साउन २०७९ | 17/07/2022

चिभा: चिनारी

Share:
  
- वसन्त महर्जन
मुस्ताङ, जुम्ला, दैलेख जस्ता स्थानमा भेटिएका प्राचीन स्तूप र चिभाःहरूमा काठमाडौं उपत्यकाकै नेवार बौद्ध वास्तुको प्रभाव देखिन्छ जो आफैंमा अलग्गै ‘ब्रान्ड’ हो। 

काठमाडौंको न्यूरोडमा अवस्थित चिभाः।
तस्वीरः वसन्त महर्जन।

बर्मामा ‘प्यागोडा’ शब्दले हाम्रो स्तूप वास्तुलाई बुझउँछ, तर त्यसको बान्की र शैली बेग्लै हुन्छ। अर्थात्, त्यो शैलीलाई बर्मेली ‘ब्रान्ड’ भन्न सकिन्छ। बौद्ध समाजमा स्तूपले विशिष्ट स्थान राख्छ। थाई र श्रीलंकाली शैली पनि बेग्लै छन्। तिब्बती बौद्ध समाजले अलग्गै ‘छोर्तेन ब्रान्ड’ विकास गरेको छ। यही मेसोमा नेपालले विकास गरिसकेका तर यथोचित ध्यान नपुगेका दुई ‘ब्रान्ड’ हुन्– स्वयम्भू महाचैत्य र ‘चिभाः’।

काठमाडौं उपत्यकासँगै अन्यत्र पनि बौद्ध धर्म मान्दै आएको नेवार बस्तीमा चिभाः देख्न पाइन्छ जुन बाटोछेउ वा भित्र कतै एक वा बढी सङ्ख्यामा स्थापना गरिएको हुन्छ। आकारमा सानै हुने भएकाले यसले धेरै ठाउँ ओगटेको हुँदैन। वेदीबाट माथि चुच्चो पार्दै लगी सबैभन्दा माथि स्वयम्भू स्तूप राखेर बनाइएको वास्तु नै चिभाः हो। सार्वजनिक स्थलसँगै कसैले व्यक्तिगत रूपमा पनि घर वरिपरि वा कौसीमा चिभाः बनाएर पूजापाठ गर्दै आएको हुन सक्छ।

गौतम बुद्धको काठमाडौं भ्रमणको सन्दर्भलाई लोककथन मात्रै मान्दा पनि यो चाहिं प्रमाणित तथ्य हो कि बुद्धको जीवनकालदेखि नै बौद्ध धर्म काठमाडौं उपत्यकामा अविच्छिन्न रहँदै आएको छ। धर्मसँगै संस्कार, संस्कृति र कलाको विकास हुनु स्वाभाविक हो। काठमाडौं उपत्यकामा विभिन्न कालखण्डमा बन्दै आएका अनेक शैली र आकारप्रकारका स्तूप त्यसका प्रमाण हुन् जसलाई नेपालले आफ्नो पहिचानका रूपमा बाह्य जगत्‌मा प्रस्तुत गर्न सक्छ।

काठमाडौं उपत्यकाको ‘ल्यान्डमार्क’ बनिरहेको स्वयम्भू महाचैत्यको हर्मिकाको चारै दिशामा गरिएको दुई आँखाको चित्रण नेपालको मौलिक पक्ष हो। नेपालको कला, संस्कृति र बौद्ध धर्मको पर्यायका रूपमा रहेको महाचैत्यलाई सर्वोपरि स्थान दिने चिभाः अर्को मौलिक सिर्जना हो। स्वयम्भू ‘ब्रान्ड’ प्रयोग गरेर सिर्जित चिभाः आफैंमा अर्को ब्रान्ड बनिसकेको छ। नेपालले यसतर्फ ध्यान दिनुपर्छ।

नेपालको कला, संस्कृति र बौद्ध धर्मको
पर्यायका रूपमा रहेको महाचैत्यलाई
सर्वोपरि स्थान दिने चिभाः अर्को मौलिक
सिर्जना हो।
मुस्ताङ जिल्लाको घमी गाउँ नपुग्दै बाटोछेवैमा देब्रेतिर काँचो माटोबाट बनेको एउटा ठूलो स्तूप देखिन्छ जसमा स्वयम्भूकै जस्ता आँखा छन् जुन हिमाली क्षेत्रका अन्य स्तूपमा भेटिँदैन। तर, ऐतिहासिक परिप्रेक्ष्यमा यो किन स्वाभाविक हो भने प्राचीन लो राज्य (वर्तमान मुस्ताङ क्षेत्र) सँग काठमाडौं उपत्यकाको नेवार बौद्ध समाजको गहिरो सम्बन्ध थियो। अर्थात्, स्वयम्भू स्तूपको प्रभाव प्राचीन कालदेखि नै अन्यत्र फैलिइसकेको थियो।

