१-१५ असोज २०६९ | 17 Sep-1 Oct 2012

फिल्म खेल्दै, थिएटर बनाउँदै

Share:
  
p59

मण्डला थिएटरका रङ्गकर्मीहरू दयाहाङ राई र राजन खतिवडा (हे.तस्बीर) अहिले नेपाली फिल्म कर्कस र सरी ल को छायाङ्कनमा व्यस्त छन्। उनीहरूले फिल्ममा काम गरेको पैसा भने निर्माणाधीन नाटकघरमा खर्च गरिरहेका छन्। उनीहरू स्रोतको अभावमा परेर लक्ष्य अनुसार, भदौमा नसकिएको नाटकघरलाई दशैंअघि जसरी पनि पूरा गर्न चाहन्छन्। 

मण्डला थिएटरमा आवद्ध युवा रङ्गकर्मीहरूले काठमाडौंको अनामनगरमा सिंहदरबार पूर्वीगेट नजिकै ६ आना जग्गा लिजमा लिएर फागुन २०६८ बाट निर्माण शुरू गरेको नाटकघरमा उनीहरू ईंटा बोक्ने, सिमेन्ट मुछ्ने, प्लास्टर गर्नेदेखि रङ लगाउनेसम्मका काम आफैं गरिरहेका छन्। यसमा १६ रङ्गकर्मीले रु.५० हजारदेखि रु.१ लाखसम्म लगानी गरेका छन्। थिएटरका निर्देशक राजन भन्छन्, “आफैंले काम गर्दा नाटकघरको माया बढी हुने र खर्च पनि जोगिने भएकाले हामी आफैं श्रमिक बनिरहेका छौं।” 

उत्साही युवा रङ्गकर्मीहरूको जोशको कदर गर्दै चित्रकार किरण मानन्धर, रङ्गकर्मी अशेष मल्ल लगायतले रु.५ हजारदेखि रु.१० हजारसम्म आर्थिक सहयोग गरेका छन्। सहयोग गर्न चाहने जो–कोहीले www.mandalatheatra मार्फत सम्पर्क गर्न सक्ने राजन बताउँछन्। उनले आर्थिक गर्जो टार्न एक वर्षसम्म नाटक हेर्न पाउने रु.१ हजारको टिकट बेच्न थालेको जानकारी पनि दिए। चार वर्षअघि स्थापित यो समूहले हरेक वर्ष देशका विभिन्न स्थानमा मोबाइल नाटक प्रदर्शन गर्दै आएको छ। कथानक चलचित्र 'लूट'का एक जना चर्चित कलाकार दयाहाङ यो समूहका अध्यक्ष हुन्। उनका अनुसार, एक पटकमा १५० दर्शक अटाउने नाटकघरको माथिल्लो तलामा क्याफे खोलिनेछ। “आफैं खट्दा पनि रु.१५ लाख खर्च भइसक्यो”, दयाहाङ भन्छन्, “अझ्ै रु.५ लाख जति अपुग भएको छ।” 

पुरानो बानेश्वरस्थित आरोहण गुरुकुलका दुवै नाटकघर ठाउँ छाड्नु परेकाले भत्किएपछि राजधानीको रङ्गकर्ममा छाएको शून्यतामा सर्वनामको नयाँ नाटकघरले केही उत्साह थपेको छ। मण्डला थिएटरको नाटकघर बनेपछि नेपाली रङ्गकर्म थप गुल्जार हुने आशा गरिएको छ। 

अनुशील 

comments powered by Disqus

रमझम