साउन २०७९ | 17/07/2022

किन चाहिन्छ सञ्चार साक्षरता ?

Share:
  
- भानुभक्त आचार्य
सञ्चार साक्षरता सम्बन्धी अध्ययन विनाको आमसञ्चार वा पत्रकारिता शिक्षाले विद्यालय तहका बालबालिकालाई पूर्ण व्यावहारिक र जीवनोपयोगी शिक्षा दिँदैन।

साभारः यूनिसेफ नेपाल

गत ३० जूनमा विश्व पत्रकारिता शिक्षा परिषद् (वर्ल्ड जर्नालिज्म एजुकेशन काउन्सिल) मा नेपालमा पत्रकारिता शिक्षाबारे एउटा अनुसन्धान प्रस्तुत गर्न पाइयो। परिषद्‌मा धेरैजसो प्रस्तोताले उच्च शिक्षामा पत्रकारिता शिक्षाका विभिन्न आयामबारे छलफल गरे पनि केहीले विद्यालय तहमा ‘मिडिया लिटरेसी’ अर्थात् सञ्चार साक्षरताका मूलतः तीन सवाल दह्रोसँग उठाए-

क) विद्यालय तहमा सञ्चार शिक्षाको उद्देश्य के हुनुपर्छ?
ख) विद्यालय तहमा पत्रकारिताको विशिष्टीकृत अध्ययन जरुरी छ?
ग) सञ्चार साक्षरता सम्बन्धी के–कस्ता विषयवस्तु विद्यालय तहमा राखिनुपर्छ?

यी सवालमा बहस हुँदै गर्दा म नेपालमा आमसञ्चार र पत्रकारिता शिक्षामा गर्नुपर्ने सुधारका पक्षहरू कल्पँदै थिएँ। हामीकहाँ कक्षा ९ देखि १२ सम्म ‘आमसञ्चार र पत्रकारिता’ शिक्षा ऐच्छिक रूपमा पढ्न पाइन्छ। यो विषय सीमित विद्यालयमा कक्षा ९ र १० मा पढाइन्छ भने कक्षा ११ र १२ को देशभरिका १५० भन्दा बढी विद्यालयमा। विषयवस्तुको कुरा गर्दा कक्षा ९ र १० मा पढाइने कुरा नै ११ र १२ मा दोहोर्‍याइन्छ। कक्षा ९ र १० को पाठ्यक्रममा समाविष्ट विषयवस्तु बढी व्यापक र क्लिष्ट छन्।

पत्रकारिता शिक्षा कि सञ्चार साक्षरता?

विद्यालय शिक्षामा सञ्चार सम्बन्धी विषयवस्तु सुधार गर्न सोच्नुपर्ने पहिलो सवाल हो- माध्यमिक तहमा आमसञ्चार र पत्रकारिता विषयको विशिष्टीकृत अध्ययन आवश्यक छ कि सञ्चार साक्षरता सम्बन्धी पठनपाठन मात्रै भए पुग्छ? अर्थात् हाम्रा विद्यालय तहका विद्यार्थीलाई चाहिने शिक्षा कुन हो? माध्यमिक तहको अध्ययन­अध्यापनबाट के हामीले पत्रकार नै उत्पादन गर्न खोजेको हो?

संसारभर माध्यमिक तहसम्मको पढाइको उद्देश्य हो, जीवनोपयोगी आधारभूत शिक्षा, जस्तै- भाषा, विज्ञान, गणित, सामाजिक विषयवस्तु, स्थानीय सरोकारका विषय, भूगोल आदि। तर, बालबालिकालाई यी यावत् विषयवस्तुमा छुट्टाछुट्टै पुस्तक पढाउन सम्भव छैन। तसर्थ, उनीहरूको उमेर र सिक्ने अवस्था अनुसार अत्यावश्यक विषयवस्तुलाई अनिवार्यभित्रै समावेश गर्न सकिन्छ।

फेरि विद्यालय तहको अध्ययन पूरा गरेका विद्यार्थीले कुनै पनि पेशा–व्यवसायको दक्षता हासिल गरिसकेका हुँदैनन्। त्यसका लागि फेरि विशेष सीप, तालीम वा थप अध्ययन चाहिन्छ। व्यावसायिक पत्रकारिताका लागि योग्य हुन माध्यमिक तहको अध्ययन सकेपछि पत्रकारिताकै लागि विशिष्टीकृत अध्ययन एवं सीप हासिल गरेको हुनुपर्छ।

