असार २०७९ | 15/06/2022

केही त सिकौं!

Share:
  
- डा. निर्मल कँडेल
स्वास्थ्य प्रणाली सुधार्ने हो भने भारतको केरला, श्रीलंका, रुवान्डा र थाइल्यान्डको अनुभवबाट हामी थुप्रै कुरा सिक्न सक्छौं।

नेपालमा स्वास्थ्य प्रणाली सुधारको आवाज लगातार उठ्दै आएको छ। स्वास्थ्य सेवा राम्रो बनाउन कस्तो तौरतरीका अवलम्बन गर्ने भन्नेबारे पनि बहस हुँदै आएको छ। अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा ‘नेपाल स्वास्थ्य क्षेत्र-रणनीतिक योजना २०२२-३०’ बन्ने क्रममा छ।

स्वास्थ्य क्षेत्र सुधारको चर्चा गर्दा आफ्ना नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिँदै आएका विभिन्न देशका उदाहरण पनि हेर्ने गरिन्छ। संसारका अधिकांश जनस्वास्थ्य शिक्षालयले श्रीलंका, क्युवा र भारतको केरला राज्यको स्वास्थ्य सेवा प्रणालीलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै आएका छन्।

यो लेखमा त्यस्ता केही देशहरूको चर्चा गर्दै छु, जसले आफूसँग भएका स्रोतलाई व्यवस्थित र प्रभावकारी रूपमा परिचालन गरी स्वास्थ्य सूचकाङ्क अब्बल अवस्थामा पुर्‍याएका छन्।

केरलाले प्राथमिक स्वास्थ्य केन्द्र,
अस्पतालमा शय्या र चिकित्सकको
सङ्ख्या पनि छोटो अवधिमै बढायो।

लगानी

जनतालाई केन्द्रमा राखिएको स्वास्थ्य प्रणालीमा लगानी गरेका देश वा प्रान्तले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्य हासिल गरेका छन्। छिमेकी भारतको केरलालाई हेरौं। त्यहाँको स्वास्थ्य क्षेत्रमा प्रगति हुनुका धेरै कारण छन्, जनस्वास्थ्य र प्राथमिक स्वास्थ्य सेवा, स्वास्थ्य पूर्वाधार, विकेन्द्रित प्रशासन, वित्तीय योजना, छात्रा शिक्षा, सामुदायिक सहभागिता र व्यवस्था सुधार्ने हुटहुटी आदि।

केरलाले प्राथमिक स्वास्थ्य केन्द्र, अस्पतालमा शय्या र चिकित्सकको सङ्ख्या पनि छोटो अवधिमै बढायो। स्वास्थ्य केन्द्र र चिकित्सकको सङ्ख्या बढ्दा स्थानीय स्तरमै गुणस्तरीय उपचार सम्भव हुने भयो। यसले बिरामीको उपचार खर्च घटाउनुका साथै जटिल तथा विशेषज्ञ सेवा दिने अस्पतालमा हुने चाप पनि घट्ने भयो।

अफ्रिकी देश रुवान्डा अर्को उदाहरण हो। त्यहाँका प्राथमिक स्वास्थ्य र समग्र स्वास्थ्य प्रणाली तथा सबै तहको सेवालाई गुणस्तरीय बनाउन गरिएको लगानीले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सफलता हासिल भएको छ।

थाइल्यान्डमा दत्तचित्त नेतृत्वका कारण स्वास्थ्य सर्वसुलभ बनेको छ। त्यहाँको स्वास्थ्य सुविधाको खर्च मुख्यतः आयकरबाट व्यहोरिन्छ। स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएसँगै त्यहाँ मृत्युदर उल्लेख्य घट्यो। स्वास्थ्यका कारण काममा अनुपस्थित हुने अवस्था कम भयो। स्वास्थ्योपचारमा घरपरिवारको आर्थिक बोझ हलुका बन्दै गयो। यस्तो उपलब्धि सामाजिक बीमा कार्यक्रम ‘३० भाट’ को सफलताको उपज हो।

श्रीलंकाको स्वास्थ्य प्रणाली मुख्यतः नागरिकसँग उठाएको करबाट चल्ने सरकारी व्यवस्थामा आधारित छ। निजी क्षेत्रबाट उठाइने रकम त्यो व्यवस्थाले परिपूरक बनेको छ। त्यहाँको स्वास्थ्य सेवाको प्रमुख विशेषता, स्वास्थ्य संस्थामा गएपछि गरिने हरेक उपचारपिच्छे अलग अलग शुल्क लिइँदैन।

