साउन २०७९ | 17/07/2022

पाठ्यक्रम विशिष्टतासँगै जटिलता

Share:
  
- लेखनाथ पौडेल
विषयवस्तुमा दक्ष नागरिक तयार पार्ने कि राम्रो अङ्क वा ग्रेड ल्याउने भन्ने जस्ता परस्पर विरोधी दृष्टिकोण पाठ्यक्रम कार्यान्वयनका चुनौती हुन् ।

पाठ्यक्रमले सिकाइका उद्देश्य तय गर्दै आवश्यक विषयवस्तु र शिक्षण सिकाइ क्रियाकलाप छनोटमा सघाउँछ । यसका लागि उपयुक्त विधि मार्फत शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन तथा विद्यार्थीको सिकाइस्तरको मूल्याङ्कन गरिनुपर्छ । यस आधारमा सिकाइका लक्ष्य, अपेक्षित सिकाइ उपलब्धि निर्धारण, विषयवस्तु तथा शिक्षण सिकाइ क्रियाकलाप छनोट, मूल्याङ्कन विधि, साधन विकास तथा प्रयोगको मार्गदर्शनयुक्त दस्तावेज मात्र नभई यिनको समग्र कार्यान्वयनको प्रक्रिया समेत हो, पाठ्यक्रम ।

विद्यालय शिक्षाको पाठ्यक्रमको उपयुक्तता परीक्षण गर्ने महत्त्वपूर्ण आधार यसको सान्दर्भिकता हो जसले समाज, विशेषतः बालबालिकाको आवश्यकता तथा आकाङ्क्षा सम्बोधन गर्दै उपयुक्त सिकाइ अवसर दिन सक्नुपर्छ । पाठ्यक्रम बालबालिकाको भावी जीवनसम्मलाई उपयोगी र निरन्तर सिकाइका लागि सहयोगी हुनुपर्छ ।

पाठ्यक्रम ढाँचा

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले पाठ्यक्रम विकासका मार्गदर्शक सिद्धान्त तथा समग्र ढाँचा तय गरेको छ । पाठ्यक्रम विकास केन्द्रले त्यसै अनुरूप कक्षा १–१२ का लागि नयाँ पाठ्यक्रम विकास गरी विसं २०७७ देखि कार्यान्वयन थालेकोमा विसं २०८० भित्रमा पूर्ण रूपमा लागू हुँदै छ । यसले विषयवस्तु, सिकाइ विधि तथा क्रियाकलाप छनोटका आधारसँगै विद्यार्थी मूल्याङ्कन विधि, साधन विकास तथा प्रयोगका लागि दिशानिर्देश गरेको छ । कक्षा १–१२ लाई विद्यार्थीको परिपक्वताका आधारमा पाँच चरणमा विभाजन गरी विषयवस्तुको संरचना तथा सङ्गठन, सिकाइ तथा मूल्याङ्कन विधिमा केही भिन्नता कायम गरिएको छ । जस्तो, पहिलो चरण कक्षा १–३ मा सामाजिक अध्ययन, विज्ञान, स्वास्थ्य, शारीरिक शिक्षा तथा सिर्जनात्मक कला सम्बन्धी सीपलाई ‘हाम्रो सेरोफेरो’ शीर्षकमा विभिन्न ‘थिम’ मा बाँधेर परस्पर सम्बद्ध गराइएको छ । त्यस्तै, हाम्रो सेरोफेरो, नेपाली भाषा, अङ्ग्रेजी भाषा र गणितीय सीप एकै ठाउँ समेटी पढाउने व्यवस्था मिलाइएको छ ।

