१६-३० असोज २०६९ | 2-16 October 2012

सम्बन्धको नालीबेली

Share:
  
b1
 
 

नेपाल–चीन सम्बन्ध 
(ऐतिहासिक विवेचना)
लेखकः सुरेश कार्की  
प्रकाशकः नेपाल चाइना पिपुल्स फोरम
मूल्यः रु.३००, पृष्ठः २०० 

नेकपा एमालेका विदेश विभाग सदस्य सुरेश कार्कीले क्षेत्रीय मामिलासम्बन्धी तेस्रो पुस्तक नेपाल–चीन सम्बन्धः ऐतिहासिक विवेचना प्रकाशमा ल्याएका छन्। यसअघि कार्कीले बदलिंदो सन्दर्भमा नेपाल चीन सम्बन्ध र भारत तथा तिब्बतः यथार्थ र चुनौती शीर्षकका दुई पुस्तक लेखिसकेका छन्। प्रतिनिधिसभा परराष्ट्र तथा मानवअधिकार समिति सदस्य र एमालेका केन्द्रीय सदस्यको अनुभव हासिल गरिसकेका कार्की 'नेपाल चाइना पिपुल्स् फोरम' का अध्यक्ष पनि हुन्। यिनै अनुभव, जिम्मेवारी र चासोले कार्कीलाई नेपाल–चीन सम्बन्धको जानकार बनाएको छ।  
 
कार्कीले पुस्तकमा मञ्जुश्री, भृकुटी, बुद्धभद्र, अरनिको आदि विभूतिले मजबुत बनाएको र १ अगस्ट १९५५ मा औपचारिकता पाएको नेपाल–चीन सम्बन्धका विविध पाटोहरू खोतलेका छन्। गत पुसमा भएको चिनियाँ प्रधानमन्त्री वेन च्यापाओको नेपाल भ्रमणसम्मका विषयवस्तु समेटिएको पुस्तकमा नेपाल–चीन सम्बन्धमा कहिले, क–कसले, के–कस्ता भूमिका निर्वाह गरे, के–कस्ता उतारचढावहरू आए–गए जस्ता विषयका महत्वपूर्ण प्रसङ्ग, उच्चस्तरीय भ्रमणमा भएका सहमति, सम्झौता, संयुक्त वक्तव्य र द्विपक्षीय निर्णयका महत्वपूर्ण दस्तावेजहरू छन्। नेपाल–चीन ऐतिहासिक सम्बन्धको विवेचना गर्दै बदलिंदो परिवेशमा बाटो पहिल्याउने सुझावहरू प्रस्तुत गर्नु पुस्तकको सशक्त पाटो हो।  
 
पुस्तकले नेपालको संस्थापनमा जो आए पनि ऊसँग मात्रै सम्बन्ध राख्ने चीनले विश्व महाशक्ति बन्ने क्रममा 'मौन कूटनीति' तोड्दै काठमाडौंमा 'सक्रियता' देखाउन थाल्नुको कारण अमेरिकी–युरोपेली चलखेल भएको विश्लेषण गरे पनि त्यसका अन्तरवस्तु केलाएको छैन। नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण सहयोग गर्दै आएको चीन पछिल्लो समय लुम्बिनी विकासलगायतका विवादमा तानिएका विषयमा पनि पुस्तक मौन छ। नेपालका राजनीतिक दल र चीनबीच विकसित सम्बन्धका कतिपय विषयमा लेखकले एकांकी व्याख्या गरेका छन्। विषयवस्तुहरू छरिएका छन्, असान्दर्भिक लाग्ने थुप्रै प्रसंग छन् र प्रस्तुति फितलो छ। यस्ता कमी–कमजोरी हुँदाहुँदै पनि पुस्तक नेपाल–चीन सम्बन्धका विद्यार्थी र अध्येताहरूका निम्ति गतिलो सन्दर्भ सामग्री बनेको छ।
 
रामेश्वर बोहरा 
 
b2
 
 
एकमुष्ट ऋतुविचार 
 
ऋतुविचार (व्यंग्य संग्रह)  
लेखकः ऋतुराज 
संकलकः डम्बरकृष्ण श्रेष्ठ  
प्रकाशकः जगदम्बा प्रकाशन 
मूल्यः रु.३००, पृष्ठः २३५+१२ 
 
२०५२ सालमा हिमाल द्वैमासिकका सम्पादक रहेका वसन्त थापाले ऋतुराज नामबाट लेख्न थालेको ऋतुविचार स्तम्भ २०५५ फागुनमा पाक्षिक खबरपत्रिका भएको हिमाल मा २०६८ सम्म चल्यो। हिमाल मा विभिन्न सामग्रीका बीच आउने ऋतुराजका सामाजिक व्यंग्यले स्वादिलो चटनीले झै पाठकको जिब्रो लठ्याएका थिए। 'सोसल आईरनी' भनिए पनि ऋतुराजले राजनीतिदेखि रात्रिजीवनसम्म, अर्थतन्त्रदेखि आर्किटेक्चरसम्म र साहित्यदेखि सौन्दर्यशास्त्रसम्मका पित्को पस्किएका थिए। उनको जनसम्पर्क, अध्ययन र अनुभवको दायराले चटनीलाई स्वादिलो बनाएको थियो। त्यो स्वादका लागि अब पाठकले पुराना हिमाल पल्टाइरहनुपर्दैन। ऋतुविचार ग्रन्थकै रूपमा बजारमा आएको छ, उही नामबाट। 
 
b3
 
 

