पहिरोको जोखिम हो यो।

उपन्यासमा घरेलु कामदार जस्तो मानव भूमिका पनि देखिन्छ क्लाराको। उसमा लेखकले यथेष्ट मानवीय संवेदना भरेका छन्। एक महिलाले क्लारा जस्ता कृत्रिम मानवप्रतिको आक्रोश यसरी पोखेकी छिन्, “पहिले यिनीहरूले हाम्रो काम खोसे, अहिले नाटकघरमा हाम्रो सीट हडप्दै छन्।” आफ्नै सजिलोका लागि व्यवहारमा ल्याइने रोबोटसँग मान्छेको द्वन्द्व बढ्ने निश्चित छ। अर्को खुल्दुली रहन्छ, यदि मानवनिर्मित रोबोटले ‘अटो प्रोग्रामिङ’ गर्दै जान थाल्यो भने परिणाम कति भयावह होला?

वैज्ञानिक आविष्कार मार्फत उपलब्ध नवीनतम प्रविधिको प्रयोग हाम्रो दैनिकीमा अपरिहार्य बनिसके। पछिल्लो समय रोबोटको विकास र सीमित प्रयोग समेत शुरू भइसकेको छ। अझै नयाँ अनुसन्धान र प्रयोगमा विस्तार हुँदै छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकताले रोबोटको बहुआयामिक प्रयोजनका क्षेत्रहरू खोतलिरहेको छ।

विभिन्न सञ्चार र सूचना प्रविधि सञ्जालका क्षेत्रमा भएका नयाँ आविष्कार र अभ्यासले आम मानव जीवन यसै पनि कृत्रिमतातिर उन्मुख भइसकेको छ। प्रविधिमोहका कारण मान्छे मान्छेबीचको पारस्परिक सहयोग र निर्भरता न्यून हुने नै भयो। कामदारहरू यन्त्रबाट विस्थापित हुने क्रम बढ्दो छ। यान्त्रिक प्रयोगसँगै अरू मानवीय अवसर गुम्नेछ।

प्रविधि र अतिरिक्त यान्त्रिकतासँगै हामी एक्लिँदै छौं भन्ने भाव यस उपन्यासले अझ गहिरोसँग दर्शाएको छ। अधिकांश पात्रलाई एक्लोपनाले गाँजेको छ। यही एक्लोपनाको उपचारका लागि जोसीको साथीका रूपमा भित्रिएकी हो, क्लारा। जोसीका आमा-बा एक्लाएक्लै जीवन चलाइरहेछन्। रिक र उसकी आमाको जीवन पनि अपुरो र एकाकी पाराको छ।

कोभिड-१९ महामारीसिर्जित बन्दाबन्दीबीच हामीले पनि एक्लिएको दैनिकी र चरम निराशा भोग्यौं, स्वजन गुमायौं। यही महामारीकै भयावह समयमा प्रकाशित यो उपन्यास पढ्दै गर्दा यस्तै निसङ्गपनाको समानुभूति भेटिन्छ, त्यहाँका पात्र र हाम्रो विगतबीच।

महामारीका वेला मानिसहरू आफू आफूमा खुम्चिएको जीवनपद्धतिमा अभ्यस्त भएर आउँदा भौतिक अन्तक्र्रिया र अन्तर्सम्बन्ध घटेको छ। अनलाइन जीवनशैली रहर र बाध्यता बन्दै गयो। प्रेम र मानवीयता पातलिँदै गएको यो समयमा उपन्यास मार्फत आउँदा वर्षमा अझ मतलबी र नितान्त भावनाविहीन, अर्थकेन्द्रित जीवनको प्रक्षेपण गरिएको छ।

मानवीयता हराउँदै गएको समयमा अधिकांश मानव पात्रभन्दा यन्त्रमानव क्लारा बढी संवेदनशील देखिनु स्वाभाविक लाग्छ। यान्त्रिक प्रयोगसँगै नागरिक निगरानी अरू व्यापक हुने, स्वतन्त्रता र अधिकार कुण्ठित हुने खतरा उत्तिकै छ।

इशिगुरोकै चर्चित उपन्यास नेभर लेट मी गो (सन् २००५) मा क्लोनिङसँग सम्बद्व पात्र क्याथी एच कथावाचक थिई। यस उपन्यासमा कृत्रिम केटी क्लारा मार्फत कथा भनिएको छ। विज्ञान कथालाई न्याय दिन कल्पिएका यी पात्रका नाम जे रहे पनि कथावाचन अक्सर ‘म’ मार्फत गरिएको छ। तर, यसरी कथा भनिरहँदा पनि आफ्नै अनुभूति खन्याउँदैनन् लेखक। निजात्मकतालाई कथानकबाट अलग राख्ने इशिगुरोको यो शैली दुर्लभ मानिन्छ। यसरी लेख्नुमा बेलायती आख्यानकार सार्लोट ब्रोन्टको प्रभाव रहेको उनी स्विकार्छन्।

