१-१५ असोज २०६९ | 17 Sep-1 Oct 2012

छोरीमा गर्व गर्छु

Share:
  

हिमाल (१६–३१ भदौ) मा प्रकाशित रिपोर्ट 'छोरी जस्तै छोरी' निकै मार्मिक लाग्यो। छोरीप्रति भेदभाव गर्ने नेपाली अभिभावकको आँखा खोल्न यो रिपोर्ट पर्याप्त छ जस्तो लाग्छ। म पनि छोरी हुँ र आमाकी प्यारी छोरी हुन पाएकोमा गर्व गर्छु।
आरती शर्मा
हिमालखबरबाट

'छोरी जस्तै छोरी' पढ्न पाउँदा खुशी लाग्यो। दाइजो दिनुपर्छ भनेर आफ्नै सन्तानप्रति भेदभाव गर्ने अभिभावक हाम्रै छिमेकमा पनि छन्। दाइजो, धर्म वा वंश–परम्पराको नाममा स्त्री भ्रूणहत्या गर्नेहरूले यस्ता समाचारबाट पाठ सिक्नुपर्छ। समाजलाई अगाडि बढाउने समाचारका लागि हिमाल लाई धन्यवाद।
जुनु शाह
बुटवल

सेनापतिलाई शुभकामना
नेपाली सेना, भूपू सैनिक तथा नेपाली जनताले समेत नयाँ प्रधानसेनापतिबाट धेरै आशा गरेका छन्। स्पष्ट दृष्टिकोण र निर्णय क्षमता भएका नयाँ प्रधानसेनापतिको कार्यकाल सफल होस्।
रवीन्द्र थापा
हिमालखबरबाट

कमोडिटीको छानबिन गर
हिमाल (१६–३१ भदौ) मा प्रकाशित 'लोभ देखाएर ठगी' समाचार पढें। कमोडिटीमा गुमाउनेमध्ये म पनि एक हुँ। यो क्यासिनोको अर्को रूप हो जहाँ लोभ देखाएर ठगिन्छ। कमोडिटीका सञ्चालकहरू कसरी रातारात करोडपति भए भन्ने कुरा तिनीहरूको सम्पत्ति मात्रै खोज्दा पनि थाहा हुन्छ। कमोडिटी चलाउनेहरूले तीनथरी खाता बनाएका हुन्छन्, सरकारलाई देखाउने, ग्राहकलाई देखाउने र आफैंसँग राख्ने। घाटामा गएको नक्कली खाता देखाएर उनीहरूले सरकारलाई पनि ठगिरहेका छन्। यसबारे सरकारले तत्काल छानबिन गर्नुपर्छ।
गोपीकृष्ण ढुंगाना
हिमालखबरबाट

कमोडिटी बजारमा मौलाएको ठगीलाई नियन्त्रण गर्नु जरुरी छ। सरकार के हेरेर बसेको छ?
अनिल प्याकुरेल
हिमालखबरबाट

ठगी होइन
तपाईंले शेयर मार्केटबाट कतिले गुमाएका छन् भन्न सक्नुहुन्छ? यसबाट मान्छेले कति गुमाएका छन् भन्ने समाचार लेख्न सक्नुहुन्छ? केही मानिसले ठूलो रकम गुमाएको कुरा सत्य हो। तर उनीहरूले किन गुमाए भन्ने सोध्नुभएको छ? कमोडिटी बजार तुरुन्त धनी हुने योजना होइन, गम्भीर व्यवसाय हो। अरू व्यवसायमा जस्तै लगानीकर्ता जोखिम मोल्न तयार हुनुपर्छ। रातारात धनी बन्ने सपना बोकेर यो क्षेत्रमा लगानी गर्नु गलत हो। कुनै पनि ब्रोकरले रु.२० हजार लगानी गर्नुहोस्, पैसा बढ्दै जान्छ भन्दैन। समाचार लेख्नुअघि विश्वका व्यापार नियम, स्थापित मान्यता र रणनीति बुझनु जरुरी हुन्छ। त्यसो नगरेका कारण समाचार आग्रहप्रेरित र एकतर्फी देखिन्छ।
अशोककुमार शाह
हिमालखबरबाट

आँखालाई बानी परेछ
हिमाल (१६–३१ भदौ) को अन्तिम पानामा प्रकाशित तौलिया संस्कृति मननयोग्य छ। तर आँखालाई बानी परेर होला, तौलिया राखेकै कुर्सी राम्रो देखिने रहेछ।
देवेन्द्र भट्टराई
हिमालखबरबाट

माओवादीको असली रूप
हिमाल (१६–३१ भदौ) मा प्रकाशित 'लडाकूको नाममा लूटैलूट' पढें। नेपालका दलहरूमा सबभन्दा खराब एमाओवादी हो। माओवादी अध्यक्ष पुष्पकमल दाहालले लडाकूको नाममा आएको तलबभत्ता स्वाहा पारेका छन्। गाउँका चोर, ठग, फटाहा, पटके अपराधी ज्यान बचाउन एमाओवादीमा लागेका हुन्। माओवादीको असली रूप पनि यही हो।
गुरास नेपाल
हिमालखबरबाट

अध्यादेशको थुप्रोमा नबस
संविधानसभा निर्वाचनबाट ठूलो दल बनेको एमाओवादी यति चाँडो यो हदसम्म असफल होला भनेर जनताले कल्पना नै गरेका थिएनन्। हुन त सुन्निएर मोटाएको मान्छे, उम्लिएको दूध र खहरेको बाढी जस्ताको तस्तै रहँदैन। देश बनाउने र अमनचयन स्थापित गर्ने होइन, कुर्सी र सत्ताको आडमा आफ्नै दुनो सोझयाउनका खातिर माओवादी अध्यक्ष पुष्पकमल दाहालले भाँडभैलो मच्चाए। विकटका जिल्लामा हुने खाद्य समस्या, उपचार अभाव, लोडसेडिङ र गरीबीको अवस्थामा कुनै सुधार आएन भने महँगीले आकाश छोएको छ।

प्रधानमन्त्री बाबुराम भट्टराई अध्यादेशको थुप्रोमाथि बसेर राज्यलाई निरन्तर ओरालोतर्फ घचेट्दै छन्।
कृष्ण कुम्पुरे
धादिङ

comments powered by Disqus

रमझम