१-३० कात्तिक २०६९ | 14 Oct- 15 Nov 2012

उपचारको सजिलो सूचना

Share:
  
p14a
 
 

कस्तो रोग लाग्दा कुन अस्पताल जाने? कुन डाक्टरलाई भेट्ने? तत्काल रगत चाहिंदा कहाँ सम्पर्क गर्ने? कुन अस्पतालमा आईसीयू बेड खाली छ? आपतका बेला जो–कसैका लागि अमूल्य हुने यस्ता सूचना निःशुल्क दिन्छ– हेल्थ कन्सर्न संस्थाले, त्यो पनि परामर्शसहित। पहिला आफैं स्वर हराउने बिरामी हुँदा सही डाक्टर भेट्न धेरै हण्डर खानुपरेकोले अरूलाई सजिलो होस् भनेर यस्तो सेवा शुरू गरेको बताउँछन्, कन्सर्नका प्रमुख कार्यकारी अधिकृत डा. सुवास प्याकुरेल (३५)। जनरल फिजिसियन प्याकुरेल भन्छन्, “यो सेवाबाट चार महीनामा ३३ सय लाभान्वित भइसकेका छन्।”

डा. प्याकुरेलका अनुसार, यसका लागि संस्थाले ८ महीनामा १५०० विशेषज्ञसहित दुई हजार ३०० चिकित्सकको डिग्री र अनुभवसहितको विवरण तयार पारेको छ। संस्थाले ती डाक्टर, अस्पताल, क्लिनिक, एम्बुलेन्स, रक्तदाता र अस्पतालहरूमा बेडबारे रोग र बिरामीको प्रकृति अनुसार कहाँ जाँदा बढी उपयुक्त हुन्छ भन्ने परामर्शसहितको जानकारी फोन (४४८५८८०), प्रत्यक्ष भेटघाट र वेबसाइट (http://www.healthcareconcern.org) बाट दिन्छ। बिरामी वा आफन्तले रिपोर्टसहित संस्थाको कार्यालय पुगेर विस्तृत परामर्श पनि लिन सक्छन्। संस्थाले बिहान ८ देखि साँझ् ६ बजेसम्मको यो सेवालाई टोल फ्रि र तीन अंकको सोधपुछ नम्बरसहित २४ घण्टे बनाउने तयारी गरिरहेको छ।  
 
संस्थाले भारत लगायतका देशमा उपचार गर्न जाने बिरामीलाई भने रु.१ हजारदेखि रु.३ हजारसम्म सेवा शुल्क लिएर अस्पताल र चिकित्सकदेखि भेट्ने समय र खर्चसम्मको जानकारी दिन्छ, सेवाग्राहीले चाहे समय समेत मिलाइदिन्छ। संस्थाले संचालन खर्च जुटाउन अस्पतालहरूलाई नयाँ आइडिया र परामर्श बिक्री गर्नुका साथै 'एनआरएन फ्यामिली केयर' नामक सेवा पनि शुरू गर्दैछ। गैर–आवासीय नेपालीहरूले नेपालस्थित आफ्ना बाबुआमा तथा परिवारका सदस्यहरू बिरामी पर्दा यो सेवा लिन सक्छन्।
 
रमेश कुमार, काठमाडौं
comments powered by Disqus

रमझम