२० असोज, रूपन्देहीको कम्हरियास्थित सेमरी माविमा प्रधानाध्यापक अब्दुल अहमद खाँ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर यादवबीच चर्कै भनाभन चल्यो। दुई पक्षको सम्भावित झ्डप रोक्न विद्यालयमा प्रहरी सहायक निरीक्षकसहित तीन प्रहरी खटिएका थिए। प्रअ र अध्यक्षबीच ६ महीनादेखि चलेको विवाद अहिले जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय, पुनरावेदन अदालत र अख्तियारसम्म पुगेको रहेछ। दुई जनाको झ्गडाले विद्यालयको चारकोठे भवन निर्माण अलपत्र पर्नुको (हे. तस्वीर) साथै विद्यार्थीको पढाइ अवरुद्ध भएको छ।
२७ फागुन २०६८ मा व्यवस्थापन समितिले अकस्मात् हटाएका प्रअ खाँलाई जिशिकाले १४ कात्तिक २०६९ मा बहाली गरेपछि १६ कात्तिकदेखि मावि तहको पढाइ भएको छैन। मावि शिक्षक दरबन्दी नभएको विद्यालयमा निमावि तहका केही शिक्षकले मावि तहमा नपढाएर अध्यक्ष यादवलाई सघाएका छन्। नाम उल्लेख गर्न नचाहने ती शिक्षकका अनुसार, अध्यक्ष यादव र प्रअ खाँबीच नक्कली विद्यार्थी संख्या बढाएर फर्निचरका लागि ल्याएको रकमको भागबन्डा नमिल्दा झ्गडा शुरू भएको हो। त्यसपछि अध्यक्षले विद्यालयमा भ्रष्टाचार भएको भन्दै जिशिका, जिल्ला प्रशासन र पुनरावेदन अदालतमा मुद्दा हालेका छन् भने प्रअले अध्यक्ष यादवको एसएलसी उत्तीर्ण प्रमाणपत्र नक्कली भएको भन्दै जिशिका, जिल्ला प्रशासन र अख्तियारमा उजुरी गरेका छन्।
मुकेश पोखरेल, भैरहवा
खारामा हराएको दशैं
दशवर्षे हिंसात्मक द्वन्द्वले खोसेको रुकुमका केही गाउँको दशैं–तिहार अझ्ै फर्केको छैन। सदरमुकाम खलंगाबाट पाँच कोस दक्षिणमा पर्ने २०० घरधुरीको खारा गाउँमा यो वर्ष पनि दशैं–तिहार पीडा बोकेर आयो अनि गयो। यो गाउँमा १० फागुन २०५६ मा सरकारी फौजले १५ जनाको हत्या गरेको थियो। खारा जस्तै महत, स्यालापाखा र पीपल लगायतका गाविसमा पनि धेरै निर्दोष नागरिकको हत्या भएको थियो। यी गाउँका मानिसलाई चाडबाड भनेपछि विगतको पीडा र वर्तमानको अभावले सताउन थाल्छ।
सात सदस्य भएको हाँसीखुशी परिवारकी भावना ओली (१८) ले खारा नरसंहारमा ठूलो दाजु लालबहादुर गुमाइन्। प्रहरीको कुटाइपछि मानसिक सन्तुलन गुमाएका बाबु नरबहादुरको उपचारका लागि घरखेत सकियो। थप उपचारका लागि बुबालाई भारत लिएर गएको परिवारका कोही सदस्य अहिलेसम्म फर्केका छैनन्। नयाँ कपडा र चप्पल फेर्ने भावनाको धोको यो दशैं–तिहारमा पनि पूरा भएन। सोही घटनामा पति गुमाएकी भावनाकी छिमेकी रामकला खड्काले दशैंमा बालबच्चाले नयाँ कपडा माग्दा रोएर बसेको बताइन्। “हामीलाई त चाडबाड कहिल्यै नआइदिएहुन्थ्यो जस्तो लाग्छ”, रामकलाले भनिन्। स्यालापाखामा पनि एकै दिन १४ जनाको हत्या भएको थियो। माओवादी सशस्त्र द्वन्द्वका क्रममा रुकुममा ८५८ जनाले ज्यान गुमाएका थिए।
आदर्श केसी, रुकुम