सेतो धरती उपन्यासका लागि १ असोजमा मदन पुरस्कार जितेका अमर न्यौपाने (३५) भन्छन्, “नेपाली समालोचना विश्वविद्यालयको कोर्सबुक भन्दा बाहिर आउन सकेको छैन।”
के–के कारणले सेतो धरती ले यो वर्षको मदन पुरस्कार पाएको होला?
लेखकले आफ्नो कुरा कृतिबाट भन्ने हो। कृतिमा सशक्त पक्ष के थिए भन्ने निर्णायकहरूले भन्दा राम्रो होला। मेरो लेखनको सन्दर्भमा भन्नुहुन्छ भने विषयवस्तु चयन गरेपछि परिवेश छनोट गर्छु अनि पात्र छान्छु। कृतिलाई आकार दिने बेलामा जीवन, दर्शन, करुणा र मनोविश्लेषणमा विशेष ध्यान दिन्छु।
पुरस्कारले लेखनमा के कस्तो अर्थ राख्छ?
पाठकको प्रतिक्रिया व्यक्तिगत ऊर्जाको हो भने पुरस्कार ऊर्जाको संस्थागत योग। यसले लेखकलाई उकालो हिंड्न थप ऊर्जा दिन्छ भने पाठकलाई पुस्तक पढ्न प्रेरित गर्छ। डराई–डराई लेखिरहेकाहरूलाई तिम्रो लेखनशैली राम्रो बन्यो है भनिदिन्छ, पुरस्कारले।
तपाईं, किताब निकाल्यो कि पुरस्कृत भइहाल्ने युवा लेखकमा पर्नुहुन्छ। भारी पुरस्कारहरूले थिचिने डर हुन्छ कि हुँदैन?
पुरस्कारले आत्मविश्वासलाई दोब्बर बनाइदिन्छ। तर आफ्नै पुस्तकसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। मेरै कुरा गर्ने हो भने अब प्रतिस्पर्धा सेतो धरती सँगै हुन्छ।
समकालीन नेपाली समालोचना/समीक्षाबारे तपाईंको के धारणा छ?
मेरो विचारमा समालोचना भन्दा सिर्जना नै बलियो छ। छापा माध्यममा समालोचना होइन पुस्तक समीक्षा छापिएका छन्। विश्वविद्यालयका प्राध्यापकहरूले समय, आर्थिकलगायतका कारणले हुनसक्छ समालोचनालाई कोर्सबुकबाट बाहिर निकाल्न सक्नुभएको छैन।
आख्यानको पाठक बढेको भनिन्छ, तर कविता–गजल बढी आइरहेका छन्; कुरा के हो?
आख्यानका पाठक बढेको साँचो हो। फरक के छ भने कविता–गजल सुनाउँदा राम्रो सुनिन्छ, कथा र उपन्यास पढ्दा। पैसा तिरेर कविता सुन्न जाने चलन पनि बढेको छ र आख्यान किनेर पढ्नेहरू पनि बढेका छन्।