साउन २०७९ | 17/07/2022

महामारीको असरलाई सम्बोधन

Share:
  
- हरि लम्साल
कोभिड–१९ का कारण आर्थिक, सामाजिक, मनोवैज्ञानिक चाप भोग्दै गहिरो असर बेहोरेको शिक्षा क्षेत्रका समस्या समाधान गर्न बृहत् सुधार चाहिएको छ ।

कोभिड–१९ को महामारीले अन्यत्र जस्तै नेपालमा पनि अर्थतन्त्र र समग्र जनजीवन खलबल्यायो । सङ्क्रमण रोकथाम गर्न लगाइएको बन्दाबन्दी (लकडाउन) मा विद्यालयहरू लामो समय बन्द भए । प्रविधिमा असमान पहुँचका कारण अनलाइन माध्यमबाट थोरै विद्यार्थी मात्र पठनपाठनमा समावेश हुन सके । अनलाइन कक्षाको समयमा धनीभन्दा गरीब परिवारका र शहरीभन्दा ग्रामीण भेगका बालबालिका सिकाइबाट वञ्चित भए ।

महामारीले शिक्षा र शैक्षिक व्यवस्थामा पारेका असरहरूलाई धेरै कोणबाट विश्लेषण गर्न सकिन्छ । त्यस्ता असरलाई यहाँ प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई समूहमा वर्गीकरण गरेर चर्चा गरिएको छ ।

प्रत्यक्ष असर

कोभिड–१९ महामारीले बालबालिकाको पठनपाठनमा प्रत्यक्ष असर गर्‍यो । हुन त महामारी अगाडि पनि विभिन्न समूहका बालबालिकालाई शिक्षाको अवसर समान थिएन । सुविधा पाउने र सुविधा पाउन नसक्ने समूहमा बालबालिका विभाजित थिए । महामारीपछि वर्गीकरणका कारक तत्त्वहरू अझ् शक्तिशाली बन्दा त्यसका असर सतहमै देखा परे ।

महामारीपछिको शिक्षामा प्रविधिको प्रयोग सिकाइ प्रक्रियालाई अघि बढाउने विकल्पका रूपमा त देखियो, तर ठूलो समूह शैक्षिक प्रक्रियाबाट अलग रहनुपर्ने अवस्था पनि सिर्जना भयो । यो परिदृश्य हेर्दा शिक्षाकै कारण समाजमा रहेको दरार भोलिका दिनमा अझ् फराकिलो बन्ने देखिन्छ ।

कोभिड–१९ महामारीले समाजमा आय असमानता बढाउन थप भूमिका खेल्यो । अलजजिरामा प्रकाशित लेखमा आर्थिक समानताका अभियन्ता नबिल अहमदले कोभिड–१९ को अवधिमा विश्वका सबैभन्दा धनी १० जनाको सम्पत्ति प्रति सेकेन्ड १५ हजार डलरका दरले बढेर दोब्बर भएको उल्लेख गरे । अर्कातिर, विश्वका ९९ प्रतिशत मानिसमध्ये धेरैको रोजगारी गुम्यो र आम्दानी घट्यो । जब कम आय भएका मानिसको आम्दानी घट्छ, उनीहरूको खर्च गर्ने प्रक्रिया र प्राथमिकताका क्षेत्र बदलिन्छन् । न्यून आयस्ता भएका वर्गका लागि शिक्षा यसै पनि पहिलो प्राथमिकतामा नपरिरहेको अवस्थामा कमाइ अझ् घटेपछि के होला भनेर सहजै अनुमान गर्न सकिन्छ ।

संयुक्त राष्ट्रसंघीय बाल कोष (यूनिसेफ) र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले दक्षिणएशिया र एशिया प्यासिफिक मुलुकहरूमा गरेको अध्ययन अनुसार, कोभिड–१९ का कारण व्यक्तिको मात्र नभई सरकारको पनि आम्दानी घट्यो र आगामी दिनमा शिक्षालाई सरकारले अझै कम प्राथमिकतामा राख्ने सम्भावना छ । शिक्षामा जब सरकारी लगानी घट्छ, सबैभन्दा पहिले प्रभावित हुने भनेकै आर्थिक रूपमा कमजोर र विपन्न घरपरिवारका बालबालिका नै हुन् । नेपालकै सन्दर्भमा पनि शिक्षा बजेट उल्लेख्य बढ्न सकेको छैन । भएको बजेटबाट पनि लक्षित समूहका लागि योजना बन्न सकेको छैन ।

