१-१५ असार २०६९ | 15-29 June 2012

कसले मार्ला बाजी

Share:
  
लिग चरणको खेल नतिजा हेर्दा युरो कप– २०१२ को उपाधिको दौड थप रोमाञ्चक बन्ने देखिन्छ।
63

प्रत्यक्ष र टेलिभिजनमार्फत विश्वका १५ करोड दर्शकले हेर्ने विश्वास गरिएको युरो कप– २०१२ को लिग चरणका प्रारम्भिक खेलहरू हेर्दा उपाधि कसले जित्छ भन्ने अनुमान लगाउन सजिलो छैन। १६ टीमलाई चार समूहमा विभाजन गरेर खेलाइएको लिग चरणका केही खेलको नतिजा अप्रत्यासित छ। पछिल्लो संस्करणको विश्वकप उपविजेता नेदरल्याण्ड डेनमार्कसँग स्तब्ध हुनु, स्पेन इटलीसँग बराबरीमा रोकिनु वा रूस र चेक रिपब्लिकबीचको ४–१ को फराकिलो हारलाई फूटबल विश्लेषक संजीव मिश्र आश्चर्यजनक नतिजा ठान्छन्। यस्तै अप्रत्यासित नतिजाले प्रतियोगिता थप रोमाञ्चक बन्ने उनको भनाइ छ।

समूह 'ए' लाई तुलनात्मक रूपले सजिलो मानिएको छ। रूसले चेक रिपब्लिक माथिको जित र पोल्याण्डसँगको बराबरीबाट चार अंक बटुलिसकेको छ। ग्रीसलाई स्तब्ध पार्दै चेक रिपब्लिकले ३ अंक जोडेको छ। सह–आयोजक पोल्याण्डको २ अंक छ। ग्रुप अफ डेथ मानिएको समूह 'बी' मा प्रतियोगिताका दावेदार जर्मनी, नेदरल्याण्ड, पोर्चुगल र डेनमार्क छन्। ठूला प्रतियोगितामा सधैं उत्कृष्ट प्रदर्शन गर्ने छवि बनाएको जर्मनी १९९६ पछि पहिलो पटक कुनै उपाधि जित्ने सुरमा छ। अर्को दावेदार नेदरल्याण्डको नाममा १९८८ को युरो कप रहेको छ। तीन पटकको विश्वकप फाइनलिस्ट नेदरल्यान्ड दुई वर्षअघि विश्वकपमा उपविजेतामै सीमित रहेकोे पीडा भुलाउन चाहन्छ। यद्यपि डेनमार्कसँग अप्रत्याशित रूपले १–० ले पराजित भएपछि नेदरल्याण्डको यात्रा कठिन बनेको छ। पोर्चुगल आफ्नो पहिलो खेलमा जर्मनीसँग १–० ले पराजित भयो।


समूह 'सी' मा साविक विजेता स्पेन, इटली, क्रोेएसिया र २००२ पछि आफ्नो पहिलो प्रतियोगिता खेलिरहेको आयरल्याण्ड छन्। उपाधि जित्न सकेमा लगातार दुई पटक युरो जित्ने कीर्तिमान कायम गर्ने सपना बोकेको स्पेन आफ्नो पहिलो खेलमा इटलीसँग १–१ को बराबरीमा रोकिएको छ। म्याच फिक्सिङका कारण २००६ मा जस्तै यस पटक पनि विवादमा परेको इटलीका अधिकांश खेलाडी युवा छन्। सेजारे प्रान्डेलीको प्रशिक्षकत्वमा राम्रो खेलेर पनि २०१० को विश्वकपमा पहिलो चरणबाटै बाहिरिएको पीडा भुल्न चाहन्छ इटली। स्लावेन बिलिचको व्यवस्थापनमा उत्कृष्ट खेल्दै गरेको क्रोेएसियाले पहिलो खेलमा आयरल्याण्ड माथि ३–१ को जित निकालेको छ।

समूह 'डी' मा इङ्गल्यान्ड, फ्रान्स, स्वीडेन र सह–आयोजक युक्रेन सम्मिलित छन्। २२ खेलमा अविजित फ्रान्स आफ्नो गुमेको प्रतिष्ठा फर्काउने धुनमा छ। २००८ र २०१० मा लज्जास्पद प्रदर्शनपछि लरे ब्लाँले टीमको नेतृत्व सम्हालेका थिए। त्यसपछि फ्रान्सको प्रदर्शन सुधारिंदै गएको छ। फ्रान्स र इङ्गल्याण्डको पहिलो खेल १–१ को बराबरीमा टुङ्गिएको छ। वायने रुनी पहिलो दुई खेलमा प्रतिबन्धित तथा अनुभवी मिडफिल्डर फ्रान्क लाम्पार्ड चोटका कारण प्रतियोगिता नै नखेल्ने भएपछि इङ्गल्याण्ड दबाबमा छ।

विश्व विजेता स्पेन यूरो कप २०१२ को दावेदार हो भन्नेमा शंका छैन। त्यस बाहेक जर्मनी, नेदरल्याण्ड, फ्रान्स, रूस, क्रोएसिया, इटली र इङ्गल्याण्डलाई पनि बलियो दाबेदारको रूपमा लिन सकिन्छ। धेरै पटक अप्रत्यासित नतिजाका साथ नयाँ विजेता पाउँदै आएको युरो कपको १ जुलाइमा हुने फाइनलले यस पटक के दिन्छ भन्ने कुराले फूटबलप्रेमीहरूको ज्वरो बढाएको छ। २४ दिनसम्म चल्ने रोमाञ्चक प्रतियोगिताको अन्तिम नतिजा जे आए पनि पोल्याण्ड र युक्रेनका लागि यूरो कप–२०१२ आर्थिक अवस्था सुधारको अवसरसँगै विश्व समुदायमाझ् ठूलो प्रतियोगिता आयोजक बनेको गर्व भने सुनिश्चित भइसकेको छ।

सन्देश पन्त

comments powered by Disqus

रमझम