साउन २०७९ | 17/07/2022

जब एउटा मान्छे भेटिन्छ

Share:
  
- सुदिप पाख्रिन
एउटा मान्छे हराउँदा ऊसँगै परिवार, समाज र देशसँग जोडिएका धेरै थोक एकसाथ हराउँछन्।

अमेरिकी कवि एवं उपन्यासकार र्‍यान्डल जरेलको एउटा प्रसिद्ध भनाइ छ, ‘कवि त्यो मानिस हो, जो जीवनभर आँधीबेहरीमा बाहिर खुला ठाउँमा उभिन्छ र ५/६ पटक चट्याङको प्रहार खप्छ।’ झण्डै डेढ दशक वैदेशिक रोजगारीमा रहेका कवि चन्द्र गुरुङले जीवनमा कति चट्याङको चोट भोगे होलान्, ती पीडा र भोगाइ कवितामा पोख्दै गए। प्रवासमा रहँदा लेखिएका तथा अन्य अनुभूति र अस्तित्वबोधका कविताहरूको सँगालो आएको छ, जब एउटा मान्छे हराउँछ

सङ्ग्रहमा आठ खण्डमा गरी ५० कविता समेटिएका छन्। यी खण्डहरूमा खुशी, पीडा, प्रेम, प्रकृति, जीवनको जटिलता, मान्छेको ढोंगी प्रवृत्तिदेखि जातीय विभेद, देशप्रेम, देशमा व्याप्त विसङ्गति, विकृत राजनीतिसम्म विषयका कविताहरू छन्। बा सम्बन्धी कविताबाट शुरू गरेर आमामा टुङ्ग्याइएका सङ्ग्रहका कविताहरूमा हृदयपक्ष बोलेको छ।

भावनात्मकदेखि वैचारिक कवितासम्ममा फैलिएका कविले आजको जल्दोबल्दो मुद्दा पर्यावरणमाथि पनि लेख्दै मानवसिर्जित सङ्कटबारे औंला उठाएका छन्। वैचारिक कविताले कविको राजनीतिक सचेतता झल्काएको छ भने कवि र कविताहरूमाथि लेखिएका कविताबाट उनी यी विषयलाई कसरी हेर्छन् भन्ने प्रष्ट हुन्छ।

सङ्ग्रहमा देशबारे प्रशस्त कविता समेटेका कविले खास गरी परदेशमा रहेर देश सम्झिँदाका गहिरा अनुभूति अभिव्यक्त गरेका छन्। प्रवासमा भौतिक सुखसुविधाको जोहो भए पनि आत्मिक शान्ति मातृभूमिमै रहेको मर्मबोध छ। उदाहरणः

सबथोक छ परदेशमा-
उमङ्ग
मुस्कान
हाँसो
सुख
मात्रै छुटेको छ
यी सब जतनपूर्वक सम्हाल्ने मुटु
उतै घरदेशमा।

देशप्रतिको प्रेममा कवि लेख्छन्-

चराहरूले छोडेर गएपछि
झोक्र्याइरहन्छ एउटा रूख एक्लो एक्लो

*** *** ***

फरक कुची
फरक रङ
फरक क्यानभास
फरक कलाकार।

चित्रमा कोरिनुपर्छ
तर एउटै देश।

*** *** ***

तिम्रो भान्टा जस्तो नाक होइन देश
घिनलाग्दो र अपाच्य स्टाइलमा
चलखेलको चोरीऔंलाले कोट्याइरहने।

मानवीय प्रवृत्ति र आधुनिक जीवनको अप्ठेरोबारे पनि कविताले खोतलेको छ-

अहम्को कालो घाम
शिरमाथि उक्लन्छ
उक्लिएर शिरमाथि
बिस्तारै त्यो सघन बन्छ
फराकिलो बन्छ
अनि क्रमशः
घटाउँछ मान्छेको उचाइ।

*** *** ***

म आफू
राम्रै देखिन्छु
राम्रै लगाउँछु
राम्रै खान्छु
साँच्चै-
सब ठीकठाक नै छ त?

*** *** ***

प्रेमबारे नरम अभिव्यक्ति पनि हेरौं-

नगर बन्द त्यो झ्याल चाहिँ
यो त हो-
तिमी आउँछौ भन्ने
मेरो मुटुभरिको विश्वास।

सङ्ग्रहका कविताहरू मिहिन रूपमा पढ्दा प्रत्येक विषयभित्र उक्त विषयलाई आलोचनात्मक ढङ्गले हेरिएको पाइन्छ। यस्तो आलोचनात्मक चेत प्रेम, मानवीय प्रवृत्ति, खुशी विषयक कविताहरूमा समेत छ। लाग्छ, प्रत्येक चिज उनीमाथि चट्याङ बनेर बज्रिएका छन्, र नै ती भोगाइलाई हृदय निचोरेर बागी शैलीमा अभिव्यक्त गर्न सकेका हुन्। यहींनेर उनका कविताहरूको शक्ति देखिन्छ।

कविताहरू सरल र कलात्मक छन्। सङ्गीतात्मक र मनमोहक शैली भएका कारण लामा वाक्य गठनले पनि कविता बोझिलो बनाउँदैन। एकै बसाइमा सङ्ग्रह स्वाद लिएर पढ्न सकिन्छ। तर, कविको यही सरल भाषाशैलीबारे प्रश्न गर्न सकिने ठाउँ छ। के कवितामा यति धेरै सरल हुन जरुरी छ त? कविता बुझ्न सक्ने पाठकको क्षमतालाई कविले कम आँकेका हुन्?

यति भईकन प्रशस्त नवीन विम्बहरूले कविताहरूलाई मीठा बनाएका छन्। ‘आत्मविश्वासको चङ्गा’, ‘मुस्कानको चरा’, ‘पानीको मुसलधारे आगो’, ‘पीरव्यथाका जुम्रा’, ‘मौन बसेका चुलो’, ‘निराशाको पछ्यौरी’, ‘पीडाको नदी’ जस्ता विम्बहरूले कवितामा भरपूर चित्र, दृश्य र अनुभूति भरेका छन्।

एउटा मान्छे हराउँदा ऊसँगै परिवार, समाज र देशसँग जोडिएका धेरै थोक एकसाथ हराउँछन्। मान्छे हराउँदाको चिन्ता, वेदना, रिक्तता, पलायन-पीडा र अनिश्चितता मिश्रित कविताहरू लेखेर कवि चन्द्रले खासमा एउटा जीवन-मूल्यको गाथा गाएका छन्, एउटा मान्छेको उदासीसँगै आशा र थकानसँगै सपनासँग भेट गराएका छन्।

पुस्तक: जब एउटा मान्छे हराउँछ (कविता सङ्ग्रह),
लेखक: चन्द्र गुरुङ
प्रकाशक: इन्डिगो इङ्क पब्लिकेशन,
पृष्ठ: १२७,
मूल्य: रु.२४९।-

comments powered by Disqus

रमझम