जातीय राज्यको शब्दचित्र 

मृत्युमेला (कथा संग्रह) 
लेखकः राजुबाबु श्रेष्ठ   
प्रकाशकः रत्न पुस्तक भण्डार  
मूल्यः रु.१७५ पृष्ठः १४९  
 
“यिनीहरू जुन गाउँमा पस्छन्, पागल हात्ती जस्तो पस्छन् र गाउँमा कुटपिट, हत्या र बलात्कारको शृङ्खला चल्छ। म पनि यिनीहरूबाट बलात्कृत हुँ...”  
 
जातीय गृहयुद्धले गर्दा सुडानमा थातथलोबाट लखेटिएर चियापसल चलाउँदै जीवन धानिरहेकी अमिनाको दर्दनाक पीडा उनिएको राजुबाबु श्रेष्ठको 'मृत्युमेला' शीर्षकको कथाले जातीय युद्ध र आन्तरिक शरणार्थीका पीडाको चित्र उतारेको छ। १५ वटा कथा समेटिएको नेपाल प्रहरीका डीएसपी श्रेष्ठको यो तेस्रो कथा संग्रहमा जागिरको क्रममा बेलायत, अमेरिका, सुडान र क्रोएसियामा पुग्दा भेटिएका पात्रहरू छन्।  
 
अफ्रिकी मुलुक सुडानको परिवेशमा रचिएका संग्रहका अधिकांश कथाले त्यहाँको गरीबी र जातीय समस्याका कारुणिक दृश्य देखाउँछन्। नेपाल प्रहरीको राष्ट्रसंघीय मिसनमा सुडान पुगेका श्रेष्ठले कथाको विषयवस्तु गृहयुद्धले आफ्नै भूमिमा शरणार्थी बनाएका हतभागीहरूको जीवनलाई बनाएका छन्। कहिले विद्रोहीबाट त कहिले सरकारी फौज र हतियारधारी समूहहरूबाट मारिने, लुटिने र बलात्कृत हुने नियति भोगेका दर्दनाक चित्र ती कथामा छन्। जातीय, क्षेत्रीय र धार्मिक विवादबाट जोगिन सजग गराउने श्रेष्ठका कथाहरू जातीय राजनीतिक द्वन्द्वमा फँस्न लागेको नेपालका लागि निकै सान्दर्भिक देखिन्छन्। 
 
रामजी दाहाल  
 
b4
 
 

अरुचिकर प्रयोग

 
मातृ सम्भोग (उपन्यास) 
लेखकः स्वागत नेपाल 
प्रकाशकः बिएन पुस्तक संसार 
मूल्यः रु.१५०, पृष्ठः १५९+६ 
 
मानिसलाई कुनै बेला कुनै विषयको सनक चढ्छ र त्यसलाई स्थापित गर्न ऊ जोडदार उद्यम गर्छ। नेपाली वाङ्मयको उपन्यास विधामा यस्तै उद्यम गरेका छन्, स्वागत नेपालले। संसारमा सबै मरेर आमा–छोरा मात्र बाँचे भने उनीहरूले नै सृष्टिलाई निरन्तरता दिन्छन् भन्ने मजबुनको उनको उपन्यास मातृ सम्भोग को दोस्रो संस्करण बजारमा प्रकाशमा आएको छ। पठनमा अरुचि सिर्जना गर्न नामै काफी भएको यो उपन्यासको रचनागर्भ कति अरुचिकर, पीडादायी र आपत्तिजनक छ भन्ने कुरा लेखककी मातारी जशोदा नेपालको चिठीबाट खुल्छ। र पनि, साहित्यमा यस्ता प्रयोगहरू हुन्छन्, भएका पनि छन्। 
 
b5
 
 

साहित्यिक स्वादको कमी 

 

किताबः प्रलय प्रारम्भ (उपन्यास) 
लेखकः देवप्रकाश त्रिपाठी 
प्रकाशकः हिमालय बुक स्टल 
मूल्यः रु.२५० पृष्ठः १८४ 
 
