१-१५ असोज २०६९ | 17 Sep-1 Oct 2012

धर्म प्रचारक मन्त्री !

Share:
  
एमाओवादी नेतृत्वको सरकारका एक मन्त्रीले नेपालमा इसाई धर्म प्रबर्द्धन गर्न राज्य संयन्त्रको दुरुपयोग गरिरहेका छन्।
p38

तस्बीर: मीनरत्न बज्राचार्य  

१६ भदौमा काठमाडौंको याक एण्ड यती होटलमा उपराष्ट्रपति परमानन्द झ्ाले उद्घाटन गरेको 'गरीबी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन' मा सहकारी तथा गरीबी निवारण मन्त्री एकनाथ ढकालको प्रसन्नताको सीमा थिएन। त्यस दिन उनी त्यो तहको सरकारी मान्छेको 'बाहुली' बाट 'न्यू क्रिश्चियन' धर्म प्रचारक कोरियाली संस्था युनिभर्सल पिस फेडरेशन (युपीएफ) को सम्मेलन उद्घाटन र त्यसका संस्थापक सन म्योङ्ग मुनको जीवनी शान्तिपे्रमी विश्व नागरिक को विमोचन गराउन सफल भएका थिए।

उपप्रधानमन्त्री विजय गच्छदारदेखि राप्रपा नेपालका अध्यक्ष कमल थापासम्मका नेताले सम्बोधन गरेको उक्त सम्मेलनबाट गरीबी निवारणकै सम्बन्धमा ठोस केही आएन। गरीबी निवारण मन्त्रालयका एक अधिकारी चार महीनाअघि गठन भएको मन्त्रालयसँग त्यस्तो कार्यक्रम गर्ने कुनै योजना र संयन्त्र नभए पनि मन्त्री नै लागेकाले रोक्न नसकिएको बताउँछन्। प्रवक्ता सहसचिव सुदर्शनप्रसाद ढकाल सम्मेलनमा मन्त्रालयलाई एकदिनको डिनर आयोजना गर्न भनिए पनि कुनै खर्च व्यहोर्नु नपरेको बताउँछन्।

ढकालको धन्दा
मन्त्री ढकाल युपीएफका नेपाल अध्यक्ष हुन्। संविधानसभा निर्वाचनको मौका छोपेर युपीएफलाई राजनीतिक रंग दिंदै परिवार दल गठन गरेका ढकाल २३ हजार ५१२ समानुपातिक भोट पाएर पार्टीको एक्लो सभासद् बनेका थिए। त्यही सीटबाट मन्त्री बन्न सफल उनी अहिले सरकारी संयन्त्रलाई आफ्नो 'मिसन' मा लगाइरहेका छन्। सभासद् हुँदा ढकालले याक एण्ड यतीमै आयोजना गरेको पार्टी देख्दा चकित भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेपालमा जनतालाई धार्मिक नसामा लठ्याएर राजनीतिक शक्ति आर्जन गर्ने खेल भइरहेको बताउँछन्।

यस्तै अनुभव छ, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको पनि। उनी ढकालले अन्य दलका नेताहरूलाई झै आफूलाई पनि विदेश घुम्न पटक–पटक कर गर्दा टार्दै आएको बताउँछन्। बिजुक्छे भन्छन्, “धर्मको नाममा देशलाई नै बन्धक बनाउने राजनीतिक खेल भइरहेको छ।”

गोर्खा बोर्लाङका ढकाल २०६४ सालसम्म खासै चिनिएका थिएनन्। सभासद् भएपछि फादर सन म्योङ्गको लगानी र कृपाबाट उनले नेपालमा प्रभाव बढाए। एमाओवादीलाई रिझाएर क्रिश्चियन धर्म प्रचारक संस्थाको तर्फबाट मन्त्री नै बनेपछि नेपालको शान्ति प्रक्रिया यहाँसम्म आइपुग्नुमा आफ्नो ठूलो योगदान रहेको ढकालको दाबीलाई युपीएफले निकै पत्याउने गरेको छ। १६–१७ भदौको सम्मेलनले नेपालमा सकारात्मक प्रभाव पारेको समाचार युपीएफको वेबसाइट (upf.org) मा छ।

