१६-३१ भदौ २०६९ | 1-16 September 2012

सुशीलाको नाममा एकेडेमी

Share:
  
r4
एकेडेमी उद्घाटनमा प्रस्तुत भैरव नृत्य। स्व. सुशीला (इन्सेटमा)
तस्बीरहरूः ऋषिराम कट्टेल

नेपालमा नृत्य एकेडेमी खोल्ने बीपी पत्नी सुशीला कोइरालाको इच्छालाई नाति सिद्धार्थ र नातिनी बुहारी युलियाले पूरा गरिदिएका छन्। सुशीला भरत नाट्यम् र कत्थक नृत्यमा पारङ्गत थिइन्। काठमाडौंको चप्पल कारखानास्थित पुत्र प्रकाश कोइरालाको घरमा ९ भदौमा उद्घाटन गरिएको सुशीला आर्टस् एकेडेमीले नृत्यसँगै संगीत, अभिनय र पेन्टिङको कोर्ष तयार गरेको छ। एकेडेमी स्थापनामा विशेष भूमिका खेलेकी पियानिष्ट नातिनी बुहारी युलियाले भनिन्, “उहाँको सपनालाई पूरा गर्न पाएकोमा खुशी छु।” 

r5
युलियाका साथ सिद्धार्थ कोइराला। 

हिन्दुस्तानी फिल्म उद्योगमा चर्चित अभिनेतृ मनिषा कोइरालाले आफ्ना भाइबुहारीले हजुरआमाको सपना पूरा गरिदिएकोमा खुशी व्यक्त गरिन्। आफूले पाएको सफलता हजुरआमाकै प्रेरणाको परिणाम भएको बताउने मनिषाले भनिन्, “म तीन वर्षकी भएपछि उहाँले सिकाउनुभएको नृत्यले मलाई उचाइमा पुर्‍यायो। उहाँको सपना पूरा गरेकोमा सिद्धार्थ र युलियाप्रति गर्व गर्छु।” 

एकेडेमी उद्घाटनकै लागि काठमाडौं आएकी मनिषाले लामो समयको अन्तरालपछि बलिउडमा काम थालेको जानकारी पनि दिइन्। उनी अहिले भूत–२ नामक चलचित्रको छायांकनमा व्यस्त छिन्। यसबीचमा अरू तीन वटा चलचित्रमा अनुबन्धित भएको जानकारी उनले दिइन्। सम्राट दाहाल र आफ्नो वैवाहिक सम्बन्ध डिभोर्स नजिक पुगेको समाचारको खण्डन गर्दै मनिषाले भनिन्, “त्यो मिडियावालाहरूको कुरा हो। हाम्रो सम्बन्ध सुमधुर छ, अब बलिउड र कलिउड दुवैतिर काम गर्नेछु।” 

ऋषिराम कट्टेल 

comments powered by Disqus

रमझम