पत्रकार देवप्रकाश त्रिपाठीले पहिलो साहित्यिक कृति भनेर उपन्यास प्रलय प्रारम्भ प्रकाशमा ल्याएका छन्। जलवायु परिवर्तनको असरले पृथ्वीमा प्रलय भएको र अन्ततः एक जोडी आमा र छोरा मात्र बचेका कथावस्तुमा रचिएको छ, उपन्यास। प्रलयअघि जलवायु परिवर्तनका असरहरूमा केन्द्रित उपन्यासको कथा मानव जीवनलाई निरन्तरता दिने विषयमा तिनै आमा–छोराबीच चलेको अन्तर्द्वन्द्वमा घुमेको छ। आमा र छोरा अलग–अलग रूपमा आफूहरूले नै शारीरिक सम्पर्क राखेर सृष्टिलाई अगाडि बढाउने कुरा सोच्छन्, तर आफैं नैतिकता र मूल्यमान्यताको तर्कना झिकेर अघि बढ्न सक्दैनन्। अन्ततः एउटा निर्वस्त्र मान्छे वा वनमान्छे देखेपछि त्यसैबाट मानव सृष्टि अघि बढ्ने निश्चितताका साथ उपन्यास टुङ्गिन्छ।  
 
काल्पनिक विज्ञान कथा भन्न सकिने उपन्यासमा साहित्यिक मिठास, रोचकता र भावनाको भने खडेरी छ। जलवायु परिवर्तनको निरस व्याख्या, त्यसका असरहरूको नाटकीय विकासक्रम र प्रलयपछि आमा–छोराबीच चल्ने प्रवचन शैलीको इतिहास, सभ्यता, दर्शन, मानव जीवन, राजनीति, धर्म आदिको चर्चाले उपन्यासमा साहित्यिक मिठास नआएको हो। यद्यपि दर्शन, जीवन जस्ता विषयको चर्चा चाहिं बलियो छ। 
 
फुजेलदेखि ताक्लाकोटसम्म
 
b6
 
 
 
 
 
उपल्लो थलो  
लेखकः मोहन मैनाली  
प्रकाशकः जगदम्बा प्रकाशन   
पृष्टः २४८+२०, मूल्य रु.३००  
 
पत्रकार तथा वृत्तचित्र निर्देशक मोहन मैनालीले रिपोर्टिङ र छायाङ्कनको क्रममा भेटेका मानिस, देखेका ठाउँ र गरेका अनुभवहरूको संश्लेषणबाट आएको पुस्तक उपल्लो थलो को कथा कविवर माधव घिमिरेको 'मालती मङ्गले' गीति नाटक जस्तै गोरखाको फुजेल गाउँबाट शुरू हुन्छ। किताबले चैतको उखरमाउलो गर्मीमा घैयाले पहेंलपुर फुजेल छिचोल्दै तिब्बतको मानसरोवरसम्मको साहसिक यात्रा गराउँछ। २०५१–२०५९ सालबीचमा मैनालीले गरेको यात्राबाट सिर्जित किताबले बूढीगण्डकी र महाकाली किनारका जनजीवन समेटेको छ, त्यस भेकको कथा–व्यथा केलाएको छ।  
 
२०५१ को मध्यावधि निर्वाचनबाट ८८ सीट जितेको एमालेका अध्यक्ष मनमोहन अधिकारी मुलुककै पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्दा दलित समुदायमा छाएको उत्साह हेर्दाहेर्दै निराशामा परिणत भएको प्रसङ्गलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ, पुस्तकमा। कैलालीवासीले खेपेको कहर कहन लेखकले कर्रा खोलामा फँसेको गाडीको बयान गरेका छन्। महाकाली नदी पूर्वको वनबासास्थित भारतीय भन्सार कार्यालयमा घुस नदिन हाकिमलाई कथा हाल्नुपरेको घटनाले तीतो यथार्थलाई मीठो तरिकाले पस्केको छ।  
 
खुट्टा अडिने गोरेटो नहुँदा भीरबाट लडेर अकालमै मर्नु परेको, भात पकाउने पानी नहुँदा नानीहरूले समेत भुटेको मकैले छाक टार्नु परेको, शिक्षकहरूले नपढाएरै तलब हजम गरेको जस्ता विषयलाई मैनालीको वर्णनशिल्पले अविस्मरणीय बनाएका छन्। तर, व्यथै–व्यथाको संग्रह भने होइन, उपल्लो थलो। यसमा दलबहादुर कुमालले उखु खेतीबाट मनग्ये आम्दानी गरेका छन्। सिप्चेतवासी बाटो खन्न जुटेका छन्। रानागाउँमा जाँडरक्सी कटौती अभियान चलेको छ।  
 
पुस्तक पढ्न थालेपछि छोड्न मन लाग्दैन, यसको रोचक प्रस्तुति र औसतमा हरेक पाँचौं पेजमा आउने नयाँ पाठका कारणले। पचभैया, करु, जगत, अभिषेक आदित्यादि नयाँ शब्दहरूको अर्थ पढ्दापढ्दै खुल्दै जान्छ। लेखककै भनाइमा, यसमा दैनिक रिपोर्टिङ र साहित्यबीचको यस्तो ठिमाहा विधाको उपयोग भएको छ, जसमा न काल्पनिक कुराको गन्ध आउँछ न त समाचार लेखनको टर्रोपना नै। उपल्लो थलो सबैका लागि पठनीय र पत्रकारहरूका लागि विशेष उपयोगी छ। 
 
सन्त गाहा मगर 
comments powered by Disqus

रमझम