साउन २०७९ | 17/07/2022

चेपाङको चिउरी चिन्ता

Share:
  
- भद्र शर्मा, राक्सिराङ (मकवानपुर)
चिउरीमा अग्राधिकार पाएका चेपाङलाई बोटै मासिन थालेपछि यससँग जोडिएको परम्परा, संस्कृति र जीविका जोगाउनु चुनौती बनेको छ।

राक्सिराङ–६, सिलिङेस्थित चिउरीको बोट।

मकवानपुर, राक्सिराङ-६, सिलिङेका रमेश प्रजाको बाल्यकाल घरछेउको चिउरीघारी डुल्दै बित्यो। चिउरी फुल्न थालेपछि बालकदेखि वृद्धसम्मलाई दशैं-तिहार आए झैं लाग्थ्यो। घना जङ्गलबीचको सुन्दर चेपाङ बस्तीमा चिउरीको रस चुस्न माहुरी र चमेरा झुम्मिन्थे। माहुरीको भुनभुनले वातावरणमा सङ्गीत मिसिए झैं लाग्थ्यो, मकवानपुरका मनोहरी, सिलिङे र आसपासका चेपाङलाई।

चिउरी कात्तिकदेखि शुरू भएर माघ-फागुनसम्म फुल्छ। चेपाङका लागि चमेरो शिकार गर्ने मौसम पनि हो यो। आफन्त डाकेर चमेराको भोज गराउने चेपाङको परम्परा नै हो। चिउरीको रस खाएको चमेराको मासु उनीहरू निकै स्वादिलो मान्छन्। चेपाङ समुदायमा चमेराको मासुले आफन्तलाई गरिने स्वागत उपल्लो दर्जाको मानिन्छ।

चिउरी फूलबाट माहुरीले बनाएकोे मह गुणस्तरीय हुन्छ। यही महको उत्पादनले स्थानीय बजारमा चेपाङ गाउँको छुट्टै शान थियो। एक पटक स्वाद चाखेकाहरू चेपाङका घरै पुगेर भए पनि मह किन्थे। पाकेको चिउरी फल चेपाङको अर्को आहारा थियो। चिउरी पाकेका वेला माहुरीले झन् धेरै मह बनाउँथ्यो। फल चुसिसकेपछि बाँकी रहने बीउ उस्तै मूल्यवान्।

त्यसलाई कोलमा पेलेर वर्षभरिलाई भुटुन जोहो गरिन्थ्यो। चेपाङहरू चिउरी घिउका डल्ला बोकेर बिक्रीका लागि लोथर खोला तरेर चितवनतिर झर्थे। वर्ष दिनलाई नुन र कपडा जुटाउँथे।

“हामी चिउरी र चमेरासँगै हुर्कियौं। अहिले चमेरो छैन, चिउरी पनि मासिँदै छ,” गाउँमा कच्ची सडक बनेपछि किराना पसल चलाएर बसेका रमेश भन्छन्, “अब चिउरी घिउको चलन हराउँदै छ। हामी पनि बजारको तेलमा बानी पर्दै छौं।”

खोरियाबारी खन्दा चर्चरी फुटेका हातगोडामा लगाउने औषधि पनि थियो, चिउरी। घिउ बनाएपछि बचेकोे पिना खेतबारीमा कीरा मार्ने औषधि र मलका रूपमा प्रयोग गर्न सकिन्छ। यही पिनाको धूलो चैत-वैशाखतिर लोथर र मनोहरी खोलामा हालेर माछा लट्ठयाउन काम लाग्थ्यो। तर, चेपाङका यी सबै अभ्यास अब इतिहास बन्दै छन्। कारण हो- चिउरीका बोट मासिँदै जानु।

घरछेउका चिउरी बोट एकपछि अर्को ढल्दै जानु अनि उम्रिएका नयाँ रूखको संरक्षण नहुनु चेपाङलाई चिन्ताको विषय भएको छ। विश्वव्यापी तापक्रम वृद्धिसँगै उनीहरू बसेको महाभारत चुरे झन् रूखो बन्दै छ। चिउरीका नयाँ बिरुवा हुर्कन छाडेका छन्। पानीका मुहान सुक्दै छन्। बाटो बनाउन पहाडमा डोजर उकालिंदा बचेखुचेका बोट पनि मासिँदै छन्। अव्यवस्थित विकासले कमजोर भूबनोट भएको चुरेमा पहिरोको जोखिम बढाएको छ।