पाठ्यक्रमले सञ्चार साक्षरताकै उद्देश्य राखे
जस्तो देखिए पनि पाठ्यक्रममा समाविष्ट
विषयवस्तुले पत्रकार उत्पादन गर्न खोजेको
देखिन्छ।
उदाहरणका लागि, क्यानाडाको शिक्षा प्रणालीलाई सरकारले निर्धारण र नियमन गर्छ। सञ्चार साक्षरता सम्बन्धी विषयवस्तुलाई प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा भाषा, कला र सामाजिक अध्ययन जस्ता विषयभित्र घुसाएर पढाइन्छ। त्यहाँका विभिन्न प्रान्तले सन् १९८० र ९० को दशकमा विद्यालय तहमा सञ्चार साक्षरता सम्बन्धी अध्ययन शुरू गरेका थिए जसको उद्देश्य विद्यार्थीमा सञ्चार माध्यममा देखिने विषयवस्तुमाथि समालोचनात्मक र नैतिक चेतनाको विकास गर्नु थियो।

तसर्थ, त्यहाँ सञ्चार माध्यमका प्रकार र स्वभाव, विषयवस्तुको उद्देश्य, सत्यता, भाषाको प्रयोग, वास्तव जीवन र भर्चुअल दुनियाँको फरक आदि बारे सिकाइन्छ। सञ्चार माध्यमलाई कति समय दिने अनि त्यसलाई कसरी उपभोग गर्दा स्वास्थ्यमा असर पर्दैन भन्ने जानकारी विद्यार्थीलाई दिइन्छ।

नेपालमा अहिले अध्ययन अध्यापन भइरहेका विषयवस्तुको उद्देश्य सञ्चार साक्षरता होइन, आमसञ्चार र पत्रकारिता साक्षरता हो। फेरि, पाठ्यक्रमले सञ्चार साक्षरताकै उद्देश्य राखे जस्तो देखिए पनि पाठ्यक्रममा समाविष्ट विषयवस्तुले पत्रकार उत्पादन गर्न खोजेको देखिन्छ। कक्षा ११ र १२ को पाठ्यक्रममा विषयको शीर्षक ‘आमसञ्चार’ लेखिएको छ।

तर, गत महीना उच्च माध्यमिक शिक्षा परिषद्ले तयार पारेको नमूना प्रश्नपत्रमा विषय शीर्षक ‘आमसञ्चार र पत्रकारिता’ नै लेखिएको थियो। यसबाट पाठ्यक्रम निर्माताहरूले अझै यो विषय पढाउनुलाई पत्रकार उत्पादनको उद्देश्यका रूपमा बुझिराखेको अनुमान गर्न सकिन्छ।

पत्रकार बनाइहाल्ने होइन!

सञ्चार माध्यम अहिले सबैको सरोकार र प्रयोगको विषय हो। सञ्चार माध्यम केवल रेडियो, टेलिभिजन र अखबार होइन; कम्प्युटर, आइप्याड, स्मार्टफोट, आइवाच, इन्टरनेट, सामाजिक सञ्जाल पनि हो। विद्यालय जान नसक्ने बालबालिकालाई अलमल्याउन र सिकाउन समेत मोबाइल, आइप्याड दिने प्रवृत्ति छ।

यूट्युबमा पाइने गीत, सङ्गीत, चलचित्र, कार्टून, खेल आदि बालबालिकाका लागि सिकाइका माध्यम बनिरहेका हुन्छन्। त्यसैले सञ्चार साक्षरता सबैलाई अनिवार्य हुनुपर्छ। किनभने, यस अन्तर्गत सूचना प्रविधि उपकरण प्रयोग, परम्परागत सञ्चार माध्यम र डिजिटल माध्यमबाट हुने सञ्चार पद्धतिको ज्ञान समेत पर्छन्।