कोभिड–१९ ले बालबालिकामा गम्भीर मनोवैज्ञानिक समस्या ल्याएको विज्ञहरूले औंल्याएका छन् । सन् २०२१ डिसेम्बर १३ मा द न्यूयोर्क टाइम्समा प्रकाशित लेखमा लेखकद्वय मेगन ट्वहे र ग्याब्रियल जे. एक्स. डान्सले बन्दाबन्दीले ल्याएको मानसिक तनाव र आत्महत्याले युवापुस्तालाई बढी गाँजेको देखिन्छ । नेपालमा भने यसबारे बृहत् अध्ययन र बहस हुनै बाँकी छ ।

कोभिड–१९ को कारण पठनपाठन अवरुद्ध भएपछि बालबालिकाको सिकाइमा ह्रास आयो । सामान्य अवस्थामा यसै पनि हाम्रो सिकाइको अवस्था औसत ५० प्रतिशतको हाराहारीमा हुँदो हो, पठनपाठन नै हुन नसकेपछि के भयो होला ? यूनेस्को र यूनिसेफ जस्ता संस्थाहरूले शिक्षामा सिकाइ सङ्कट (लर्निङ क्राइसिस) आएको उल्लेख गरेका छन् । यस्तो सङ्कटको मात्रा कम आय भएका बालबालिकामा अझ् बढी हुन सक्छ । तर, नेपालमा यस सम्बन्धमा गहन अध्ययन भएको छैन । अहिलेको पुस्ताको सिकाइ कमजोर हुनु भनेको भावी पुस्ता कस्तो हुन्छ भन्ने सङ्केत भएकाले यो मुलुककै लागि चिन्ताको विषय हो ।

अप्रत्यक्ष असर

भिड–१९ ले मानव जीवनका कतिपय पाटामा अप्रत्यक्ष असर पुर्‍याएको छ । यस्ता असरले हाम्रो आनीबानी, कार्यशैली र व्यवहार बदल्छ । भारतीय मूलका अमेरिकी लेखक फरिद जकरियाको पुस्तक टेन लेसन्स फर अ पोस्ट–प्यान्डेमिक वल्र्ड (सन् २०२०) मा अन्य महामारीले जस्तै कोभिड–१९ ले पनि मानवीय व्यवहार एवं जीवनशैलीमा परिवर्तन ल्याउने उल्लेख छ । त्यस्ता कतिपय परिवर्तन हाम्रो जीवन र दैनिक व्यवहारमा देखिन थालिसकेका छन् । मानवीय जीवनमा आउने परिवर्तनको असर स्वाभाविक रूपमा शिक्षा र शैक्षिक व्यवस्थामा पर्छ । त्यसैले अबको शिक्षा प्रविधिको प्रयोगले पार्ने असर र मानवीय व्यवहारमा आएको परिवर्तनबाट आउन सक्ने चुनौतीबाट प्रभावित र निर्देशित हुन सक्छ ।

सूचना प्रविधिको व्यापकता बढ्दै जाँदा अब मानिस प्रविधिको नियन्त्रणमा बाँच्नुपर्ने देखिँदै छ । यसले बालबालिकाको अवस्था अझ् तनावपूर्ण बन्दै छ । लामो समय कम्प्युटरको स्क्रीनमा बस्दा बालबालिकामा के कस्तो शारीरिक वा मानसिक असर परेको होला भन्ने अनुमान नै गरिएको छैन । यसै पनि सामाजिक रूपमा कम अन्तरसंवाद गर्ने मिलेनियल्स पुस्ताको त्यो स्वभाव र मनस्थिति अझ् सघन हुने निश्चित छ । यसको असर सामाजिक सम्बन्ध र अन्तरसंवादसम्ममा पर्ने देखिन्छ ।

कोभिड–१९ ले शिक्षा प्रणालीमा पारेका नकारात्मक असरहरू माथि उल्लेख गरिएभन्दा पनि अझ् धेरै हुन सक्छन् । तर, यसले बाध्यकारी रूपमा भए पनि प्रविधिको प्रयोगमा अनुभव र सीप हासिल गरायो । सरकारले पनि नियमनका लागि केही कानूनी आधार तयार गर्‍यो । कार्यविधिहरू बने । पठनपाठनका लागि डिजिटल सामग्रीहरू बने । शिक्षकहरूलाई तालीम दिइयो । प्रविधिमा शिक्षक र सार्वजनिक प्रशासनमा काम गर्नेहरूको पहुँच बढ्यो । भविष्यमा महामारी जस्तै अप्ठेरो समयका लागि यो अनुभव र विकल्प काम लाग्ने भयो ।

अब के गर्ने ?