धेरैका लागि एउटा वानस्पतिक प्रजाति लोप हुनु सामान्य परिघटना हुन सक्ला। तर, चेपाङका लागि चिउरीको विनाश सर्वस्वहरण जस्तै हो। संस्कृति र जीविकोपार्जनको आधार सकिनु हो। सरकारी र गैरसरकारी क्षेत्रबाट चिउरी बचाउन गरिएका थुप्रै अभियानले सार्थकता पाउन सकेका छैनन्। चिउरी संरक्षण गरेर तेलमा रहेको परनिर्भरता अन्त्य र जैविक विविधता संरक्षणको दायित्व बोकेको सरकारसामु ठूलो चुनौती थपिएकोे छ।

अर्कातिर, चिउरीका रूख ढल्दा चेपाङ गाउँको शोभा हराएको छ। गाउँलेहरू पहिलेभन्दा बढी गर्मी महसूस गर्दै छन्। पहिले कहिल्यै लामखुट्टे नदेखेका सिलिङेवासी अहिले झुल किन्छन्। रमेश भन्छन्, “हाम्रो गाउँ पनि चितवन जस्तै गर्मी भयो।” तत्काललाई केही व्यक्तिको प्रयासमा थालिएको व्यावसायिक माहुरीपालनले केही राहत दिएको छ। तर, चिउरीका सबै रूख सखाप भए माहुरीपालन व्यवसाय पनि हराउने चिन्ता छ गाउँलेलाई।

सिंहलाल प्रजाले पालेका माहुरीका घार।

“कसै-कसैले व्यावसायिक माहुरीपालन गरेर पाँच टनसम्म पनि मह उत्पादन गरिरहेका छन्, भलै सबैको त्यस्तो अवस्था छैन,” सिलिङेका मोतीराम चेपाङ भन्छन्। चिउरी रोपेर जङ्गल पहिले जस्तै हराभरा बनाउन सके ८० घरधुरी रहेको सिलिङेमा मात्र माहुरीपालनबाट १० करोडसम्मकोे मह उत्पादन गर्न सकिने गाउँलेहरू औंल्याउँछन्।

चिउरी रूख नहुँदा राक्सिराङका चेपाङहरूलाई मौरी चराउन चितवन, हेटौंडा या तराईका अन्य जिल्ला जानुपर्ने बाध्यता छ। त्यहाँसम्म माहुरी पुर्‍याउन झन्झट त छँदै छ, चरन क्षेत्रका लागि जग्गाधनीलाई प्रत्येक घारको दरले भाडा पनि तिर्नुपर्छ। तराईमा बाढी आउँदा माहुरीका घार नै गुमाउनुपरेका उदाहरण पनि छन्।

माहुरी चराउन चितवन पुगेका रमेशले अघिल्लो बर्खामा यस्तै नियति भोगे। कोभिड-१९ महामारीका कारण स्थानीय सरकारले निषेधाज्ञा जारी गरेको थियो। यसै कारण घार राखिएको स्थानमा नियमित हेरचाहका लागि जान पाएनन्। त्यही वेला आएको बाढीले उनका ८० घार माहुरी बगाइदियो। “सबै गरेर आठ लाख जति नोक्सान भयो,” उनी दुखेसो पोख्छन्, “गाउँमै माहुरी चराउने वन हुन्थ्यो त त्यस्तो क्षति हुँदैनथ्यो होला।”

चिउरीको बियाँ सङ्कलन गरेर प्रशोधित तेल उद्योग सञ्चालन गर्न सकिन्छ। चिउरीको पातबाट टपरी उद्योग पनि चलाउन सकिन्छ। यससँगै जोडिने पर्यटकीय सम्भावना त छँदै छ। “चेपाङ गाउँमा पर्यटन उद्योगदेखि अन्य थुप्रै व्यावसायिक सम्भावना भए पनि चिउरी मासिएका कारण समस्या देखिएको छ,” राक्सिराङ-७ का वडाध्यक्ष सिंहलाल चेपाङ भन्छन्, “हाम्रो ध्याउन्न अहिले चिउरी जोगाउनमै छ।”

