१६-३० मंसिर २०६९ | 1-15 December 2012

पुरानो घाउ नकोट्याऊँ

Share:
  

 

हिजोका अपराधमा संलग्नहरू एक दिन न्यायको कठघरामा आउनै पर्छ।  
 
हिमाल (१–१५ मंसीर) को आवरण अन्तर्राष्ट्रिय कठघरामा द्वन्द्वका ज्यादती पढें। अब फेरि ती पुराना घाउ कोट्याएर कहालीलाग्दो दिनको याद किन गर्नु पर्‍यो? जे नहुनु भयो अब सबै मिलेर देश विकासतिर लाग्नुपर्दछ। अझ्ै पनि त्यस्ता रिपोर्टहरू किन आउनु पर्‍यो?   
 
खिमलाल पन्थी 
हिमालखबरबाट  
 
सबैको दिन सधैं राम्रा हुँदैनन्। हिजो अपराधमा संलग्नहरू एक दिन न्यायको कठघरामा आउनै पर्छ।  
 
हिमालखबरबाट  
  
भोको पेट र नाङ्गो शरीरलाई उचालेर क्रान्तिको नारा लगाउन जति सजिलो थियो, त्यसको व्यवस्थापन गरी कानूनको दायरामा ल्याउन कति कठिन हुँदोरहेछ भन्ने कुरा माओवादी नेतृत्वले बुझनै पर्दछ।  
 
सन्तोष घिमिरे  
हिमालखबरबाट  
 
धन्य हामी  
हिमाल (१–१५ मंसीर) मा प्रकाशित सहनशील शहर निकै सान्दर्भिक लाग्यो। हो, हामी आफूतिर नहेरी केवल अरूको नकारात्मक प्रवृत्ति मात्र ध्यान दिएर हेछर्ौं र त आफ्ना सबै कुकर्मलाई काठमाडौंको थाप्लामा बिसाइदिने गर्दछौं।  
 
प्रकाश भण्डारी    
हिमालखबरबाट  
 
कारबाही होस्  
हिमाल (१–१५) मंसीरमा प्रकाशित 'हात लाग्यो शून्य' शीर्षकको समाचार पढेपछि सूचनाको हक सम्बन्धी कानून बने पनि कार्यान्वयनको अवस्था कस्तो रहेछ भन्ने प्रष्ट हुन्छ। सरकारका अरू निकाय मात्र होइन, त्यस्ता निकायलाई निर्देशन दिने राष्ट्रिय सूचना आयोगले पनि सूचना लुकाएको सुन्दा अचम्म लागेको छ। अर्कातिर सूचना माग्नेहरूलाई हिरासतमा राख्ने र सार्वजनिक अपराधको मुद्दा चलाउने अधिकारीहरूमाथि छानबिन गरी कारबाही गर्नुपर्छ।  
 
कृष्ण शर्मा 
नयाँबजार, काठमाडौं    
 
मानव बेचबिखन रोक 
हिमाल (१–१५ मंसीर) मा प्रकाशित मानव तस्करीः १२ लाई २१ यथार्थपरक लाग्यो। नेपाल वा नेपालीको सबैभन्दा ठूलो बदनामी नै मानव तस्करी हो। यो कुकर्म कसरी, कहिले शुरू भयो र यसले कसरी निरन्तरता पाइरहेछ? यसको गहिरो अध्ययन गरिनु पर्छ। 
 
आर. राई  
हिमालखबरबाट  
 
बढाइँचढाइ नगरौं  
हिमाल (१–१५ मंसीर) मा प्रकाशित खेतीबाट मासिक रु. ७० हजार पढें। लाक्पाजी राम्रो कृषक भएकोमा कुनै शंका छैन। तर उनको कमाइबारे बढाइँचढाइ उल्लेख गरेजस्तो लाग्यो। हिमाल जस्तो पत्रिकाले यस्ता कुरामा आगामी दिनमा ध्यान देओस्।  
 
लामा शेर्पा  
हिमालखबरबाट  
 
स्वागतयोग्य काम 
हिमाल (१–१५ मंसीर) मा प्रकाशित होटल अनुगमन प्रशंसनीय काम शीर्षकको लेख निकै सान्दर्भिक लाग्यो। यात्राका क्रममा राजमार्गका होटलहरूले गुणस्तरहीन खाना खुवाएर यात्रुको स्वास्थ्यमा ध्यान नदिइरहेको सन्दर्भमा खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले मुग्लिन–नारायणगढ सडक छेउछाउका होटल–रेष्टुरेण्टमा खानेकुराको गुणस्तर हेरी स्टिकर 
वितरण गर्नु प्रशंसनीय काम हो।
 
राजमार्ग वरपरका होटलमा गुणस्तरहीन खानाको बिगबिगी भएका बेला होटलले पूरा गरेका मापदण्डका आधारमा सरकारी प्रयासमा टाँसिएको स्टिकरको भोलिका दिनमा प्रभावकारी अनुगमन हुनु पर्दछ। होइन भने लेखमा भनिएजस्तै हरियो स्टिकर फोहोर खाना बेच्ने लाइसेन्स हुनेछ।  
 
राम तामाङ 
सुन्धारा काठमाडौं 
 
कुवाको भ्यागुतो नबनौं  
हिमाल (१६–३० असोज) मा प्रकाशित 'नेपाली यसरी शुद्ध लेख्ने' पढें। भाषा र संगीतलाई सीमाभित्र राख्नु कुवाको भ्यागुतो जस्तो मात्र हुनेछ। संसारमा हरेक भाषा र संगीतमा अरू भन्दा फरक शैलीमा नयाँ चिज छन्। आखिर सबै जान्न खोज्दा नै राम्रो होइन र? एउटै भाषाभित्र के नै त्यस्तो धेरै कुरा पाउन सकिन्छ र?  
 
प्रकाश भण्डारी    
हिमालखबरबाट 
 
प्रेरणादायी समाचार 
हिमाल (१–१५ मंसीर) मा प्रकाशित अनार बाजेको कथा निकै सान्दर्भिक लाग्यो। रोजगारीका लागि घरखेत बेचेर विदेशिने नेपाली युवाहरूले अनार बाजेबाट धेरै कुरा सिक्नुपर्दछ। यस्ता प्रेरणादायी सामग्रीलाई आउँदा दिनमा पनि हिमाल ले स्थान देओस्।  
 
बसन्तकुमार पुन   
हिमालखबरबाट  

 

comments powered by Disqus

रमझम