असार २०७९ | 15/06/2022

अतिरञ्जित

Share:
  
- नयनराज पाण्डे

हिसाब

ऋणका अनेकन् तहबाट थिचिएका रामबहादुर अचेल बहुत चिन्तित छन् । गत वैशाखमा पत्थरीको उपचारका क्रममा साथीभाइसँग लिएको ऋण त यताउताबाट तानतुन गरेर तिरे । तर, ब्याङ्कबाट पोहोर नै बाख्रापालनका लागि लिएको ऋण भने ज्युँका त्युँ छ । बाख्राहरूबाट पाठापाठी जन्मेलान् र तिनैलाई बेचेर ऋण तिरुँला, घर खर्च पनि राम्ररी चलाउँला भन्ने उसको सपना थियो । तर, रोगले बाख्रा सोत्तर भए । अस्ति ब्याङ्कको ताकेतापत्र आएपछि भने उनको ओठमुख सुक्यो । मनमा बेचैनी छायो ।

ऋण लिएपछि समयमै तिर्नुपर्छ भन्ने मान्यता राख्छन् रामबहादुर । त्यसैले छरछिमेक र आफन्तले ऋण दिन आनाकानी गर्दैनन् । ब्याङ्कको ऋणले तनाव दिइरहेका वेला तथ्याङ्क सार्वजनिक भयो, प्रत्येक नेपालीको टाउकामा ६३ हजार ३१० रुपैयाँ ऋण ! रामबहादुरलाई तनावको झ्न् ठूलो बोझ्ले थिच्यो । खाना रुच्न छाड्यो । निद्रा दूर भयो ।

यी सबै कारणले कहिल्यै तनाव नलिने रामबहादुरकी जहान सीतादेवीलाई पनि अत्यायो । तनावको कारण श्रीमान्सित सोधिरहिन् । शुरूमा त रामबहादुरले केही भनेनन् । तर, तारन्तारको सोधाइपछि उनले मलिन स्वरमा भने, “बुढिया, ब्याङ्कको ऋण त थ्योथ्यो । तेरो र मेरो भागमा अर्को सरकारी ऋण पनि थपियो । नखाएको विषले मार्ने भो ।” सीतादेवी मस्तले हाँसिन् र भनिन्, “के नचाहिंदो चिन्ता लिन्छौ ? आजै अर्को समाचार आएको छ त । प्रत्येक नेपालीको वार्षिक आय एक हजार ३८१ डलर पुग्दै छ रे, आजको बजारभाउ अनुसार एक लाख ७० हजार रुपैयाँ हाराहारी । सरकारको पैसा त्यसैबाट तिरे भैगो त । उल्टै ३०/४० हजार फिर्ता आउने पो देखिन्छ । त्यो पैसाले बाख्रा किन्नुपर्छ । हिसाब त यसरी पो मिलान गर्ने हो । चिन्ता गरेर हुन्छ ?”

चिन्ता लिनु कि छोड्नु ? अब भने रामबहादुर दोधारमा परे ।

खाता

अस्तिबाट ६८ लागे उनी । साउनदेखि सामाजिक सुरक्षा भत्ता पाउने भए । मैले सोधें, “मित्र, वृद्धभत्ता त प्राप्त होला । तर, त्यसका लागि ब्याङ्कमा खाता खोल्नुपर्ला नि ।”

मेरो कुरा खराब त थिएन । तर, मेरो कुरा सुनेर उनको अनुहारमा अँध्यारो छायो । मेरो कुराले त भत्ता पाउने उनको आशामा तुषारापात भए जस्तै भयो । उनको अतिशय उदास मुहार देखेपछि मैले सान्त्वना दिँदै भनें, “प्रिय मित्र, जाबो खाता खोल्ने कुराले तिम्रो अनुहारमा यतिविधि बादल मडारिनु त राम्रो कुरा होइन । स्वास्थ्यमा केही कैफियत पो छ कि ?’

उनले बडो गम्भीर भएर दूर कतै क्षितिजतिर हेर्दै भने, “भर्खर स्थानीय चुनाव सम्पन्न भयो । हाम्रै वडा, गाउँमा, नगरमा उठेका बडेबडे पार्टीले खाता पनि खोल्न सकेनन् रे । पार्टीहरूको त यो हाल छ भने म जस्तो अदनाले कसरी खाता खोल्न सक्नु ?”

ताल्चा

केही सातादेखि ज्ञानकुमारको घरमा आतंक छाएको छ । उनी र उनकी जहान राति निदाउनै छाडेका छन् । बिहान उठ्दा कुन चाहिँ कोठाको ताल्चा हराउने हो भन्ने पीरले उनीहरू बेचैन हुन थालेका छन् । बुढिया त रात अलि छिप्पिएपछि निदाइहाल्थिन्, ज्ञानकुमार भने रातभरि रुँगेर बसिरहन्थे । तर, जति नै रुंँगे पनि बिहान कुनै न कुनै कोठाको ताल्चा हराएकै हुन्थ्यो ।

घरमा ताल्चा काण्ड दोहोरिइरहँदा पनि ज्ञानकुमारको सुपुत्र पुस्तक शर्मा भने सधैं अबेरसम्म निदाइरहन्थ्यो । ननिदाओस् पनि किन ? यसपालि ऊ त्रिभुवन विश्वविद्यालयमा भर्ना भएको थियो, बिचरा विश्वविद्यालयमा थाकुन्जेल पढ्दो हो र भुस भएर निदाउँदो हो ।

छोरा ब्युँझनासाथ ज्ञानकुमारले फेरि ताल्चा चोरी भएको कुरा छोरालाई सुनाउँथे । सुपुत्र पुस्तक शर्माले विश्वविद्यालय जाने तयारी गर्दै ढुक्कले भन्थ्यो, “ह्या, जाबो ताल्चा हरायो भन्दैमा कति चिन्ता लिनुहुन्छ ? सुनचाँदी त हराएको हैन नि !” छोराको कुरो बेठीक त थिएन । तर पनि ज्ञानकुमार चिन्तित थिए । ताल्चा चोर्नेले बिस्तारै सुनचाँदी राखेको कन्तुरतिर हात बढाउन के बेर !

एक रात उसैगरी ज्ञानकुमार ताल्चा चोरलाई पर्खिरहेका थिए । चोर भेटिएन । बिहान एउटा अर्को ताल्चा गायब थियो । चिन्तित मुद्रामा बुढिया सरस्वतीदेवीले भनिन्, “बूढा, विश्वविद्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गर्न थालेको दिनदेखि हाम्रो घरबाट ताल्चा हराउन थालेको छ । के यो संयोग हो ?”

सरस्वतीको कुराले ज्ञानकुमार आत्तिए र हत्तपत्त सुपुत्र पुस्तक शर्माको कोठामा पसे । त्यति वेला सुपुत्र विश्वविद्यालय जाने तयारी गर्दै थियो । उसको हातमा पुस्तक थिएन । ताल्चा थियो । ङिच्च हाँस्दै भन्यो, “अघिल्लो दिन हाम्रो संगठनले ताल्चा लगाउँछ, अर्को दिन अर्को संगठनले खोलिदिन्छ । त्यसैले अचेल विश्वविद्यालयमा बढी ताल्चा खपत भइरहेछ ।”

comments powered by Disqus

रमझम