एन्टिबायोटिक औषधिको प्रयोग जीवाणुका कारण हुने सङ्क्रमणमा गरिन्छ। सामान्यतया एन्टिबायोटिक दुई प्रकारका हुन्छन्। एउटामा ब्याक्टेरियाको वृद्धि रोक्ने ब्याक्टेरियोसेटिक हुन्छ। अर्कोमा ब्याक्टेरियालाई मार्ने ब्याक्टेरिसिडियल हुन्छ। एन्टिबायोटिकले जीवाणुको पुनरुत्पादन रोकिदिन्छ वा तिनलाई शरीरमै नाश गर्छ।
सरुवा रोगको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने एन्टिबायोटिक प्रभावकारी, सुरक्षित र सस्तो पनि छ। तर, एन्टिबायोटिकको आवश्यकताभन्दा बढी वा गलत प्रयोगले शरीरमा एन्टिबायोटिकको प्रतिरोधी (रेसिस्टेन्स) क्षमता विकास गर्ने शक्ति बढाउँदै लैजान्छ। यसमा दुई कारण छन्- एन्टिबायोटिकको अधिक प्रयोग र गलत प्रयोग।
प्रोटिनयुक्त आहार उत्पादनका नाममा खेतबारी, उद्योगदेखि व्यक्तिगत तहसम्म अनुपयुक्त प्रयोग बढ्दा वातावरणमा समेत एन्टिबायोटिकका अवशेषहरू पाइन थालेका छन्।
एन्टिमाइक्रोबायल प्रतिरोध (एएमआर)
एन्टिमाइक्रोबायल्स भन्नाले एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफङ्गल र एन्टिपारासिटिक जस्ता औषधि हुन्, जसलाई मानव, जनावर र वनस्पतिमा हुने जीवाणु सङ्क्रमणबाट बचाउन र यसको उपचारमा प्रयोग गरिन्छ।
एन्टिमाइक्रोबायल प्रतिरोधी जीवाणु मानिस, अन्य प्राणी वा वातावरणबाट सर्छ। सङ्क्रमित खाना, पानी जस्ता तरल पदार्थबाट यो सर्न सक्छ। एन्टिमाइक्रोबायल प्रतिरोधका केही प्रतिकूल प्रभाव छन्। यसले सङ्क्रामक रोग नियन्त्रणलाई प्रभावित गर्दै स्वास्थ्य सेवाको लागत बढाइदिन्छ। समग्र स्वास्थ्य सुरक्षालाई प्रभावित पार्छ। सामाजिक अर्थतन्त्र पनि बिथोल्छ।
स्रोतसाधन नभएका ठाउँमा एन्टिमाइक्रोबायल प्रतिरोध प्रभाव झनै विकराल हुने विज्ञहरूको आकलन छ। अबका दशकमा एन्टिमाइक्रोबायल प्रतिरोधका कारण अफ्रिका, एशिया महादेशमा बढी मानिसले ज्यान गुमाउनेछन्।
एन्टिबायोटिकको अधिक प्रयोगले बालबालिकामा घातक पखाला गराउँछ। अप्रत्यक्ष रूपमा वनस्पति र प्राणी जगत्मा प्रतिकूल प्रभाव पार्छ। यसको बढी प्रयोग गर्दा उपयोगी जीवाणुको नाश भइरहेको हुन्छ। तिनले आफ्नो स्वभाव परिवर्तन गर्दै जाँदा रोग उत्पन्न गराउने वा फैलाउने तत्त्व बढ्दै जान्छ।
नेपालमा एन्टिबायोटिक
नेपालमा एन्टिबायोटिकको उपयोग जीवाणु भएको/नभएको परीक्षण नै नगरी हचुवामा हुने गरेको छ। एक अध्ययनमा सहभागी बिरामीमध्ये १० देखि ४२ प्रतिशतलाई हचुवामा एन्टिबायोटिक खान सिफारिश गरिएको पाइएको थियो।
नेपालमा भौगोलिक तथा अन्य सामाजिक कारणले जीवाणुगत असर बढ्ने गरेको पाइन्छ। खास गरी नेपालमा पानीको स्रोतमा विभिन्न मानवीय क्रियाकलापले सङ्क्रमण फैलाउन मद्दत गरेको पाइन्छ। त्यस्तै, पिसाब तथा रगतजन्य रोग, खटिराले सङ्क्रमित बिरामीलाई जीवाणु विरुद्ध एन्टिबायोटिक उपयोग गरिंदा ५० प्रतिशतलाई मात्र त्यसले काम गरेको देखियो। बाँकी ५० प्रतिशतमा कुनै प्रतिक्रिया देखिएन। यसको कारण बिरामीको शरीरमा आंशिक प्रतिरोध वा बहु-औषधीय प्रतिरोधी जीवाणुको विकास हुनु हो।
भेटेरिनरी र औषधि पसलहरूमा एन्टिबायोटिक सजिलै उपलब्ध छन्, चिकित्सकको पुर्जी विनै बिक्री वितरण गरिन्छन्। यसरी मानिसहरूमा एन्टिबायोटिकको अधिक उपयोग गराउनमा चिकित्सक पनि जिम्मेवार छन्। उनीहरू सामान्य रुघाखोकी, पखाला लाग्दा पनि एन्टिबायोटिक सिफारिश गरिदिन्छन्। हामीकहाँ स्वास्थ्य सेवामा आबद्ध जुनसुकै तहको स्वास्थ्यकर्मीसँग सल्लाह लिएर उपचार गर्ने प्रवृत्ति पनि छ जसले अधिकांश सन्दर्भमा गलत निर्देश गर्ने गरेको पाइन्छ।
