१६-३१ भदौ २०६९ | 1-16 September 2012

गुरुकुलदेखि बलिउड

Share:
  
r3
फिल्म बर्फी मा रणविरका साथ भोला। 

नेपाली फिल्ममा एकपछि अर्का रङ्गकर्मी छाइरहेको बेला आरोहण गुरुकुलका भोलाराज सापकोटाले बलिउड फिल्मबाट 'डेब्यु' गर्दैछन्। यही २९ भदौबाट प्रदर्शन हुने बर्फी मा उनी बहिरा रणविर कपुरका साथी छन्। फिल्मको अर्को मुख्य कलाकारमा प्रियङ्का चोपडा, इलियाना डिक्रुज छिन्। अनुराग वासुको निर्देशनमा बनेको यो फिल्मको गीत र प्रोमोहरूमा समेत भोलाराज देखापरिरहेका छन्। 

फिल्ममा रणविरको कुरा भोलाले मात्र बुझछन् भने तन्नेरीदेखि वृद्धावस्थासम्मको भूमिकामा उनी देखिनेछन्। फिल्मका चार मुख्य पात्र मध्येका एक भोलाले रणविरको सांकेतिक भाषा अनुवाद गर्ने, प्रेम पत्र लेखिदिनेदेखि प्रहरीले पक्राउ गर्दा छुटाउन जानेसम्मको महत्वपूर्ण भूमिका गरेका छन्। 

r2
तस्बीरः डम्बरकृष्ण श्रेष्ठ 

गुरुकुलमा भोलाको अभिनय हेरेका फिल्म निर्देशक प्रशान्त रसाइलीले उनको तस्बीर बर्फी का निर्देशक वासुसम्म पुर्‍याएका थिए। त्यसपछि अडिसनका लागि कोलकाता र अनुबन्धका लागि मुम्बई पुगेका भोला अहिले दर्शकको प्रतिक्रियाको पर्खाइमा छन्। यति ठूलो ब्रेकले उनको फिल्मी यात्रामा नसोचेको गति दिनसक्छ। आफ्नो अभिनय क्षमतामा उनलाई कुनै शंका छैन। बर्फी को छायाङ्कनका क्रममा उनले चर्चित कलाकारसँग रमाइलो अनुभव सँगालेका छन्। एउटा दृश्यमा प्रियङ्का चोपडालाई 'तिम्रो कपाल त घोडाको पुच्छर जस्तो छ' भन्नुपर्नेमा बिर्सेर गाडीको पुच्छर भनेको उनी सम्झ्न्छन्। अर्की नायिका इलियानासँग रणविर साइकलमा घुमिरहेको बेला अर्कोतिर रिक्सा चलाइरहेका भोलाराजले देखेको दृश्य छायाङ्कन गर्दा ओरालोमा रिक्सा अनियन्त्रित भएर तीन पटक लडेको उनले बताए। फिल्म निर्माणका क्रममा नायक रणविरसँग राम्रो मित्रता गाँसेका भोलालाई उनले बलिउडका अन्य फिल्मका लागि कुरा गरिदिने वचन समेत दिएका छन्। भोला भन्छन्, “बलिउडकै कतिपय कलाकारहरूलाई रणविरजस्तो स्टारको नजिक हुन वर्षौं लाग्ने रहेछ तर, मलाई यो अवसर बर्फी ले दियो।” 

हेटौंडाका भोलाराजले ७ कक्षामै हुँदा साथीसँग मिलेर नव जीवनज्योति क्लब नै बनाएर नाटक गर्न थालेका थिए। २०५० सालमा भविष्य खोज्दै राजधानी छिरेका उनले गुरुकुलका डेढ दर्जन नाटकमा उम्दा अभिनय गरे। यसबीच, चलचित्र सानो संसार मा सानो भूमिका पनि खेले। भोलाको अभिनयको मर्डर, मेट्रो इन लाइफ, काइटस जस्ता फिल्म बनाउने निर्देशक अनुराग वासु समेतले प्रशंसा गरेका छन्। दुई महीनाअघि फिल्मको 'प्रोमो लञ्च'का लागि मुम्बई पुगेका भोलालाई प्रिमियरको लागि समेत बोलावट आइसकेको छ। बलिउडमा भोलाराजको सिक्का जम्छ या जम्दैन भन्ने कुरा बर्फी को प्रदर्शनपछि नै थाहा हुनेछ। तर, नेपाली रङ्गमञ्चबाट बलिउड यात्रा भने आफैंमा एउटा फड्को हो।


अनुशील 

comments powered by Disqus

रमझम