१-१५ असार २०६९ | 15-29 June 2012

रहिनन् जेसिका

Share:
  

तीन वर्षमै आमाको मृत्यु र बाबुले दोस्रो विवाह गरे पनि मनकारी माइला काकाको छत्रछायाँ पाएकी इटहरीकी ज्योति खड्काको किशोरकाल आम किशोर–किशोरीको जस्तै रह्यो, चञ्चल र स्वप्निल। १६ वर्षको रहरे उमेरमा अभिशाप बनेर आएका गायक प्रकाश ओझासँगको संगतले भने उनको जीवनमा असामान्य उतारचढाव ल्याइदियो। प्रकाशले उनलाई फिल्ममा हिरोइन बनाउने प्रलोभनमा पारेर यौन शोषण गरे, यौन सम्पर्क गरेको भिडियो खिचे, जुन सार्वजनिक भएपछि ज्योतिको फूल जस्तो जिन्दगी काँडा समान बन्यो।

त्यो अवस्थामा पनि काकाकाकीको दह्रो सहयोग पाएकी ज्योति प्रकाशलाई जेल पठाउन सफल भइन् र साहसपूर्वक फिल्म क्षेत्रमा आइन्, जेसिका खड्काको नामबाट। तर, नेपाली फिल्म क्षेत्रमा चमकधमक बाहेक अर्को एउटा अनदेखा पाटो पनि छ, जसमा उनी टिक्न सकिनन् र २३ वर्षको उमेरमा २९ जेठको राति काठमाडौंको झोँछेस्थित डेरामा सलको पासोमा झुण्डिएको अवस्थामा फेला परिन्। 'अचानक', 'जङ्गल क्विन', 'मेरो माया तिमीलाई', 'जङ्गल लभ' र 'लक्की सेभेन' की नायिका जेसिकाले अर्को कथानक चलचित्र 'गहिराइ' को छायांकन भर्खरै सकेकी थिइन्। उनकी साथी सीमा केसी भन्छिन्, “एकदमै टर्चर भइराखेको छ, धम्कीको फोन आउँछ भन्थिन्, तर कहिल्यै कसैको नाम बताइनन्।”

यसअघि नेपाली फिल्म क्षेत्रमा जेसिका जस्तै सफलताको सिंढी उक्लिरहेकी श्रीषा कार्कीले पनि आत्महत्या गरेकी थिइन्। जेसिकाको आत्महत्याको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

comments powered by Disqus

रमझम