जुम्लाको सिंजा उपत्यकालाई राजधानी बनाई बाह्रौं शताब्दीमा नागराजद्वारा स्थापित खस साम्राज्य अन्तर्गतका कतिपय ठाउँमा काठमाडौंकै सदृश चिभाः भेटिन्छन्। साम्राज्य स्थापनाअघि नै बौद्ध धर्म र सभ्यताको विकास भइसकेको त्यस क्षेत्रमा काठमाडौंको प्रभाव भन्न सकिने ऐतिहासिक तथ्य अरू पनि प्रशस्तै छन्। काठमाडौंको प्रभाव रहेको तिब्बत मात्र नभई तत्कालीन नेपालका शासकहरूसँग पनि खस शासकहरूको प्रत्यक्ष राजनीतिक, धार्मिक तथा सांस्कृतिक सम्बन्ध पाइन्छ।

तत्कालीन नेपालमा विभिन्न खस शासक तथा सैनिकहरूको आगमनलाई गोपालराजवंशावलीले आक्रमणका रूपमा वर्णन गरे पनि खासमा त्यस्तो आगमन आफू पक्षका शासकलाई सघाउन तथा तीर्थयात्राको प्रयोजनले हुने गर्थ्यो। यस्तो आवतजावत जनस्तरमै पनि रहेको अनुमान हुन्छ। खस भाषा (वर्तमान नेपाली भाषाको पूर्व रूप) को प्रभाव नेपालमण्डलमा त्यति वेलै परिसकेको थियो। बौद्ध धर्मको महत्त्वपूर्ण ग्रन्थ ‘शतसहश्रिकाप्रज्ञापारमिता’ सार्न सक्ने मान्छे काठमाडौंबाट जुम्ला दरबारमा झिकाइएको र एक प्रति ग्रन्थ राजा पुण्य मल्लले काठमाडौंस्थित इतुंबहाललाई दान गरेको तथ्य इतिहासविद् महेशराज पन्तबाट प्रकाशमा आएको छ। यसबाट जुम्ला दरबारले नेपालमण्डलका बौद्ध विद्वान्हरूको कदर गर्ने गरेको थाहा हुन्छ। ठीक त्यसै गरी वास्तुकलाको पनि प्रभाव पर्नु स्वाभाविक हो।

खस साम्राज्यको दोस्रो राजधानी वर्तमान दुल्लु क्षेत्रको प्रवेशमार्गमा पर्ने पाथरनाउलीमाथि एउटा चैत्य देखिन्छ। त्यहाँको अभिलेख अनुसार पिउने पानीको सुविधाका लागि नावल्लदेवीका छोरा देव वर्माले उक्त नाउलीका साथै ‘पञ्चचैत्य’ बनाउन लगाएका थिए।

स्वयम्भू, खास्ति (बौद्ध) लगायत स्तूपलाई
चिभाः भनिनुको तात्पर्य यिनको बेग्लै
पहिचान भएर हो।
वर्मा राजा पृथ्वी मल्लका मन्त्री हुन्। यो अभिलेख पढ्ने पहिलो व्यक्ति योगी नरहरिनाथ थिए भने यसैका आधारमा खोजी गर्दा माथिपट्टि अहिले देखिने चैत्य फेला परेको थियो। वरपर रहेका बाँकी चार चैत्य चाहिं मासिएको अनुमान गर्न सकिन्छ। उक्त चैत्यको अवयव काठमाडौंमा प्रचलित चिभाःसँग ठ्याक्कै त मिल्दैन, तर बनोट र शैलीमा प्रशस्त प्रभाव छ। वर्माले नै अछामको विनायकमा शाके १२७६ मा बनाउन लगाएको कुचीविहारको चैत्य पनि उस्तै छ।

जुम्लाको खलंगाबाट दक्षिण पश्चिमस्थित मिचा गाउँमा ढुङ्गाका १२ वटा स्तूप अझै देख्न सकिन्छ। खस साम्राज्य विघटनको करीब सय वर्षपछि बनेका यी स्तूपले काठमाडौं उपत्यकामा यत्रतत्र देखिने चिभाःको झल्को दिन्छन्। यिनीहरूको ऐतिहासिक पक्षबारे विस्तृत सर्वेक्षण आवश्यक छ।

स्तूप वास्तुकलाको मुख्य भाग अर्धगोलाकार डोम हो। कुनै वेला माटाको थुप्रो राखेर स्तूप भनिने गरेकामा अहिले विश्वभर यसका अनेक आकारप्रकार र शैली विकास भइसके। काठमाडौंमा हरेक स्तूप चिभाः कहलिंदैनन्। स्वयम्भू, खास्ति (बौद्ध) लगायत स्तूपलाई चिभाः भनिनुको तात्पर्य यिनको बेग्लै पहिचान भएर हो। अर्थात्, चिभाः स्तूप वास्तुकलाको एउटा भेदका रूपमा विकास भएको छ।

