१-१५ असोज २०६९ | 17 Sep-1 Oct 2012

ठमेलको क्याफेबाटै अन्नपूर्ण अवलोकन

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
ठमेलमा खुलेको महाबीर सेन्टर फर नेपाल कनेक्सन क्याफेमा अन्नपूर्ण हिमश्रृंखलाको प्रत्यक्ष दृश्यपान गर्दै नेपाली, कन्टिनेन्टल खाना र इटालियन लाभाजा कफीको स्वाद लिन पाइन्छ।
p58

म्याग्दीका दुर्गम गाउँघरमा ताररहित इन्टरनेट सेवा पुर्‍याएर म्यागासेसे पुरस्कार पाएका महाबीर पुनले केही साथीहरूको सहयोग लिएर अर्को उदाहरणीय काम थालेका छन्, रेस्टुरेन्टको रूपमा। काठमाडौंको ठमेलमा खोलिएको यो रेस्टुरेन्टमा ताररहित प्रविधिबाटै केही साताभित्रै अन्नपूर्ण, धौलागिरि हिमश्रृंखला र जोमसोमको ताजा दृश्यहरू हेर्दै परिकारहरूको स्वाद लिन पाइन्छ। 

यसरी जन्म्यो क्याफे 
यो क्याफे स्थापनाका लागि महाबीर पुन र साथीहरूले फेसबुकमा योजनासहित ऋण तथा सहयोगको आह्वान गरेका थिए। केही महीनाभित्रै 'तपाईं थाल्नुस्, हामी छौं' भन्नेहरू मनग्गे भए। यसरी फेसबुकबाटै ३० जना जतिले रु.२० लाख जुटाइदिएपछि १६ भदौमा ठमेलको सगरमाथा बजारको पहिलो तलामा क्याफे खुल्यो। तर, 'ठमेलमा महाबीरले रेस्टुरेन्ट खोलेको' सुनेर धेरै मानिस छक्क परे। कतिपय शुभचिन्तकले 'यो के गरेको? यो तिमीले गर्ने कामै हैन' सम्म भने। तर, यसको उद्देश्य बुझ्ेपछि सबैले यो महाबीर पुनले नै गर्ने काम हो भन्ने ठहर गरे। 

खानेकुरा बेच्नु मात्रै क्याफेको उद्देश्य हैन। काठमाडौंमै जन्मे–हुर्केका वा बाहिरबाट आएर यहाँ बसेकाहरूलाई नेपालको गाउँघरबारे जानकारी दिन र विदेशी पर्यटकहरूलाई घुमघामसँगै नेपालमै केही गर्छु भन्ने भावना जगाउने उद्देश्य रहेको महाबीर बताउँछन्। अर्थात्, यी सबैथरीका लागि 'कनेक्सन प्वाइन्ट' हो यो रेस्टुरेन्ट। क्याफेमा चाहनेलाई पर्यटन र टे्रकिङ रुटहरूबारे परामर्शका साथै म्याग्दीको वायरलेश प्रोजेक्टबारे अडियो–भिडियो जानकारी दिइने व्यवस्था छ। पुन भन्छन्, “साथीभाइहरूसँग बसेर खाने–पिउने ठाउँ त धेरै छन्, तर केही गरौं भनेर छलफल समेत हुने ठाउँ नभएकोले पनि यो थलो बनाएका हौं।” 

म्याग्दीमा खुलेको ५ र ९ दिनको नयाँ टे्रकिङ रुटको प्रबर्द्धन समेत गर्नुपरेकोले विदेशी पर्यटकको घुँइचो हुने ठमेलमै क्याफे खोल्नुपरेको उनले जनाए। क्याफेमा नेपाली–विदेशी परिकार र कफीसँगै म्याग्दीको मोहरेबाट देखिने सूर्योदय र संसारको गहिरो गल्छीबाट देखिने सूर्यास्त प्रत्यक्ष देख्न पाइन्छ। यी दृश्यका लागि मोहरे, जोमसोम र अन्नपूर्ण बेसक्याम्पमा अत्याधुनिक वेबक्याम जडान गरिसकिएको छ। आगमी तीन साताभित्रै वेबक्यामहरूले धौलागिरि, अन्नपूर्ण हिमश्रृंखला, जोमसोम र पोखरा बजार समेत खिचेर क्याफेको भित्ताको स्त्रि्कनमा देखाउनेछ। क्याफेका जनरल म्यानेजर किशोर रिमाल भन्छन्, “ग्राहकहरूलाई मनोरम हिमश्रृंखला देखाएर पदयात्राका लागि उत्साहित पार्नु क्याफेको लक्ष्य हो।” 

p58a

नाफा खाँदैनन् प्रबर्द्धक 
महाबीर सेन्टर फर नेपाल कनेक्सन सञ्चालनका लागि कम्पनीमा महाबीरसँगै अनिल चित्रकार, मेघ आले, सौरभ ढकाल र किशोर रिमाल गरी पाँच जनाको बोर्ड छ। यी पाँचै जना स्वयंसेवी संचालक नाफाको हिस्सेदार पनि हुँदैनन्। कर्मचारी तलबबाट बचेको सबै आम्दानी समुदायको विकासमा लगानी हुन्छ। अढाइ वर्षदेखि महाबीर पुनसँगै स्वयंसेवा गर्दै आएका किशोर रिमाललाई जनरल म्यानेजर तोकिएको छ। क्याफेमा ६ जना कर्मचारी छन्। 

नेपालका तारे होटलहरूमा ७ वर्ष र साउदी अरबमा ५ वर्ष काम गरेका कुक विनोद श्रेष्ठको हातले बनाएका खानेकुराले प्रतीक्षा गरिरहेको यो क्याफेमा संस्थागत बैठक गर्ने हल तयार भइसकेको छ। तपाईं पनि महाबीर पुनलाई होस्टेमा हैंसे गर्न चाहनुहुन्छ भने 'क्याफे एण्ड कनेक्सन' को स्वाद बुझन सक्नुहुन्छ। 'लाइभ' हिमाली दृश्य हेर्दै खान पाइने यहाँको मेनुमा रु.१०० देखि रु.६०० सम्मका परिकार छन्। 

comments powered by Disqus

रमझम