२०६२–६३ को जनआन्दोलनताका सडकमा 'सिद्धान्त अनुसन्धान महाविद्यालय' लाई सहयोगार्थ भन्दै रु.१० को कलम रु.५० मा बेच्ने बेरोजगार युवा–विद्यार्थीहरू ढकालको परिवार दलको मातृसंस्था युपीएफका 'भोलेन्टियर' थिए। जनआन्दोलनपछि ढकालले सुजाता कोइरालामार्फत तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई युपीएफको 'इन्टरनेशनल पिस अवार्ड' दिलाए। २०६३ मा फादर सन म्योङ्ग नेपाल आउँदा तत्कालीन सभामुख सुवास नेम्वाङबाट सम्मान गराए।

जनआन्दोलनपछिको माहोलमा यसैगरी ढकालले प्रमुख दलका ठूला नेता, सभासद्, सरकारी अधिकारी, सुरक्षाकर्मी र केही पत्रकारलाई कुनै न कुनै रूपमा प्रभाव पारिरहे। वर्तमान प्रधानमन्त्री भट्टराई, पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र शेरबहादुर देउवा, उपराष्ट्रपति झा, केही पत्रकार, सभासद्, सरकारी अधिकारी र सुरक्षाकर्मीहरूलाई जापान, कोरिया, थाइल्याण्ड, इन्डोनेसियाको भ्रमण गराए।
मन्त्री ढकालको युपीएफले नेपाली युवा–युवतीलाई गोलाप्रथाद्वारा विदेशी दुलाहा–दुलहीसँग विवाह गराउने पनि गरेको छ। कोरियामा भएको यस्तै विवाह समारोहमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र देउवा सपत्नी सहभागी हुँदा युपीएफले उहाँहरूले 'मुनपथ' स्वीकारेको अर्थ लाग्ने समाचार प्रवाह गरेको थियो। फिलिपिनो महिलासँग विवाहित मन्त्री ढकाल सरकारको परिवार नियोजन नीतिको विरोध गर्छन्।

काठमाडौंको नक्सालमा 'युनिफिकेसन' चर्च र नेपाल टेलिभिजनबाट धार्मिक कार्यक्रम चलाइरहेका मन्त्री ढकालको न्यू क्रिश्चियन धर्म प्रचारलाई नेपालका अन्य इसाई धर्मावलम्बीहरू चाहिं झुटको खेती ठान्छन्। बसुन्धराको न्यू लाइफ चर्चका डा. फिलिमन क्षेत्री भन्छन्, “उनी बाइबलका क्राइष्ट भन्दा बाहिरका कसैलाई प्रभुको रूपमा स्थापित गर्न उद्यत देखिन्छन्, जसलाई सद्दे कुरा मान्न सकिन्न।”
युनिफिकेसन चर्चको सदस्य बनेका परिवार दलका क्रियाशील सदस्यहरूलाई 'औकात हेरी' मासिक रु.१० हजारदेखि माथि तलब दिने गरेका मन्त्री ढकालले पार्टीका सबै सदस्यले क्रिश्चियन बन्नुपर्ने परिपत्र जारी गरेपछि असन्तुष्ट कार्यकर्ताहरू पार्टी कार्यालयमा धर्ना बसेका र मन्त्री ढकालले तिनलाई कारबाही गर्न खोजेको केन्द्रीय सदस्य विद्याप्रसाद शर्मा बताउँछन्।

नेपालको अन्तरिम संविधानको धारा १४१ र १४२ को राजनीतिक दलसम्बन्धी व्यवस्थामा धर्म, जातजाति, भाषा वा लिंगको आधारमा नागरिकलाई भेदभाव गर्न नपाइने उल्लेख छ। निर्वाचन आयोगका आयुक्त डा. अयोधीप्रसाद यादव कुनै पनि राजनीतिक दलले आफ्ना सदस्यलाई निश्चित धर्म मान्न निर्देशन दिन नसक्ने बताउँछन्। 

सुशील पन्त

comments powered by Disqus

रमझम