रुवान्डा सरकारले सरकारी कर्मचारीलाई
जवाफदेही बनाउन कार्यप्रगतिको आधारमा
मूल्याङ्कन गर्ने सम्झौता (इमिहिगो
कन्ट्र्याक्ट) को अभ्यास हुँदै आएको छ।

जवाफदेही नेतृत्व

श्रीलंकाको स्वास्थ्य मन्त्रालय र नौ वटा प्रादेशिक स्वास्थ्य विभागले जनस्वास्थ्य सेवाको व्यवस्थापन गर्दै आएका छन्। स्वास्थ्य मन्त्रालयले विशेषज्ञ अस्पतालको अनुगमन, रोग नियन्त्रण कार्यक्रम सञ्चालन, प्राविधिक दिशानिर्देश, नीतिगत निर्णय, जनशक्ति तालीम र तालीमप्राप्त जनशक्ति भर्ना आदि काम गर्दै आएको छ। पालिका स्तरमा सञ्चालित प्राथमिक स्वास्थ्य सेवा सहित रोग रोकथामको ठूलो हिस्सा र अन्य स्वास्थ्य क्षेत्रका जिम्मेवारी प्रादेशिक स्वास्थ्य विभागले सम्हाल्दै आएको छ।

सामुदायिक स्वास्थ्य कार्यकर्ताहरू श्रीलंकाली प्राथमिक स्वास्थ्य सेवा प्रणालीका आधार हुन्। यी स्वास्थ्य कार्यकर्ताले प्रजनन स्वास्थ्य, मातृ स्वास्थ्य, शिशु र बालबालिकाको स्वास्थ्य, सङ्क्रामक रोग, नसर्ने रोग र लापरवाही गरिएको तटीय रोगको नियन्त्रणमुखी, जनचेतनामूलक र उपचारात्मक सेवामा प्रभावकारी काम गरेका छन्।

स्वास्थ्य योजनामा केरलाको चिन्तन पनि अग्रगामी छ। त्यहाँ सन् २०५० सम्ममा ६० वर्षमाथिको जनसङ्ख्या अहिलेको भन्दा दोब्बर हुने आकलन गरिएको छ। त्यसका लागि केरलाले अहिलेबाटै ज्येष्ठ नागरिकको अलग कक्ष र ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य पूर्वाधारको विकास गर्न थालिसकेको छ।

रुवान्डा सरकारले सरकारी कर्मचारीलाई जवाफदेही बनाउन कार्यप्रगतिको आधारमा मूल्याङ्कन गर्ने सम्झौता (इमिहिगो कन्ट्र्याक्ट) को अभ्यास हुँदै आएको छ। जसै कर्मचारीले काममा जोड दिए, आर्थिक वृद्धि उकालो लाग्यो, नागरिकका स्वास्थ्य र शिक्षामा प्रगति हुन थाल्यो।

स्वास्थ्य क्षेत्रमा केही देशका यी अभ्यासको अनुकरणले हाम्रो स्वास्थ्य प्रणाली र सेवामा परिवर्तन आइहाल्ने होइन। तथापि, स्थानीय आवश्यकता अनुसार यी उदाहरणको समीक्षा गर्नु, काम गर्ने संयन्त्र बुझ्नु र नेपाली माटो सुहाउँदो हुने गरी लागू गर्नु स्वास्थ्य सेवा बलियो बनाउने प्रस्थानबिन्दु हुन सक्छ।

यसका लागि स्वास्थ्य सेवा तथा यससँग जोडिएर आउने शिक्षा, सफा पिउने पानी, सरसफाइ आदिमा पनि लगानी गर्नुपर्छ। त्यस्ता सेवा जनतामा केन्द्रित हुनुका साथै मानिसका आम्दानीबाट निरपेक्ष समतामा आधारित हुन जरुरी छ। सबै तहको नेतृत्वको जवाफदेही र जिम्मेवारीबोध नै स्वास्थ्य क्षेत्रको लक्ष्य हासिल गर्ने बाटो हो।

(कँडेल जनस्वास्थ्य वैज्ञानिक हुन्।)

comments powered by Disqus

रमझम