नेपालको दुर्गम भेगका सरकारी अस्पतालमा पूर्वाधार र उपकरण अभावका कारण विशेषज्ञ सेवा दिन चुनौतीपूर्ण छ। ती क्षेत्रका बिरामी भौगोलिक तथा आर्थिक कठिनाइका कारण शहरमा आएर उपचार गराउन नसक्दा रोग पाल्दै बस्न तथा अकालमा मृत्युवरण गर्नसम्म बाध्य छन्। यस्तो स्थितिमा विकसित देशहरूले टेलिमेडिसिनको माध्यमबाट गाउँ गाउँमा विशेषज्ञ सेवा पुर्याए जस्तै हाम्रो सन्दर्भमा पनि यो भरपर्दो विकल्प देखिएको छ।
टेलिमेडिसिन सेवा हालसम्म कतिपय चिकित्सक र स्वास्थ्य संस्थाको एकल प्रयासमा फाट्टफुट्ट रूपमा सञ्चालन हुँदै आएकोमा अहिले भने नेपाल सरकारको प्राथमिकतामा परेर व्यवस्थित रूपमा सञ्चालन हुने तयारीमा छ। स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखा अन्तर्गत सञ्चालन हुन लागेको यो सेवा कोभिड-१९ महामारीका कारण केही पर धकेलिएको थियो। अहिले यसका लागि सफ्टवेयरको विकास भइसकेको छ भने ६ वटा प्रादेशिक अस्पताल तथा सबै जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई तालीम दिइसकिएको छ।
टेलिमेडिसिन सेवाका लागि शुरूआती चरणमा सात-आठ वटा विभागका विशेषज्ञ चिकित्सक मार्फत सेवा सञ्चालन गर्ने योजना छ। पछि आवश्यकता अनुसार थपघट गर्न सकिन्छ। नीति अनुसार, प्रादेशिक अस्पतालले उक्त प्रदेशका सबै जिल्ला अस्पतालका बिरामीलाई हेर्छन्।
त्यसमा स्थानीय मेडिकल अफिसरले सहजीकरण गर्छन्। आवश्यक पर्दा विज्ञ चिकित्सकले भिडिओ कन्फ्रेन्सबाट उपचार र सल्लाह दिन्छन्। त्यस्तै, जिल्लाका अस्पतालको आकस्मिक सेवामा आएका सबै बिरामीलाई तत्कालै उपचार सेवा पुर्याउने गरी प्रादेशिक अस्पतालमा २४ घण्टै चिकित्सकहरूको व्यवस्था हुन्छ।
नेपालमा स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी परिवर्तन गर्नुपर्छ भनिँदै आए पनि तीतो यथार्थ के छ भने, अहिले पनि कतिपय अस्पताल राम्रोसँग चलाउन सकेका छैनौं। पालिका स्तरमा अस्पताल बनाउने समाचार वेलावेला आइरहन्छ, तर अस्पताल भनेको भवन मात्रै होइन।
चिकित्सक, नर्स, पारामेडिक्स लगायतको समन्वयमा उपचार सेवा प्रवाह गर्ने एकाइ वा संस्था हो अस्पताल, जुन चलाउन विज्ञ जनशक्ति र चुस्त व्यवस्थापन चाहिन्छ। त्यही भएर पनि हाम्रो जस्तो भौगोलिक, सामाजिक र आर्थिक परिवेशलाई टेलिमेडिसिन प्रविधि आवश्यक परेको हो।
टेलिमेडिसिन सेवा सञ्चालन गर्ने सफ्टवेयर हामीले हाम्रै आवश्यकता अनुसार तयार पारेका छौं। यसलाई मध्यम गतिको इन्टरनेट भए पुग्छ।
टेलिमेडिसिन सेवाको अर्को फाइदा के पनि हुन्छ भने, जिल्लाको मेडिकल अफिसर विशेषज्ञको सम्पर्कमा निरन्तर रहने हुँदा उसले आफ्नो कार्यक्षमता बढाउन पाउँछ। यस्तै, विज्ञ चिकित्सकले पनि आफ्नो क्षेत्रका बिरामीहरूसँग परिचित हुन र त्यस भेगको स्वास्थ्य समस्याबारे बुझ्न पाउँछन्। देशको स्वास्थ्य सेवा प्रभावकारी र गुणस्तरीय बनाउने यो एउटा उत्तम विकल्प हो।
सरकारले टेलिमेडिसिन कार्यक्रम राम्ररी सञ्चालन गर्न सकेमा पाँच वर्षभित्र देशभरका सरकारी अस्पतालहरूमा सबै बिरामीको विवरण इलेक्ट्रोनिक मेडिकल रेकर्डमा रहन्छ। डिजिटल स्वास्थ्य सूचना प्रणाली तयार भएपछि फार्मेसी, ल्याब इन्भेस्टिगेसन, एक्स-रे, बिल आदि पनि डिजिटल प्रणालीमा तयार गर्न सकिन्छ।
टेलिमेडिसिन कार्यक्रम सञ्चालन गर्न सकिनेबारे धेरैले प्रश्न र शङ्का पनि गर्ने गरेका छन्। तर, यसमा कुनै समस्या नै छैन। के मात्र चाहिन्छ भने, यो कार्यक्रम गम्भीरतापूर्वक सञ्चालन गरिनेछ भनेर स्वास्थ्य मन्त्रालय प्रतिबद्ध हुनुपर्यो। राजनीतिक दलहरूले पनि यो अजेन्डालाई स्वामित्वमा लिनुपर्छ।
विगतमा पनि दुर्गममा १५ जिल्लाका २० स्वास्थ्य संस्थामा टेलिमेडिसिन शुरू गरिएको थियो। तर, त्यस वेला बिजुली र इन्टरनेटको दुःख थियो, अहिले छैन। विगतमा कार्यक्रमका रूपमा चलाइयो र निरन्तरता पाउन सकेन। अब भने प्रदेश र जिल्ला अस्पतालको नियमित कार्यक्रम र उपचार विधिमा अनिवार्य बनाएर निरन्तरता दिनुपर्छ। देशभरका जिल्ला अस्पतालमा विशेषज्ञ सेवा पुर्याउने यो विधि नेपालको स्वास्थ्य सेवामा परिवर्तनकारी कदम हुनेछ।
(स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक शेर्पा स्वास्थ्य मन्त्रालयमा टेलिमेडिसिन फोकल पर्सनका रूपमा कार्यरत छन्।)