मानवीय शोेषण, विभेद, सङ्घर्ष र प्रतिरोधका गाथा समकालीन आख्यानमा छाइरहेकै विषय हुन्। मानव, पर्यावरण र प्रविधिका अन्तर्सम्बन्ध र सङ्कटका पक्ष पनि औपन्यासिक विषय बन्न थालेका छन्। इशिगुरो दैनन्दिनका यथार्थ पक्षलाई आसन्न प्रविधिगत परिदृश्यमा ढालेर नयाँ स्वादमा कथा भन्ने गर्छन्। रोबोट कथावाचक रहेको यस उपन्यासमा इशिगुरोले क्लाराको अभिव्यक्तिलाई आम मान्छेको अभिव्यक्तिभन्दा अलग ढङ्गले कथेका छन्। पाठकलाई सोच्ने प्रशस्त ठाउँ दिन्छन् उनी।

इशिगुरोको अर्को कौशल हो- ड्रामाटिक आइरोनी (नाटकीय विडम्बना)। यस उपन्यासमा पनि यसको बाक्लो प्रयोग छ। क्लाराको आसन्न सङ्कटबारे पाठक अवगत भइसक्छन्, तर ऊ बेखबर हुन्छे। यस्ता विडम्बनाका सन्दर्भले कथामा नयाँ मोड आउँछ, पठन प्रवाहमा उतारचढाव ल्याउँछ, र पाठकलाई सोच्ने ठाउँ दिँदै विस्मय र कौतूहलबीच उद्वेलित गराइराख्छ।

हरेक प्रकारका आख्यानको अलग आनन्द र महत्त्व हुन्छ। अझ विज्ञानपरक आख्यानको विशेष भूमिका रहन्छ, चल्तीका पद्धतिलाई भत्काउँदै नयाँ जग बसाउन। यस्ता आख्यान आगामी दिनको प्रक्षेपण हुन्, र वैज्ञानिक अन्वेषणका आधारस्रोत पनि। मेरी शेलीको विज्ञान आख्यान फ्रान्कुन्स्टाइन मा विध्वंसको धारावाहिक प्रवाह छ, तर विज्ञानको क्षेत्रमा मानव क्लोनिङको विचारको झिल्को त्यहींबाट निस्कियो। सन् १९२५ मा लेखिएको मेट्रोपोलिस विज्ञान आख्यानले एक शताब्दी पछाडिको दुनियाँको कल्पना गरेको छ, जहाँ रोबोट सञ्चालित संसार छ।

अहिले हामी त्यही रोबोटकेन्द्रित संसारको सँघारमा छौं। एच जी वेल्सदेखि कर्ट भोनेटसम्मका यस्ता आख्यान विज्ञान र प्रविधिका नखुलेका पाटाका अध्ययन र अनुसन्धानमा महत्त्वपूर्ण प्रवेशबिन्दु बनिसकेका छन्। नेपाली साहित्यमा शंकर लामिछानेको ‘ऊ कसको हो?’ सशक्त विज्ञान कथा मानिन्छ। प्रयोगधर्मी लेखक सरुभक्तले पनि धेरै पहिले इथर (२०४४), निमावीय (२०५५) जस्ता पुस्तक मार्फत विज्ञानपरक आख्यानको नेपाली गोरेटो खनिसकेका छन्।

क्लारा एन्ड द सन मार्फत इशिगुरोले मानवको सोच र विवेकलाई यन्त्रको सापेक्षमा उभ्याएका छन्। मान्छे र रोबोटमध्ये कसको प्रेम सही छ? पाठकलाई द्विविधामा पुर्‍याएका छन्। तीन वर्षअघि प्रकाशित इयान म्याकवेनको मशिन्स लाइक मी (सन् २०१९) र गत वर्ष आएको ताहमिमा आनमको द स्टार्टअप वाइफ (सन् २०२१) विज्ञान विधाका नयाँ आख्यान हुन्, जसको समानान्तर अध्ययनले मानिस र प्रविधिबीचको निर्भरता तथा उत्पन्न जटिलताकेन्द्रित बहसलाई अझ रोचक र सार्थक बनाउने निश्चित छ।

पुस्तक: क्लारा एन्ड द सन (उपन्यास),
लेखक: काजुओ इशिगुरो
प्रकाशक: फेबर एन्ड फेबर, लन्डन,
पृष्ठ: ३०७,
मूल्य: रु‍. ११२०(पातलो गाता)

comments powered by Disqus

रमझम