दोस्रो चरण कक्षा ४–५ र तेस्रो चरण कक्षा ६–८ मा नेपाली–अङ्ग्रेजी भाषा, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानव मूल्य, स्वास्थ्य–शारीरिक शिक्षा तथा सिर्जनात्मक कला सम्बन्धी विषय सबैलाई अनिवार्य गरिएको छ । त्यस्तै, मातृभाषा वा स्थानीय विषयको पाठ्यक्रम विकास स्थानीय तहले गर्ने प्रबन्ध छ । चौथो चरण कक्षा ९–१० मा नेपाली–अङ्ग्रेजी भाषा, गणित, विज्ञान र सामाजिक अध्ययन सम्बन्धी विषय अनिवार्य र दुई विषय ऐच्छिक छन् । पाँचौं चरण कक्षा ११–१२ मा नेपाली–अङ्ग्रेजी भाषा, सामाजिक अध्ययन तथा जीवनोपयोगी सीप वा गणित अनिवार्य छन्, तीन विषय ऐच्छिक छन् । संस्कृत तथा अन्य परम्परागत विद्यालयका लागि भने उल्लिखित संरचना केही फेरबदल हुन सक्छ । माध्यमिक तहको प्राविधिक धारतर्फ अलग्गै पाठ्यक्रम संरचना छ । यस बाहेक पाठ्यक्रममा व्यवहारकुशल सीपका पाँच क्षेत्र अन्तर्गत कक्षा १ देखि १२ सम्मै एकीकृत सिकाइ क्रियाकलाप सञ्चालन गर्न सम्भाव्य सीपहरूको पहिचान गरिएको छ ।

पाठ्यक्रमका विशेषता

विद्यालय शिक्षाको वर्तमान पाठ्यक्रमका आफ्नै केही विशिष्टता छन् । पहिलो, विभिन्न तहबीच विषयवस्तु, सिकाइ तथा मूल्याङ्कन सम्बन्धी अन्तराल कम गरी आवश्यकता अनुसार ठाडो क्रम मिलाइएको छ । यसबाट खास गरी कक्षा ११–१२ लाई विद्यालय शिक्षाको अङ्गका रूपमा विकास गर्न सहयोग पुग्छ । दोस्रो, विद्यालय शिक्षाको आधारभूत प्रकृतिअनुकूल हुने भाषिक तथा सामाजिक सीप प्रवद्र्धन तथा माध्यमिक तहमा भावी विषयगत विशिष्टतालाई सघाउन ऐच्छिक विषय समावेश गरिएको छ । तेस्रो, सिकाइ क्रियाकलापमा कक्षा १ देखि १२ सम्मै व्यवहारकुशल सीप समायोजन गरी सिकाइलाई दैनिक जीवनसँग जोड्ने प्रयास गरिएको छ । चौथो, कक्षा १–३ मा निश्चित ‘थिम’ का आधारमा बहुविषयक एकीकरण मार्फत सिकाइलाई परस्पर सम्बद्ध, रुचिकर, स्थानीय परिवेश अनुकूल बनाउन सघाएको छ । पाँचौं, मातृभाषा र स्थानीय भाषा र स्थानीय विषयको पाठ्यक्रम स्थानीय तहबाटै विकास र कार्यान्वयनको व्यवस्था मार्फत आधारभूत शिक्षा (कक्षा १–८) लाई स्थानीय परिवेशसँग जोड्न खोजिएको छ । यसबाट भाषिक तथा सामाजिक–सांस्कृतिक विविधताप्रति सम्मान, आफ्ना भाषा–संस्कृतिप्रति गौरवका साथै परम्परागत तथा सीपको संवर्धन, प्रयोग तथा समालोचनात्मक दृष्टिकोण विकासमा सहयोग पुग्छ ।

छैटौं, सिकाइलाई दैनिक जीवनसँग जोड्न सहभागितामूलक क्रियाकलापमा जोड दिँदै प्रयोगात्मक तथा परियोजना कार्यलाई पर्याप्त स्थान दिनुपर्ने प्रबन्ध मिलाइएको छ । सातौं, सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण सिकाइमा आवश्यकता अनुसार एकीकृत बनाउने प्रबन्ध गरिएको छ । आठौं, विद्यार्थी मूल्याङ्कनमा विविधता कायम गरिनुका साथै सबै कक्षामा निरन्तर तथा निर्माणात्मक मूल्याङ्कनलाई प्रेरित गरिएको छ । नवौं, शिक्षण सिकाइको माध्यम भाषाको प्रयोग भाषिक कारणले सिकाइमा बाधा नपर्ने गरी गर्नुपर्ने नीति लिइएको छ । यस अनुसार आधारभूत तहका प्रारम्भिक कक्षाहरूमा आवश्यकता अनुसार नेपाली, मातृ, स्थानीय वा बहुभाषाको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । सामाजिक शिक्षा लगायत कला, संस्कृति, परम्परासँग सम्बद्ध विषयको शिक्षण सिकाइको माध्यम भाषा आधारभूतमा नेपाली, मातृ, स्थानीय वा बहुभाषा र माध्यमिक तहमा नेपाली रहने व्यवस्था छ । परम्परागत तथा भाषा विषयमा सम्बद्ध भाषा नै प्रयोग गर्न सकिन्छ । यसबाट आधारभूत तहका प्रारम्भिक कक्षाका बालबालिकाले आफूले बोल्न सक्ने भाषामा सिक्न पाउने अधिकारको प्रत्याभूति हुनेछ ।