सञ्चार माध्यम के हो? यो हाम्रो जीवनमा किन महत्त्वपूर्ण छ? यसको सही प्रयोग कसरी गर्न सकिन्छ? गलत प्रयोगबाट हुन सक्ने हानि के के हुन्? यस्ता हानिबाट कसरी बच्ने? यस्ता प्रश्नबारे प्राथमिक र निम्न माध्यमिक तहमै अनिवार्य प्रारम्भिक जानकारी दिइनुपर्छ। माध्यमिक तहमा सञ्चार माध्यमको विषयवस्तु र प्रस्तुति शैली बुझ्ने तरीका सिकाउन सकिन्छ।

जस्तै- विभिन्न सञ्चार माध्यमले उही विषयवस्तुलाई कसरी र किन भिन्न तरीकाले प्रस्तुत गर्छन्; सञ्चार माध्यममा आएका विषयवस्तु र भाषाले व्यक्तिको दृष्टिकोण निर्माणमा के कस्तो प्रभाव पार्छन्; सञ्चार माध्यममा आएका विवादास्पद विषयवस्तुमा कसरी प्रतिक्रिया जनाउने; रुचि अनुसारका सञ्चार माध्यमको छनोट कसरी गर्ने भन्ने थाहा पाउने इत्यादि।

सञ्चार साक्षरता सबैलाई अनिवार्य हुनुपर्छ।
किनभने, यस अन्तर्गत सूचना प्रविधि
उपकरण प्रयोग, परम्परागत सञ्चार माध्यम
र डिजिटल माध्यमबाट हुने सञ्चार
पद्धतिको ज्ञान समेत पर्छन्।
हिजोआज नेपाल लगायत देशमा पत्रकारिताको खास अध्ययन माध्यमिक तह पार गरेपछि चारवर्षे स्नातक तहमा हुन्छ। पत्रकारिताको सीप विकास गर्ने उद्देश्यले एक वा दुईवर्षे डिप्लोमा पाठ्यक्रम पनि पढ्न पाइन्छ। त्यसपछि विद्यार्थी पत्रकारिता बजारमा प्रवेश गर्न योग्य मानिन्छ। तर, सञ्चार साक्षरता सम्बन्धी अध्ययन विनाको आमसञ्चार वा पत्रकारिता शिक्षाले विद्यालय तहका बालबालिकालाई पूर्ण व्यावहारिक र जीवनोपयोगी शिक्षा दिंदैन।

सञ्चार साक्षरता र आमसञ्चार वा पत्रकारिता शिक्षा नितान्त भिन्न विषय हुन्। सञ्चार साक्षरता सम्बन्धी पढाइलाई प्राथमिक तहदेखि माध्यमिक तहसम्मका अनिवार्य विषयभित्र सान्दर्भिक एकाइहरू समावेश गरेर तुरुन्तै सञ्चालनमा ल्याइनुपर्छ। आमसञ्चार वा पत्रकारिता शिक्षा अहिलेकै जस्तै कक्षा ११ र १२ मा विशिष्टीकृत विषयका रूपमा पढाउन सकिन्छ। तर, त्यतिकै आधारमा विद्यार्थी व्यावसायिक पत्रकारिता गर्न योग्य भइसकेका हुँदैनन्।

के गर्ने? कसरी सुधार्ने?

अहिले आमसञ्चार र पत्रकारिता विषय अध्यापन भइरहेका कतिपय सामुदायिक विद्यालयमा विद्युत्‌को पहुँच छैन। अधिकांश विद्यालयमा विद्यार्थीले प्रयोग गर्न मिल्ने गरी इन्टरनेट र कम्प्युटर समेत उपलब्ध छैनन्। त्रिभुवन विश्वविद्यालयकै पत्रकारिता सहित कतिपय विभागमा यस्तो सुविधा छैन।

हातमा स्मार्टफोन भएका सबै विद्यार्थीसँग ‘मोबाइल डेटा’ चलाउने आर्थिक हैसियत हुँदैन। कोभिड–१९ महामारीले भौतिक रूपमा अध्ययन/अध्यापन ठप्प पारेका वेला सरकारी एवं सामुदायिक विद्यालयले भर्चुअल कक्षा लिन सकेनन्, किनकि अधिकांश विद्यार्थीसँग इन्टरनेट र कम्प्युटरको पहुँच थिएन। त्यसैले सरकारी विद्यालयमा सुधार गर्नुपर्ने पहिलो कुरा सूचना प्रविधिको पहुँच विस्तार हो। यसका लागि राज्यले आर्थिक स्रोत र जनशक्ति जुटाएर तत्कालै कार्यान्वयन थालिहाल्नुपर्छ।