चिभाःको तात्पर्य हो– विभिन्न तहका वेदिकामाथि चारै दिशामा सम्बद्ध बोधिसत्त्वहरूको मूर्ति, त्यसमाथि पञ्चबुद्ध, त्यसभन्दा पनि माथि पुनः पञ्चबुद्ध सहितको सानो स्तूपलाई गजुरका रूपमा राखिनु। स्तूपका चारै दिशामा अक्षोभ्य बुद्ध (पूर्व), रत्नसम्भव बुद्ध (दक्षिण), अमिताभ बुद्ध (पश्चिम) र अमोघसिद्धि बुद्ध (उत्तर) का मूर्ति राखिन्छन्। बाँकी एक वैरोचन बुद्धको मूर्ति भने स्तूपमा प्रायः राखिन्न। बरु स्तूपको गर्भगृह नै यी बुद्धको स्थान मानिन्छ। वैरोचन बुद्ध देखाउनुपर्दा पूर्व र दक्षिणको बीचमा राख्ने चलन पनि छ जुन स्वयम्भू स्तूपमा चाहिं देखिंदैन।

चिभाः शब्दको व्युत्पत्ति कसरी भयो र
यसको अर्थ के हो भन्नेबारे यकिन जवाफ
छैन। ‘चैत्य भट्टारक’ को अपभ्रष्ट शब्द
‘चिभाः’ रहेको झ्निो अनुमानसम्म गर्न
सकिन्छ।
स्तूपको अर्धगोलाकारको डोममाथि सानो हर्मिकामा दुई वटा आँखा र बीचमा टीका जस्तो देखिने ऊर्णाको चित्रण गरिन्छ जसले सबै बुद्धमा पाइने ३२ लक्षणमध्ये एक बुझाउँछ। ऊर्णाको ठीक मुनिपट्टि प्रश्नचिह्न जस्तो आकृति हुन्छ। हर्मिकामाथि त्रयोदश भुवन भनी गोलाकार चक्काहरू अङ्कित गराइन्छ जसलाई सामान्यजनले गजुर भनी बुझछन्। यी अवयव ज्यादै साना र मसिना कलाकृतिले भरिपूर्ण हुन्छन्। तर, यो स्वयम्भू महाचैत्यकै प्रतिकृति हो।

बुद्धको जीवनकालसम्म स्तूप र चैत्य दुई शब्दले बेग्लाबेग्लै वास्तुको अवबोध गराउने गरेकामा त्यसपछि क्रमशः पर्यायवाची रूपमा देखा परे। स्तूप शब्दको उल्लेख ऋग्वेदमा पनि पाइन्छ। कुनै वेला जैन समाजमा पनि यसको निर्माण हुन्थ्यो। तर, बौद्ध धर्ममा स्तूप लोकप्रिय र व्यापक बनेसँगै यो बौद्ध वास्तुकलाका रूपमा स्थापित हुन पुग्यो। संस्कृत शब्द स्तूपको पाली शब्द ‘थूप’ र काठमाडौं उपत्यकामा ‘थूर’ वा ‘थू’ भएको पाइन्छ। तर, चिभाः शब्दको व्युत्पत्ति कसरी भयो र यसको अर्थ के हो भन्नेबारे यकिन जवाफ छैन। ‘चैत्य भट्टारक’ को अपभ्रष्ट शब्द ‘चिभाः’ रहेको झ्निो अनुमानसम्म गर्न सकिन्छ। तर, प्रचलनमा चिभाः भनिए पनि शब्दको तृतीया र सप्तमी विभक्तिमा रूपावली चलाउँदा चिभालं (चिभालबाट) र चिभालय् (चिभालमा) भन्नुपर्ने हुन्छ अर्थात् विभक्तिका रूपमा आउने चिह्नहरू हटाउँदा मूल शब्द प्रकट हुन्छ– चिभाल।

यूरोप सहित विभिन्न देशमा स्थायी बसोबास थालेका नेवार बौद्धहरूमा आजभोलि तिनै ठाउँमा चिभाः स्थापना गर्ने लहर चलेको पाइन्छ। पूजा गर्न नभई सजावटको प्रयोजनले पनि आजभोलि नेपालबाट चिभाः निर्यात गर्ने प्रवृत्ति छ। चिभाः बुझ्ने क्रममा यसको विशिष्ट पक्षलाई ध्यान दिन आवश्यक छ। स्तूप सबै बौद्धसँग सम्बद्ध भए पनि चिभाः महायानी बौद्ध सम्प्रदायसँग मात्र सम्बद्ध विषय हो।

श्रावकयानी बौद्धहरू (यस अन्तर्गत नेपाल, भारत, श्रीलंका, बर्मा, थाइल्यान्डमा थेरवादी सम्प्रदाय) पञ्चध्यानी बुद्ध लगायत अवधारणासँग सरोकार राख्दैनन्, तर सद्भाव राख्छन्। यो पृथक्ता नबुझेरै कतिपय व्यक्ति अलमलिने वा भ्रममा रहेको पाइन्छ। परम्परागत नेपाली बौद्ध धर्म–संस्कृति भनौं वा स्वयम्भू तथा चिभाःहरू, स्वतः वज्रयानी बौद्ध परम्परासँग सम्बद्ध हुन्। अन्यत्रका वज्रयानी सम्प्रदायभन्दा नेपालको वज्रयानी परम्परा यस कुरामा पनि फरक नै छ। यही वास्तुशैली नै नेपालको ब्रान्ड हो।

(महर्जन बौद्ध धर्म अध्येता हुन्।)

comments powered by Disqus

रमझम