द्रुत गतिमा बदलिंदो मानव जीवनसँग शिक्षा र शैक्षिक प्रक्रियालाई समयानुकूल र सान्दर्भिक कसरी बनाउने ? यसका लागि हामीले कस्तो तयारी गर्दै छौं ? पहिलो त, शिक्षा प्रणालीमा कोभिड–१९ ले पारेको असरको सूक्ष्म लेखाजोखा हुनुपर्छ, जुन अझ्सम्म शुरू भएकै छैन । दोस्रो, शिक्षाका विषयवस्तु र सिकाइ प्रक्रिया बदल्न नीति, संरचना, शिक्षकको कार्यशैली नै बदल्नुपर्छ । अहिलेसम्म यी पक्ष कति बदलिए त ? हामी कति बदलियौं ? वर्षौंदेखि अभ्यस्त पुरानो सोच र कार्यशैलीले नयाँ चुनौतीको सामना गर्न सम्भव पक्कै हुँदैन । शिक्षामा परेको असरको मापन र नयाँ चुनौतीको सामना गर्ने नयाँ उपायको खोजी र कार्यान्वयन नै अहिलेका प्रमुख आवश्यकता हुन् ।

शिक्षालाई जीवनोपयोगी बनाउन शिक्षाका विषयवस्तु मात्र नभएर शिक्षण सिकाइ प्रक्रियामै परिवर्तनको खाँचो छ । शिक्षा अझ् बढी बजारमा निर्भर बन्दै गएकाले यसको अन्तरसम्बन्धबारे खोजी गर्नुपर्ने देखिन्छ । शैक्षिक उपलब्धि हासिल गर्न समय, भूगोल र स्थानीयता सुहाउँदो हुने गरी शिक्षाको मोडल बदल्नुपर्छ । यी सबैका लागि हाम्रो सोच र कार्यशैली बदल्न आवश्यक छ ।

यूनिसेफ, यूनेस्को र विश्व ब्याङ्कका तथ्याङ्क अनुसार, कोभिड–१९ कै कारण संसारभरि नै गरीबीको रेखामुनि हुनेको सङ्ख्या बढेको छ । आर्थिक उत्पीडनका कारण जब मानिसहरू सीमान्तीकृत बन्छन्, उनीहरूका लागि विद्यमान शिक्षा र शिक्षा प्रणाली सान्दर्भिक बन्दै जान्छ । मानिसलाई थप गरीबीको दुश्चक्रबाट जोगाउन नसके यो वर्ग शैक्षिक मूल प्रवाहमा नसमेटिन सक्छ, र शिक्षा कसका लागि भन्ने प्रश्न उठ्छ ।

अब शिक्षा र शिक्षा पद्धतिका लागि नयाँ ढङ्गबाट सोच्नुपर्छ । यसका लागि आवश्यक लगानी गर्नुपर्छ र कार्यान्वयनमा प्रतिबद्धता जुटाउनुपर्छ । प्रविधिमा पहुँच विस्तार गर्न सीमान्तीकृत समूहमा लगानी थप्नुपर्छ । न्यून आय भएका समुदायका बालबालिकालाई प्रविधिमा जोड्न विशेष प्याकेज चाहिन्छ ।

शिक्षाका विषयवस्तु, उद्देश्य र सिकाइ पद्धति समयानूकुल परिमार्जन तथा परिवर्तन गरिनुपर्छ । व्यक्तिगत र संस्थागत क्षमता बढाइनुपर्छ । शिक्षा प्रणालीलाई थप लचकदार र उत्तरदायी बनाउनुपर्छ । प्रधानाध्यापक र शिक्षकसँगै अभिभावकमा पनि नयाँ सोच चाहिन्छ । यी सबैलाई व्यवस्थापन गर्न सक्ने नयाँ शैक्षिक पद्धति चाहिन्छ । तब मात्र शिक्षामा सबै जोडिन सक्छन् ।

(लम्साल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हुन् । यसमा व्यक्त विचार लेखकको निजी मत हो ।)

comments powered by Disqus

रमझम