तराई–मधेशको सम्पदा र संवेगबाट देशले पर्याप्त लाभ लिइरहे पनि कृतज्ञता प्रकट गर्न कञ्जुस्याईं गरेको अनुभव हुन्छ, राजनीतिमा मात्र हैन सिर्जनामा पनि। यसले गर्दा नेपाली साहित्यमा मधेशीको हार्दिकता पाउन कठिन भएको छ। यही असंगत परिस्थितिबीच २०६९ मा आएका एकाध कृतिमा मधेश–मधेशीको स्पन्दन अनुभव गर्न सकिन्छ। नयनराज पाण्डेको लू र रमेश रञ्जनको सङोर ले मधेशको मर्म छाम्ने, भावना केलाउने र घाउ सुम्सुम्याउँदै खिल निकाल्ने यत्न गरेका छन्।
मैथिली उपन्यास सङोर ले मधेश आन्दोलनपछि आम मधेशीमा बढेको आत्मविश्वास, उपलब्धि र त्योसँगै झ्ाङ्गिएका विकृतिलाई मिहिन रूपमा केलाएको छ। रञ्जनले 'सर्च फर कमन ग्राउण्ड' र 'नयाँ संसार' नामक संस्थाले गरेका अध्ययनको निष्कर्षका आधारमा यो कृति तयार पारेका हुन्। नेपाली भाषाको लू भने विशुद्ध साहित्यिक अभ्यासको क्रममा आएको कृति हो, जसमा लेखकले आफ्नो जन्मथलो नेपालगञ्ज क्षेत्रका सीमान्त मधेशीहरूका भावना पस्केका छन्। केन्द्रीय विषय राजनीति हुनु दुवै उपन्यासको समानता हो।
सबै समस्याको समाधान हतियारमा देख्ने मनोवृत्तिबाट जन्मेको परिस्थितिको रोचक चित्रण गरिएको सङोर ले मधेशका युवामा देखिएको हतियारमोह, पैसा र पावरप्रतिको आकर्षण मात्र नभई सत्ताले देखाउँदै आएको हैकमवाद विरुद्धको शंखघोष पनि भएको संकेत गरेको छ। काँधमा बूढीआमा र तरुनी बहिनीको जिम्मेवारी बोकेको एउटा लगनशील ठिटोले लहडकै भरमा जीवनको बाटो नमोड्नुपर्ने हो, तर उपन्यासका नायक अमित 'गरीब, सीमान्तकृत र तल्लो जातको भनेर मेरा नैसर्गिक चाहनाको घाँटी निमोठ्ने तिमी को हौ?' भन्ने प्रश्न सोध्न बन्दूकको सहारा लिन्छ र सशस्त्र समूहमा लाग्छ। परिवार, समाज र देशप्रतिको जिम्मेवारीबोधले अन्ततः अमितको मन हतियारमा रम्न सक्दैन। समाजले परिबन्द वा भूलवश बाटो बिराएकाहरूको सम्मानपूर्वक पुनर्स्थापनाको मार्ग प्रशस्त गरिदिएपछि सङोर को सुखान्त हुन्छ।
मिथिलाञ्चलको सांस्कृतिक, सामाजिक र राजनीतिक चेतको सुन्दर अभिव्यक्ति सङोर ले सहज प्रवाह–मार्ग नपाएका मधेशी युवाको चाहना, ऊर्जा र सम्भावना केलाएको छ। मैथिली शब्द 'सङोर' को नेपाली अर्थ संग्रह, एकता वा एकत्रीकरण हो। यस अर्थमा कृतिले सामाजिक द्वन्द्व, राजनीतिक चेतना, सह–अस्तित्व, स्वीकार्यता, सामुदायिक सद्भाव आदिको सुन्दर संग्रह गरेको छ। रञ्जनले अधिकारबाट वञ्चित समाजको संघर्ष र अन्तर्द्वन्द्वको चित्रण गर्ने क्रममा सङोर लाई समकालीन मिथिलाञ्चलको दर्पण बनाएका छन्। तर, मधेशको समस्या राजनीतिक भएको देखाउन भने लू का नयन भन्दा पछाडि छन्, उनी।