सम्बोधन हुनुपर्ने पक्ष

विद्यालय शिक्षाप्रतिको दृष्टिकोणमा भिन्नता तथा विविध रुचि समूहको दबाबका कारण पाठ्यक्रम कार्यान्वयनमा चुनौती छन् । राष्ट्रिय परिवेश सापेक्ष कि निरपेक्ष नागरिक तयार गर्ने; रुचि र क्षमता अनुसार उच्च शिक्षासँगै रोजगारीको तयारी गर्ने कि विषयवस्तुमा प्रवीण र उच्च अङ्क सहित उच्चशिक्षाको तयारी गराउने; व्यवहारकुशल सीप र विषयवस्तुमा पर्याप्त सक्षमतालाई उपलब्धि मान्ने कि विषय क्षेत्रको राम्रो अङ्क वा ग्रेडलाई भन्ने जस्ता भिन्नता नै ती चुनौती हुन् । उदाहरणका लागि, कक्षा–१२ मा अनिवार्य विषयवस्तु निर्धारणमा विभिन्न दृष्टिकोण आएका थिए । खास गरी जीवनोपयोगी शिक्षा, सामाजिक र गणित विषयलाई अनिवार्य गर्ने÷नगर्ने छलफल चलिरहँदा कक्षा ११–१२ मा गणित अनिवार्य नगर्ने तर विज्ञान पढ्नेले चाहे दुवै कक्षामा गणित लिने, सामाजिक शिक्षा उसले एउटा कक्षामा मात्र पढ्ने गरी पाठ्यक्रम कार्यान्वयनमा लैजाने सहमति भएको थियो । तर, पछि राष्ट्रिय पाठ्यक्रम परिषद्को निर्णयमा अनिवार्य विषयमा सामाजिक तथा जीवनोपयोगी शिक्षा वा गणित रहन गएकाले पाठ्यक्रमको उद्देश्य विपरीत गणित पढ्नेले सामाजिक शिक्षा नपढे पनि हुने गरी लागू भएको देखिन्छ ।

पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन र विद्यार्थीलाई अपेक्षित उपलब्धि हासिल गर्न सघाउने सबैभन्दा महत्त्वपूर्ण माध्यम शिक्षकद्वारा सञ्चालन हुने सिकाइ सहजीकरण प्रक्रिया हो । यसका लागि शिक्षकमा विषयवस्तुको पर्याप्त ज्ञान र शिक्षण सिकाइका विधि, तरीका तथा प्रविधि लगायतमा निपुणता हुनुपर्छ । कक्षाकोठामा विविधता व्यवस्थापन गर्ने, विद्यार्थीका वैयक्तिक भिन्नताको पहिचान गरी अनुकूल सिकाइ क्रियाकलाप चलाउने, विद्यार्थीको सिकाइ सुधारलाई केन्द्रबिन्दुमा राखेर सिकाइ क्रियाकलाप तथा मूल्याङ्कनका प्रक्रिया निर्धारण गर्ने सीप पनि उत्तिकै महत्त्वपूर्ण छन् । यस बाहेक पाठ्यक्रम कार्यान्वयनका लागि कक्षा १–३ मा एकीकृत सिकाइ सञ्चालन गर्ने, सबै कक्षामा आवश्यक व्यवहारकुशल सीप एकीकृत हुने गरी क्रियाकलाप चलाउने, आवश्यक परियोजना तथा प्रयोगात्मक कार्य समावेश गर्ने, सिकाइलाई स्थानीय परिवेशसँग जोड्ने, मूल्याङ्कनलाई सिकाइ क्रियाकलापको अभिन्न अङ्गका रूपमा विकास गर्ने, प्रविधि तथा विविध स्रोतको प्रयोग गर्ने जस्ता क्षमता शिक्षकमा हुनुपर्छ । यसका लागि विश्वविद्यालयका शिक्षक तयारी कार्यक्रमहरूमा व्यापक सुधारको खाँचो देखिन्छ । यससँगै शिक्षक पेशागत विकास कार्यक्रममा परिमार्जन र प्रभावकारी शिक्षक सहायता प्रणाली स्थापना गर्न आवश्यक छ । शिक्षकलाई निरन्तर क्रियाशील बनाउन प्रोत्साहन तथा पारदर्शी वृत्तिविकासको अवसर दिइनुपर्छ । यस्तो प्रोत्साहनलाई विशेषतः नतीजा अर्थात् विद्यार्थीको सिकाइप्रतिको जवाफदेहीमा आधारित बनाइनुपर्छ । पाठ्यक्रम कार्यान्वयनमा अर्काे चुनौती माध्यम भाषाको प्रयोगमा छ । यसमा एकातिर विद्यार्थीलाई भाषाकै कारण सिकाइमा बाधा नपर्ने गरी मातृ, स्थानीय वा बहुभाषामा सिकाइ सहजीकरणको व्यवस्था मिलाउनु छ भने अर्कातिर अङ्ग्रेजी माध्यम प्रयोग गर्ने ‘फेशन’ पाठ्यक्रम कार्यान्वयनमा चुनौती बनिरहेको छ । अङ्ग्रेजी माध्यमले विषयवस्तु सिकाइमा मात्र नभई अन्य व्यवहारकुशल सीपको सिकाइमा पनि प्रतिकूल असर पारेको विभिन्न अध्ययनले देखाएका छन् । यस्तोमा पाठ्यक्रमले निर्देश गरे अनुसार सिकाइ र भाषिक विकास अनुकूल हुने गरी माध्यम भाषा प्रयोग गरिनुपर्छ ।

उच्च आधारभूत तह र माध्यमिक तहमा शिक्षक दरबन्दी पर्याप्त छैन भने आधारभूत तहका तल्लो कक्षामा पनि शिक्षकको वितरण अव्यवस्थित छ । त्यसैले आपूर्ति र वितरण सुधारसँगै शिक्षकको योग्यता र क्षमतामा पुनरावलोकन आवश्यक छ ।

कक्षा १–८ मा मातृभाषा र स्थानीय भाषा वा विषयवस्तुमा आधारित पाठ्यक्रम विकास तथा कार्यान्वयन गर्न स्थानीय तहमा पर्याप्त क्षमताको विकास हुन सकेको छैन । एउटै स्थानीय तहभित्र पनि भाषिक, सामाजिक तथा सांस्कृतिक विविधताका कारण एकभन्दा बढी पाठ्यक्रम आवश्यक देखिन्छ । कतिपय ठाउँमा स्थानीय विषयवस्तु छनोटमै कठिनाइ छ । स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयनका लागि शिक्षक, स्थानीय शिक्षाकर्मी तथा विज्ञको क्षमता विकास गरिनुपर्छ ।

माध्यमिक तह कक्षा ९–१२ मा सञ्चालित प्राविधिक धारतर्फको वर्तमान संरचना तथा पाठ्यक्रमको स्वरूपबारेका अध्ययनले तिनको परिमार्जन गर्नुपर्ने औंल्याएका छन् । भाषा, गणित, विज्ञान र प्राविधिक विषयको सिकाइका लागि आवश्यक परिपक्वता समेत विचार गर्दा कक्षा ९ देखिको प्राविधिक शिक्षा प्रभावकारी नभएको देखाएका छन् । त्यसैले कक्षा १० पछि तीन वर्षको प्राविधिक शिक्षाको प्रबन्ध गर्नु उपयुक्त हुन्छ ।

comments powered by Disqus

रमझम