१-१५ असोज २०६९ | 17 Sep-1 Oct 2012

'पुलिस-पब्लिक पार्टनरसिप' मा अगाडि बढ्ने हो

Share:
  
p10

संगठनभित्र तुलनात्मक रूपमा व्यावसायिक, निष्ठावान र इमानदार अधिकृतको चिनारीका साथ करीब १३ महीने कार्यकालका लागि प्रहरी नेतृत्व लिएका महानिरीक्षक कुबेरसिंह राना भन्छन्, “ठूल्ठूला कुरा गर्दिनँ, विश्वसनीय, प्रभावकारी र जनतामैत्री प्रहरी संगठन बनाउने पहल गर्छु।” 

प्रहरी प्रमुखका रूपमा पहिलो प्राथमिकता के हुन्छ? 
प्रहरी संगठनको सेवा प्रवाहलाई विश्वसनीय र प्रभावकारी बनाउनु अहिलेको प्रमुख चुनौती हो। सेवाग्राही जनतालाई सरल पहुँच र उच्च व्यावसायिकताका साथ सेवा पुर्‍याउन सकियो भने प्रहरीप्रतिको विश्वास बढ्छ। प्रहरीका व्यवहार, आचरणमा परिमार्जन गर्ने कुरालाई प्राथमिकता दिन्छु। जनताले प्रहरीबाट कस्तो सेवा खोजेको हो, त्यसको पहिचान गरेर क्षमता वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्छु। 

प्रहरीका निम्ति अहिले सबैभन्दा टड्कारो आवश्यकता के हो? 
मुख्य कुरा प्रहरीमा काम गर्ने जाँगर हुनुपर्‍यो। त्यसका निम्ति मनोबल र काम गर्ने वातावरण चाहिन्छ, जसबाट प्रहरीले स्वस्फूर्त रूपमा काम गर्न सकोस्। प्रहरीको मनोबल उच्च राख्ने उपायहरू नखोजी हुँदैन। 
हामीले मिहिनेत गर्नुपर्छ, जुक्ति लगाउनुपर्छ। रणनीति, योजना र कार्यक्रम बनाउनुपर्छ। 

चुनौती के के छन्? 
प्रहरीका निम्ति आन्तरिक र बाह्य दुवै चुनौती छन्। समाजमा अवज्ञा गर्ने, कानून नमान्ने र सडकबाट निर्णयहरू गर्ने प्रवृत्ति हावी छ। समाजमा मूल्यमान्यताको ह्रासोन्मुख अवस्थाले कानून कार्यान्वयनलाई चुनौतीपूर्ण बनाउँछ। पर्याप्त जनशक्ति नहुनु, प्रभावकारी परिचालनका लागि साधनस्रोत नहुनु, तालिमको अभाव आदि प्रहरीभित्रका चुनौतीहरू हुन्। ५७ वर्ष पुरानो प्रहरी संगठनमा प्रणालीगत त्रुटिहरू पनि छन्। साना लाग्ने कार्यक्रमहरू प्रभावकारी ढंगले लागू गर्न सकियो भने प्रहरीको भूमिका स्वतः प्रभावकारी हुन्छ। 

प्रहरी–जनता सम्बन्ध सुधार्न के गर्नुहुन्छ? 
शान्ति सुरक्षा, अपराध नियन्त्रण र रोकथामका लागि प्रहरी 'फ्रन्टलाइन एजेन्सी' भए पनि यसको मात्र प्रयासले अपेक्षित उपलब्धि हासिल हुँदैन। त्यसैले 'पुलिस–पब्लिक पार्टनरसिप'को अवधारणा अनुसार अगाडि बढ्ने कोशिश हुन्छ। समुदायको सहयोगलाई प्रेरित गर्ने प्रयास हुन्छ। जनताले प्रहरीलाई खुलेर सहयोग गर्ने वातावरण बनाउन अधिकतम प्रयत्न गर्छु। 

राजनीति मुक्त प्रहरी संगठन बनाउन के गर्नुहुन्छ? 
ऐन नियमको परिधिभित्र रहेर कार्य गर्ने प्रतिबद्धता, राजनीतिक नेतृत्वलाई सुझाव र आवश्यक परेमा दबाब समेत दिनसक्ने सिर्जनात्मक क्षमता देखाउने हो भने त्यसले काम गर्छ। 

comments powered by Disqus

रमझम