लेखकले आफूले देखेको समाजको सहज बयान गरिदिंदा मात्र पनि नेपाली साहित्यमा मधेशबारे आएको सार्थक कृतिको कोटिमा परेको छ― लू। बाँकेको भारतीय सिमानासँग जोडिएको पत्थरपुरवा भन्ने काल्पनिक गाउँमा अवध–मधेशको समाज, संस्कृति, मनोवृत्ति र राजनीतिको प्रतिबिम्ब उतारिएको छ, लू मा।
पत्थरपुरवामा बसेका विविध जाति, धर्म र समुदायका मानिस आवरणमा फरक देखिए पनि अन्तरहृदयबाट एक रहेको मन छुने चित्रण यसमा छ। भारतीय हिन्दू अतिवादीको आक्रमणको सुईंको पाएपछि अत्यन्त कट्टर देखिने टुटे पण्डितले गाउँभरिका मुसलमानलाई आफ्नो घरमा लुकाउँछन्, उनीहरूले खाएका जुठाभाँडा समेत माझछन्। यो प्रसंग सामान्य समयमा झ्िनामसिना कुरामा पनि बाझ्िरहने मधेशीहरू विशेष परिस्थितिमा सहजै एकढिक्का हुन्छन् भन्ने कुराको शक्तिशाली प्रस्तुति हो।
उपन्यासमार्फत लेखकले ढ्याङ्ग्रो ठटाएर उद्घोष गरेका छन्― नेपालको दक्षिणी सीमारक्षक मधेशी हुन्। उपन्यासमा राज्यको थिचाइ र सीमापारिको मिचाइबाट आक्रान्त सीमान्त बस्तीका नागरिकको जीवनमा कहिल्यै शीतलता छाउँदैन र सतत चलिरहन्छ, अनिश्चयको लू।
एकाक्षरी नाम बोकेको लू मधेशको कथा–व्यथालाई सार्थक औपन्यासिकतामा प्रस्तुत गर्न सफल छभने सङोर द्वन्द्वकालीन मिथिला समाजका भित्री केस्राहरू केलाउन। शैलीको हिसाबले सङोर पारम्परिक प्रकृतिको उपन्यास हो भने लू पात्रहरूको बयानसँगै अघि बढ्छ। साहित्यमा समेत विभेदको अनुभवका कारण पठन संस्कृतिप्रति विरक्ति देखाउँदै आएका देशको आधा जनसंख्या मधेशीहरूले यी कृति पढेपछि लाठी–भालाद्वारा व्यक्त गरिने विमति कलम–कागजमार्फत बाहिर ल्याउने आशा गर्न सकिन्छ। त्यसरी विकास, शान्ति, सुसंस्कृति र समृद्धिको ढोका खोल्न पठन संस्कृतिसँगै लू र सङोर जस्ता कृतिहरू थपिंदै जानुपर्छ।
धीरेन्द्र प्रेमर्षि
शक्तिशाली उदय
पहाड मसितै यात्रा गर्छ
(कविता संग्रह)
लेखकः हेमन यात्री
प्रकाशकः रत्न पुस्तक भण्डार
मूल्यः रु.१९९, पृष्ठः ८३+१४
आँखामा हिउँ पग्लेर
भिजिदिन्छ किनारा लागेको परेली
भरिएर आउँछ थकाइको सुनामी
बगरजस्तो सुकेको ओठबाट
चैतको धूलोजस्तो
मुस्कान उडेर
डुब्यौ खै कुन सागरमा गएर?
इटहरीमा बसेर साहित्यकर्म गरिरहेका हेमन यात्रीको पहाड मसितै यात्रा गर्छ कविता संग्रहको 'बाटामा भरिया बालक' शीर्षकको पहिलो कविताको बालभरिया विद्यालयको सामान बोकेर पहाडतिर उक्लिंदैछ। कविताको अन्त्यमा कवि भन्छन्:
ए स्वयम्भूले चिहाएको शीतलनिवास!
ए बालुवाटार!
केही गरी यो बालक
बाटैमा हरायो भने के हुन्छ?
