१-१५ असोज २०६९ | 17 Sep-1 Oct 2012

अल्ट्रासाउण्ड मेसिन २० महीना गायब

Share:
  
p10a

३ पुस २०६७ मा राजधानीको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाबाट पठाइएको अल्ट्रासाउण्ड मेसिन १ भदौ २०६९ मा मात्र इलाम अस्पताल आइपुग्यो। २० महीनासम्म कहाँ कहाँ अड्कियो त रु.९ लाख ११ हजार २५० को मेसिन? यस अवधिमा यो सरकारी अल्ट्रासाउण्डले इलाम अस्पतालमै कार्यरत स्टाफ नर्स राधिका सुवेदीको निजी क्लिनिकमा दैनिक सरदर २० जना बिरामीलाई सेवा दिएको खुलेको छ। इलाम जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत घनश्याम पोख्रेल भन्छन्, “ढिलै भए पनि सामान आएको छ, हिजो के भयो भन्दा पनि अब राम्रो होस् भन्ने चाहनुपर्छ।”

भ्रष्टाचार निवारण ऐनमा 'कुनै राष्ट्रसेवकले आफ्नो ओहोदाको वा सो सम्बन्धी कर्तव्य पालन गर्दा नेपाल सरकार वा सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही वा बदनियत गरी हिनामिना, हानिनोक्सानी वा दुरुपयोग गरे/गराएमा वा मासेमा वा निजी प्रयोगमा लगाएमा निजलाई कसुरको मात्रा अनुसार दफा ३ बमोजिमको सजाय हुनेछ र त्यसरी हिनामिना, हानिनोक्सानी वा दुरुपयोग गरेको वा मासेको वा मास्न दिएको सम्पत्ति पनि निजबाट असुल उपर गरिने' व्यवस्था छ। 'रु.५ लाखभन्दा बढी रु.१० लाखसम्मको सार्वजनिक सम्पत्तिको दुरुपयोग' भएको रहेछ भने डेढदेखि साढे दुई वर्षसम्म कैद हुने व्यवस्था छ। अस्पताल विकास समितिका अध्यक्ष नरेन्द्रनाथ भट्टराईले यसभित्रको वास्तविकता बुझेर कारबाही अगाडि बढाउन जनस्वास्थ्य अधिकृतलाई भनिसकेको बताए।

लक्ष्मीप्रसाद मिश्र, इलाम

मसानघाट होइन स्वर्गद्वार

p11

पहाडतिर मसानघाट नदीकिनारमा हुने हुनाले दाहसंस्कारका अवशेषहरू बगेर जान्छन्। तराईका मसानघाटहरूमा भने फोहोर जम्ने गर्छ। मृत्युलाई अशुभ मान्ने र मसानघाटको नामबाटै तर्सिनेहरूलाई यो पवित्र ठाउँको फोहोरले झ्नै अत्याउँछ। यो कुरालाई ध्यानमा राखेका स्थानीय समाजसेवीहरूले जनकपुर नपा– ४ उत्तिमनगरस्थित श्मशानघाटलाई अहिले सबैका लागि प्रियस्थल स्वर्गद्वार बनाएका छन्।

मसानघाटको पूर्वोत्तर कुनामा बाबा भूतनाथको कलात्मक मन्दिर र पुजारी निवास बनाइएको छ भने पश्चिममा मलामीको विश्रामको लागि पाँच कोठाको धर्मशाला। प्रवेशद्वारदेखि मन्दिरसम्म १२ फिटे बाटो बनाइएको छ, दुवैतिर बगैंचा र ८ चबुतरा (चौतारा) सहितको। प्रसिद्ध गंगासागर (पोखरी) नजिकै रहेको यो श्मशानघाटको पुनर्निर्माणमा सुनचाँदी व्यवसायी पवन सिंघानियाले तन, मन र धन खर्चेका छन्। “मलामी जाँदा श्मशानघाट जस्तो ठाउँ अति फोहोर र अव्यवस्थित देखेपछि यसलाई स्वर्गद्वार बनाउने परिकल्पना गरियो” श्मशान जीर्णोद्धार समितिका अध्यक्ष रहेका सिंघानिया भन्छन्, “१७ फागुन २०५८ मा केशवप्रसाद उपाध्यायको हातबाट शिलान्यास गराई जानकी मन्दिरबाट रु.१ लाख १ चन्दा संकलन गरें।”

स्वर्गद्वार निर्माणको क्रममा हालसम्म १ हजार ४५० दाताबाट रु.१ करोड १२ लाख सहयोग संकलन र रु.१ करोड १४ लाख खर्च भएको सिंघानियाले बताए। डिजाइन अनुसार निर्माण पूरा हुँदासम्म कुल रु.१ करोड ३१ लाख लाग्नेछ। अति नै फोहोर र सुनसान हुने जनकपुरको श्मशानघाट सिंघानिया जस्ता समाजसेवीहरूको प्रयासबाट अहिले शहरको सबैभन्दा सफा सार्वजनिकस्थल स्वर्गद्वार बनेको छ।

मनिका झा, जनकपुर

नेपाली गहुँ वैज्ञानिकलाई अन्तर्राष्ट्रिय अवार्ड

p11a

नेपालका गहुँबाली वैज्ञानिकहरूले प्रतिष्ठित बीजीआरआई जिन स्टेवार्डसीप अवार्ड जितेका छन्। गहुँबालीलाई विश्वव्यापी रूपमा फैलिएको कालो सिन्दुरे (युजी ९९) रोगबाट जोगाएर खाद्य सुरक्षा कायम गर्ने उद्देश्यले सन् २००५ मा स्थापित बर्लग ग्लोबल रस्ट इनिटियटिभ (बीजीआरआई)ले यसै वर्षबाट दिन थालेको यो अवार्डका लागि नेपाल २९ देशका प्रतिस्पर्धीबाट छानिएको हो। यो अवार्ड गहुँबालीका सिन्दुरे रोग अवरोधक प्रजातिको विकास गरी कृषक समुदायमा पुर्‍याउने व्यक्ति वा समूहलाई विश्वव्यापी प्रतिस्पर्धाका आधारमा प्रदान गरिन्छ।

नोबेल शान्ति पुरस्कार विजेता कृषि वैज्ञानिक डा. नर्मन बर्लगको नाममा रहेको यो अवार्ड उनकै छोरी जेनी बर्लग लौवेले १७ भदौमा चीनको बेइजिङमा आयोजित कार्यक्रममा नेपालका गहुँ वैज्ञानिक मदनराज भट्टलाई प्रदान गरिन्। भट्टले नेतृत्व गरेको नेपाली कृषि वैज्ञानिक टोलीमा सरला शर्मा, ध्रुवबहादुर थापा, नूतन गौतम र दीपक भण्डारी छन्। यो टोलीले विकास गरेको गहुँको 'विजय' प्रजाति दक्षिणएशिया तथा विश्वमै नमूना भएको छ। गहुँ प्रजनन् विज्ञ भट्ट हाल राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रका प्रमुख छन्।

भट्टको समूहले विकास गरेको पहेंलो र खैरो सिन्दुरे प्रतिरोधक 'भृकुटी' नामक गहुँको जात तराईमा लोकप्रिय छ। पहाडी क्षेत्रमा पहेंलो सिन्दुरेको प्रकोपबाट जोगाउने 'गौतम' नामको गहुँको प्रजाति पनि भट्ट समूहकै देन हो। 

comments powered by Disqus

रमझम