पशुलाई जथाभावी प्रयोग
कृषकहरू आफूले पालेका पशु स्वस्थ रहून्, अकालमै नमरून् भनेर एन्टिबायोटिक प्रयोग गर्छन्। नेपालमा पशुपन्छीको उपचारमा प्रयोग हुने औषधिमध्ये करीब ३५ प्रतिशत औषधि स्वयंले छनोट गरेको र ४० प्रतिशत जति उपयोग भेटेरिनेरियनहरूको सिफारिशमा भएको पाइन्छ। तर, ७१ प्रतिशत औषधिको सिफारिश गैरव्यावसायिक व्यक्ति र औषधि डिलरले गर्ने गरेको पाइन्छ।
एक अध्ययनले नेपालमा एम्पिसिलिन, एमोक्सिसिलिन, सेफ्ट्रिक्याक्सोन र जेन्टामाइसिन अनुचित ढङ्गले सिफारिश गरिँदै आएको देखाएको छ। औषधिप्रतिको अनभिज्ञताका कारणले पनि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा मानिसमा जीवाणुगत प्रतिरोध विस्तार हुँदै छ। हामीकहाँ एन्टिबायोटिकको प्रयोग र उपयोगबारे मापदण्ड छैन।
नेपालमा इजाजतप्राप्त औषधि निर्माता कम्पनी ८७ वटा छन्। तीमध्ये ४१ कम्पनीले एलोपेथिक, सात वटाले भेटेरिनरी औषधि तथा ३७ वटाले जडीबुटी उत्पादन गर्छन्। यी औषधिको गुणस्तर र मापदण्डमा ढुक्क हुन सकिने अवस्था छैन। औषधिको गुणस्तरमा एकरूपता र स्तरीयता नआउनुको कारण कानूनी प्रावधान पालना नहुनु पनि हो। जसले अन्ततः विभिन्न स्वास्थ्य जटिलता बढाउँछ।
नियमन
एन्टिमाइक्रोबायल उपयोग गर्ने क्षेत्रले आफ्नै ढङ्गमा काम गरिरहेको पाइन्छ। उनीहरूले अरूसँग खासै अन्तरक्रिया तथा समन्वय गरेको पाइँदैन। नेपालमा अझ्ै अधिकांश जनता कृषिकर्म र पशुपालनमा संलग्न छन्। कुल गार्हस्थ उत्पादनमा ३० प्रतिशतभन्दा बढी योगदान कृषि क्षेत्रको छ। जनसङ्ख्या वृद्धिसँगै पशुपालनको बढोत्तरीले विभिन्न रोगको उपचारमा एन्टिबायोटिकको उपयोग बढिरहेको छ।
एन्टिबायोटिक कसरी प्रयोग गर्ने भन्ने मापदण्ड र दिशानिर्देशको अभावमा एन्टिमाइक्रोबायल प्रतिरोध बढिरहेको छ। यसलाई नियमन र नियन्त्रण गर्न उचित कदम चाल्नु आवश्यक छ। विश्व स्वास्थ्य सङ्गठनले एन्टिमाइक्रोबायल प्रतिरोधलाई सामना गर्ने खाका बनाएको छ। सम्बद्ध निकायले त्यसै अनुसार गम्भीर कदम चाल्न आवश्यक छ। ऐनमै व्यवस्था गरेर सबै पक्षलाई जिम्मेवार बनाउनुपर्छ। यसमा कृषि, भेटेरिनरी र प्रदूषित पानीको प्रशोधन लगायत विषय पर्छन्।
अबको बाटो
एन्टिबायोटिकको बढ्दो प्रयोग नियन्त्रण नगरिए एन्टिमाइक्रोबायल प्रतिरोधले जनस्वास्थ्य, पशु स्वास्थ्य, खाद्यबाली र वातावरणमा अभूतपूर्व चुनौती निम्तिनेछ। त्यसको असर पूरै विश्वले चुकाउनुपर्ने हुन सक्छ। त्यो अवस्था आउन नदिन राज्यका निकायदेखि सबै पक्ष चनाखो हुनुपर्छ। एन्टिबायोटिकको प्रयोग चिकित्सकीय सल्लाह बमोजिम मात्र गर्न जरुरी छ।
यसर्थ, एन्टिमाइक्रोबायल प्रतिरोधलाई तत्काल प्राथमिकतामा राख्दै यसको उपयोग सम्बन्धी नीति बनाउन आवश्यक देखिन्छ। आवश्यक नियम-कानून बनाई कडाइका साथ पालना गर्नुपर्छ। उक्त नियम चिकित्सा क्षेत्रमा मात्र सीमित नरही आम सर्वसाधारणलाई पनि बाँध्ने खालको हुनुपर्छ। गुणस्तरहीन औषधि बिक्री वितरणमा रोक लगाइनुपर्छ।
एन्टिबायोटिक कतिखेर दिने भन्ने स्पष्ट निर्देशन हुनुपर्छ। औषधि बिक्रीअघि यसको जानकारी दिनुपर्छ। समयमै औषधि खानुको महत्त्व र नखाँदाको हानि सर्वसाधारणलाई बताउनुपर्छ।
(मेडिकल माइक्रोबायोलोजीको क्षेत्रमा काम गर्दै आएकी तण्डुकार र जनस्वास्थ्य विषयक अध्ययनमा संलग्न पाण्डे नीति अनुसन्धान प्रतिष्ठानमा कार्यरत छन्।)