चिउरीसँग अन्योन्याश्रित सम्बन्ध भएकाले पञ्चायतकालमै राष्ट्रिय वनमा रहेका चिउरीका रूख चेपाङको नाममा दर्ता गरेर लालपुर्जा दिइएको चेपाङ अगुवा मोतीराम बताउँछन्। “२०४२-४३ सालतिर वन मन्त्रालयले ऐलानी जग्गामा रहेका चिउरी बोटका लागि सेतो अनि नम्बरी जग्गामा रहेकालाई नीलो प्रमाणपत्र दिएको थियो। ती हामीसँग अझै छन्। तर, चिउरीका रूख हराउँदै छन्,” उनी भन्छन्।

चिउरीमा चेपाङको निजी स्वामित्व बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक शासन व्यवस्थामा पनि निरन्तर छ। परिवर्तित वन कानून अनुसार स्थानीयले संरक्षण गर्दै आएका सामुदायिक वनका चिउरी पनि चेपाङले निजी प्राकृतिक स्रोतका रूपमा प्रयोग गर्दै आएका छन्। सामुदायिक वनका कानूनी प्रावधान चेपाङको हकमा लागू हुँदैनन्। तर, सरकारले सुम्पिएका तिनै चिउरी बोट हराउन थालेपछि धादिङ, गोर्खा, चितवन, मकवानपुरको पहाडी भेगमा बसोबास गर्दै आएका करीब ५० हजार चेपाङको ओठतालु सुक्दै छ।

चिउरी संरक्षणमा चेपाङकै बदलिंदो जीवनशैली पनि चुनौती बनिरहेको छ। चेपाङ बस्तीमा जनसङ्ख्याको चाप बढेसँगै जीविकोपार्जन र आय आर्जनलाई सहज बनाउन धेरैले बाख्रापालन थालेका छन्। बाख्राले चिउरीका बिरुवा समेत खाइदिन्छन्। अधिकांश बूढा रूख ढलिसकेको र नयाँ पनि हुर्कन नपाएकाले बीउ समेत पाउन मुश्किल छ।

“पहिले त एक घरमा २५ मुरीसम्म चिउरीको बीउ टिपेर राखिन्थ्यो। त्यसको घिउ धार्नीको हिसाबले बिक्री हुन्थ्यो,” अर्का चेपाङ अगुवा सन्चराज प्रजा भन्छन्, “अब चिउरीको बीउ कम भएको छ। मूल्य नपाएपछि औषधि र तेलका लागि भएका रूखबाट बियाँ टिप्न पनि छाडे।”

विभिन्न सामाजिक संघसंस्थाले चेपाङ संस्कृति जोगाउँदै उनीहरूको जीविकोपार्जनमा सघाउन चिउरी रोपण पनि नगरेका होइनन्। त्यसले सफलता पाउन सकेन। सिलिङेमा मात्रै दशौं हजार बिरुवा रोपिए पनि हुर्काउन नसकिएको स्थानीय बासिन्दा बताउँछन्।

“बाख्राले कलिलो चिउरी मन पराउने भएकाले नयाँ बिरुवाको संरक्षण कठिन छ,” मोतिराम भन्छन्, “अब चिउरीका बिरुवा रोप्दा कम्तीमा ६ फिट अग्लो फलामको बार लगाइए मात्र जोगिएला।”

चेपाङ समुदायमा छोरीको विवाह हुँदा चिउरीको रूख दाइजो दिने परम्परा पनि अब हराइसकेको छ। “एक त बारीमा चिउरीको बोट छैन,” मोतीराम भन्छन्, “अर्कातिर अहिलेका छोरीचेली चिउरी लिने, यसको सदुपयोग गर्नेभन्दा अन्य काममा लागेकाले यो परम्परा लोप जस्तै भएको छ।”

(शर्मा द न्यूयोर्क टाइम्सका लागि रिपोर्टिङ गर्छन्।)

comments powered by Disqus

रमझम