३९ थान गद्य कविता संग्रहित पहिलो कृतिबाटै यात्रीले एउटा शक्तिशाली उदयको उद्घोष गरेका छन्। छरिता आकारका सबै कवितामा शब्दहरूलाई शक्तिशाली संकेतको माध्यम बनाएका कविले पहाड, नदी, वनपाखा र दारुण ग्रामीण परिवेशबाट टिपेका बिम्ब, प्रतीक, मिथक, श्रुतिपरम्परा, गाथा तथा अभिव्यक्तिका अन्य उपकरणहरूको सुन्दर प्रयोग गरेका छन्। कवितामा रूख चढेकी आमा गीतका हरफहरू खसाल्छिन्। हिउँदे बतासको लैबरीमा चिउरीका पातहरू थपडी मार्छन्। हलेसोहरू कोरस गाउँछन्। लय र तालले सुसज्जित हरेक कविता भावले भिजेका छन्।
'बाँसुरी' कविता एकल जातीय प्रभुत्ववादी सत्तालाई आदिवासी हुनुको चेतले गरेको शालीन ललकार बनेको छ। घर छेउछाउ लुकिबसेका एकान्तहरू टिपेका कविले सुकेको लेउजस्तो मन र अंशमा परेको नागरिकताको गहिरो अनुभूति गराउँछन्, पाठकलाई। कवितामा शब्दहरू कविका विषयलाई स्मरणीय बनाउन जुटेका छन्। हेमन यात्रीलाई एक सशक्त युवा कविमा दर्ता गर्न सक्षम यो संग्रह निःसन्देह पठनीय र संग्रहणीय छ।
आनन्द पी राई
उद्यमशीलतालाई भिटामिन
सम्पत्ति विज्ञान
लेखकः जीवनप्रसाद राई
प्रकाशकः जिपा फाउण्डेसन
मूल्यः रु.२००,
पृष्ठः १८२+१०
मानिस आर्थिक प्राणी हो। हरेक मानिस हर दिन कुनै न कुनै काम गरेर केही न केही रुपैयाँ कमाइरहेको हुन्छ। केही व्यक्ति त्यही 'केही' रुपैयाँको योगबाट करोडपति बन्छन् भने धेरैजसो जति संघर्ष गरे पनि जीवन कंगाल बनेको दुःखेसो गरिरहन्छन्। जबकि, सबैले सम्पत्ति कमाउने समान अधिकार र समय (२४ घण्टा) पाएका हुन्छन्। यसमा गडबड केले पारिरहेको छ त?
नेपालको स्वतन्त्र कृषि अध्ययन र लेखनमा लागेका जीवनप्रसाद राईका अनुसार, यसमा समय र पैसाको व्यवस्थापनले असर पारिरहेको हुन्छ। अर्थात्, २४ घण्टा समय र त्यस अवधिको आर्जनलाई व्यवस्थित हिसाबले अगाडि बढाउने हो भने सबै करोडपति नभए पनि कोही कंगाल रहँदैनन्, देश उँभो लाग्छ। लेखकले यो सरल मन्त्रलाई आफ्नो नवौं कृति सम्पत्ति विज्ञान मा समेटेका छन्। आवरण हेर्दा फ्लोरेन्स लिट्टौएरको पर्सानालिटी प्लस वा स्वेट मर्डनको धन कुवेर कैसे बनें कोटिको लाग्ने किताबले सम्पत्ति आर्जनबारे धेरै व्यावहारिक विश्लेषण गरेको छ।
सरल भाषाको ५७ वटा आलेखमा रातारात धनी बन्ने विद्या हैन पैसाप्रतिको धारणा, पैसाको संजाल, व्यक्तिगत/संस्थागत लेनदेन र प्रहरी/गुण्डा/नेता प्रयोगदेखि पैसासँग जोडिने प्रेरणा तथा ब्याङ्किङ बचतसम्मको वर्णन छ। किताबले उदाहरणलाई व्याख्याको आधार बनाएको छ। नेपाली उद्यमशीलताका लागि यो किताब भिटामिन चक्की बन्ने देखिन्छ।
पुस्तकः दिशाहीन यात्रा
लेखकः सूर्य सुवेदी
प्रकाशकः साबला प्रकाशनका लागि
सुरेन्द्रकुमार कार्की
मूल्यः रु.२७५,
पृष्ठः १६६+९
धनकुटाको एउटा गाउँबाट क्याम्पस पढ्न आएको शिक्षकको छोरोलाई प्रमुख पात्र बनाएर सूर्य सुवेदीले लेखेको उपन्यास दिशाहीन यात्रा ले २०४६ पछिको परिवर्तन, त्यसबेलाका राजनीतिक दलहरूको अराजकता, कुशासन, माओवादीको हिंसा र त्यसबाट पीडित नेपालीहरूका कथाबारे सविस्तार वर्णन गरेको छ। यद्यपि, उपन्यास भनिए पनि औपन्यासिक लालित्यको हिसाबले कमजोर र नेकपा माओवादीको हिंसात्मक 'जनयुद्ध' को सतही विश्लेषण जस्तो मात्र लाग्छ। पात्रहरूको प्रेम र अभिसारको वर्णनमा लेखक असफल छन्। उपन्यासमा नेपाली कांग्रेस र नेकपा एमालेले सुशासन दिन नसकेको टिप्पणी पट्यारलाग्दो गरी दोहोरिएको छ। यति हुँदाहुँदै पनि २०४६–६३ को नेपालको राजनीतिक–सामाजिक अवस्थाको वर्णनका साथै माओवादी हिंसाबाट सिर्जित पीडाका कथा साहसपूर्वक भन्न सक्नु लेखकको विशेषता मान्नुपर्छ। माओवादीले देशमा मच्चाएको हिंसा दिशाहीन यात्रा मात्रै थियो भन्ने कुरा पनि उपन्यासले पुष्टि गरेको छ।
सञ्जीव शर्मा