सञ्चार साक्षरता र आमसञ्चार वा पत्रकारिता
शिक्षा नितान्त भिन्न विषय हुन्। सञ्चार
साक्षरता सम्बन्धी पढाइलाई प्राथमिक
तहदेखि नै अनिवार्य विषयभित्र सान्दर्भिक
एकाइहरू समावेश गरेर सञ्चालनमा
ल्याइनुपर्छ।
अचेल फेसबूक वा ब्लगमा कुनै विषयवस्तुबारे तर्कयुक्त हरफहरू लेख्नेलाई समेत पत्रकारका रूपमा बुझ्न थालिएको छ। यूट्युब च्यानल चलाउनेहरूले पनि धेरैजसो सन्दर्भमा ‘पत्रकार’ कै हैसियत पाइहाल्छन्। यो सञ्चार साक्षरताको अभाव हो।

सामाजिक सञ्जाल आजका बालबालिकाको पहिलो गन्तव्य बनेको छ। आफ्ना गोप्य सूचना अरूसँग साझेदारी गर्दा त्यसैको मोलमोलाइबाट बालबालिका एवं युवायुवती प्रताडित छन्। यसले मानसिक विक्षिप्ति मात्र होइन, आत्महत्याको अवस्थासम्म पुर्‍याइरहेको छ। तसर्थ, बालबालिकालाई विभिन्न सञ्चार माध्यमको दुरुपयोगबाट बचाउन सञ्चार साक्षरता अपरिहार्य छ।

हाम्रा सरकारी संयन्त्रले विद्यालयमै ठूला टेलिभिजन वा कम्प्युटर स्क्रीनमा सञ्चार माध्यमका विषयवस्तु देखाएर, विद्यार्थीबीच छलफल गराएर यो सही वा गलत भन्न सक्ने अवस्था नबनाएसम्म सञ्चार साक्षरता कोरा कागजी ज्ञान मात्रै हुन सक्छ।

देशभरिका सामुदायिक विद्यालयमा यथाशीघ्र कम्प्युटर कक्ष, तीव्र गतिको इन्टरनेट, स्मार्ट टेलिभिजन लगायत विभिन्न सूचना प्रविधि उपकरण र सेवा पुर्‍याउन जरुरी छ। नेपालको माध्यमिक तहसम्मको पाठ्यक्रममा तत्कालै समावेश गर्नुपर्ने कुरा भनेकै सञ्चार साक्षरता सम्बन्धी विषयवस्तु हुन्। तर, त्यसलाई वास्ता नगरी आमसञ्चार र पत्रकारिता शिक्षाको पढाइ देशव्यापी बनाइँदै छ जुन सच्चिनुपर्छ।

नेपालका प्रायः आम निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरूले जितका लागि ‘प्रोपगन्डा’ मच्चाउँछन्। मिथ्या सूचना फैलाउँछन्। गर्न नसकिने आश्वासन बाँड्छन्। यस्तो ढँटुवा प्रवृत्ति राजनीतिमा मात्र सीमित छैन, आर्थिक/सामाजिक सरोकारका क्षेत्रमा पनि फैलँदो छ।

सञ्चार साक्षरताले त्यस्ता ‘प्रोपगन्डा’ लाई निस्तेज गर्न सहयोग पुर्‍याउँछ। सार्वजनिक जिम्मेवारीमा बसेका पदाधिकारीलाई जनता वा मतदाताप्रति जिम्मेवार वा उत्तरदायी बनाउन सघाउँछ। सञ्चार माध्यमको अन्तर्वस्तु बुझ्न र समुचित प्रयोग गर्न सक्ने जनशक्ति उत्पादन गर्न सकिए लोकतन्त्र सबल र समुन्नत हुन्छ। तसर्थ, विद्यालय तहको शिक्षा प्रणाली सुधार गर्ने हो भने सञ्चार साक्षरता तत्कालै लागू गरिहाल्नुपर्छ।

(आचार्य युनिभर्सिटी अफ अटवा र सेन्ट पउल युनिभर्सिटी क्यानाडामा अनुसन्धान र प्राध्यापनमा संलग्न छन्।)

comments powered by Disqus

रमझम